२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षाराष्ट्रिय परिचयपत्र भएकाले मात्रै चिकित्सा शिक्षा आयोगको एकीकृत परीक्षा दिन पाउने

राष्ट्रिय परिचयपत्र भएकाले मात्रै चिकित्सा शिक्षा आयोगको एकीकृत परीक्षा दिन पाउने

आयोगलाई केशरमहल सर्ने बाटो खुला


काठमाडौं—चिकित्सा शिक्षा आयोगले राष्ट्रिय परिचय पत्र भएकाले मात्रै एकीकृत परीक्षा दिन पाउने निर्णय गरेको छ । सोमबार आयोगले गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।

आयोगले एकीकृत परीक्षाको विश्वसनीयता बढाउनका लागि यस्तो निर्णय गरेको हो । उसले यसका लागि राष्ट्रिय परिचय पत्रसँग आयोगको सफ्टवेयर आवद्ध गर्नका लागि कार्यदल बनाएर काम अगाडि बढाएको समेत जनाएको छ ।

‘एकीकृत परीक्षाको विश्वसनीयता अझ बढाउन राष्ट्रिय परिचय पत्र पद्धतिसँग आयोगको सफ्टवेयर आवद्ध गर्न कार्यदलले काम गरिरहेको छ,’ आयोगले सार्वजनिक गरेको कार्यप्रगतिमा छ ।

यस्तै, आयोगले प्रत्येक वर्ष चिकित्सा शिक्षा शिक्षण गर्ने संस्थाहरुको स्थलगत अनुगमन र सिट निर्धारणलाई पनि आफ्नो कार्यप्रगतिमा उल्लेख गरेको छ । यस्तै, आयोगले चिकित्सा शिक्षा अध्ययन गर्न विदेश जाने विभिन्न विधा र तहका १२५२ विद्यार्थीलाई अनुमति पत्र प्रदान गरेको छ ।

नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटीजले पाठ्यक्रम विकास गरी यसै वर्षदेखि ६ वटा अस्पतालमा १० जना विद्यार्थीहरु अध्ययनरत रहेको आयोगले जानकारी दिएको छ ।

डेढ दर्जन कार्यविधी विकास र सोअनुसार कार्य, दुई चरणमा स्नातक तह, स्नातकोत्तर तहको र एक चरणमा सोभन्दा माथिका एकीकृत प्रवेश परीक्षा पनि आयोगले यो अवधिमा सम्पन्न गरिसकेको जनाएको छ ।

आयोग गठनपछि भौतिक पूर्वाधारतर्फ एक वटा प्रिफ्याब भवन निर्माण, केशरमहल भवनको पुर्नसबलीकरण गरेर त्यसको तेस्रो तलामा सर्न शिक्षा मन्त्रालयबाट पत्र प्राप्त भएको पनि आयोगले जनाएको छ ।

आयोग गठन भएपछि चिकित्सा शिक्षा नीति, जनशक्ति प्रक्षेपण, चिकित्सा शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुपलगायतका कार्य भएका छन् । यस्तै, महत्वपूर्ण मुद्धा तथा समस्याको सम्बोधन गर्न प्रमाणमा आधारित निर्णय प्रक्रिया अवलम्बन गर्न एक दर्जन जति समिति र कार्यदल गठन भएर प्रतिवेदन समेत प्राप्त भएको र हुने क्रममा रहेको आयोगले जानकारी दिएको छ ।


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ