२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशकोरोनामुक्त गाउँपालिकाकी उपाध्यक्ष भन्छिन, ‘दुर्गम क्षेत्र भएकोले डाक्टर आउन चाहँदैनन्’

कोरोनामुक्त गाउँपालिकाकी उपाध्यक्ष भन्छिन, ‘दुर्गम क्षेत्र भएकोले डाक्टर आउन चाहँदैनन्’


गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित चुमनुब्री गाउँपालिका साविकका समागाउँ, ल्हो, प्रोक, विही, छेकम्पार, चुम्चेत र सिर्दिबास गाउँ विकास समिति मिलेर बनेको छ । चुमनुब्रीमा अहिले ७ वटा वडा छन् । सिर्दिवासको फिलिम गाउँपालिका केन्द्र हो । गोरखा सदरमुकामबाट फिलिम पुग्न ३ दिन हिड्नुपर्छ ।

हिउँदमा ५-६ घन्टा जीपको यात्रापछि डेढ दिनसम्म हिँडेर गाउँपालिका केन्द्र पुगिन्छ । चुमनुब्री दुर्गम गाउँपालिका भएकाले पाइलैपिच्छे समस्या भोग्नुपर्ने अवस्था छ । नयाँ संरचनाअनुसार गाउँपालिका बनेपछि पालिकावासीका स्वास्थ्य समस्या समाधानमा के-कस्ता पहल भएका छन् भन्नेबारे गाउँपालिकाका उपाध्यक्ष कुमारी गुरुङसँग हेल्थ आवाजका लागि सुनिल सापकोटाले गरेको कुराकानी :

गाउँपालिकाका जनताले स्वास्थ्य सुविधा प्राप्त गर्न सक्ने अवस्था छ ?

चुमनुब्री दुर्गम गाउँपालिका हो । यहाँको ढुवानीको माध्यम खच्चर हो । खच्चरबाटै औषधी ढुवानी गर्ने गर्छौं । पर्याप्त नै भएको अवस्था त होइन्, बजेट नै पर्याप्त हुँदैन । विभिन्न संघसंस्थाको सहयोगमा सबैलाई उपलब्ध गराउने प्रयासमा छौं । अहिले क्यान नेपालले औषधी उपलब्ध गराउन र स्वास्थ्यकर्मी व्यवस्थापनमा सहयोग गरिरहेको छ ।

बाहिरका स्वास्थ्यकर्मी (डाक्टर) आउन नै चाहँदैनन् । गाउँपालिकाले स्वास्थ्यकर्मी करारमा राखेर सेवा उपलब्ध गराउने गरेको छ । सुत्केरी हुन नसकेका महिला र गम्भीर दुर्घटनाका घाइतेलाई ठूलो समस्या छ । यस्तो अवस्थामा माउन्टेन चाइल्डको सहयोगमा हेलिकोप्टरबाट उद्धार गर्ने गरिएको छ ।

सम्बन्धित बिरामीले ४५ हजार तिरेपछि अरु संस्थाले ब्यहोरिदिन्छ । साह्रै गरिबका लागि वडा कार्यालयको सिफारिसमा नि:शुल्क पनि गरिदिन्छ । सामान्य बिरामीलाई त स्वास्थ्य चौकीको औषधीबाट उपचार हुन्छ । राष्ट्रपति उद्धार कार्यक्रमबाट पनि हेलिउद्धारको काम भइरहेको छ । हामी निर्वाचित भएर आएपछि सेवालाई सुधार्ने गरी काम गरिरहेका छौं । पालिका केन्द्र भएको मुख्य स्वास्थ्यचौकीमा ल्याब सञ्चालन गरेका छौं । सरकारी दरबन्दी छैन । १ जना गाउँपालिकाले र १ जना क्यान नेपालले स्वास्थ्यकर्मी राखेको छ । कर्मचारी अभाव हुन नदिने गरी काम गर्न प्रयासरत छौं ।

पालिकामा के-कस्ता समस्या भएका बिरामी बढी भेटिएका छन् ?

यो गाउँपालिका दुर्गम र पिछडिएको गाउँपालिकामध्ये एक हो । यहाँका मानिस भेडा बाख्रा चराउने, रुखको घाँस काट्ने गर्दा लडेर गम्भीर घाइते हुने गरेका छन् । सुत्केरी हुन नसक्ने समस्या त भइहाल्यो । त्यसमाथि सबैभन्दा बढी ज्यानै लिने भनेको त क्यान्सर रोगले हो । एकीन संख्या नै भन्न त सक्दिन तर क्यान्सरका कारण धेरैको मृत्यु भइसक्यो । क्यान्सर हुने महिलाको तुलनामा पुरुषको संख्या बढी छ । यहाँ उपचार भएन भनेर बिरामीलाई गोरखा, चितवन र काठमाडौं पठाउनै पनि समस्या छ । ७ वटै वडामा स्वास्थ्य संस्था छन् । कुनैमा २ वटा पनि छन् । गैरसरकारी संस्थाले गाउँपालिकासँग समन्वय गरी क्लिनिक पनि चलाएका छन् । यी सबैमा बिरामीको रोग पत्ता लगाउने गरी काम गर्न कठिन पनि छ ।

गम्भीर बिरामी, सुत्केरी हुन नसकेका लागि के कसरी उद्धार भएको छ ?

गम्भीर बिरामी र सुत्केरीको उद्धारका लागि हेलिकोप्टर नै एकमात्र विकल्प हो । एम्बुलेन्स सञ्चालन गर्न सम्भव छैन । हेलि उद्धार खर्चिलो छ । गाउँपालिकाको सिफारिसपछि जिल्लाबाट सिडिओ र संघबाट गृहमन्त्रालयको अनुमति लिएर मात्र हेलिकोप्टर आउने गर्छ । यसरी कागजी प्रक्रिया मिलाउँदा मिलाउँदै कति बिरामीको त ज्यानै पनि जाने गरेको छ । यो जटिल प्रक्रियालाई सहज बनाउने गरी संघीय सरकारले काम गरिदिए हुन्थ्यो । जे होस् हेलिउद्धारबाट नै बिरामी बाँच्ने आशा हुन्छ । मौसमका कारण हेलिकोप्टर आउन नसक्दा बिरामीको ज्यानै जाने अवस्था पनि छ । वि.सं. २०७३ सालको साउनमा सुत्केरी महिला उद्धारका क्रममा हेलिकोप्टर दूर्घटना हुँदा परिवारका ५ जना सदस्यकै ज्यान गएको दुखद् अवस्था पनि छ । मौसम र भौगोलिक अवस्थासँग चुनौती दिँदै उद्धार भइरहेको छ ।

बालबालिका र महिलाका लागि के – कस्ता काम भइरहेका छन् ?

बालबालिकालाई पोषणयुक्त खानेकुरा उपलब्ध गराउने गरेको छ । महिला स्वयंसेविकाका लागि न्यूनतम नै भए पनि मासिक १ हजार प्रोत्साहन भत्ता उपलब्ध गराउने गरेका छौं । पोषणयुक्त खानेकुरा सम्बन्धि सचेतना फैलाउने पनि भइरहेको छ । स्थानीय अर्ग्यानिक तरकारी, फलफूलमा जोड दिएका छौं ।

स्थानीयको स्वास्थ्यसम्बन्धी चेतनास्तर कस्तो छ ?

हाम्रो गाउँपालिका नै जनजाति बसोबास गर्ने गाउँपालिका भएकाले रक्सी सेवनबाट हुने समस्या बढी छ । रक्सी संस्कृतिसँग पनि जोडिने भएकाले यसबाट बढी असर छ । यसको बेफाइदाबारे सम्झाउने काम भइरहेको छ । अहिले कोरोनाको बेला हेर्ने हो भने त अन्य ठाउँमा समस्या भयो होला । यो गाउँपालिका कोरोनामुक्त गाउँपालिका नै रहिरह्यो । दुर्गम छ, कोरोना लागि हालेमा उपचार पाउन नसक्ने हुनसक्छ भनेर हामीले सम्झायौं । यसमा हामी सफल भयौं । जनचेतना, प्रचारप्रसारबाट चेतनास्तर उकास्न सफल भएका छौं । स्वास्थ्यकर्मीलाई पनि रक्सीको लत र बेफाइदाबारे ब्रिफिङ गर्न भनेका छौं । एक घर, एक धारा योजनाअनुसार काम भइरहेको छ, यो सम्पन्न भइसकेपछि सरसफाइमा पनि अझ बढी ध्यान पुग्नेछ ।

संघ र प्रदेश सरकारसँग के कस्ता अपेक्षा गर्नुभएको छ ?

हामीले संघीय र प्रदेश सरकारसँग सहयोग खासै मागेकै छैन । सक्दो गाउँपालिकाबाट गरिरहका छौं । गैरसरकारी संघसंस्थाले गरेको सहयोगमा गाउँपालिकाले समन्वय गरेको छ । प्रदेश र संघसँग यस क्षेत्र दुर्गम भएकाले थप सहयोग माग्नुपर्छ जस्तो त लाग्छ, तर भनाइमै  सिमित हुन्छ । सरकारी कुरामा धेरै गाह्रो हुँदो रैछ  । स्थायी कर्मचारी छैन । स्थायी कर्मचारी छिटो नियुक्त गरिदिए हामीलाई राहत हुने थियो  ।

भावी योजना के-के छन् ?

आधारभूत सेवाअन्तर्गत एक्स-रे, भिडियो एक्स-रे सेवा गाउँपालिकामा उपलब्ध गराउने प्रयासमा छौं । गाउँपालिकाको केन्द्र रहेको सिर्दिबासमा ५ बेडको अस्पताल निर्माणपछि यो काम पूरा गर्न सक्छौं होला । अस्पताल शिलान्यास भयो, टेन्डर भएको छैन, छिटै टेन्डर होला । हाम्रै कार्यकालमा अस्पताल बनेर एक्स-रे, भिडियो एक्स-रे सेवा दिए हुन्थ्यो भन्ने जनताको आशा पनि छ ।

स्थानीयबाट नै जनशक्ति उत्पादन गर्ने र प्राविधिक शिक्षा अध्ययन गर्दा आवश्यक परेमा सहयोग गर्ने वचन दिएका छौं, अहिलेसम्म सहयोग उपलब्ध गराइसकेको अवस्था भने होइन । दीर्घकालीन सोच राखेर काम भइरहेको छ । जनताको पूरै अपेक्षा पूरा हुने गरी सबै सुविधासम्पन्न त नहोला तर सन्तुष्ट बनाउने गरी काम गर्छौ ।

विभिन्न गैरसरकारी संघसंस्थाको सहयोगमा काम गरिरहेका छौं । गाउँपालिकालाई सडक सञ्जालमा जोडेर सवारी चल्ने बनाउँछौं । त्यसपछि बिरार्मी उद्धार सहज बनाउन सक्छौं भन्ने विश्वास छ । हेलिकोप्टरको खर्चले उपचार गर्न सकिन्छ । पालिकाबासीको स्वास्थ्य खर्चमा कमी र उद्धारमा सहज बनाउने लक्ष्य छ ।


क्याटेगोरी : गण्डकी प्रदेश, पालिका स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ