२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘कोरोना केही होइन भन्ने भ्रम नछरौं, भेन्टिलेटरमा पुगेर फर्किएकालाई सोधौं’

‘कोरोना केही होइन भन्ने भ्रम नछरौं, भेन्टिलेटरमा पुगेर फर्किएकालाई सोधौं’

आयुर्वेदिक औषधि सेवन गरेका संक्रमित ७ दिनमा डिस्चार्ज भएका छन्


काठमाडौं—आयुर्वेदिक औषधि सेवन गरेका कोभिड—१९ संक्रमित ७ दिनमा नै निको भएको पाइएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले बताएका छन् ।

हेल्थ आवाजसँगको भिडियो वार्ताका क्रममा डा. उपाध्यायले कीर्तिपुरस्थित आयुर्वेदिक रिसर्च सेन्टरमा राखिएका कोरोना संक्रमितहरुमा ७ दिनमा नै नेगेटिभ रिपोर्ट आएर घर फर्किएको बताएका छन् । अन्य आयुर्वेदिक सेन्टरमा राखी आयुर्वेदिक औषधि सेवन गरेका कुनै पनि संक्रमित गम्भीर अवस्था भएर रिफर गर्नु नपरेको उनले बताए ।

‘कीर्तिपुरमा रहेका धेरै संक्रमितहरु ७ दिनमा नै डिस्चार्ज भएको पाइएको छ,’ उनले भने, ‘काठमाडौं बाहिर प्रदेश ५ को एन्फा एकेडेमी, दाङ, रजहर्वा प्राकृतिक चिकित्सालयका स्थानमा राखेर आयुर्वेदिक औषधि दिइएका कोही पनि संक्रमितलाई गम्भीर बिरामी भएर अन्य अस्पताल रिफर गर्नु परेन ।’

कोरोनाका संक्रमितहरुमा आयुर्वेदिक औषधिको प्रभाव राम्रो देखिएपछि त्यसलाई अनुसन्धान गरी प्रमाणीकरणको प्रक्रिया पनि सुरु भएको छ । राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्रले एसडी मधु र त्रिकुट प्रयोग गरी बनाइएको औषधिको कोरोना संक्रमितहरुमा प्रयोग गरी प्रभावकारिता अनुसन्धान सुरु गरेको छ ।

‘यी लगायत अन्य आयुर्वेदिक औषधि संक्रमितलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन प्रयोग गर्न सकिने भनेर हामीले पहिले नै निर्देशिका तयार गरिसकेका छौं,’ उनले भने, ‘त्यहीअनुसार विभिन्न ठाउँमा संक्रमित राखेर आयुर्वेदिक औषधी दिइरहेका नै छौं ।’

डा. उपाध्यायले बजारमा अहिले इम्युनिटी बुस्ट गराउने औषधि भन्दै जथाभावी भएका प्रचार—प्रसार भ्रमात्मक भएको भन्दै मानिसमा तत्काल इम्युनिटी बुस्ट गराउने कुनै चिज नभएको दावी गरे ।

‘धमिलो पानीमा माछा मार्ने एउटा समूह छ । अहिलेको बेलामा इम्युनिटी बढाउने भनेर मार्केटिङ भएको छ,’ उनले भने, ‘कोरोनालाई निको पार्ने अहिलेसम्म औषधि छैन । सबै ट्रयल मात्र छ ।’ शरीरमा नियमित रोग प्रतिरोधात्मक बनाउन हामीले खाने आयुर्वेदिक खानपानमा दिनचर्या बनाउनुपर्ने उनको भानइ छ ।

तर, कोरोनाका या अन्य कुनै पनि रोगका विरुद्ध प्रयोग गरिरहेका औषधिले सामान्य रोग प्रतिरोधात्मक क्षमता विकासको कुरा नभएर निश्चत रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने उनको तर्क छ । ‘त्यो रोगले ड्यामेज गराउन सक्ने अंग प्रत्यंगलाई रोक्नका लागि बनाइएका औषधि हुन्,’ उनी भन्छन्, ‘तर, गुर्जो, हर्रो, अमला आदिजस्ता कुरा नियमित सेवन गर्न मिल्छ । यिनलाई दिनचर्याको रुपमा बनाउन सकिन्छ ।’

पछिल्लो समय केही आयुर्वेद विज्ञहरुले कोरोना केही पनि होइन भनेर दिइरहेका अभिव्यक्तिका विषयमा राखएिको प्रश्नमा उनले कोरोना छैन भन्नु गलत भएको बताए । ‘हाम्रोमा भ्रम छरेर चलखेल गर्ने मौका आइदियो,’ उनले भने, ‘कोरोना केही होइन भन्ने भ्रमको पछि नलागौं । जो भेन्टिलेटर पुगेर आएको छ, उसलाई सोधौं ।’

नेपालमा कोरोनाको महामारी अन्यत्रजस्तो भयानक नहुनुमा हाम्रो भान्सामा प्रयोग हुने आयुर्वेदिक मसलाको रहेको समेत बताए । तर, त्यसका लागि पनि अनुसन्धान गर्नुपर्ने उनको तर्क छ । अहिले नेपालमा कोरोनाको संक्रमितहरुमा दिइरहेको आयुर्वेदिक औषधिको प्रभावकारिता सफल देखिएमा त्यसले विश्वमा नयाँ इतिहास रच्ने र यी औषधिको प्याटन राइट नेपालको हुने उनको दावी छ ।

डा. उपाध्यायसँग विस्तृत भिडियो अन्तर्वार्ता




क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ