२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठवैकल्पिक चिकित्सापाल्पाको रामपुरमा योग उत्साह

पाल्पाको रामपुरमा योग उत्साह


बुटवल—पाल्पाको रामपुरमा पछिल्लो समय योगअभ्यासमा जागरण नै आएको छ । गाउँमा संचालनमा आएको योगअभ्यास कक्षामा स्थानीयहरु उत्साहजनक रुपमा सहभागी भैरहेका छन् । योगअभ्यास कक्षामा जान थालेपछि दीर्घरोगीहरुले स्वास्थ्य लाभसमेत लिएको बताएका छन् ।

नियमित रुपमा गाउँमा संचालन भएको योगाभ्यास कक्षामा सहभागी भएर योग गरेपछि आफूलाई उच्च रक्तचापको समस्या विस्तारै समाधन हुँदै गएको रामपुरकी ३० वर्षीया लक्ष्मी भण्डारी सुनाउँछिन् ।

उनलाई मात्र होइन स्थानी शान्ति गौतमलाई लामो समयदेखिको टाउको दुख्ने, हाडजोर्नी दुख्नेजस्ता समस्या थिए । उनलाई पनि योग अभ्यासमा जान थालेपछि सन्चो हुँदै गएको छ । ‘योग गर्न थालेपछि लामो समयदेखि खुब दुःख पाएकी थिए । सन्चो होला जस्तो भएको छ,’ उनले भनिन् ।

रामपुर नगरपालिका–५ स्थित रेशम सभाहलमा बिहान ५ बजेदेखि ६ः३० बजेसम्म दैनिक नियमित योगअभ्यास कक्षा सञ्चालन हुन्छ । त्यहाँ जाँदा योगमय माहोल बन्दछ । बालबालिका, युवायुवतीदेखि ज्येष्ठ नागरिकसम्मको सहभागिता योगअभ्यासमा रहेको हुन्छ ।

योगाभ्यास कक्षामा हालसम्म ४५ जना आबद्ध भएका छन् । जसमध्ये दैनिक ३० जना भन्दा बढी नियमित उपस्थिति हुने गरेका रामपुर पतञ्जली योगअभ्यास समितिका अध्यक्ष ओमप्रकाश रेग्मीले बताए । उनका अनुसार प्रतिव्यक्ति मासिक रु ५० लिने गरिएको छ । हलको राम्रो व्यवस्थापन गर्न नसकिएको उनी बताउँछन् । ‘जाडोयाममा हलभित्र कार्पेटको राम्रो प्रवन्ध गर्न सकिएको छैन्, झ्यालहरु खुल्ला रहेकाले चिसोको समस्या छ,’ उनले भने ।

रामपुर नगरपालिकाका दशवटै वडा, टोल बस्तीमा योगाभ्यास चलाउने योजना समितिले बनाएको छ । नगरपालिकाले योगाभ्यास गर्ने भवन, हलको व्यवस्थापन गरिदिए प्रत्येक वडा, गाउँ, टोल बस्तीमा गएर नियमित योग कक्षा सञ्चालन गर्ने तयारी रहेको उनको भनाइ छ ।


क्याटेगोरी : वैकल्पिक चिकित्सा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ