२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यकोभिड कहरका बेला यसरी गरौं दैनिक छालाको स्याहार

कोभिड कहरका बेला यसरी गरौं दैनिक छालाको स्याहार


कोरोना महाव्याधिको अहिलेको परिस्थितीमा हरेकले अनेकौं समस्याको सामना गर्नु परिरहेको छ । यो समस्या केवल एक देशको लागि मात्र नभएर सम्पूर्ण विश्वकै लागि साझा चुनौती बन्न पुगेको छ । कोरोना कहरका कारण व्यक्तिको दिनचर्यामा पनि निकै नै ठूलो परिवर्तन आएको छ ।

जसकारण नियमित पार्लर गएर आफ्नो सौन्दर्यको देखभाल गर्ने दिदीबहिनीलाई पनि सकस परेको छ । त्यस्ता दिदी बहिनीहरुका लागि आज म कसरी घरमै बसेर ‘फेस क्लीन अप’ गर्न सकिन्छ । यो किन आवश्यक छ । यसको महत्व के छ ?

फेस क्लिजिङका महत्व

हामी सबैलाई सफा, सुन्दर र आकर्षक अनुहारको इच्छा हुन्छ । आफ्नो अनुहारको छालामा कुनै पनि समस्या नदेखि यो सदैव चम्किलो रहोस् भन्ने नै सबैको चाहना हुन्छ । नियमित क्लिजिङ गर्नाले छालामा नमी आई अनुहारमा भएका अनावश्यक फोहोर ब्ल्याक हेडस हटेर अनुहारको छाला उज्यालो, चम्किलो र समस्यारहित हुन जान्छ ।

अनुहारको नियमित स्याहार–सुसार गर्नेमा कहिल्यै पनि अन्य बाहिरी समस्या देखा पर्दैन् । अनुहार सदैव स्वस्थ नै देखिन्छ । तसर्थ, घरमै बसेर कसरी अनुहारलाई प्रक्रियागत रुपमा सफा गर्न वा ‘क्लीन–अप’ गर्न सकिन्छ भन्ने कुरा तल उल्लेख गरिएको छ । जसले घरमै बसेर पनि उक्त विधिद्वारा अनुहारमा चमक ल्याएर समस्यारहित बनाउन सहयोग पुग्छ ।

१. क्लिजिङ
अनुहारलाई उज्यालो र चम्किलो देखाउनको लागि क्लिजिङको आवश्यकता पर्छ । फेस क्लिजिङको लागि ‘फेस–क्लिन्जर’ वा ‘फेस–वास’ को पनि प्रयोग गर्न सकिन्छ । तर, यदि घरमा यी दुवै छैन भने यसका विकल्पको रुपमा काँचो दुध अथवा घ्युकुमारीको चोप, काँक्रो र गोलभेडाको रसको पनि प्रयोग गर्न सकिन्छ ।

यसबाहेक पाकेको मेवा केराबाट पनि हामीले फेस क्लिजिङ गर्न सक्छौं । यदि अनुहार चिल्लो स्वरुपको छ भने त्यस्ता व्यक्तिले काँक्रो वा गेलभेडाको रसले क्लिजिङ गर्दा उचित नतिजा प्राप्त गर्न सकिन्छ । करिब ६ मिनेटसम्म क्लिजिङ गरेपछि सफा पानीले मुख धुनुपर्छ । यस समयमा तातोपानीको प्रयोग भने गर्नु हुँदैन ।

२. स्क्रबिङ
क्लिजिङ गरिसकेपछि स्क्रबिङ पनि गर्नुपर्छ । यसले अनुहारमा भएका मृत कोषिकालाई निकालेर नयाँ कोषिकाको निर्माण गर्दछ । साथै यसले छालाको भित्री रुपमा अर्थात् ‘डिप–क्लिजिङ’ समेत गर्छ । जसले अनुहारमा थप चमक ल्याउनुका साथै छालालाई स्वस्थ पनि राख्दछ । स्क्रब गर्दा प्याकको रुपमा स्क्रबलाई २/३ मिनेट सम्म अनुहारमा लगाउने ।

त्यसपछि केही समय औलाको माध्यमबाट हल्का मसाज गरिसकेपछि सफा पानीले विस्तारै पखाल्नुपर्छ । स्क्रबलाई ५ मिनेटभन्दा बढी मसाज गर्नुहुँदैन । यदि हामीसँग घरमा रेडिमेड स्क्रब छैन भने यसका लागि घरमै उपलब्ध गहुँ, चामल वा मकैको पिठोमा अलिकति बेसार मिसाएर पनि स्क्रब गर्न सकिन्छ । चिनी र महको मिश्रणबाट पनि स्क्रब तयार गर्न सकिन्छ । अत्यन्त संवेदनशील डन्डिफोर भएको छालामा स्क्रब गर्नु उचित रहँदैन् ।

३. टोनिङ
स्क्रब गरेपछि अनिवार्य रुपमा टोनिङ पनि गर्नुपर्छ । अन्य सामाग्रीजस्तै टोनरलाई पनि घरमा उपलब्ध सामाग्रीको माध्यमबाट पनि तयार गर्न सकिन्छ । जसका लागि काँक्रो, गोलभेडा तथा पुदिनाको रसको मिश्रण बनाएर वा गुलाब जलमा काँक्रोको रस मिसाएर पनि तयार गर्न सकिन्छ ।

टोनिङ हाम्रो छालाको लागि अत्यन्त आवश्यक रहन्छ । यसले हाम्रो छालको पिएचलाई ब्यालेन्समा राख्नुको साथै छालालाई टोन पनि प्रदान गर्दछ । सँगसँगै यसले छालाको ओपन पोरलाई पनि कम गर्दै छालामा एन्टी–ब्याक्टेरियलको समेत काम गर्दछ ।

४. मोस्चराइजर
यति गरिसकेका पनि अन्त्यमा घाँटीदेखि नोरिसङ क्रिम लगाउनुपर्छ । माथिका सबै प्रक्रिया अपनाइसकेपछि अनुहारमा मोस्चराइजर गर्न बिर्सिनु हुँदैन । मोस्चराइजर गर्दा ड्राई स्कीन हुनेले अल्कोहलरहित मोस्चराइजर प्रयोग गर्नुपर्छ भने ओइली फेस भएकाले अल्कोहल बेस वा लोसनको प्रयोग गर्नुपर्छ ।

मोस्चराइजरले छालामा थप नमी प्रदान गर्दै केही हदसम्म चाउपरीपनालाई समेत कम गर्दछ । यी बाहेक अनुहारमा चमक यथावत राखी राख्नका लागि दैनिक प्रशस्त पानीको सेवन गर्नुपर्छ ।


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ