२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्यमहिलामा सेतो पानी बग्ने समस्या र सामाधान

महिलामा सेतो पानी बग्ने समस्या र सामाधान


हरेक महिलाले आफ्नो जीवन कालमा एक मात्र नभई धेरै पटक सेतो पानी बग्ने समस्यासंग सामना गर्नु परेको हुन्छ । यस्तो समस्या कसैले खुलेर बताउने गर्छन भने कसैले लुकाउने गरेको पाईन्छ । यसको मूल जड नै यो यौनाङ्ग संग सम्वन्धित विषय हुुनु हो ।

के हो सेतो पानी बग्ने समस्या ?

योनीमार्गबाट सामान्य भन्दा अधिक रुपमा सेतो पानीको स्राव हुनु नै सेतोपानी बग्ने समस्या हो । आयुर्वेदमा यसलाई श्वेत प्रदर भनिएको छ । यस्तो हुनु सामान्य पनि हुनसक्छ भने विभिन्न रोगको लक्षण पनि हुनसक्छ ।

कसलाई सामान्य रुपमा लिने?

१. महिनावारी हुनु भन्दा अगाडी सेतो पानी बग्नु,
२. गर्भवती भएको समयमा सेतो पानी बग्नु,
३. बच्चा जन्माई सकेको केही समय सम्म सेतो पानी बग्नु,
४. यौन क्रीडा अगाडी र योन क्रीडाको समयमा आउने सेतो पानी,
५. बीज उत्पतीको समयमा (महिनावारी भएको करीव १२ देखि १८ दिनको बिचमा) आउने सेतो पानी लाई सामान्य रुपमा लिन सकिन्छ ।

कसलाई असमान्य रुपमा लिने?

१. स्राव अत्याधिक भएमा,
२. गन्हाउने स्राव भएमा,
३. बाक्लो स्राव भएमा,
४. पहेलो, हरीयो स्राव भएमा,
५. योनी चिलाउने भएमा,
६. स्रावका साथै ज्वरो आउनु, तल्लो पेट दुख्ने, कम्मर दुख्ने, यौन सम्पर्क गर्दा सहनै नसक्ने गरी दुख्ने भएमा यसलाई असमान्य रुपमा लिन सकिन्छ ।

उपचार आवश्यक छ की छैन ?

सामान्य रुपमा सेतो पानी बगेको छ र यसले दैनिक जीवनमा प्रभाव पारेको छैन भने उपचार आवश्यक पर्दैन । तर नजिकको डाक्टरलाई देखाएर सल्लाह लिँदा राम्रो हुन्छ ।

उपचार

सामान्य अवस्थामा निम्न कुराहरु गर्न सकिन्छ ।

  • योनीलाई मन्तातो पानीले पखाल्ने र सफा कपडाले पुछ्ने,
  • योनी चिसो नराख्ने, चिसो कपडा प्रयोग नगर्ने, प्रत्यक दिन भित्रि कपडा परिवर्तन गर्ने,
  • यौन क्रीडा गर्दा कण्डमको प्रयोग गर्ने,
  • योनी स्राव भएको समयमा गह्रौ भारी नबोक्ने, गाह्रो काम नगर्ने,
  • महिनावारी भएको समयमा सरसफाईमा विशेष ध्यान दिने गर्नुपर्दछ ।
  • चौलानी पानी पिउनाले पनि केहि हद सम्म सेतोपानी बग्ने समस्यामा कमि आउँछ ।

असमान्य लागेमा कारण पत्ता लगाएर मात्र उपचार गर्नु पर्ने भएकोले डाक्टरलाई देखाएर उपचार सुरु गर्दा राम्रो हुन्छ । हाम्रो समाजमा लाजका कारण डाक्टरलाई नदेखाउने र औषधि पसलमा गई आफै बारम्बार एण्टीवायोटीको प्रयोग गर्दछन् । यसले झन जटीलता निम्त्याउन सक्छ ।

के आयुर्वेदमा यसको उपचार सम्भव छ ?

आयुर्वेदमा यसको उपचार सम्भव छ । रोगको मूल कारण पत्ता लगाएर रोग र रोगीको बल र प्रकृति अनुरुप औषधि छनोट गरी औषधि प्रयोग गर्नुका साथै योनी प्रच्क्षालन, योनी पिचु जस्ता विभिन्न तरिकाले उपचार गरीने भएकोले आयुर्वेद उपचार यसमा प्रभावकारी पनि छ । यसका लागि नजीकको आयुर्वेद चिकित्सालयमा गई सेवा लिन सकिन्छ ।

डा. रुपेश सोनाम
आयुर्वेद चिकित्सक


क्याटेगोरी : यौन स्वास्थ्य, वैकल्पिक चिकित्सा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ