२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षा४३ वर्षपछि त्रिवि महाराजगन्जलाई १०० सिट, पहिलो पटक कर्णालीलाई २० सिट

४३ वर्षपछि त्रिवि महाराजगन्जलाई १०० सिट, पहिलो पटक कर्णालीलाई २० सिट


काठमाडौं–स्थापनाको ४३ वर्षपछि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको महाराजगन्ज मेडिकल क्याम्पसले एमबीबीएसमा १ सय सिट पाएको छ । शुक्रबार बसेको चिकित्सा शिक्षा आयोगको बैठकबाट पहिलो पटक महाराजगन्जले एमबीबीएसमा १ सय सिट पढाउन पाउने अनुमति पाएको हो ।

यस्तै, बिडिएसमा महाराजगन्ज क्याम्पसलाई २५ सिट अध्यापन गराउन अनुमति दिइएको छ ।

मुलुककै सबैभन्दा ठूलो शिक्षण अस्पताल र सबै मापदण्ड पूरा भएपछि यसअघि महारागन्ज मेडिकल कलेजले एमबीबीएसमा ७० भन्दा बढी सिट अध्यापनको अनुमति कहिल्यै पाएन् ।

अघिल्लो शैक्षिक सत्रमा महाराजगन्ज क्याम्पसले एमबीबीएसमा ७९ र बिडिएसमा २५ सिट पाएको थियो । महाराजगन्ज मेडिकल क्याम्पसमा सबैभन्दा बढी फ्याकल्टी र सुविधा छ ।

पहिलो पटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले २० सिट एमबीबीएस पढाउने अनुमति पाएको छ । चिकित्सा शिक्षा आयोगका प्रवक्ता डिल्लीराम लुइटेलले कर्णालीलाई एमबीबीएस पढाउन २० सिट दिइएको पुष्टि गरे ।

‘यस पटक आयोगले आफै इन्पेक्सन गरेर कर्णालीलाई २० सिटबाट एमबीबीएस पढाउने अनुमति दिएको छ,’ उनले भने, ‘अब कर्णालीबाट एमबीबीएस पढाइ हुने भयो ।’ यसअघि कर्णालीले २५ सिट एमबीबीएस अध्यापन गराउन अनुमति पाएको खबर आएपनि त्यो सत्य नभएको उनले बताए ।

यससँगै लामो समयदेखि जुम्ला एमबीबीएस पढाउने सपना यससँगै पूरा भएको छ । यसअघि जुम्लामा एमडी/एमएसको अध्यापन सुरु भइरहेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले जुम्लामा एमबीबीएस पढाउने सपना पूरा भएको बताए । ‘कर्णाली क्षेत्रको स्वास्थ्य क्रान्तिको एउटा थप खुडकिलो पार भएको छ,’ उनले भने, ‘आगामी दिनमा प्रतिष्ठानलाई देशकै एउटा उत्कृष्ट प्रतिष्ठान बनाउने र यहाँ उपचार र अध्ययनका लागि देशभरिबाट मान्छे आउने वातावरण सिर्जना गर्न हामी लागि पर्छौ ।’

प्रतिष्ठानका निवर्तमान रजिष्ट्रार डा. विश्व काफ्लेले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासमा चिकित्सा शिक्षा आयोगको निर्णय ऐतिहासिक भएको बताए । ‘विगतका चिकित्सकको अभावमा कयौले अकालमा ज्यान गुमाउनुपर्ने विवशताको अन्त्यसँगै अब एमबीबीएस र एमडी, एमएस कार्यक्रम सुरु भएपश्चात कर्णाली र देशको अन्य स्थानमा सेवा प्रवाहमा सहजता हुनेछ,’ उनले भने ।

प्रतिष्ठानका प्रवक्त डा. रमेश भट्टराईका अनुसार प्रतिष्ठानले एमबीबीएसको अध्ययनका लागि पाठ्यक्रम निर्माण गरी स्वास्थ्य क्षेत्रका विज्ञहरुको राय सल्लाह सुझाव लिइसकेको छ । पाठ्यक्रम काउन्सिलले पास गरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान एबीबीएस अध्ययनका लागि सक्षम भएको उनले बताए । चिकित्सा शिक्षा आयोगको टोली कर्णाली प्रतिष्ठानमा दुई पटक टोली पठाएर अध्ययन गरेको उनले बताए ।


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ