काठमाडौं—दक्षिणी छिमेकी मुलुक भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुई देशबीच आपसी समझदारी सम्बन्धि विभिन्न सहमति भएका छन् । सोमबार दुई प्रधानमन्त्रीबीचको द्विपक्षीय भेटवार्तापछि आठ बुँदे समझदारी भएको छ ।
उक्त समझदारीमा स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने सम्बन्धि तीन बुँदा अटाएका छन् । जसमा स्वास्थ्य र चिकित्सातर्फ भारत र नेपालले स्वास्थ्य सेवा र चिकित्साको क्षेत्रमा आपसी समन्वय गरी मिलेर काम गर्ने उल्लेख छ ।
यस्तै, अर्को बुँदामा आयुर्वेद र परम्परागत चिकित्सातर्फ दुवै देशले आयुर्वेद र उपचारका परम्परागत पद्धतिहरुको प्रवर्द्धन तथा विकासमा सहकार्य गर्ने समझदारी भएको छ ।
स्वास्थ्यतर्फ अर्को बुँदाका रुपमा फरेन्सिक विज्ञानमा सहकार्य गर्ने उल्लेख छ । जसअनुसार गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य गर्ने समझदारी भएको छ ।
यस्ता छन् दुई देशका प्रधानमन्त्रीको भेटवार्तापछि संयुक्त वक्तव्यमा परेका स्वास्थ्यका ६ बुँदा
स्वास्थ्य
नेपाल सरकारको देशभर आधारभूत स्वास्थ्य सेवाको एकीकृत मोडेलमा जोड दिने नीतिले भारतको स्वास्थ्य क्षेत्रसम्बन्धी दृष्टिकोणसँग उल्लेखनीय समानता र सहकार्यको सम्भावना राख्दछ । विद्यमान पूरकताहरूलाई ध्यानमा राख्दै यस क्षेत्रमा अझ सुदृढ सहकार्य प्रवर्द्धन गर्न दुवै पक्षले निम्न कार्यहरू गर्नेछन्:
i. नेपाल सरकारको आवश्यकताअनुसार स्वास्थ्य चौकी, प्रसूति केन्द्र तथा अस्पताल निर्माणका परियोजनाहरू उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना (High-Impact Community Development Project – HICDP) को ढाँचाअन्तर्गत निरन्तर सञ्चालन गरी स्वास्थ्य पूर्वाधार सुदृढ गर्ने ।
ii. नेपालको राष्ट्रिय चिकित्सा प्रयोगशाला स्तरोन्नतिका लागि सहकार्य गर्ने ।
iii. गुणस्तरीय तथा किफायती औषधिमा पहुँच सुधार गर्न भारत–नेपाल जन औषधि केन्द्रहरू स्थापना गर्ने ।
iv. नेपालको स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्न भारतीय प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रम (Indian Technical and Economic Cooperation Programme – ITEC) अन्तर्गत स्वास्थ्यसम्बन्धी विभिन्न क्षेत्रमा आवश्यकताअनुसारका विशेष तालिम कार्यक्रमहरू सञ्चालन गर्ने ।
v. दुवै देशका प्रतिष्ठित चिकित्सा संस्थाहरूबीच संस्थागत सम्बन्ध विस्तार गर्ने तथा विद्यार्थी र प्राध्यापकहरूको आदानप्रदानलाई प्रोत्साहन गर्ने ।
vi. भारतीय चिकित्सा अनुसन्धान परिषद् (Indian Council of Medical Research – ICMR) र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) तथा भारतको औषधि नियामक निकाय (CDSCO) र नेपालको औषधि व्यवस्था विभागबीच अनुसन्धान तथा सहकार्यलाई सुदृढ गर्ने ।