२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारस्वास्थ्य मन्त्रीज्यू ! फलाम तातेको छ, घन उचाल्न ढिलो नगरौं

स्वास्थ्य मन्त्रीज्यू ! फलाम तातेको छ, घन उचाल्न ढिलो नगरौं


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बागडोर सम्हालेको भानुभक्त ढकालको ‘हनिमुन पिरियड’ पूरा भएको छ । सुन्दा रोमाञ्चक लाग्ने यो शब्द नयाँ जिम्मेवारी लिएर आएका मान्छेलाई भने खटपटीको समय हो । धेरैलाई कस्तो होला, के होला, कसरी गर्ने होला धेरै बेचैनी हुन्छ । राजनीतिक रुपमा जिम्मेवारी पाएको व्यक्तिको लागि सय दिन अवलोकन, अध्ययन र भावि रणनीतिको पूर्व तयारी समय मानिन्छ । हुन त साढे तीन महिनको समयलाई लिएर समग्र स्वास्थ्य क्षेत्र र नेतृत्वको सफलता र असफलताको मापन हुन कदापी सक्दैन । तथापि, नेतृत्वले यो बीचमा कोरेको गोरेटोबाट लक्ष्यमा पुग्ने सही गोरेटो हो हैन भन्ने लक्षणहरु भने देखिन्छन् ।

मन्त्री ढकालले यो साढे तीन महिनाको अवधिमा मन्त्रालय, विभाग, केन्द्रीय अस्पताल, प्रतिष्ठानहरु र पूर्वदेखि पश्चिमसम्मका धेरै स्वास्थ्य संस्था र सम्बन्धित व्यक्तिहरुसँग जानकारी लिइसकेका छन् । पहिलो चरणको अवलोकनको पाटो सकिइसकेको छ । उनकै भनाइअनुसार ढकालले स्वास्थ्य मन्त्रालय र यस मातहतमा रहेका समस्या पहिचान पनि गरिसकेको बताउँदैं आएका छन् । बाँकी भनेको आगामी दिनको रणनीति तयारी हो । मन्त्री ढकालकै शब्दमा भन्ने हो भने ‘मन्त्रालय बुझेर केही नयाँ योजना बढाउ भन्ने बेलैमा विश्वलाई कोभिड—१९ ले छोप्यो, त्यही अल्झनुप¥यो ।’

तथापि, अघिल्लो हप्ता मंगलवार हेल्थ आवाजसँगको अन्तर्वार्तामा दुई कुरामा जोड दिएका थिए । एउटा अहिले सरकारी तवरबाट जस्तो स्वास्थ्य सेवा प्रदान भइरहेको छ त्यो जनचाहनाअनुसारको भएको छैन । अर्को, भनेको मन्त्रालय र माताहतका निकाय विधी संवत चलेका छैनन् । आफ्नो अबको तीन वर्षको अवधिमा यी दुई कुरालाई परिर्वतन गरेरै देखाउने प्रतिवद्धता पनि जनाएका छन् ।

सुन्दा सामान्य लाग्ने यी दुई प्रतिवद्धता कार्यन्वयन गर्न धेरै गाह्रो छ । किनकी १ सय ३० वर्षअघि सुरु भएको नेपालको आधुनिक स्वास्थ्य सेवा विस्तार त भएको छ । तर, असमान छ । उनैले भनेअनुसार जनचाहना अनुसारको गुणस्तरीय स्वास्थ्य सेवाको आवश्यकता छ । यही विषयमा कुरा गरौ ।

मन्त्री ढकालले भनेको कुरालाई कसैले पनि नकार्न सक्दैन । अहिले पनि सरकारी स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा जनताले ढुक्कले प्रयोग गर्न सकेका छैनन् । पहिलो कुरा जनताको सहज पहुँच छैन, पहुँच भएतापनि आवश्यक परेको सेवा पाइदैन् । पहुँच र सेवा पाइएपनि त्यसलाई उपभोग गर्ने धेरै नेपालीको सामथ्र्य छैन । यी तीनै कुराले अहिले प्रदान गरिरहेको सेवा आधारभूत तहको सेवा हो भन्न पनि मुस्किल छ । अझ गुणस्तरीयताको त कुरै छोडौ ।

वीर अस्पतालको स्थापनालाई नै हेरेर मान्ने हो भने आधुनिक स्वास्थ्य सेवा नेपालमा भित्रिएको १ सय ३० वर्ष कटिसकेको छ । १ सय ३० वर्ष माथि लागिसक्दा पनि आधारभूत स्वास्थ्य सेवा किन जनताले पाउन सकेनन् त ? यसको उत्तर अरुले खोजिदिनुपर्ने अवस्थामा स्वास्थ्यमन्त्री छैनन् । किनकी उनले बारम्बार भन्दै आएका छन्—स्वास्थ्य क्षेत्र थितीमा होइन्, व्यक्तिको लहडमा चलेको रहेछ । त्यही व्यक्तिको लहडमा संस्था चल्नु नै सबैभन्दा ठूलो समस्या हो ।

कोभिड—१९ अवसर

मन्त्रीले स्वास्थ्यमा देखेको वेथितीको चक्रलाई सुधारतर्फ कदम नचाल्दैं हामी अर्को ठूलो विपतको संघारमा छौं । कोरोना प्रजातिको नयाँ कोभिड—१९ भाइरसको विश्वव्यापी संक्रमणले वरिपरीबाट घेर्दै ल्याएको छ । त्यो विपतले अहिले विश्वका विकसित भनिएका देशहरुलाई नै त्राहीमाम पारेको छ । हाम्रै उत्तरी छिमेकी देश चीनबाट सुरु भएको उक्त भाइरसको संक्रमण यो आलेख तयार पार्दा सम्म १ लाख ५ हजार ५ सय ८६ जनामा पुष्टी भएको । ३ हजार ४ सय ८४ जनाको ज्यान गएको विश्व स्वास्थ्य संगठनको वेवसाइडमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेको छ भने नेपाललाई उच्च जोखिमको देशमा राखेको छ ।

केही समय अघिसम्म हवाई सम्बन्ध भएका देशमा मात्र यसको प्रकोप देखिएको थियो । तर, अब त्यो त्यहाँमात्र सिमित नभएर खुला सीमाना भएको भारतका कतिपय राज्यहरुमा पनि यसको संक्रमण पुष्टी भइरहेका छन् । एउटा केस हाम्रोमा नै पुष्टी भइसकेको छ । तीन वटा नेपालबाहिर रहेका नेपालीमा पनि कोभिड—१९ को संक्रमण पुष्टि भएको छ । त्यसैले अब हामी झनै चुनौतीपूर्ण अवस्थाको सामना गर्नुपर्ने संघारमा छौं । भलै, भोलि हाम्रोमा यो भाइरसको संक्रमण नदेखियोस् । तथापि, हामीले तयारी भने धेरै गर्नुछ । यो भाइरस नियन्त्रणको लागि मात्र नभएर आगामी दिनमा आउने यस्ता अन्य धेरै चुनौती सामाना गर्नुपर्ने त छदैंछ । यही मौकामा हामीले नियमित उपलब्ध सेवालाई गुणस्तरीय बनाउन किन नलाग्ने ? यसलाई किन हामीले मौकाको रुपमा उपयोग नगर्ने ? किन यही बेला यो क्षेत्रमा देखिएको विकृतिलाई ट्रयाकमा नल्याउने ?

यत्रो विश्व नै संत्रासमय अवस्थाबाट गुज्रिरहेका बेला कसरी हाम्रो स्वास्थ्य क्षेत्र सुधार्ने मौका हो त भन्ने धेरैलाई लाग्न सक्छ । मन्त्रीले देखेका दुई समस्यालाई एकै पटक पार लगाउन यही संत्रासले उपयुक्त वातावरण जुराइदिएको छ । यस्ता विपतको समय कसरी अवसर बनेर आउँछ भन्ने कुराको उदाहरण हेर्ने हो भने टाढा जानु पर्दैन । १२ बैशाख २०७२ को भूकम्पपछिको एउटा उदाहरण हेरे पुग्छ । निर्माण सम्पन्न भएर ८ वर्षसम्म राजनीतिक र व्यक्तिगत टकरावका कारण संचालनमा आउन नसकेको राष्ट्रिय ट्रमा सेन्टर सोही विपतका दिनबाट संचालनमा आयो । सो सेन्टर संचालनमा आएसँगै तत्काल सयौंको ज्यान गुम्न पाएन भने पछिल्लो पाँच वर्षमा दुर्घटना परेका सयौ मान्छेको जीवन बचेको छ ।

यो प्रसंगलाई यहाँ किन पनि जोड्न खोजिएको हो भने कोभिड—१९ को विरुद्ध विश्व सबै शक्ति लगाएर लडिरहेको छ नै स्वास्थ्यका विषयमा त्यति चासो नदिने हाम्रो सरकार पनि अहिले तातेको छ । भनिन्छ— तातेको बेला फलामलाई आकारमा ल्याउन सहज हुन्छ । स्वास्थ्यको नेतृत्व गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रीले यही तातेको अवस्थामा स्वास्थ्य क्षेत्रलाई आकारमा ल्याउन चाहे भने सक्ने अवस्थामा छ । यसका आधारहरु पनि छन् ।

राजनीतिक प्रतिवद्धता

पहिलो आधार राष्ट्रिय राजनीतिक प्रतिवद्धता हो । कोविड—१९ नियन्त्रणको विषयमा अहिले सबै राजनीतिक दलहरु एक ठाउँमा छन् । संसददेखि सरकार सबै यसलाई नियन्त्रण गर्न सघाउने प्रतिवद्धता देखाएका छन् । कोविड—१९ भित्रिनै नदिन र यदि भित्रिए यसबाट थोरै क्षतिमा रोक्न जुनसुकै कदम चाल्न पनि राजनीतिक दलहरुले प्रतिवद्धता जनाइसकेका छन् ।

यही मौकामा मन्त्रीले बारम्बार भन्दै आएको व्यक्ति केन्द्रित संस्था चल्ने परिपाटी अन्त्य गर्ने राम्रो अवसर हुन सक्छ । किनकी व्यक्ति केन्द्रित परिपाटी यिनै राजनीतिक दलका नेताहरुले नै भित्र्याएको संस्कृति हो र अहिलेको खराब अवस्था त्यसैको परिणाम । यही मौकामा यो संस्कारलाई मन्त्रीले तोड्ने हिम्मत गर्नुपर्छ । अवसर बारम्बार आउँदैन् ।

सरकारको सहयोग

दोस्रो आधार भनेको सरकारको सहयोग हो । हुन त स्वास्थ्य मन्त्रालय पनि सरकार मातहतकै मन्त्रालय हो । लाग्न सक्छ स्वास्थ्य मन्त्रालयलाई सरकारले सहयोग गरेन भनिरहँदा कस्तो अचम्मको कुरा हो । तर, जसरी यो मन्त्रालय सिंहदरबारबाट बाहिर एक्लो छ, त्यसरी नै यसअघि मन्त्रिपरिषदबाट गरिने निर्णय हुन् या यस मन्त्रालयलाई छुट्याउने बजेटमा भेदभाव हुँदै आएको छ । तथापि अहिले अवस्था अलि फरक छ । मन्त्रालयको चालु आवको बजेट मन्त्री ढकाल आउनु अगाडि नै आइसकेको थियो । त्यसमा उनको हात हुने कुरै भएन ।

अर्को सकारात्मक कुरा के भने उनी आइसकेपछि मन्त्रिपरिषद पुगेका फाइल रोकिएर अनिर्णयको बन्दी भएका छैनन् । त्यो सुखद् कुरा हो । फेरि कुरा रह्यो बजेटको । अहिलेको विश्वमै महामारीको रुपमा फैलिएको कोविड—१९ को तयारीका लागि नेपाल सरकारले बजेट नदिने भन्ने कुरै आउँदैन् । यदि आइहालेमा तयारी नहुँदा स्वास्थ्यका मानिसलाई मात्र यसले संक्रमण गर्छ भन्ने होइन्, सबैलाई गर्ने हो ।

यो कुरामा सरकार सचेत देखिन्छ । अहिलेकै अवस्थामा अर्थ मन्त्रालयले कोविड—१९ को नाममा अस्पताल सुधारका लागि योजना बनाएर पैसा माग्ने हो भने दिन्न भन्ने ठाउँ छैन । कोरोना नआइसकेतापनि भोलि आइहालेमा त्यसलाई व्यवस्थापन गर्ने तत्काललाई अहिलेकै संरचना हुन् । भोलि कोविड—१९ आउला अनि बनाउँदै जाउलाभन्दा पनि आयो भने आइहाल्यो आएन भने पनि हाम्रै अस्पताल व्यवस्थित हुन्छन् भन्ने सोचका साथ काम गर्दा उपयुक्त हुन्छ ।

कमाण्डर परिचालन

तेस्रो आधार हो कमाण्डर परिचालन हो । कोभिड—१९ संत्राससँग लडिरहेका मन्त्री ढकालले यो तीन महिनामा एउटा आधार भने तय गरेका छन् । त्यो भनेको मन्त्रालय भित्र र अन्तर्गतका संरचनाको पूर्णता हो । संरचना पूर्णता नभै कुनै पनि काम हुन सक्दैन् । राजनीतिक प्रतिवद्धता पनि पाइसकेको अवस्था अनि सरकारबाट पनि पूर्ण सहयोगको अवस्था र आफू माताहतका विभिन्न विभाग, महाशाखा, शाखा, अस्पतालमा कामाण्डर खटाइसकेका अवस्था छ । कतिपय अघिकै नेतृत्वलाई निरन्तरता दिएका छन् ।

सम्भवतः मन्त्रीले तीन महिना अध्ययन गरेर आफूलाई उपयुक्त लागेको कमाण्डर उपयुक्त ठाउँमा पठाएका हुन् । त्यसबाहेक मन्त्रालय अन्तर्गतका विभिन्न परिषदहरुमा मनोनित भएका अधिकांश कमाण्डर पनि उनकै रोजाइका छन् । उनको रोजाइभन्दा अलि पर भए उनले प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग कतै न कतै आस्था जोडिएका छन् । त्यसकारण जिम्मेवारी दिएकाहरुले उनले सोचेअनुसार र लगाएअनुसार खटन पटन नगर्लान भन्ने हुँदैन । अनुगमन, मुल्यांकन उनी आफैले गर्ने हो । उनले रोजेर पठाएका कमाण्डरको काम नै उनको सफलता÷असफलता जोडिएको छ । उनको सफलता र असफलता देशको सफलता÷असफलता सँग जोडिएको छ ।

संघ, प्रदेश र स्थानीय सरकारको समन्वय

चौथो आधार भनेको थप दुई तहका अघिकांश सरकार पनि राजनीतिक आधारमा मन्त्री ढकालका अनुकूल नै छन् । धेरै सरकारसँग उनि आफै र मातहतबाट सिधै डिल गर्न सक्छन् भने नटेर्नेहरुलाई मन्त्रिपरिषदबाट ठिक ठाउँमा ल्याउन सक्छन् । आधारभूत स्वास्थ्य सेवा पाउने स्वास्थ्य संस्थादेखि प्रदेश अस्पतालहरुलाई कोभिड—१९ तयारीकै लागि भएपनि थप व्यवस्थित बनाउनलाई उनले समन्वय गर्न सक्छन् । समायोजनमा आफूलाई अपायक भएको भनेर घुर्की लगाएर बस्ने कर्मचारीलाई स्वास्थ्य आपतकालको नाममा बाध्यात्मक बनाएर जिम्मेवारी दिएको ठाउँमा पठाउन बाटो खुला छ ।

निष्कर्ष

धेरै महत्वपूर्ण पक्षहरु अनुकूल भएको अहिलेको अवस्थामा आफ्नो योजनाअनुसारको स्वास्थ्य क्षेत्र अगाडि बढाउने मन्त्रीलाई सही मौका हो । यस्तो मौका बारम्बार नआउन पनि सक्छ । समस्या परेकै बेला निकास दिन सक्ने र नयाँ उचाइमा लान सक्ने नेतृत्वलाई नै सबैले सधंै सम्झने गर्छन् । लामो समयदेखि वेथितीले थिलथिलो परेको स्वास्थ्य क्षेत्र कुलमानको विजुली जादूजस्तो त नहोला तर कोभिड— १९ ले तातेको यो क्षेत्रलाई आकार दिने उपयुक्त समय हो ।

स्वास्थ्य प्राविधिक विषय र प्राविधक मन्त्रालय भएका कारण सरकारका योजनालाई मूर्त रुप दिन मन्त्री मातहतमा रहेको एउटा छुट्टै विज्ञहरुको प्राविधिक टिम चाहिन्छ । त्यो टिममा रहेका विज्ञहरु स्वास्थ्य क्षेत्रलाई अति नजिकबाट केलाउन सक्ने योजना र रणनीति बनाएर दिन सक्ने हुनुपर्छ । न कि विज्ञका नाममा जागिर खाने मानसिकता भएकालाई सामेल गराउनुको औचित्य हुँदैन । तर त्यो टिम तत्काल नै बनाउन अवश्यक छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ