२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठवैकल्पिक चिकित्सानिमुखादेखि मन्त्रीसम्मको उपचार गर्ने मोरङका लखिराम

निमुखादेखि मन्त्रीसम्मको उपचार गर्ने मोरङका लखिराम


विराटनगर—मोरङको कानेपोखरी गाउँपालिका– १ होक्लाबारीका जोहल मुर्मुको सवारी दुर्घटनामा परेर ४ वटा करङ र मेरूदण्ड भाँचियो । तत्काल उपचारको लागि उनी विराटनगरको नाम चलेका अस्पतालमा पुगे । उनलाई चिकित्सकले शल्यक्रिया गरी उपचार गर्न सुझाव दिए ।

तर, शल्यक्रियाको बिकल्प खोजिरहेका उनी मोरङको रङ्गेली–४ आमतोलामा रहेको जगदम्बा मुर्मू योग जडीबुटी उत्पादन तथा उपचार सेवा केन्द्रमा पुगे । उक्त केन्द्रका वैद्य लखिराम मुर्मूकोे जडिबुटी औषधि खाएपछि अहिले उनलाई निकै राम्रो भएको छ ।

सेवा केन्द्रमा रहेर नियमित उपचार गराउँदैं आएका मुर्मूले जडिबुटीबाट अहिले ठिक हुँदै गएको बताए । ‘सेवा केन्द्रमा आएर जडिबुटीबाट उपचार सुरू गरेको १५ दिन भयो,’ उनले भने, ‘नियमित जडिबुटीको औषधी सेवनले ठिक हुँदै गएको छ ।’

यस्तै मोरङ कटहरी गाउँपालिकाका लखन राजवंशीको दायाँ खुट्टा भाचियो । उनी पनि जडिबुटीबाट उपचार गर्न जगदम्बा मुर्मु योग उपचार केन्द्रमा पुगेका थिए । दुई महिनाको उपचारपछि अहिले पूर्ण रूपमा उनी ठीक भएका छन् । उपचार केन्द्रमा भेटिएका राजवंशीले भने, ‘दुई महिनाको उपचारपछि अहिले ठिक भएको छु । दुर्घटना भएर खुट्टा बाँचिएपछि चिकित्सकले शल्यक्रिया गरेर स्टिल लगाउनुपर्छ भन्नुभयो,’ उनले भने, ‘मलाई निक्कै डर लाग्यो । शल्यक्रिया गर्नुभन्दा जडिबुटीबाट उपचार गर्ने निधो गरे ।’ नियमित रूपमा जडिबुटीबाट उपचारपछि अहिले ठिक भएपछि पुरानै अवस्थामा पुगेजस्तो महसुस भएको उनले बताए । ‘पछिल्लो ल्याब रिपोर्टले पनि खुट्टा ठिक भएको देखाएको छ,’ उनले भने, ‘पहिला जसरी अहिले पनि राम्रोसँग हिडडुलसँगै काम पनि गर्न सक्ने भएको छु ।’

उल्लेखित घटना प्रतिनिधि मुलक हुन् । मोरङ रङ्गेली–४ आमतोलास्थित जगदम्बा मुर्मु योग जडीबुटी उत्पादन तथा उपचार सेवा केन्द्रमा उपचार गराउन आउने यस्ता बिरामीको भींड नै लाग्ने गर्छ । लखिरामले ग्रामीण बस्तीका निमुखादेखि हुने खाने र मन्त्रीसम्मको उपचार गरेका छन् । वैद्य लखिरामले २०६५ सालदेखि जडिबुटीबाट प्राकृतिक उपचार व्यवसायिक रूपमा सुरु गरेका हुन् । ‘हाम्रो समुदायमा बावुबाजेको पालादेखि जडिबुटीबाट उपचार गर्दै आएका छौं,’ लखिरामले भने, ‘पुर्खौली पेशालाई आफूले पनि आंगाल्दै आएका हो ।’ उनले गम्भीर प्रकृतिका समस्या, आधुनिक उपचार पद्धतिले विभिन्न प्रकारका हेपाटाइटीसहरु, हाडजोर्नी मेरूदण्ड ढाड भाँचिएको, पाता खुस्केको, पायल्स, ग्याष्टिक, क्यान्सरसमेत आयुर्वेदिक उपचार गर्दै आएका छन् ।

७१ वर्षीय लखिरामले बुबा र हजुरबुबाको बैद्य पेसाबाट यो उपचार पद्धति सिकेका हुन् । ‘मेरो कुनै औपचारिक अध्ययन होइन् । तर, मेरा बाजे, हजुरबुबा र बुबाले परापूर्वकालदेखि नै गर्दै आएको पेसा र उहाँहरुले नै मलाई सिकाएकोले मैले अहिले यस्ता धेरै रोगको उपचार गर्ने गरेको छु’, उनी थप्छन् ।

लखिरामले आफूले संघीय सरकारका स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पनि जडीबुटीबाट उपचार गरेको बताए । ‘मन्त्री हुनुभन्दा अगाडि उपेन्द्र यादव ढाँडको समस्या भएर मकहाँ आउनुभएको थियो,’ उनले भने, ‘ढाडको समस्या भएपछि उहाँलाई मैले आयुर्वेदिक पद्धतिबाट उपचार गरेपछि जडिबुटीको औषधीहरू दिए । ठिक पनि हनुभयो । त्यसपछि आउनुभएको छैन ।’ यस्तै, पूर्व मन्त्री गोपाल किराँतीको पनि आयुर्वेदिक पद्धतिबाट उपचार गरेको उनले बताए ।

उनले आफ्नै घरको उपचार केन्द्रमा १८ वटा बेड राखेका छन् । उपचार केन्द्रमा आउने विरामीहरूलाई लामो समयसम्म बस्नु परे त्यही बेडमा राख्ने गरेका छन् । विरामी जाँच गरेको १ सय ५० रुपैयाँ र औषधिको मात्र उनले पैसा लिने गरेका छन् । वेडमा विरामी राखेकोे निःशुल्क छ । उपचारको क्रममा जति महिना बसे पनि निःशुल्क रहेको उनले बताए । खानपिनको व्यवस्था भने विरामी स्वयंमले गर्नुपर्ने हुन्छ ।

लखिरामको औषधिको स्रोत नेपालकै जडिबुटी हुन् । नेपालकै जडिबुटीबाट उनले उपचार गर्दै आएका छन् । ‘औषधि त म धेरै पहिलादेखि नै दिन्थें । तर, आयुर्वेद उपचारको केन्द्र नै दर्ता गरेर व्यवसायिक रूपमा सेवामा लागेको भने २०६५ सालदेखि नै हो’, उनी भन्छन् । यतिखेर उनको उपचार केन्द्रमा नेपालको विभिन्न सहर र छिमेकी मुलक भारतका बिरामी उपचाररत छन् । जडिबुटीबाट हुने प्राकृतिक उपचारमा विश्वास बढ्दै गएको जानकारी दिदैं उनले जडिबुटी उपचारका नाममा अहिले धेरै बिकृतिहरु आएको प्रति चिन्ता व्यक्त गरे ।

‘विज्ञापन दिएर हल्काफुल्का उपचारका लागि पैसा असुल्ने गरेका देखेको छु । मैले कहिल्यै यस्तो विज्ञापन गरेको छैन’, उनी सुनाउँछन्,’ ‘ मकहाँ उपचारमा आएका बिरामीकै सम्पर्कबाट अरु विरामी आउने गरेका छन् ।’ उनले नेपालीले आफ्नो अमूल्य जडिबुटी चिनेर पनि सदुयोग गर्न नसक्दा रोगी भएको बताए । उनी भन्छन्, ‘हामी तिनै जडिबुटीबाट बनेका औषधि महंगोेमा सेवन गर्न बध्य भएका छौँ ।’ उनका उपचार केन्द्रमा मासिक ६ सय विरामी उपचार गर्न आउने गरेको छन् ।


क्याटेगोरी : वैकल्पिक चिकित्सा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ