काठमाडौं—नेपालको राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई धराशायी हुनबाट जोगाउँदै सर्वसुलभ र दिगो बनाउने उद्देश्यले सरकारले ‘स्वास्थ्य बीमा ऐन संशोधन विधेयक’ संसदमा दर्ता गर्ने अन्तिम तयारी थालेको छ । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले मस्यौदा तयार पारेर संसद सचिवालयमा दर्ता गर्ने प्रक्रिया अघि बढाएसँगै विगत तीन वर्षदेखि चिकित्सक तथा सांसद डा. तोसिमा कार्कीले उठाउँदै आएको स्वास्थ्य बीमा सुधारको एजेन्डाले निर्णायक कानुनी रूप लिन लागेको हो ।
वि.सं. २०७९ सालको माघमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी सम्हालेदेखि सुरु भएको डा. कार्कीले स्वास्थ्य बीमा सुधारबारे नीतिगत र संसदीय हस्तक्षेप गर्दै आएकी थिइन् । जुन वि.सं. २०८३ मंसिरसम्म आइपुग्दा राज्यको मूल कानुन संशोधनको विन्दुमा पुगेको हो ।
वि.सं. २०७९ माघमा छोटो अवधिका लागि स्वास्थ्य राज्यमन्त्री बन्दा डा. कार्कीले स्वास्थ्य बीमा बोर्डको संरचनागत कमजोरी, अस्पतालहरूको अर्बौं रुपैयाँ भुक्तानी बक्यौता र नागरिकले सेवा नपाएको विषयमा आन्तरिक सुधारको प्रयास थालेकी थिइन् । सरकारबाट बाहिरिएर ललितपुर–३ बाट निर्वाचित सांसदको भूमिकामा फर्किएपछि उनले सदन र सडक दुवै ठाउँबाट बीमा कार्यक्रमको पुनर्संरचनाका लागि निरन्तर दबाब दिइन् ।
यसै क्रममा १५ चैत २०८० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्वास्थ्य विभागको नेतृत्व गर्दै डा. कार्कीले स्वास्थ्य मन्त्रालयमा २६ बुँदे स्वास्थ्य सुधार अवधारणापत्र बुझाएकी थिइन् । उक्त अवधारणापत्रमा स्वास्थ्य बीमालाई झन्झटमुक्त, आर्थिक रूपले दिगो र नागरिकमैत्री बनाउने तथा छरिएर रहेका स्वास्थ्य नियामक निकायहरूलाई एउटै ‘स्वास्थ्य सेवा नियामक परिषद्’मा गाभ्ने प्रस्ताव समावेस थियो ।
वि.सं. २०८१ माघ–फागुन तिर त्रिवि शिक्षण अस्पताललगायतका ठूला रेफरल अस्पतालहरूले अर्बौं रुपैयाँ भुक्तानी नपाएको भन्दै स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेपछि बीमा प्रणाली गम्भीर संकटमा फस्यो । त्यतिबेला डा. कार्कीले प्रतिनिधिसभाको बैठकमै सरकारको कडा आलोचना गर्दै मन्त्री र उच्चपदस्थ कर्मचारीका परिवारबाटै अनिवार्य स्वास्थ्य बीमा सुरु गर्न चुनौती दिएकी थिइन् ।
प्रतिनिधिसभा निर्वाचनको संघारमा १८ माघ २०८२ मा आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै डा. कार्कीले ‘शतप्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने’ विषयलाई मुख्य एजेन्डा बनाइन् । तत्कालीन समयमा करिब ३७ प्रतिशत नागरिक मात्र बीमामा आबद्ध भएको र १२ अर्ब रुपैयाँ हाराहारी दाबी भुक्तानी बाँकी रहेको तथ्याङ्क प्रस्तुत गर्दै उनले देशका सबै नागरिकलाई एउटै जोखिम कोषमा ल्याउन सके वार्षिक करिब १८ अर्ब रुपैयाँ संकलन हुने र बिरामी मात्र बीमामा आबद्ध हुने ‘एड्भर्स सेलेक्सन’ को समस्या अन्त्य हुने स्पष्ट खाका अघि सारेकी थिइन् ।
निर्वाचनपश्चात् रास्वपाको नेतृत्वमा सरकार गठन भएसँगै बीमा सुधारको एजेन्डाले तीव्रता पायो । ४ जेठ २०८३ मा डा. कार्कीले स्वास्थ्य अर्थशास्त्री, जनस्वास्थ्य विज्ञ तथा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरूसँग बृहत् नीतिगत संवाद आयोजना गरी बीमा पुनर्संरचनाको प्रतिवेदन तयार पारिन् । उक्त प्रतिवेदन उनले कार्यान्वयनका लागि स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रास्वपा सभापति रवि लामिछानेलाई समेत बुझाएकी थिइन् ।
मन्त्रालयले संसदमा दर्ता गर्न तयार पारेको ‘स्वास्थ्य बीमा ऐन संशोधन विधेयक’ ले डा. कार्कीले विगत तीन वर्षदेखि उठाउँदै आएका मुख्य चारवटा सुधारका स्तम्भलाई कानुनी रूप दिन खोजेको छ । जसमा विपन्न नागरिकको दायित्व राज्यले व्यहोर्ने व्यवस्थाअन्तर्गत आर्थिक रूपमा विपन्न र प्रिमियम तिर्न नसक्ने नागरिकको उपचार तथा योगदान रकम राज्यले नै व्यहोर्नुपर्ने बाध्यकारी कानुनी व्यवस्था विधेयकमा समेटिएको छ ।
यस्तै, दोहोरोपना अन्त्य गर्न निकायगत एकीकरण कुरामा पनि विधेयकमा छ । स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषबाट प्रदान गरिने स्वास्थ्य सुविधामा देखिएको दोहोरोपना हटाई एउटै एकीकृत प्रणालीमार्फत सेवा प्रवाह गर्ने व्यवस्था संशोधनमार्फत मिलाउन खोजिदैंछ ।
सरकारी कर्मचारी, निजी क्षेत्रका श्रमिक तथा स्वरोजगार नागरिकलाई समेत अनिवार्य रूपमा बीमाको दायरामा ल्याई जोखिम कोषलाई बलियो बनाउने लक्ष्य राखिएको स्वास्थ्य बीमा ऐन संशोधन मस्यौदामा राखिएको छ भने अस्पतालहरूको दाबी भुक्तानी प्रक्रियालाई डिजिटल र छरितो बनाउँदै अनावश्यक परीक्षण तथा फर्जी दाबी गर्ने प्रवृत्तिमाथि कडा नियमन र कारबाही गर्ने प्रावधान विधेयकमा प्रस्ताव गरिएको छ।
अस्पतालहरूको बक्यौता र सेवा प्रवाहको अन्योलका कारण थला परेको स्वास्थ्य बीमा कार्यक्रमलाई यो ऐन संशोधनले पुनर्जीवन दिने विश्वास स्वास्थ्य क्षेत्रका जानकारहरूले लिएका छन् ।