२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारखोप लगाएर फर्किदा झेल्नुपरेको खोलामा उर्लेको त्यो बाढी…

खोप लगाएर फर्किदा झेल्नुपरेको खोलामा उर्लेको त्यो बाढी…


म सुर्खेत जिल्ला बराहताल गाउँपालिका—०१ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र, तेलपानीमा अनमीमा रुपमा कार्यरत छु । यो सुर्खेतको विकट पहाडी इलाका हो । यस वडामा टाढा—टाढा छरिएर रहेका स—साना वस्तीहरु छन् । गाउँमा काम गर्ने स्वास्थ्यकर्मीका अनेकन समस्या छन् । तर, हामी मानिसहरुका स्वास्थ्य समस्या नजिकबाट अनुभूत गर्न पाएको र उहाँहरुलाई थोरै भएपनि सेवा दिन पाएकोमा खुशी छौं ।

यो गाउँपालिकाको पहाडी वस्तीमध्ये वडा नं. १ मा पर्ने सुंगुरखाल पनि एक हो । त्यहाँका बालबालिकालाई खोप दिनुपर्ने थियो । सुंगुरखालमै खोपको नयाँ केन्द्र स्थापना गरिएको थियो । पहाडी भू—भागमा भएकाले वर्षायाममा झरी पर्ने बितिकै यो ठाउँका खोलानालामा उर्लेर बाढी आउँछ । तर, जतिसुकै कठिनाई भएपनि बालवालिकालाई समयमै खोप दिनुपर्ने दायित्वबाट हामी पछाडि हटन सक्दैन्थ्यौं । त्यसैले वडा नं. १ मा खोप दिने तीन दिने योजना तय भएको थियो ।

वडा नं. १ मा यसअघि २ वटा नियमित खोप केन्द्र थिए । वडा नं. १ को सुंगुरखालमा भने असार मसान्तमा नयाँ खोप केन्द्र थपिएको छ, यससँगै यस वडामा ३ वटा खोप केन्द्र भएका छन् । स्थानीयहरुलाई सहज होस् भनेर केही समयअघि मात्रै सुंगुरखालको खोप केन्द्र थपिएको हो । त्यही खोप केन्द्रमा खोप दिनका लागि ५ साउन मिति तय भएको थियो ।

म वीरेन्द्रनगरमा रहेको घर आएकी थिए । ५ साउनको विहान ७ बजे नै घरबाट खाना खाएर खोप केन्द्रका लागि हिडे । ८ बजे हामी बराहतालको हरिहरपुरमा जम्मा भयौं । हरिहरपुरमा स्वास्थ्य चौकी छ । हाम्रो खोप टिममा स्वास्थ्य चौकीका अहेब चन्द्रकिरण थापा, अनमी लक्ष्मी गौतम, म र एक जना सहयोगी दाइ थियौं । स्वास्थ्य चौकीमा जम्मा भएर हामी सवा आठ बजेतिर खोप केन्द्रतिर लम्कियौं ।

पहाडी इलाका, जंगलको उकालो—ओरालो, वर्षायामको चिप्लो बाटोको कष्टकर यात्रा पार गर्दै दिउँसो १ बजे सुंगुरखाल पुग्यौं । यो एकदमै विकट पहाडी इलाका हो । यहाँ घरहरु पनि टाढा—टाढा छन् । हामी त्यहाँ पुग्दा खोपका लागि ६—७ जना बालबालिका खोपको पर्खाइमा थिए । हामीले ती बालबालिकाहरुलाई बिसीजी, डिपीटी, पोलियो, पिसिभी र एफआईपीभीलगायतका खोप दियौं । गाउँलेहरुसँग हेल्थ एजुकेशनबारे अन्तरक्रिया गर्‍यौं । यो दुवै काम सकेर फर्किदा साढे दुई बजिसकेको थियो । हामी अफिस पुग्नुपर्ने थियो । मेरो अफिस बराहताल—१ तेलपानी पर्छ, पहिले यो स्वास्थ्य एकाई थियो । साउन एक गतेदेखि आधारभूत स्वास्थ्य सेवा केन्द्र भएको छ । मसहित यो स्वास्थ्य सेवा केन्द्रमा ३ जना काम गर्छौ ।

काम सकेर सुंगुरखालबाट फर्किदा पानी दर्किन थाल्यो । सुंगुरखालबाट फर्कने बाटोमा धेरै खोलाहरु पार गर्नुपर्छ । दिउँसोको ३ बजेको थियो होला । मैले खिचेर टिकटकमा पोष्ट गरेको भिडियोमा देखिएको खोलामा पुग्दा निकै ठूलो बाढी आइरहेको थियो । त्यो भिडियोको त एउटा खोलाको मात्रै हो, त्यहाँबाट फर्किदा यस्ता धेरै खोलामा हामीले ठूलो बाढीको सामना गर्नुपर्‍यो । केही समय रोकिएर पनि हामी खोला तर्न सक्थ्यौं । तर, पानी रोकिने छाटकाट पनि थिएन, रात पनि पर्न थालिसकेको थियो । त्यसैले समयमै खोला तरेर नहिड्दा साँझपख समयमा पुगिदैन्थ्यो । त्यही भएर हामीले खोलामा आएको भेल नै तरेर भएपनि हिड्ने योजना बनायौं । त्यही कतै नजिक बस्दा पनि भोलिपल्ट अर्को ठाउँमा खोप कार्यक्रम तय भएको थियो । हामीसँगै भ्याक्सिन क्यारियरहरु थिए । त्यही कारण पनि जसरी पनि फर्किनुपर्ने थियो ।

हामीले बोकेका झोला, खोपका राखिएका बट्टासहित एकले अर्कालाई सहयोग गर्दै सबै खोलाको भेल तर्‍यौं । सुंगुरखालको एउटा खोलामा भेल तर्दै गर्दा मैले  दाइ र दिदीहरू खोला तरिरहेको भिडियो बनाए । साँझ ७ः४० मा म बल्लतल्ल तेलपानी पुगे । चन्द्र सर सुर्खेत पुग्दा भने १० बजिसकेको थियो रे । कोठामा पुगेपछि राति १० बजेतिर मैले त्यो भिडियो आफ्नो टिकटक एकाउण्टमा अपलोड गरे । क्याप्सन लेखे, ‘खोप लगाउन जाँदा खोला आएर धन्न बगाको ।’ त्यो भिडियो त पछि सोसल मिडियामा भाइरल भएछ । हामीले त्यस्तो जोखिम मोलेर काम गरेको देखेर मानिसहरुले निकै बधाई दिनुभएछ, सयौंले सेयर गर्नुभएछ  ।

मैले त टिकटकमा अपलोड गरेपछि हेरेकी पनि थिइन् । यहाँ इन्टरनेटको पनि राम्रो पहुँच छैन । हिजो ७ गते साँझ हेर्दाखेरि बल्ल भिडियो भाइरल भएको थाहा पाए । मैले त्यो भिडियो त्यतिकै पोष्ट गरेकी थिए । तर, भाइरल भएछ । हामी स्वास्थ्यकर्मीले जोखिम मोलेर काम गर्दा आम मानिसले दिने यस्तै स्याबासी र वाहीवाहीले नै हामीलाई उर्जा दिन्छन् । मलाई अहिले हामीले जुन जोखिम मोलेर काम गर्‍यौं, त्यहाँका बालबालिकालाई खोप लगाएर फर्कियौं । मानिसहरुले त्यसैको प्रशंशा गरेका हुन जस्तो लाग्छ । भिडियोमा आइरहेको वाहीवाही र स्याबासीले अझ धेरै मेहनतका साथ काम गर्ने उर्जा प्राप्त भएको छ । नेपालका विभिन्न ठाउँमा काम गर्ने स्वास्थ्यकर्मीका झेल्नुपर्ने यी साझा समस्या हुन् । हामी त त्यसका एक प्रतिनिधी मात्रै हौं । नेपालभर पहाडी, तराई र हिमाली क्षेत्रमा घामपानी, बाढी, पहिरोको ख्याल नगरी काम गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी यो बधाई तथा सम्मानका पात्र हुनुहुन्छ ।

खोप लगाएर फर्किएका स्वास्थ्यकर्मी बाढी आएको खोला तरिरहेको भिडियो




क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ