२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यस्ट्यान्डर्ड चार्टर्ड बैंकका नेपाल प्रमुख अनिर्वाण : ‘मेहनत साथ खेल, फूर्ति साथ काम गर’

स्ट्यान्डर्ड चार्टर्ड बैंकका नेपाल प्रमुख अनिर्वाण : ‘मेहनत साथ खेल, फूर्ति साथ काम गर’

व्यवसायिक तनावलाई जीवनसँग जोड्नु हुँदैन्


बहु–राष्ट्रिय बैंकको रुपमा रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकको नेपालको प्रमुख कार्यकारी अधिकृत (सिईओ) बन्नुभन्दा अगाडि अनिर्वाण घोष दास्तिदारले ब्रुनाई, फिलिपिन्स र श्रीलंकामा पनि यो पदमा आफ्नो भूमिका निभाइ सकेका थिए ।

भारतबाट बैंकिङ करिअरको थालनी गरेका दस्तिदारले युनिभर्सिटी अफ कलकत्ताबाट कमर्स विषयमा स्नातक डिग्री हासिल गरेका छन् । यो बाहेक उनले कोलकातामै सेड बिजनेश स्कुल, युनिभर्सिटी अफ अक्सफोर्ड र इन्सेडले संचालन गरेका विभिन्न कर्पोरेट म्यानेजमेन्टका कोर्सहरु सम्पन्न गरेका छन् ।

नेपालमा कार्यभार सम्हाल्न आउनु अगाडि ब्रुनाईस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकमा सिईओ रहनु भएका दास्तिदारको बैंकिङ करिअरमा प्रवेश गरेको २६ वर्ष भैसकेको छ । भारतस्थित एएनजेड ग्रिण्डलेज बैंकबाट बैंकिङ करिअर थालेका दास्तिदारले यसअघि भारतमै बिजनेस हेड, क्यापिटल मार्केट एण्ड रिजनल हेडजस्ता पदमा रहेर कार्य सम्हालिसकेका छन् ।

सन् २०१९ को मार्चदेखि ब्रुनाईबाट नेपालको शाखा सम्हाल्न आएका दास्तिदारसँग हेल्थआवाजले उहाँको दैनिक जीवनशैली कस्तो किसिमको छ भन्ने विषयमा गरेको कुराकानीः

दास्तिदार तपाईंको दैनिक जीवनशैली कसरी चलिरहेको हुन्छ ?
मलाई सानैदेखि खेलकुदमा रुचि भएका कारण कसरत, ब्यायाम र अरु खेलकुद गतिविधिहरु मेरो दैनिक जीवनसँगै जोडिएर आएका छन् । काम विशेषले विभिन्न मुलुकहरुमा गएपनि मैले आफूले गर्दै आएको ब्यायाम, कसरत र खेलकुदका गतिविधिलाई अलग गर्ने गरेको छैन ।

पछिल्लो पटक काठमाडौंमा कर्मक्षेत्र बनाएर आएपनि मेरो दैनिकीमा खासै परिवर्तन भएको छैन । अहिले म विहान ६ बजे उठ्छु र नियमितजसो साइकिलिङ गर्ने र जिममा गएर कसरत गर्ने र गल्फ खेल्ने गर्छु । यदि कसैले निमन्त्रणा गरेर बाहिरी कार्यक्रममा सरिक हुनु नपर्ने हो भने म १० बजे तिर सुतिसकेको हुन्छु । फुर्सदको समय बाहिर डुलेर बिताउने भन्दा पनि घरमै परिवारसँग बिताउन मजा आउँछ । मलाई राति–राति बाहिर डुलेर हिड्न खासै मन पनि लाग्दैन् ।

तपाईं आफूलाई स्वस्थ राख्न के–के गर्नुहुन्छ ?
म स्वास्थ्यको विषयमा अलि अनौठो किसिमकै स्वभाव भएको ब्यक्तिमा पर्छु । मैले घरमै जिम बनाएको छु । जसमा मलाई चाहिने सबै उपकरणहरु रहेका छन् । यो बाहेक म सातामा ७० देखि ८० किलोमिटर साइकिलिङ गर्छु ।

सातामा एक दिन गल्फ खेल्न जान्छु । यसले मलाई केही हिड्ने अवसर दिन्छ भने स्वच्छ हावा पनि खान पाउँछु । यो बाहेक म दिनहुँ कुनै न कुनै किसिमको शारीरिक अभ्यास भने गरिरहेकै हुन्छ । नेपालमा आएपछि अहिले बेला–बेलामा म ट्रेक र हाइकिङ पनि गैरहेको हुन्छु ।

तपाईं शारीरिक अभ्यासका लागि कति समय खर्च गर्नुहुन्छ ?
दिनहुँ विभिन्न किसिमका शारीरिक अभ्यास गर्दा यस्तै एक डेढ घन्टा खर्च गर्ने गर्छु ।

तपाईंको कामको प्रकृतिअनुसार तपाईंलाई धेरै नै मानसिक तनाव हुन्छ होला । यो तनावलाईं तपाईं कसरी ब्यवस्थापन गर्नुहुन्छ ?
बैंकिङ क्षेत्रमै २८ वर्ष बिताइसकेको कारण सायद मेरो कामले गर्दा नै म अहिलेको अवस्थामा पुगेको हुँ । करिअरको यो अवस्थमा आउँदा मैले जीवनका सुन्दर क्षणहरुलाई संगालेको छु । कुनै पनि बैंकको सिईओ हुनु ठूलै कुरा हो । जीवन साँच्चै छोटो समयकै छ तर यो अवधिमा तपाईंले आफ्नो वरिपरी रहेका ब्यक्तिहरुबाट कसरी साथ, माया र सद्भाव पाउने भन्ने कुरा महत्वपूर्ण हो ।

यो सन्तुलनलाई तपाईं आफैंले बनाउन सक्नु पनि पर्छ । यदि म कामका कारण तनावमा हुन्छ भने मैले के कुराको महसुस गर्नुपर्छ भने मैले आफ्नो व्यवसायिक जीवनलाई बढी नै महत्वपूर्ण ठान्दै आए । हो यो कुरालाई सधैं याद गरेर व्यवसायिक तनावलाई जीवनसँग जोड्नु हुँदैन् । तनावलाई सजिलै ब्यवस्थापन गर्ने क्षमता मसँग त छैन तर कम लिने भन्ने क्षमता भने म राख्छु ।

तपाईको खानपिनको शैली कस्तो किसिमको रहेको छ ?
म खानाको निकै सौखिन स्वभावको छु तर डाइटिङको पक्षमा भने छैन । मेरो खानपिनको शैलीमा कुनै सिद्धान्तअनुसार हुँदैन । यदि म स्वस्थ छु भने मैले ठिकसँग सबै किसिमका खानेकुराहरु खान सक्छु । तर, उत्सव र पार्टीहरुको समयमा धेरै खाना खाइन्छ भने त्यो बेला आफैंले सन्तुलन गर्नुपर्छ । यो विषयमा म बेला–बेलामा खानामा सन्तुलन ल्याउने पनि गर्छु । मलाई कुनै खाना राम्रो लाग्यो वा मनपर्‍यो भने यसले मलाई आनन्द दिने ठानेर खाने गर्छु ।

मेरो अर्को बानी के पनि छ भने म घरमै पकाएको खानेकुराहरु आनन्दले खान बढी रुचाउँछु किनकी यसले तपाईंलाई कुनै किसिमको हानी गर्दैन ।

तपाईं आफूलाई स्वस्थ र फूर्तिलो बनाउन के गर्नुहुन्छ ?
मेरो जीवनमा खेलकूदले धेरै नै प्रभाव पारेका कारण म अझैं पनि खेलाडी स्वभावको व्यक्तिमा पर्छु । खेलकुदमा प्रतिस्पर्धा गर्नुपर्ने हुनाले जीवन पनि प्रतिस्पर्धा नै हो भन्ने ठान्छु । मेरो जीवनको मन्त्र धेरै नै सजिलो र महत्वपूर्ण रहेको छ ‘मेहनत साथ खेल फूर्ति साथ काम गर’ ।


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ