२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकोभिड–१९ त्रास र कर्णालीको तयारी

कोभिड–१९ त्रास र कर्णालीको तयारी


करिव तीन महिना पहिले चीनको वुहान प्रान्तबाट सुरु भएको कोभिड–१९ ले चीनसँगै पूरा विश्वलाई नै आतंकित बनाइरहेको छ । त्यसको पूर्ण असर नेपालमा पनि परेको छ । कोभिड–१९ लाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले महामारी भाइरसको रुपमा घोषणा गरिसकेको छ । अहिले पूरा विश्व यसैको रोकथाममा लडिराखेको छ ।

विश्वव्यापी रुपमा आतंक फैलाइरहेको भाइरसका विरुद्ध नेपाल सरकारले पहिले नै गम्भीरताका साथ लिएर पूर्व तयारी नगरेका कारण अहिले नेपालमा पनि समस्या गहिरिदैं गएको र काम गर्न अत्यन्तै कठिनाई भएको छ । विश्वका विकसित मुलुकहरु इटली, स्पेन, दक्षिण कोरिया, अष्ट्रेलिया, अमेरिका र छिमेकी देश भारतमा यसको गम्भीर असर परेपछि नेपाल सरकार झस्किन पुग्यो । बल्ल नेपालीहरुको मनमा डर पैदा भयो ।

कोभिड–१९ संक्रमित देशबाट निरन्तर हवाई उडान भइरहने र भारतसँगको खुला सीमानाका कारण नेपालमा यसको गम्भीर असर पर्ने कुरा जान्दा जान्दै हामीले निकै ढिलो बन्द गरेर भएपनि लक डाउनको स्थितिमा पुग्यौं । जुन स्वागत योग्य छ । लक डाउन आवश्यकता हेरेर अझै लम्ब्याउनु पर्छ । तर, आजसम्म पनि भारतबाट कैयौ नेपालीहरु आफ्नो देश फर्किरहेका छन् । आफ्नो मातृभूमी फर्किन पाउनु उनीहरुको नैसर्गिक पनि अधिकार हो । उनी हरुलाई सीमानामा थुनेर राख्नुभन्दा आफ्नो देशमा कडाइका साथ १४ दिन सम्म क्वारेन्टाइनमा राख्नु उत्तम होला ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा मानिसहरु सदियौदेखि आफ्नो रोजीरोटीका लागि भारतका विभिन्न सहरहरुमा कार्तिक, मंसिरतिर गएर चैत्र, बैशाखतिर घर फर्किने चलन छ । नेपाल र भारत सरकारले पूर्व जानकारी बिना अत्यन्तै छोटो समयमा लगाएको लकडाउनले ती तमाम नेपाली दाजुभाईहरुलाई आफ्नो घर फर्किन कठिनाई उत्पन्न भयो । हामीले नेपाल फर्किने यहाँको जनसंख्या र भारतमा तीब्र महामारीको रुपमा फैलिरहेको कोभिड–१९ लाई मध्यनजर गरेर जुम्ला तथा कर्णालीमा उच्च सतर्कता र तीब्र तयारी गर्नुपर्ने थियो । हामी निरन्तर आफ्नो तयारी गर्नतिर लाग्यौ पनि ।

कोभिड–१९ ले आज आम मानिसदेखि, स्वास्थ्यकर्मी, पुलिस, प्रशासन, पत्रकार सबैमा तनाव थपेको छ । सबैलाई त्रसित पारेको छ । मनमा जतिसुकै डर र चिन्ता भएपनि हामी बिना हतियारका सिपाहीहरु फ्रन्टलाइनर भएर युद्धमा भिडिरहेका थियौ र छौ पनि । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पिछडिएको क्षेत्रका जनताहरुको स्वास्थ्यका लागि खोलिएको संस्था हो । हामीले यो भेगका मानिसहरुको भारत तथा अन्य मुलुकबाट फर्किने समय भएकाले झनै उच्च सतर्कताका साथ निकै तयारीहरु गर्न थाल्यौ । देशै भरिका स्वास्थ्य संस्था र चिकित्सकहरुले आफ्नो तयारी गरिरहँदा हामी पनि अस्पताल निर्देशक मंगल रावलको अग्रसरतामा तयारी जुट्यौं । अस्पतालमा मेडिसिन वार्डलाई पूरै आइसोलेसन वार्ड १५० वेडको बनाउने काम भयो भने कर्णाली टेक्निकल स्कुललाई क्वारेन्टाइन बनाउने काम भएको छ । त्यस्तै हामीसँग् अहिले १० बेडको आईसीयु र पाँच वटा भेन्टिलेटरहरु छन् ।

अहिले पश्चिम नेपालमै एक मात्र क्रिटिकल केयर स्पेशलिष्ट डा. प्रवीनकुमार गिरी हुनुहुन्छ । मेडिसिन विभागकका प्रमुख डा. धिरज गुरुङ संयोजक रहेको ¥यापिड रेस्पोन्स टिम गठन भयो । जसमा स्वास्थ्य सेवा कार्यालय जुम्लासँग पनि समन्वय गरेर अझै वाताबरण सहज बनाउने काम गरिरहेको छौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सक तथा कर्मचारी कसैलाई विदा नजाने र विदामा भएकाहरुलाई फर्किने निर्देशन भयो भने कोही पनि आफ्नो काम, कर्तव्यबिमुख नहुने घोषणा गरे । बिना हतियारका सिपाहीहरुका लागि हतियार बनाउनको लागि अस्पताल निर्देशकले स्थानीइ स्रोत–साधनको प्रयोग गरेर पर्सनल प्रोटेक्टीभ इक्वीपमेन्ट बनाउन लगाउनुभयो । जुन ठ्याक्कै गुणस्तर विभागले सर्टिफाइ नगरेपनि काम चलाउ भने छ ।

पीपीई बिना काम गर्न परिरहेको छ भनेर देशैभरी कैयौ स्वास्थ्यकर्मी साथीहरु आक्रोशित छन् । यो राज्य संयन्त्रले समयमै सोच्नुपर्ने कुरा हो । हामीले हाम्रै अस्पतालमा यहाँको नर्सिङ र फार्मेसी विभाग मिलेर ह्याण्ड सेनिटाइजर बनाउने काम गर्याै । जुम्ला राज्यको पहुँचभन्दा धेरै टाढा छ । केही थान पीपीईहरु काठमाडौंमा एएमएफ र अरु केही संस्थाहरुले उपलब्ध गराएका थिएँ, जुन लकडाउनले गर्दा नेपालगन्जमा थन्किएको थियो । तर, इमर्जेन्सी पास मिलाएर अस्पतालका रजिस्ट्रार विश्वराज काफ्ले र रेक्टर निरेश थापाले लिएर आउनुभयो । जुम्लाका महत्वपूर्ण नाकाहरु नाग्म र एअरपोर्टमा टोली खटाउन पनि निकै कठिनाइ थियो । स्वास्थ्यकर्मीहरु यस्तो समस्याका बेला पछाडि नहटेर प्रतिष्ठानबाट पाँच जनाको टोली जुम्ला र मुगुको मुख्य नाकामा खटाएर हेल्थ डेस्कको स्थापना गर्याै । जुन सेवा आजसम्म पनि निरन्तर छ । प्रतिष्ठानबाट पठाएको टोली अहिले फर्किएर प्रतिष्ठानकै क्वारेन्टाइनमा छ भने डिपीएचओको टिमले हाल हेरिरहेको छ ।

आजको दिनमा सम्पूर्ण चिकित्सक तथा कर्मचारीहरुले अत्यन्तै मेहनतका साथ आफ्नो जिम्मेवारी निभाइरहेका छौं । ३ दिनअघि चार जना कोभिड–१९ को आशंका गरेका ब्यक्तिहरुको स्वाब पठाएका थियौ । सबैको नतिजा नेगेटिभ आएको छ । हामीले आफ्नो ठाउँबाट गर्न सक्ने सम्पूर्ण तयारीहरु र कामहरु गर्दै आइरहेको छौं । तर, नेपाल सरकारले हामीहरुलाई पर्याप्त मात्रामा पीपीई, टेष्ट किट र सबैभन्दा महत्वपूर्ण भनेको कोभिड–१९ परिक्षण केन्द्र बनाइदिनुपर्छ । सुर्खेतमा परिक्षण गर्ने भनिएको छ । हवाई यातायात नचलेको र गाडीमा सुर्खेत पुग्न १२ घण्टा लाग्ने भएकाले जुम्लालाई नै परिक्षण केन्द्र बनाइनु उत्तम हुन्छ । हरेक दिन २–३ वटा जम्मा भएमा स्याम्पलहरुका लागि एम्बुलेन्स कुदाउनुपर्ने हुन्छ । हामीलाई यस महामारीका लागि सहयोग गर्ने केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय निकाय, प्रशासन, प्रहरी, सेना सबैमा हार्दिक नमन । हामी यो लडाइ निरन्तर लडिरहनेछौं । जबसम्म कोभिड–१९ भाइरस पूर्ण रुपमा निर्मुल हुँदैन ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ