२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षाआइओएमका डिन डा. अग्रवाल भन्छन्, ‘नियमित तालिकामा मात्रै परीक्षा हुन्छ’

आइओएमका डिन डा. अग्रवाल भन्छन्, ‘नियमित तालिकामा मात्रै परीक्षा हुन्छ’


काठमाडौं—त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिन प्रा.डा. जगदीशप्रसाद अग्रवालले नियमित तालिकामा मात्रै परीक्षा हुने बताएका छन् । चिकित्सा शिक्षामा भएको आन्दोलनका कारण एमबीबीएस अध्ययनरत विद्यार्थीहरुको परीक्षा छुटेपछि पुनः परीक्षा गर्नुपर्ने आवाज उठिरहेका बेला डिन प्रा.डा.  अग्रवालले भने नियमित तालिकामा मात्रै परीक्षा हुने बताएका हुन् ।

हेल्थआवाजसँग कुरा गर्दै डिन अग्रवालले भने, ‘हामी नियमित तालिकामा मात्रै परीक्षा लिन्छौं । कसैको ब्याक पेपर भए उसले आइओएमको क्यालेन्डरअनुसार पर्खिएर परीक्षा दिनुपर्छ ।’ उनले आन्दोलनका कारण छुटेका एमबीबीएसका विद्यार्थीहरुका लागि तत्काल छुट्टै परीक्षा लिने तयारी नभएको बताए ।

यसअघि चिकित्सा शिक्षा संघर्ष समितिले गरेको विरोधका कारण पहिलो वर्षका चार मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिस्कार गरेका थिए । त्रिभुवन विश्वविद्यालयले पहिलो पटक एक महिना परीक्षा सारेको थियो । तर, दोस्रो पटक पनि विद्यार्थीले सार्न दबाब दिएपनि विश्वविद्यालयले परीक्षा सार्न अस्वीकार गरेको थियो ।

मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा बढी रकम लिएको विरोधमा विद्यार्थीहरुले गण्डकी मेडिकल कलेज, युनिर्भसल मेडिकल कलेज, नेशनल मेडिकल कलेज र चितवन मेडिकल कलेजमा आन्दोलन गर्दै आएका थिए । हाल चार वटै मेडिकल कलेजमा बढी लिएको रकम समायोजन गर्ने विषयमा सहमति भइसकेको छ ।

चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक डा. मिलन गैरेले भने पुनः परीक्षा गर्ने विषयमा विश्वविद्यालय सकारात्मक रहेको दाबी गरे ।


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ