२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्य‘मलाई तनाव भयो भने ध्यान गर्छु’

‘मलाई तनाव भयो भने ध्यान गर्छु’


मानिसको जीवनकालमा हरेक किसिमका तनाव आउँछन् । एउटा ९, १० कक्षामा अध्ययन गरिरहेको विद्यार्थीलाई सोध्नुस्, उसलाई त्यतिबेला जुन तनाव छ त्यो नै उसको जीवनको सबैभन्दा ठूलो तनाव हो । अर्को भर्खरै करियर सुरु गरेको एक युवासँग बुझ्नुस्, उसको आफ्नै तनाव छ । एक युवा अथवा वृद्ध मानिसलाई सोध्नुस्, उसको पनि आफ्नै तनाव हुन्छ ।

१०/११ वर्षको बालबालिका कुरा सुन्नुुस्, उसको पनि आफ्नै खालको पीडा छ । पीर छ, चिन्ता छ । तर, त्यसलाई हामीले बुझ्दैनौं । त्यसैले हरेक मान्छेको जीवनमा कुनै न कुनै तनाव हुन्छ । त्यसकारण के कुरामा ख्याल गर्नुपर्छ भने जो मानिस स्वस्थ रहन चाहन्छ, उसले शारीरिक, भावनात्मक र मनोवैज्ञानिक स्वास्थ्यलाई सन्तुलनमा राख्न सक्नुपर्छ । यी तीन कुरालाई सन्तुलनमा राख्न सकियो भने हामी सधैं स्वस्थ र फूर्तिलो देखिन्छौं ।

म पनि यी तीन कुरालाई सन्तुलनमा राख्न हमेशा कोशिस गर्छु । त्यसको प्रभाव मेरो शरीरमा प्रष्टै झल्किन्छ । त्यसो त मलाई धेरै मानिसहरुले भन्नुहुन्छ, ‘तपाईंको शरीर सधैं फिट, अनुहारमा खुशी, चमक देखिन्छ किन ?’ यो त्यही तीन वटा कुराको सन्तुलनको कमाल हो । त्यसैले हरेका मानिस स्वस्थ रहनका लागि शारीरिक, मनोवैज्ञानिक र भावनात्मक रुपमा स्वस्थ हुन जरुरी छ ।

बिहानको तीन घण्टा आफ्नै लागि

मेरो दैनिकीको सुरुवात पनि त्यसरी नै हुन्छ । म बिहान ६ बजे उठ्छु । उठेर मुख धोएर फ्रेस भएपछि पूजाआजा गर्छु । करिब २० मिनेटको समय पूजा आराधनालाई छुट्याएको छु । शरीरको एक्सरसाइज गर्नुभन्दा अगाडि गर्ने पूजा आराधानले मेरो मेन्टल एक्सरसाइज, आत्माको एक्सरसाइज हुन्छ । पूजाका साथै १५ मिनेट ध्यानजप गर्छु । जसले मानसिक रुपमा आउने तनावलाई कम गर्न ठूलो मद्धत गर्छ ।

पूजा सकेपछि एक कप चिया पिउँछु । त्यसपछि शारीरिक व्यायाम गर्छु । लकडाउनभन्दा पहिला जिम जान्थें तर अहिले जिम बन्द भएकाले घर वरिपरी नै करिब ४५ मिनेट देखि १ घण्टासम्म हिँड्छु । त्यसपछिमात्र दैनिकी कामकाजका लागि मेरो जिउ, आत्मा र दिमाग तयार हुन्छ ।

करिब सवा नौ बजे म अफिस हिड्छु । विहान ६ बजेदेखि ९ बजेसम्मको समय आफ्नो लागि हो । यसमा मेरा परिवार, साथीभाइ, इस्टमित्र, अफिस कुनै कुराले पनि हस्तक्षेप गर्न पाउँदैन । यो अवधिमा मेरो पूजा, ध्यान, एक्सरसाइज, नुहाइधुवाइ, जुँगा मिलाउने, समाचार हेर्ने काम हुन्छ । त्यसैले यो समय मेरा लागि हो । हरेक दिनको सुरुवात राम्रोसँग गर्ने कोशिस गर्छु । त्यसपछि दिनमा त कहिले राम्रो हुन्छ, कहिले उथलपुथल भैरहेको हुन्छ । जे भएतापनि त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ । मैले त्यसरी नै लिन्छु । जस्तो मेरो दैनिक एउटा सेड्युअल हुन्छ तर त्यसमाथि धेरै काम थपिँदै जान्छ । तर, कामकाजका सिलसिलामा आएका तनावलाई व्यवस्थापन गर्दै अघि बढ्छु ।

घर पुगेपछि लुडो खेल्छु

बेलुका घर गएर श्रीमती, छोरीसँग दिनभरी के भयो त्यसका बारेमा कुराकानी गर्छौँ । जसले उर्जा दिन्छ । त्यसपछि दिनभरको थकान र तनावबाट मुक्त हुन श्रीमती, छोराछोरीसँग लुडो खेल्छु ।

रक्सी, चुरोट खादिनँं

अहिले मेरो रक्सी चुरोट खाने आदत छैन । कलेज लाइफमा हुँदा रक्सी, चुरोट खान्थें । तर, खान छोडेको २० वर्षभन्दा बढी भैसक्यो ।

मेरो खानपान

खाना एकदमै कम खान्छु । हप्ताको एकदिन दाल, भात, तरकारी, अचार, खसीको मासु खान्छु । यो बाहेक मेरो हरेक दिनको एउटै रुटिन छ । बिहान ब्रेकफास्टमा ग्रीन टी, फलफूल खान्छु । लन्च अफिसमै हुन्छ । करिव १ बजेतिर लन्च लिन्छु । जुन घरबाटै आउँछ । जसमा प्रायजसो स्यान्डवीच र तरकारी हुन्छ ।

खाजाका रुपमा काजु, बदामजस्ता नट्सहरु खान्छु । बेलुका घर पुगेपछि फलफूल खान्छु । बाहिरको खानेकुरा सकभर नखाने कोशिस गर्छु । बेलुका तातो खाना खान्छु । प्राय रोटी खान्छु । आजकाल छोरीले खाना बनाउन थालेकी छिन् ।

उनले अनेकथरी खानेकुरा बनाउँछिन् । त्यसैले हिजोआज चाहिँ उनले जे बनाउँछिन्, त्यही खान्छु । तर, तातो खानेकुरा खान्छु । म मांशाहारी हुँ । मलाई खसी र अष्ट्रिजको मासु निकै मनपर्छ ।

बेलुका १० बजेभन्दा अघि सुति सक्छु

अनि बेलुका ८ बजेतिर फेरि म धुप आरती र जप गर्छु । यो अलि छोटो समय हुन्छ । हामीले दिनको सुरुवात जसरी गरेका हुन्छौं, दिनको अन्त्य पनि त्यसरी नै गर्नुपर्छ । हामीले रिचार्ज गर्ने भनेको सुतेको बेलामा हो । सुत्नुभन्दा अघि हाम्रो दिमागमा तनाव, कन्फ्युजन छ भने निदाइन्छ होला । हाम्रो शरीर, दिमाग र आत्मामा जुन किसिमले रिचार्ज हुनुपर्ने हो त्यो हुँदैन ।

बिहान उठ्दा निन्द्रा नपुगेजस्तो अनुभव हुन्छ । त्यसैले सुत्नुभन्दा अघि दिमाग फ्रेस हुनुपर्छ । फ्रेस हुनका लागि म आरती र जपध्यान गर्छु । त्यसपछि सकेसम्म १० बजेभन्दा अघि सुतिसकेको हुन्छु ।

तनाव कन्ट्रोल गर्न ध्यान

काम गर्ने सिलसिलामा विभिन्न खालका तनाव आउँछन् । तर, म आफ्नो तनाव आफैंसँग राख्छु र सामान्य रुपमा आउँछु । मलाई एकदमै तनाव भयो र मैले मेरो सेक्युरिटीलाई, अफिसका कर्मचारीलाई, घरपरिवारसँग रिसाएँ, कराएँ भने मेरो तनाव शान्त हुँदैन । त्यसले तनाव पासमात्र हुन्छ ।

म सकेसम्म तनाव लिन्न यदि काम गर्दै जाँदा निकै तनाव भयो भने त्यसलाई कन्ट्रोल गर्न ध्यान गर्छु । त्यसपछि तनावबाट कसरी निस्कन सकिन्छ भनेर उपाय निस्कन्छ । हरेक कुरामा निरन्तरता हुनुपर्छ । जसले परिवार, करिअर र व्यक्तिगत जीवनमा राम्रो प्रभाव पर्छ ।

फुर्सदको समय परिवार र साथीभाइलाई

मेरो फूर्सदको समय निकै कम छ । हप्तामा शनिबार मेरो फुर्सद हुन्छ । त्यसैले यो दिन म केही पनि गर्दिनँ । यो दिन मेरो परिवार, आफन्त र साथीभाइका लागि हो । मैले अहिलेसम्म तीनवटा कम्पनीमा काम गरिसके । अहिले म नबिल बैकमा छु । यहाँ पनि म सधैं रहन्छु भन्ने छैन । तर, मेरो परिवार, साथीभाइ, आफन्त त सधैं मसँगै रहिरन्छन् नि । उहाँहरुलाई नै मैले समय दिन सकिनँ भने मेरो जिन्दगीको के अर्थ रह्यो त ? त्यसैले शनिबारको दिन अरु कामलाई नो चान्स ।


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ