नेपालगन्ज—धान काटेपछि किसानहरुले खेतमा परालको थुप्रो बनाएर जलाउँदा नेपालगन्जलगायतका तराईका जिल्लाहरुमा वायु प्रदूषणको समस्या गम्भीर बन्दै गएको छ । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा रहेको करिब २ हजार ५०० हेक्टर धान खेती योग्य जमिनमा धान भित्र्याएपछि किसानहरुले परालको थुप्रो बनाएर जलाउने गरेका छन् ।
यसले नेपालगन्ज नगर क्षेत्र प्रदूषणको चपेटामा पारेको छ । पछिल्लो वायु गुणस्तर मापन तथ्याङ्कअनुसार नेपालगन्जको हावा अहिले अस्वस्थकर अवस्थामा छ । वातावरण विभाग तथा अन्तर्राष्ट्रिय वायु गुणस्तर अनुगमन प्लेटफर्महरूको पछिल्लो विवरणअनुसार नेपालगन्जको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई० १२८ देखि १८४ सम्म पुगेको छ । औसत सुचकाङ्क १७३ को हाराहारी मापन गरिएको छ ।
वायु गुणस्तर सुचकाङ्क १५१ देखि २०० सम्मलाई अस्वस्थकर र २०१ भन्दा माथिलाई अत्यन्त अस्वस्थकर मानिन्छ । वायुमण्डलमा रहेका अत्यन्त सूक्ष्म धुलो र धुवाँका कणहरू पीएच २.५ र पीएम १० को मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले तोकेको सुरक्षित मापदण्डभन्दा कैयौ गुणा बढी देखिएको छ । विशेषगरी विहान र साँझको समयमा पीएम२.५ को स्तर निकै उच्च हुने गरेको छ ।
धान खेती हुने क्षेत्र नजिकका बस्तीहरुमा पराल जलाएपछि निस्कने कालो धुँवाको मुस्लो नै पस्ने गरेको छ । जसले नगरवासीलाई प्रत्यक्ष रुपमा प्रदूषणको चपेटामा पारेको छ । प्रदूषणका कारण एलर्जी, रुघाखोकी तथा श्वासप्रश्वास सम्बन्धी समस्या भएका बिरामीहरुको अस्पतालमा चाप बढ्दै गएको छ ।
परालमा हुने भुस तथा ढुसीका कारण एलर्जी हुने जोखिम उच्च हुन्छ । परालको थुप्रो बनाएर जलाउँदा त्यसबाट निस्कने कालो धुँवाले वातावरण प्रदूषित बनाउनुका साथै विभिन्न स्वास्थ्य समस्या निम्त्याउने गरेको छ । घाटी खसखसाउने, एलर्जी हुने, रुघा खोकी लाग्ने, रुघाखोकी लागेपछि हप्तौंसम्म निको नहुने, दम बढ्ने तथा फोक्सोमा असर पर्ने समस्या देखिने गरेको संजीवनी कलेज अफ मेडिकल साइन्सेसका वरिष्ठ फिजिसियन तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. सुभाष योगीले बताए । पछिल्लो दुई हप्तामा अस्पताल तथा निजी क्लिनिकमा आउने बिरामीमध्ये श्वासप्रश्वास रोग सम्बन्धी बिरामीको संख्या करिब २५ प्रतिशतले बढेको डा. योगीले जानकारी दिए ।
धान काटेपछि पराल थुप्रो लगाएर आगो लगाउने प्रवृत्तिलाई नियन्त्रण गर्न नसके श्वासप्रश्वास रोगको चपेटामा नेपालगन्ज नगरवासीलगायत पराल जलाइने क्षेत्रका बासिन्दा पर्ने जोखिम बढ्दैं गएको डा. योगीले बताए । विशेषगरी वृद्धवृद्धा र दम रोगका बिरामीहरु थप समस्यामा परेका छन् ।
नेपालको सीमा जोडिएको भारतीय भूभागतिर अत्यधिक रूपमा परालका थुप्रो जलाउने चलन छ । त्यहि चलन पछिल्ला वर्षहरुमा नेपालका तराईका जिल्लाहरुमा बढ्दै गएको हो ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ जल विज्ञ विनोद पराजुलीका अनुसार आगामी सातासम्म नेपालमा वर्षा गराउने खालको कुनै पनि प्रणाली सक्रिय छैन । ठुलो हावा चल्ने सम्भावना पनि छैन । वर्षा र पश्चिमी वायु अर्थात समुद्री क्षेत्रबाट चल्ने ठुलो हावाले मात्रै प्रदूषणलाई हटाउन सक्छ । तत्कालका लागि दुवै सम्भावना नभएका कारण अझै केही समय प्रदूषणको समस्या कायमै रहने देखिएको छ ।
यस्तोमा किसानलाई धान काटिसकेपछि बचेको पराल र खेतमै रहेका धानका ठुटा नजलाउन सचेतना फैलाउनुपर्ने सुझाव कृषि अनुसन्धान निर्देशनालय, खजुरा, बाँकेका वरिष्ठ कृषि वैज्ञानिक रामदास चौधरीको छ । नेपाली किसानले पछिल्लो समय भारतीय किसानको सिको गरेर खेतको पराल तथा झार बढी जलाउन थालिएको छ । जसका कारण वायु प्रदूषण बढ्दै गएको छ ।
पहिले—पहिले त्यस्तो पराल गाईवस्तुका गोबरसँगै कुहाइन्थ्यो र मल बनाइन्थ्यो । अहिले पशुपालन घट्दै गएको र रासायनिक मलको प्रयोग बढ्दै गएकाले पनि किसानले जलाउने गरेको देखिन्छ । खेतको पराल डढाउँदा निस्केको धुँवाले पहिले त किसानकै परिवार र उनीहरूकै समाजको स्वास्थ्यमा गम्भीर असर परेपनि किसानहरु त्यसप्रति सचेत नहुँदा प्रदूषणको जोखिम बढेको वरिष्ठ फिजिसियन तथा श्वास प्रश्वास रोग विशेषज्ञ डा योगी बताउँछन् ।
खेत मलिलो हुने विश्वासले तराईमा धान र गहुँ काटेपछि थुपारिएको पराल र ठुटा जलाउने चलन छ । खेतमा आगलागी हुँदा गड्यौलालगायत माटोमा रहेका लाभदायक जैविक पदार्थ जलेर नष्ट हुने गर्छन् । वरिष्ठ कृषि वैज्ञानिक चौधरीका अनुसार .खेतमा परालको थुप्रो बनाएर जलाउनु पर्यावरण र माटोको उत्पादकत्वको हिसाबले अति हानिकारक हुन्छ ।
पछिल्ला दिनहरुमा ट्याक्टरले खेल जोत्ने गरेका कारण धानका ठुटा तथा पराल फैलाएर खेत जोतेर माटोमा सहजै मिलाउन सकिन्छ । गहुँ छरेपछि सिचाई गर्दा वा आकाशबाट पानी पर्दा धानका ठुटा तथा पराल कुहिएर मल हुन्छ । माटोमा कार्बनको मात्रा जति धेरै रह्यो, उति राम्रो हुन्छ । जलाउँदा माटोको कार्बन उडेर जान्छ ।
कृषकले खेतलाई सफा राख्ने नाममा आगो लगाउँदा गड्यौलालगायतका मित्रजीव नाश भई माटोको उर्वराशक्ति समेत ह्रास हुन्छ । जसका कारण कृषि उपजहरुको उत्पादन पनि घट्छ यहि कुरा किसानलाई बुझाउन नसक्दा समस्या भइरहेको वरिष्ठ कृषि बैज्ञानिक चौधरी बताउँछन् ।
स्वच्छ वातावरणमा बाच्न पाउने प्रत्येक नागरिकको मौलिक अधिकार हो । त्यसको संरक्षणका लागि नेपालमा पर्याप्त कानुनी ब्यवस्था पनि गरिएको छ । तर, कानुन कार्यान्वयन गराउने निकायहरु रमिते बन्दा मानव सिर्जित प्रदूषणको चपेटामा बाँच्न नागरिकहरु विवश भएका छन ।
मुलुकी आचार संहिता, २०७४ को दफा ११२ ले वातावरण प्रदूषित गर्न नहुने सम्बन्धी कानुनी ब्यवस्था गरेको छ । उपदफा १ मा कसैले वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पु¥याउने गरी फोहोरमैलाको उत्पादन, प्रशोधन, प्रसारण, निष्काशन, उत्सर्जन, ओसारपसार गर्न वा थुपार्न हुँदैन भन्ने उल्लेख गरिएको छ । अटेर गरी कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रष्ट कानुनी ब्यबस्था छ । तर, कानुनको कार्यान्वयन गर्ने जिम्मेवारी पाएका स्थानीय प्रशासन र प्रहरी भने रमिते बन्दा सर्बसाधारणको स्वास्थ्यमा जोखिममा परेको छ ।
वातावरण संरक्षण ऐन, २०७६ दफा १५ प्रदूषण रोकथाम तथा नियन्त्रण सम्बन्धी कानुनी ब्यवस्था गरेको छ । उपदफा (१) अनुसार कसैले पनि वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने गरी वा जनजीवन तथा जनस्वास्थ्यका लागि खतरा उत्पन्न हुने गरी प्रदूषण सिर्जना गर्न वा तोकिएको मापदण्ड विपरीत कार्य गर्न निषेध गरेको छ ।
दफा ३५ ले प्रदूषण सिर्जना गर्ने कार्य गरेमा वातावरण विभागका महानिर्देशकले ५ लाख रुपैयाँसम्म जरिवाना गर्न र त्यस्तो कार्य तत्काल बन्द गराउन आदेश दिन सक्ने व्यवस्था छ । त्यति मात्रै नभई दफा ३६ मा प्रदूषणका कारण कसैको स्वास्थ्य, सम्पत्ति वा वातावरणमा हानी, नोक्सानी पुगेको प्रमाणित भएमा पीडित पक्षलाई प्रदूषकबाट मनासिव क्षतिपूर्ति भराई दिन सक्ने व्यवस्था छ ।
भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरुमा धान भित्र्याएपछि पराललाई थुप्रो बनाएर जलाउने क्रम पछिल्ला वर्षहरुमा बढ्दैं गएको छ । विगतका वर्षहरुमा खेतवारी जोत्ने कार्यहरुमा रागा तथा गोरु प्रयोग गरिन्थ्यो । बाली भित्र्याएपछि निस्कने पराल तथा भुसलाई पशुहरुको आहाराका रुपमा प्रयोग हुन्थ्यो । पछिल्ला वर्षहरुमा किसानहरुले खेत जोत्न र बालीहरु भित्र्याउनका लागि ट्क्याटर, कम्बाइन हाडबेस्टर र थ्रेसरजस्ता मेसिनरी उपकरणहरुको प्रयोग गर्ने क्रम बढेसँगै खेतवारी जोत्नका लागि रागा तथा गोरु पाल्ने क्रम घट्दै गएको छ ।
पशु पाल्ने क्रम घटेसँगै खेतको परालको सहज ब्यवस्थापनका लागि जलाउने र जलाएपछि मल पनि हुने ठानेर किसानहरुले पराल जलाउने क्रम बढ्दै गएको छ । पराल जलाउँदा निस्कने खरानी र घुलोले केही हदसम्म पोटास मलको काम गरेपनि त्यसले वातावरण र माटोमा पु¥याउने नोक्सानी निक्कै धेरै हुने भएकाले पराल जलाउने कार्यलाई जनचेतना फैलाएर रोक्नुपर्ने सुझाव वरिष्ठ कृषि वैज्ञानिक चौधरीको छ ।
खेतमा परालको थुप्रो बनाएर पराल जलाएर प्रदूषण फैलाएको अभियोगमा रुपन्देही प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ३ का इमताज अहमदसहित ५ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।