२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यध्यान प्रेमी अभिनेता प्रदीप खड्काको फिटनेश रहस्य

ध्यान प्रेमी अभिनेता प्रदीप खड्काको फिटनेश रहस्य


एक सफल अभिनेताका लागि अभिनयको जति भूमिका हुन्छ, त्यति नै बढी भूमिका जिउडालको पनि । यिनै गुणले भरिपूर्ण छन् चकलेटी अभिनेता– प्रदीप खड्का । चलचित्र ‘स्केप’बाट सिने नगरीमा हाम फालेका खड्काले अभिनय गरेका अधिकांश चलचित्र हिटको सूचीमा छन् । यो सबै उनको उत्कृष्ट अभिनय, आकर्षक जिउडाल र चकलेटी मुहारको राज हो । उनले पछिल्लोपटक अभिनय गरेको चलचित्र ‘प्रेमगीत—३’ प्रदर्शनको तयारीमा छ ।

२९ वर्षीय खड्का व्यक्तित्व तथा स्वास्थ्यका दृष्टिकोणले पनि उत्तिकै फिट र आकर्षक देखिन्छन् । दर्जनौं फिल्ममा अभिनय गरिसकेका खड्कामा न कुनै चिन्ता छ, न त कुनै तनाव । त्यो शान्तभाव उनको अनुहारमा झल्किन्छ । त्यसो त मनमा रिस, राग, तनाव नराखी सधैं सक्रिय र उर्जाशील भएर काम गर्ने उनको स्वभाव छ । खड्काको अनुहारमा हमेशा ताजगी झल्किन्छ । आखिर उनको फिटनेश रहस्य के हो ? फिटनेशको कुनै त्यस्तो स्पष्ट फर्मुला छ ?

खड्का बिहान ५ देखि ६ बजेभित्र उठिसक्छन् । फ्रेस भएर ४५ मिनेट ध्यान गर्छन् । ध्यानका बेला उनी गायत्री मन्त्र र नवग्रह स्तुती गर्छन् । ध्यान सक्दा ७ बज्छ । ७ बजेपछि करिब २५ मिनेट प्राणायाम, कपालभाती, भ्रामरीलगायतका योगासन गर्छन् । अनि नुहाउँछन् । यति गरिसक्दा ८ बजिसक्छ । सुटिङ परेको बेलामा भने उनको यो सेड्युअल परिवर्तन हुन्छ । तर, ध्यान भने छोड्दैनन्, उनी ध्यान प्रेमी छन् । योग ध्यान सकेपछि ब्रेकफास्ट लिन्छन् । उनको खानपान निकै सरल छ । उनी ब्रेकफास्टमा दही, कन्फ्लेक्स, हनी लिन्छन् । यो नभएको दिन पिनट, बटर, ब्राउन ब्रेड अथवा फलफूल खान्छन् ।

ब्रेकफास्ट लिएर ९ बजे घरबाट निस्कन्छन् । यसपछि उनी नियमित मिटिङ अथवा वर्कसपमा व्यस्त हुन्छन् । १२ बजे लन्च लिन्छन् । लन्चमा उनको दैनिक एउटै हुन्छ भन्ने छैन । कहिले रोटी, दाल, गेडागुडी तरकारी खान्छन् भने कहिले ढिँडो, मकैको च्याँख्ला लिन्छन् । लन्चपछि करिव ४ बजेसम्म फेरि काममा व्यस्त हुन्छन् । ४ देखि ५ बजेभित्र स्न्याक्स लिन्छन् । स्न्याक्समा कफी, चना, दुध, कुकिजलगायतका खानेकुरा हुन्छन् ।

साँझ जिम

दिनभरको काम सकेपछि उनी त्रिपुरेश्वरमा रहेको ज्यास्मिन फिटनेस क्लब एन्ड स्पामा जान्छन् । त्यहाँ ५ बजेदेखि ७ बजेको समय बडी बिल्डिङमा बिताउँछन् । त्यहाँ उनले दैनिक रुटिन बनाएका छन् । सोहीअनुसार जिम, साउना, स्ट्रेचिङ, स्विमिङ गर्छन् । जिमबाट निस्किएपछि सिधै घर जान्छन् ।

सामान्य खानपान, १२ वर्षयता शाकाहारी

खड्काको खानपान एकदमै सामान्य हुन्छ । आफू खानेकुराको पारखी नभएको उनी बताउँछन् । तर, सन्तुलित खानेकुरामा भने ध्यान दिन्छन् । ब्रेकफास्ट र लन्चजस्तै उनको बेलुकाको खानपान सामान्य हुन्छ । बेलुकाको डिनर ८ देखि ९ बजेसम्म लिइसक्छन् । डिनरमा धेरैजसो सागसब्जी, सलाद खाने गर्छन् । बेलुका सकेसम्म भात खादैनन् । खड्का शाकाहारी हुन् । माछामासु खान छोडेको १२ वर्ष भएको उनी सुनाउँछन् । ‘मैले माछामासु छोडेको १२ वर्ष भयो,’ ललितपुर कुसुन्तीमा जन्मिएका खड्का भन्छन्, ‘मलाई चना, फलफूल र सागसब्जी निकै मनपर्छ ।’

दिनभरको थकान, तनावबाट मुक्त हुन उनी खाना खाइसकेपछि १ घन्टा मूभी हेर्छन् । अथवा, कुनै स्क्रिप्ट पढ्नुपर्ने, क्यारेक्टर डेभलप गर्नुपर्नेछ भने त्यतातर्फ लाग्छन् । उनी कतिबेला सुत्छन् भन्ने ठेगान हुँदैन । तर, सुटिङ नपरेको दिनमा भने उनी ११ बजेभित्र सुतिसक्छन् ।

नो टेन्सन

उनको अनावश्यक रुपमा तनाव लिने बानी छैन । अर्को कुरा उनको धेरै अपेक्षा गर्ने बानी छैन, जे छ त्यसमै रमाउने उनको आदत छ । यही बानीले शारीरिक तथा मानसिक रुपमा फिट रहन मद्धत गरेको खड्का बताउँछन् । ‘धेरै अपेक्षा ग¥यो भने तनाव हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले मेरो अनावश्यक कुराको अपेक्षा गरेर तनाव लिने बानी छैन । तर, तयारी भने गरिरहेको हुन्छु ।’

उनी आफूभित्र नै आफ्नो अस्तित्व खोज्छन् । आफूलाई चिन्ने प्रयास गर्छन् । हरेक दिन बिहान गर्ने ध्यानले तनावबाट छुटकारा पाउन सहज भएको उनको अनुभव छ । त्यसो त उनी एकदमै हतार भएको दिनमा १५ मिनेट भएपनि ध्यान गर्छन् । ‘ध्यान गर्ने बानी परेपछि छोड्नै मन नलाग्ने रहेछ,’ उनी भन्छन्, ‘ध्यानले कहिल्यै मुडअफ हुन दिदैन ।’

नियमित तौल जाँच

सबैकुरा मेन्टेन गरेपनि उनलाई तौल बढ्ला कि भन्ने कहिलेकाहीँ तनाव हुन्छ । त्यसैले उनले तौल नाप्नका लागि वेट मेसिन घरमै राखेका छन् । नियमित तौल जाँच्छन् । लकडाउनका कारण उनको ४ किलो तौल बढ्यो । तर, अहिले त्यसलाई ठीकमा ल्याइसके ।

अभिनेता खड्का अहिलेसम्म स्वास्थ्यमा कुनै समस्या नआएको बताउँछन् । ‘मेरो शरीरमा अहिलेसम्म कुनै स्वास्थ्य समस्या देखिएको छैन,’ उनी भन्छन्, ‘यो मैले खाने सन्तुलित खानपान, योग, ध्यानकै कमाल हो ।’

रक्सी, चुरोट खाँदैनन्

खड्का रक्सी चुरोटबाट टाढा छन् । उनले एसएलसीपछि एकपटक साथीहरुसँग कीर्तिपुरमा छ्याङ खाएका थिए । त्यतिबेला उनलाई बान्ता भयो । त्यसपछि उनले मदिराजन्य पदार्थ सेवन गरेका छैनन् । चुरोट त उनलाई मनै पर्दैन ।

कहिलेकाहीँ चलचित्रको सिनका लागि खानैैपर्ने बाध्यता पर्ने उनी बताउँछन् । ‘मलाई रक्सी चुरोट मन पर्दैन्,’ उनी भन्छन्, ‘चलचित्रको सिनका लागि लियो भने पनि मेरो शरीरले पचाउन सक्दैन् ।’


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ