२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षातीन वटा सरकारी मेडिकल कलेज स्थापनाको काम कछुवा गतिमा

तीन वटा सरकारी मेडिकल कलेज स्थापनाको काम कछुवा गतिमा

दुई मेडिकल कलेजको जग्गा प्राप्ति प्रक्रिया नै सुरु भएन, एकमा अदालतमा मुद्धा परेपछि अन्योल


काठमाडौं—सरकारले स्थापना गर्न लागेको तीन वटा मेडिकल कलेजको काम कछुवा गतिमा रहेको पाइएको छ । सरकारको प्रत्येक प्रदेशमा एक सरकारी मेडिकल कलेजको नीतिअनुरुप ०७५/७६ मा कर्णाली प्रदेशमा सुर्खेत, लुम्बिनी प्रदेशको रुपन्देही र मधेश प्रदेशको महोत्तरीमा मेडिकल कलेज पूर्वाधार निर्माण अगाडि बढाएको थियो ।

महोत्तरीको बर्दिवास, रुपन्देहीको तिलोत्तमा र सुर्खेतको वीरेन्द्रनगरमा मेडिकल कलेज स्थापनाको काम अगाडि बढाइएपनि प्रगति भने उत्साहप्रद छैन । महालेखापरीक्षकको ६० औं प्रतिवेदनमा उल्लेख भएअनुसार रुपन्देहीको तिलोत्तमा र सुर्खेतको वीरेन्द्रनगरमा जग्गा प्राप्तिको प्रक्रिया नै अगाडि बढ्न सकेको छैन भने महोत्तरीको बर्दिवासमा जग्गा प्राप्ति प्रक्रिया मुद्धा परेका कारण अगाडि बढ्न सकेको छैन ।

पूर्वाधार निर्माण प्रगति शुन्य भएपनि यी तीन मेडिकल कलेज स्थापनाका लागि सरकारले १४ करोड ६ लाख १७ हजार रुपैयाँ खर्च गरिसकेको छ । ०७५/७६ देखि नै कार्यलय संचालनमा ल्याएको aर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाले ७ करोड २६ लाख १७ हजार रुपैयाँ खर्च गरिसकेको छ । यसैगरी, रुपन्देहीको तिलोत्तमा निर्माण हुने मेडिकल कलेजमा ५ करोड ५ लाख रुपैयाँ र सुर्खेत वीरेन्द्रनगरमा निर्माण हुने मेडिकल कलेजका लागि १ करोड ७५ लाख रुपैयाँ खर्च भइसकेको छ ।

बर्दिवास मेडिकल कलेज पूर्वाधार विकास आयोजनाले अन्य दुई मेडिकल कलेजभन्दा आयोजनामा केही प्रगति गरेको छ । यो मेडिकल कलेजका स्थापनाका लागि पूर्वाधार निर्माणका लागि गुरुयोजना, माटो परीक्षण, वातावरणीय प्रभाव मुल्यांकन, आयोजनाको विस्तृत परियोजना प्रतिवेदन बनिसकेको छ ।

बर्दिवास मेडिकल कलेज स्थापनाका वन क्षेत्रको जग्गासमेत पूर्वाधार निर्माण हुनेछ । तर, वन फडानी हुने भएपछि सरोकारवालाहरुले अदालतमा रिट हालेका छन् । अदालतले उक्त रिटमाथि सुनुवाई गर्दै अन्तरिम आदेश दिएकाले जग्गा प्राप्ति नहुँदा निर्माण कार्य अगाडि बढ्न सकेको छैन ।

रुपन्देहीमा मेडिकल कलेज पूर्वाधार निर्माणको काम वि.सं. २०७७ असारबाट सुरु हुने भनिएको थियो । तर, अहिलेसम्म जग्गा प्राप्तिको काम नभएकाले यो मेडिकल कलेजको पूर्वाधार निर्माणको काम सुरु हुन सकेको छैन । रुपन्देहीमा निर्माण हुने मेडिकल कलेजले पहिलो चरणमा वि.सं. २०८० बाट ३०० शैय्याको अस्पताल संचालन गर्ने तयारी छ ।

यस्तै, सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको काम वि.सं. २०६६/७७ देखि सुरु बताइएपनि जग्गा प्राप्तिको प्रक्रिया नै अगाडि बढाउन सकेको छैन । जसका कारण सुर्खेतमा बन्ने मेडिकल कलेजको पनि पूर्वाधार निर्माण सम्बन्धि कार्य सुरु भएको छैन ।


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ