२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षाचिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि दरखास्त आव्हान

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि दरखास्त आव्हान


काठमाडौं–चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त आव्हान गरेको छ । ९ असारमा लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको संयोजकत्वमा रहेको उपाध्यक्ष सिफारिस समितिले एक सूचना प्रकाशित गर्दै विभिन्न योग्यताहरु तोक्दैं १५ दिनभित्र दरखास्त पेश गर्न आव्हान गरेको हो ।

योसँगै चिकित्सा शिक्षा सुधारका लागि महत्वपूर्ण मानिएको चिकित्सा शिक्षा आयोगको गठन प्रक्रिया समेत अगाडि बढेको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ कार्यन्वयनमा आएको झण्डै चार महिनापछि चिकित्सा शिक्षा आयोग गठन प्रक्रिया अगाडि बढेको हो ।

चिकित्सा शिक्षा ऐनको, २०७५ को दफा ५ मा चिकित्सा शिक्षा आयोग गठन हुने ब्यवस्था उल्लेख छ । सोही दफाको उपदफाले १ (घ) ले चिकित्सा शिक्षा आयोगमा चिकित्सा क्षेत्रमा विशिष्ट योगदान पु¥याएका चिकित्सकहरुबाट नेपाल सरकारले एक जना उपाध्यक्ष हुने प्रावधान छ । उपाध्यक्ष चिकित्सक सेवा आयोगको प्रमुख कार्यकारीका रुपमा रहने भएकाले पनि यसलाई महत्वपूर्ण पद मानिएको छ ।

उक्त महत्वपूर्ण पदका लागि इच्छुक नेपाली नागरिकलाई ३ हजार शब्दको भिजन पत्र, बढीमा ३ हजार शब्दकै ४ वर्षे प्रोफेसनल वर्क प्लान (व्यवसायिक कार्ययोजना) संलग्न गरेर दरखास्त दिनुपर्नेछ । उक्त दरखास्त सिलबन्दी गरी शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय, सिंहदरबारमा रहेको उपाध्यक्ष सिफारिस समितिको कार्यलयमा पेश गर्नुपर्नेछ ।

के चाहिनेछ योग्यता ?

चिकित्सा शिक्षा ब्यवस्थित गर्नका लागि महत्वपूर्ण मानिएको चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष हुनका लागि विभिन्न योग्यताहरु पूरा गरेको हुनुपर्नेछ । जसमा उपाध्यक्षका लागि दरखास्त दिने उम्मेदवार दरखास्त दिने अन्तिम दिनसम्म ६१ वर्ष ननाघेको, चिकित्सा शिक्षा आयोगसँग कुनै किसिमको स्वार्थ टकराव नभएको हुनुपर्नेछ ।

साथै, दरखास्त दिने उम्मेदवारले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा २४ को उपदफा (१) बमोजिम योग्यता पुगेको र दफा २५ मा उल्लेखित अयोग्यता नभएको हुनुपर्ने सूचनामा जनाइको छ ।

दरखास्तका लागि नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपी, शैक्षिक योग्यता सम्बन्धी स्वयंम प्रमाणित कागजातहरु, चिकित्सा शिक्षासहित स्वास्थ्य सेवाका क्षेत्रमा काम गरेको अनुभव खुल्ने कागजातहरु, चिकित्सा शिक्षा विज्ञका रुपमा ख्याति प्राप्त गरेको भनी सिद्ध गर्ने कागजातहरु, सम्बद्ध क्षेत्रमा उत्कृष्ट ब्यवस्थापकीय सीप, कला प्रदर्शन गरेको खुल्ने कागजातहरु पेश गर्नुर्नेछ ।


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ