२०८१ मंसीर २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकिशोर–किशोरीको मानसिक स्वास्थ्य सबल बनाउन अभिभावकको भूमिका महत्वपूर्ण

किशोर–किशोरीको मानसिक स्वास्थ्य सबल बनाउन अभिभावकको भूमिका महत्वपूर्ण


मानसिक स्वास्थ्य स्वस्थ जीवनशैलीको एक अभिन्न अंग हो । जीवन व्यथित गर्ने क्रममा व्यक्तिमा कुनै न कुनै रुपमा मानसिक समस्याहरु देखा पर्छन् । जुन स्वभाविक हो । अध्ययनका अनुसार, ५० प्रतिशत जति मानसिक समस्याको सुरुवात १४ वर्षको उमेरबाटै हुन्छ । त्यसैले किशोरावस्थामा नै व्यक्तिमा विभिन्न प्रकारका मानसिक समस्या देखापर्छन् ।

यो उमेर समूहमा धेरैजसो देखिने मानसिक समस्याहरु भनेको मुड डिसअर्डर(डिप्रेसन, एन्जाइटि वा बाइपोलार डिसअर्डर), लागुपदार्थको लत, आत्महत्याको हानी वा आत्महत्याको प्रयास, व्यवहारिक समस्या आदि हुन् ।

किशोर–किशोरीमा देखिने व्यवहारिक समस्या भनेको नमान्ने, निहुँ खोज्ने, झुट बोल्ने, जवाफ फर्काउने, पैसा चोर्ने, नियमहरु पालना गर्न छोड्ने, सामान तोडफोड गर्ने र हिंसालु हुनेजस्ता आदि लक्षणहरुलाई जनाउँछ । जसलाई चिकित्सा क्षेत्रअन्र्तगत ‘अपोजिसनल–डिफिएन्ट डिसअर्डर’ भनेर चिनिन्छ । तर, यसले अझ कडा रुप लिएको खण्डमा भने त्यसलाई ‘कन्डक्ट डिसअर्डर’ पनि भनिन्छ ।

व्यक्तिमा मानसिक समस्या देखा पर्नुको मुख्य कारण भनेको तनाव पनि हो । तनावकै कारण व्यक्तिमा विशेषगरीः (एक्युट स्ट्रेस डिसअर्डर, पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर), डिसोसियटिभ डिसअर्डर र ओबेसिभ कम्पल्सिभ डिसअर्डरजस्ता आदि समस्याहरु देखा पर्छन् ।

अहिलेको सन्दर्भमा सबैभन्दा बढी किशोर–किशोरीमा साझा रुपमा देखिन थालेका यस्ता समस्यालाई अत्याधिक मात्रामा ग्याजेट, स्क्रिन र ल्यापटपजस्ता अचलायमान वस्तुसँग समय बिताउनुको प्रतिफल मान्न सकिन्छ । जसलाई हामी ‘विहेभियर एडिक्सन’ पनि भन्छौँ । अन्तिममा यससंगै, किशोर–किशोरीहरुमा ‘सिजोफ्रेनिया’ जस्तो धेरै कडा किसिमको मानसिक समस्या पनि देखिने सम्भावना रहन्छ ।
अधिकांश किशोर–किशोरीमा यस समयमा देखिने अर्को साझा समस्या भनेको अत्याधिक सोच्ने र उदास हुने बानी हो ।

यद्यपि उनीहरुको यस्तो बानीलाई हामीले एउटा व्यक्तिको व्यक्तित्व भनेर बुझ्नु पर्छ । तर, किशोर–किशोरीहरुमा पूर्ण रुपमा व्यक्तित्व विकास भई सकेको हुँदैन । तसर्थ यस्तो प्रवृत्तिलाई हामीले उनीहरुको ‘टेम्पर्मानेन्ट’ अर्थात् स्वभाव भनेर बुझ्न सक्छौ ।

कुनै पनि मानसिक समस्याको कारण एउटा मात्रै हुँदैन । जैविक र वातावरणीय तत्वको मिश्रणले नै व्यक्तिमा मानसिक समस्या उत्पन्न गराउँछ । ती विभिन्न जैविक कारणमध्ये ‘टेम्पर्मानेट’ (स्वभाव) पनि एक हो । यद्यपि दिमागमा उत्पन्न हुने यस्ता अत्याधिक सोच्ने र उदास रहने प्रवृत्तिले गर्दा कसै–कसैमा भने एन्जाइटी डिसअर्डर, डिप्रेसिभ डिसअर्डर, ओबेसिभ कम्पल्सिभ डिसअर्डर समेत हुनसक्ने सम्भावना रहन्छ ।

तर यसो भन्दैमा दिमागमा आउने सबै सोच मानसिक समस्या नै हो भन्ने चाहिँ होइन । अर्थात्, जसरी कुनै पनि बिउ राम्ररी उम्रिनको लागि अनुकुल वातावरणको आवश्यक पर्छ त्यसैगरि व्यक्तिमा सकारात्मक भावको विस्तार गर्न उसका वरिपरीका वातावरणले पनि उत्तिकै महत्व राखेको हुन्छ ।

समस्या समाधानको उपायहरु

किशोरावस्था भनेको अपरिपक्वबाट परिपक्व उमेरतर्फ अग्रसर हुने समय हो । तसर्थ यसबीच उनीहरुमा देखिने मानसिक समस्याहरुलाई समयमा नैै पहिचान गरी उपचार गर्नुपर्छ । यसरी समयमै पाएको उपचारले व्यक्तिमा देखिएको जुनसुकै समस्यालाई पनि निर्मुल पार्न सकिन्छ ।

तर, साइकोसिस, वाइपोलार डिसअर्डर, अटिजम, इन्टेलेक्चुअल डिसाबिलिटि(मानसिक अपांगता)जस्ता कडा किसिमका मानसिक समस्या र विकास सम्बन्धि देखिएका समस्याहरु भने व्यक्तिमा जीवनभर नै रहिरहने सम्भावना हुन्छ । त्यसैले कुनैपनि रोगको पहिचान सकेसम्म समयमै पहिचान गर्नु पर्दछ ।

सामान्य किसिमको समस्यालाई देखिना साथ उपचार गरेमा परामर्श र थेरापी(किशोर–किशोरीसँगै परिवारलाई पनि) ले काम गर्छ भने, अलि कडा किसिमको समस्याको लागि औषधि र थेरापी दुवै उपयुक्त रहन सक्छ । र, यसरी गरिने उपचार पद्धति सकेसम्म आउट प्यासेन्ट बेसिसमा नै गरिन्छ भने कडा किसिमको समस्या देखिएको छ र, विशेषगरी आत्महत्याको जोखिम धेरै छ भने त्यस्ता बिरामीलाई भर्ना गरेर नै उपचार गर्नुपर्ने हुन्छ ।

कुनै पनि बालबालिका को मानसिक समस्यामा अभिभावकको पहिलो र महत्वपुर्ण भूमिका रहेको हुन्छ । उनीहरुको स्वस्थ मानसिक स्वास्थ्यको निमित्त अभिभावक ले मुख्य ३ पक्षमा विशेष ध्यान दिनुपर्दछः

१. स्विकार एवम् माया

हामीले किशोर–किशोरीहरुलाई अरुसँग तुलना नगरी सकेसम्म उनीहरु जस्ता छन् त्यसैलाई स्विकार गर्नुपर्छ । अन्यथा उनीहरुमा हिनताबोध, आत्मग्लानी वा क्रोध पैदा भई विभिन्न मानसिक विकारहरु देखिन थाल्छन् । यस्तै, अभिभावकले बोलीमा मात्र नभई व्यवहारिक रुपमा पनि स्नेह र प्रेम देखाउनु पर्छ । जसले उनीहरुमा मनोबल र आत्मविश्वासको वृद्धि गर्न सकियोस् ।

२. व्यवहारमा नियन्त्रण

स्नेह र माया सँगसँगै उनीहरुको व्यवहारलाई अनुगमन गर्ने र नियन्त्रणमा राख्न एकदम जरुरी हुन्छ । जसलाई हामी ‘लभिङ अथोरिटी’ पनि भनिन्छ । यसका निमित्त आफ्ना सन्तानको हरेक माग र इच्छालाई सकी–नसकी पुरा गर्न खोज्नु हँुदैन । यसलाई बाल्यकाल देखि नै लागू गर्न सकिएमा किशोर–किशोरी अवस्थामा धेरै समस्या देखिने सम्भावना न्युन हुन्छ ।

३. स्वतन्त्रता

यस समूहका व्यक्तिहरु आफूमाथि कसैले हक जमाएको मन पराउँदैनन् । यसैकारण पनि अभिभावकले आफ्नो अनुगमन र निगरानीमा उनीहरुलाई स्वतन्त्रता पनि दिनुपर्छ ।

यसबाहेक आमाबाबुले ध्यान दिनुपर्ने अन्य पक्षहरु निम्न छन्:

  • आफ्ना सन्तानसँग साथीत्वको व्यवहारमा प्रस्तुत भई उनीहरुलाई मित्रताको अनुभूति दिलाउने ।
  • अधिकांश अभिभावकको बानी के हुन्छ भने, हामी आफ्ना सन्तानको पुरा कुरा नसुनी कनै सल्लाह–सुझाव दिन हतारिन्छौ । तर, कहिलेकाहिँ व्यक्तिलाई सुनाउनेभन्दा सुन्ने मान्छेको आवश्यकता पर्दछ । यसै कुरालाई मनन गर्दै उनीहरुले व्यक्त गरेका सबै कुरा ध्यानपुर्वक सुनिदिने ।
  • निर्णयहरु लिनुपर्दा उनिहरुलाई समावेश गराउने र उनिहरुको पनि कुरा सुन्ने । यसले उनिहरुलाई जिम्मेवार बोध गराउन मद्धत पु¥याउँछ ।
  • सबै विषयमा उनिहरु सँगको अन्तक्रिया खुला र स्पष्ट हुने प्रयास गर्ने ।
  • आफ्नो सन्तानको क्षमता अनुरुप मात्रै उनीहरुबाट अपेक्षा राख्ने ।
  • सबै व्यक्तिको आ–आफ्नै कमजोरी र सबल पक्षहरु हुने भएकाले अभिभावकले कहिल्यै पनि आफ्ना सन्तानलाई अरु किशोर–किशोरीसँग तुलना गर्ने गल्ती नगर्ने ।
  • अधिकांश अभिभावकले के गल्ती गर्छन् भने, उनीहरु आफ्नो महत्वकांक्षा आफ्ना सन्तानको माध्यमबाट पूरा गर्न खोज्छन् । सोही अनुरुप नै उनीहरुलाई डाक्टर, इन्जिनियर, होटेल म्यानेजमेन्टजस्ता विषय नै पढ्न भनेर एक किसिमको दबाब दिन्छन् । जुन विल्कुल गलत हो । यसो गर्नाले उनीहरुमा आफ्ना अभिभावक प्रति गुनासो रहन पुग्छ । जुन जो–सुकैले अभिव्यक्त गर्न सक्दैनन् र फलस्वरुपः विभिन्न मानसिक विकार देखिन थाल्दछ ।
  • अभिभावकले आफ्नै मोबाइल, ल्यापटपको प्रयोग निगरानीमा राख्ने र घरको ग्याजेट हेर्दै नहेर्नु भन्दा पनि यसको स्वस्थ एवम् उपयुक्त प्रयोगको बारेमा सल्लाह दिने ।
  • उनीहरुको व्यवहार, भावना र सोचमा परिवर्तन देखिएमा, निन्द्रा र खानपिनमा समस्या आएमा र उनीहरुको दिनचर्यामा असर हुन थालेमा तुरुन्तै नजिकैको मनोचिकित्सक या मनोविद सँग अनिवार्य रुपमा परामर्श लिने ।

प्रस्तुतीः सृजना मगर ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ