२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा कोभिडविरुद्धको खोप लगाउने लक्ष्यभन्दा बढी, बुस्टर लगाउने १८ प्रतिशत

गण्डकीमा कोभिडविरुद्धको खोप लगाउने लक्ष्यभन्दा बढी, बुस्टर लगाउने १८ प्रतिशत

टाइफाइडविरुद्धको खोपमा पनि सफलता हासिल हुने दाबी


पोखरा—कोभिड–१९ महामारी फैलिएपछि सरकारले २ वर्षअघि चैत ११ देखि देशव्यापी लकडाउन घोषणा ग¥यो । त्यसपछि आम साधारणमा महामारीको त्रास फैलियो । नयाँ प्रकृतिको महामारीमा स्वास्थ्यकर्मीसमेत ज्यान गुमाएका घटना सार्वजनिक भएपछि स्वास्थ्यकर्मी नै कोभिड–१९ बाट त्रसित थिए ।

कोभिडको पहिलो लहरमा धेरै बिरामीको ज्यान जानुको मुख्य कारण त्रास नै भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा कोभिड फोकल पर्सन डा. शरदचन्द्र बराल बताउँछन् । स्वास्थ्यकर्मीले खोप पाएपछि आत्मविश्वास बढेकाले बिरामीले सेवा पाएको र दोस्रो लहरमा धेरैको ज्यान बचाउने उपचार भएको उनको भनाइ छ ।

पहिलो, दोस्रो र तेस्रो लहरपछि अहिले बिरामीको ज्यानै जाने जोखिम भने कम भएको छ । यसको मुख्य कारण कोभिड–१९ विरुद्धको खोप तथा स्वास्थ्यकर्मीमा महामारीबारे जानकारी तथा आत्मविश्वासका साथ बिरामीको उपचार भएको स्वास्थ्यकर्मीहरु बताउँछन् । संक्रामक तथा सरुवा रोग अस्पतालका निर्देशक डा. विकास गौचनले आफू दुई पटक कोभिड–१९ संक्रमित भएको स्मरण गर्दै भने, ‘हामीले बिरामीलाई सकेसम्म धेरै सुविधा दिने गरी काम ग¥यौं । पहिले नभएका पूर्वाधार पनि थप गरेर उत्कृष्ट सेवा दिन सक्यौं ।’

गण्डकी स्वास्थ्य निर्देशनालयले प्रदेशमा लक्ष्यभन्दा बढीलाई खोप लगाउन सफल भएको जनाएको छ । गण्डकीमा १८ वर्षमाथिका कुल १०५ प्रतिशतले कोभिड–१९ विरुद्धको पहिलो मात्रा खोप लगाएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । दोस्रो मात्रा लगाउने १०३ प्रतिशत रहेका छन् भने १८ प्रतिशतले थप मात्रा (बुस्टर डोज) लगाएका छन् ।

निर्देशनालयका अनुसार सबैभन्दा बढी मुस्ताङमा १७७ प्रतिशत र बागलुङमा सबैभन्दा कम ९१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । यस्तै, गोरखामा १०४, मनाङमा १३०, म्याग्दीमा १००, कास्कीमा १११, लमजुङमा १०९, तनहुँमा १००, नवलपरासीमा ११३, स्याङ्जामा १०५, पर्वतमा ९२ प्रतिशतले कोभिड–१९ विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् ।

यस्तै, पूरा मात्रा (दोस्रो डोज) लगाउने बाग्लुङमा सबैभन्दा कम ८० प्रतिशत र मुस्ताङमा १८० प्रतिशत रहेका छन् । निर्देशनालयका अनुसार गण्डकीको सदरमुकाम रहेको जिल्ला कास्कीमा १२१ प्रतिशतले पूरा मात्रा लगाएका छन् ।

यसैगरी, १२ देखि १७ वर्ष उमेर समूहका ८५ प्रतिशतले गण्डकीमा पूरा मात्रा र ९४ प्रतिशतले पहिलो मात्रा लगाएका छन् । पहिलो मात्रा लगाउने नवलपरासी पूर्वमा सबैभन्दा धेरै ११० प्रतिशत रहेका छन् भने सबैभन्दा कम ३१ प्रतिशत मनाङमा रहेका छन् । कास्कीका १०२ प्रतिशत १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाले कोभिड–१९ विरुद्धको पहिलो मात्रा लगाएका छन् ।

यही उमेर समूहमा दोस्रो मात्रा सबैभन्दा बढी नवलपरासी पूर्वमा ९८ प्रतिशत र सबैभन्दा कम मनाङमा १९ प्रतिशतले लगाएका छन् । गण्डकीका ११ जिल्लामध्ये गोरखामा २१, मनाङमा ३३, मुस्ताङमा १४, म्याग्दीमा २२ प्रतिशतले थपमात्रा (बुस्टर) लगाएका छन् । यस्तै, कास्कीमा १९, लमजुङमा २७, तनहुँमा १६, नवलपरासी पूर्वमा १२, स्याङ्जामा १९, पर्वतमा २२, बाग्लुङमा १६ प्रतिशतले बुस्टर डोज खोप लगाएका छन् ।

गण्डकीमा पछिल्लो समय कोभिड–१९ संक्रमण पुष्टि हुनेको संख्या एक अंकमा रहेको छ । कोभिड–१९ विरुद्धको खोप लगाउनेको संख्या लक्ष्यभन्दा बढी भएकाले अब संक्रमितको मृत्यु हुने वा जटिल अवस्था रहने सम्भावना नै कम भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड फोकल पर्सन डा. बरालले बताए । ‘नयाँ खालको खतरनाक भेरियन्ट (महामारी) नआए अब ज्यानै जाने जोखिम कोभिडबाट हुँदैन्,’ उनले भने, ‘तर, महामारी जहिले र जुन अवस्थामा पनि फैलन सक्नेतर्फ भने चनाखो रहनै पर्छ ।’

गण्डकीमा साधारण बेड ४८७, एचडियु बेड ३१३, आइसियु बेड १६६ र भेन्टिलेटर बेड ६९ गरी १ हजार ३८ बेड क्षमता रहेकोमा बिरामी भर्ना संख्या शून्य (०) रहेको निर्देशनालयले जनाएको छ । तत्काल कोभिड बिरामीको चाप नभएको भएपनि कोभिडलगायत महामारी जोखिम बढ्न सक्ने भएकाले स्वास्थ्यका सबै मापदण्डहरुको अनिवार्य पालना गर्नसमेत निर्देशनालयले आग्रह गरेको छ ।

कोभिड–१९ विरुद्धको खोपमा लक्ष्यभन्दा बढीलाई खोप लगाएको गण्डकी प्रदेशले १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाका लागि लगाउने भनिएको टाइफाइडविरुद्धको खोपमा पनि पूर्ण सफलता हासिल गर्ने दाबी गरेको छ । गण्डकीमा उक्त उमेर समूहका ५ लाख ६० हजार बालबालिका रहेको तथ्यांक छ । टाइफाइडविरुद्धको खोपको प्रभावकारिता ९६.९७ प्रतिशत रहेको दाबी गरिएको गण्डकी स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले उल्लेख गरे ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ