२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकोरोना संक्रमित बढ्दैं तर किन नलिने चिन्ता ?

कोरोना संक्रमित बढ्दैं तर किन नलिने चिन्ता ?


कोरोना भाइरस (कोभिड—१९) को विश्वव्यापी फैलावटकाबीच नेपाल यतिबेला लकडाउनको अवस्थामा छ । कोभिड—१९ को महामारीको सम्भावित फैलावटलाई रोक्न सरकारले लकडाउन गरेको पनि झण्डै एक महिना हुन लागेको छ । यति हुँदाहुँदैं पनि नेपालमा कोभिड—१९ का ४२ केस पुगेको अवस्था छ । नेपालमा कोभिड—१९ फैलावट मंगलबारसम्म आइपुग्दा दोस्रो कि तेस्रो चरणमा पुगेको भन्ने बहस केन्द्रमा छ ।

जे भएपनि उदयपुरको भुल्केमा समुदायका ११ जनामा एकैदिन कोभिड—१९ पुष्टी भएको तथ्य सार्वजनिक भएको छ । यससँगै हामीले थप उच्च सर्तकर्ता अपनाउनुपर्ने बेला आएको छ । यसको अर्थ हामीले अब लक डाउनलाई अझ पूर्ण रुपमा कडाइका साथ पालना गर्नुपर्छ ।

तर, यतिबेला १, २, ३ देखि ४, ५, ६ हुँदैं ४२ केस पुगिसकेका छन् । कतिपयले यतिबेला बर्बाद भयो भनेको सुनिन्छ । कतिपय सकिने भयो भनेर अतिशयोक्तिपूर्ण विश्लेषण गरिरहेका छन् । यस्ता उदगार हिजो नेपालको कम्युनिटीमा एकैदिन ११ केस देखिएपछि अझ बढी सुनिन थालेको छ । तर, यी सबै उदगारहरु निराशाजनक खालका छन् । यसो भनिरहँदा हामीलाई थप सजगता र अझ बढी सर्तकर्ता आवश्यक छैन भन्ने होइन् । हामी अझ बढी सर्तकर्ता अपनाउँदैं कम्युनिटीमा देखिएको कोभिड—१९ लाई त्यही क्षेत्रमा नै रोक्नुपर्छ । त्यसका लागि हामीले प्रशस्त सतर्कताका कामहरु गर्नुपर्छ । त्यसमा संघीय, प्रदेश र स्थानीय सरकारको अझ बढी सक्रियता जरुरी छ ।

तर, सबै नेपाली नागरिकलाई मेरो आग्रह के छ भने अहिलेसम्म नेपालमा चिन्ता लिनुपर्ने अवस्था छैन । तनाव लिनुपर्ने आवश्यकता छैन् । सुरुदेखि नै नेपालमा २ हजारसम्म कोभिड—१९ संक्रमित हुन सक्ने एक अन्तर्राष्ट्रिय एजेन्सीले प्रक्षेपण गरेको थियो । यो प्रक्षेपणभन्दा अझ कममै हामीले रोक्न सकेमा त्यो सुनमा सुगन्ध हुनेछ । त्यसतर्फ हामीले हाम्रा प्रयासहरु अझ जारी राख्नुपर्छ । वैज्ञानिक योजना निर्माण, उच्च सर्तकर्ताजस्ता कुराहरुले हामीलाई त्यो बाटोमा लैजान्छन् ।

अहिले केही सकारात्मक प्रयासहरु पनि अगाडि बढिरहेका छन् । पहिलो सुनौलो मौका गुमाएर चित्तबुझ्दो गरी टेष्ट गर्न नसकेको अवस्थालाई सुधार गर्दै हाल उपलब्ध भएका लगभग सबैजसो पीसीआर मेसिनको प्रयोगबाट धेरैभन्दा धेरै टेष्ट भैरहेको अवस्था छ । अहिले देशभर १६ वटा पीसीआर मेसिनबाट दैनिक हजारभन्दा बढी स्वाबका नमुना परीक्षण भैरहेका छन् । यसले पनि हामी सही ट्रयाकमै हिडिरहेको देखिन्छ । तर, अझै यसलाई बढाउनुपर्छ । हाम्रो परीक्षण क्षमतालाई अझ बढाउँदैं लैजानुपर्छ । यो छोटो अवधिमै हामीले जसरी हाम्रो परीक्षण क्षमतालाई काठमाडौंबाट प्रदेशहरुका विस्तार गर्‍यो त्यो एकदमै स्वागतयोग्य छ ।

जति धेरै टेष्ट गर्‍यो त्यति धेरै बिरामी देखिन्छ नै । तैपनि दक्षिण एसियाली देशमध्ये टेष्ट संख्या अनुपातमा बिरामी संख्या सबैभन्दा कम नेपालमै देखिएको छ । अर्को कुरा विश्वव्यापी डाटा हेर्दा जति धेरै टेष्ट गर्‍यो त्यति कम मृत्युदर देखिएको छ । दैनिक पीसीआर टेष्टको संख्या बढ्दो क्रममा छ । त्यसैले कोभिड—१९ बिरामीको संख्या पनि बढ्छ । यसमा आत्तिनुपर्ने हुँदैंन् । हामीले चिन्ता लिनुपर्ने पनि कुनै कारण छैन ।

जस्तोसुकै प्रतिकूल अवस्थाकाबीच पनि सम्पूर्ण अस्पताल, चिकित्सक, नर्स, प्यारामेडिक्स, स्वास्थ्य संस्थाका अन्य कर्मचारी उपचारात्मक सेवाको लागि अग्रपंक्तिमा तयार रहेको अवस्था छ । आम नेपाली जनताले अहिले गर्नुपर्ने भनेको उही लकडाउनको पालना हो । व्यक्तिगत दूरी कायम राख्ने, साबुन पानीले हात धुने, मास्क लगाउने, अनुहारतिर हात नलाने नै हो । कोभिड—१९ का बिरामी बढे अब बर्बाद भयो भनेर नआत्तिकन आफ्नो आत्मबल उच्च बनाउनुपर्छ । यतिबेला सकारात्मक सोचका साथ बसिदिनुहुन म सबैलाई अनुरोध गर्दछु ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ