२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षाआर्थिक संकटमा परेपछि ओम हेल्थ क्याम्पस बिक्रीमा, कतिमा हुँदैछ डिल ?

आर्थिक संकटमा परेपछि ओम हेल्थ क्याम्पस बिक्रीमा, कतिमा हुँदैछ डिल ?


काठमाडौं—एकपछि अर्को मेडिकल कलेजहरु धमाधम किनबेच भइरहेका बेला राजधानीमा रहेको पुरानो हेल्थ क्याम्पस पनि बिक्रीको चरणमा पुगेको छ । काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण चोकमा छेउमा १ सय १ आना क्षेत्रफलमा फैलिएको ओम हेल्थ क्याम्पस प्रा.लि. बिक्रीका लागि तयारी अन्तिम चरणमा पुगेको छ ।

ओम अस्पताल एण्ड रिसर्च सेन्टरको स्वामित्वमा रहेको उक्त क्याम्पसमा सिटीईभिटीअन्तर्गतको पिसिएल नर्सिङ, पूर्वाअञ्चल विश्वविद्यालयअन्तर्गत बिएस्सी नर्सिङ र बीएन नर्सिङ अध्यापन हुँदै आएको छ । त्यसैगरी, सोही विश्वविद्यालयको विपीएच कार्यक्रम पनि क्याम्पसले चलाउँदैं आएको छ ।

वि.सं. २०५५ सालमा ९ करोड रुपैयाँ लगानीमा स्थापना भएको ओम हेल्थ क्याम्पस नेपालमा पुराना नर्सिङ क्याम्पसमा पर्छ । सात तले आफ्नै व्यवसायिक भवनमा झण्डै १ सयभन्दा बढी कर्मचारी र प्रत्येक वर्ष १ सय ६० भन्दा बढी विद्यार्थी पढाउँदैं आएको सो क्याम्पस आर्थिक संकटमा परेपछि बिक्री प्रक्रिया अगाडि बढाइएको क्याम्पसका अध्यक्ष डा. हरिकिशोर श्रेष्ठ बताउँछन् ।

‘तीन वर्षदेखि विद्यार्थी भर्ना गर्न सकिएको छैन्,’ उनले भने, ‘यस वर्ष पनि पैसा लिएर पढाउने विद्यार्थी पाइएन्, छात्रवृत्तिका विद्यार्थी मात्रै पढाउनुपर्ने अवस्था आएपछि आर्थिक संकट भएर बेच्न लागिएको हो ।’ डा. श्रेष्ठकाअनुसार कलेज सञ्चालनमा मासिक २० लाखभन्दा बढी खर्च तलबमा मात्रै हुने गरेको छ ।

त्यसबाहेक अन्य खर्च त्यति नै हुने तर ठोस आम्दानी नभएका कारण बाध्य भएर कलेज बेच्नुपर्ने अवस्था सिर्जना भएको उनले दावी गरे ।

कत्ति छ सम्पत्ति ?

काठमाडौंको मुटुमा रहेको ओम हेल्थ क्याम्पसको जग्गाको मुल्य प्रतिआना ५० लाखका दरले मात्रै हिसाब गर्ने हो भनेपनि ५० करोडभन्दा माथि हुने एक सञ्चालकले हेल्थआवाजलाई बताए । त्यसो त ४० हजार ५ सय वर्ग फिटमा बनेको सात व्यवसायिक भवन, ब्राण्ड र विद्यार्थीसमेत गर्दा क्याम्पसको सम्पत्ति १ अर्बभन्दा बढी हुन जान्छ ।

ओममा यति आर्थिक संकट चुलिसकेको छ कि सञ्चालकहरु शैक्षिक कार्यक्रमसहित क्याम्पस बिक्री गर्न वा शैक्षिक कार्यक्रमबाहेक भवन तथा अन्य भौतिक पूर्वाधार र जमिन मात्र पनि बेच्न तयार रहेको अर्का एक सञ्चालकले हेल्थआवाजलाई जानकारी दिए ।


क्याटेगोरी : स्वास्थ्य शिक्षा
ट्याग : #ओम अस्पताल एण्ड रिसर्च सेन्टर, #ओम हेल्थ क्याम्पस प्रा.लि., #मेडिकल कलेज


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ