२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकोभिड—१९ : बदलिएको विश्व परिदृश्य

कोभिड—१९ : बदलिएको विश्व परिदृश्य


हामी सपनामा छौं वा यो वास्तवमै एक वास्तविकता हो । अलिकति छुट्याउन मुस्किल छ । यो संसार यस्तो देखियो कि हामी भर्खरै बिहान गहिरो निद्राबाट ब्यूझ्यौं । एक झमटमै अचानक विश्व उल्टियो । एक आँखा झिम्किँदा सबै कुरा बदलियो । सबै—सबै । हामीले खुला अनुहार फेरिरहेको श्वासको फेर्ने तरिकामा पनि बदलाव आयो । जीवनशैलीका के कुरा ।

छिनभरमै वा एक सेकेन्डमा जीवन हराउन सक्छ । ती चीजहरू जुन पहिले बहुमूल्य थिए, एक क्षणमा मूल्यहीन भइदिन्छन् । क्षणभरमै अकल्पनीय अवस्था बन्न सक्ने गरी विश्व मानवको जीवनशैली हलचल आयो । लाग्छ, समयअनुसार मौसमको रङ बदलिएको छ । अहिले हामी लहलह धान झुलिरहेको खेतलाई बाढीको बितण्डाले किनारमा परिणत गरेजस्तो अवस्थामा छौं ।

११ महिना अघि । जतिबेला कोभिड—१९ को कुनै गुन्जायस थिएन । जीवन क्रमबद्ध रुपमा चलिरहेको थियो । परिवार, मित्र, रमाइलो अनि उत्सव । बिना कुनै प्रतिबन्द आफ्नो चाहनाअनुसार गन्तब्यमा पुग्ने । भिडमा आफू हुनुको पनि बेग्लै आनन्दको कुरा थियो । उत्सव, पार्टी, जमघट, भेला र अन्य योजना र तयारीको आफ्नै महत्व थियो ।

विश्वव्यापी महामारी कोभिड—१९ ले हामीलाई जीवन सधैँ योजना गरेको जस्तो हुन्न भन्ने पाठ पढायो । अकस्मातजस्तो लाग्ने यो परिघटनाले अहिले विश्वास गर्न बाध्य तुल्यायो । हामी यस ब्रह्माण्डमा आफैलाई सीमित राखेर बाँच्न खोजिरहेका छौं । घरपरिवार, आफन्त, नातागोता, सहकर्मी, समुदायभन्दा अलि पर, भिन्दैं र एक्लै । यसले हाम्रो जीवनमा शुन्यता ल्याएको छ । आइसोलेसन, क्वारेन्टाइन, सामाजिक दूरी, मास्क, सेनिटाइजरजस्ता शब्दावली अहिले जीवन रक्षाका मापदण्ड बनेका छन् ।

यतिमात्रैं होइन्, मानव जीवनका बहुलपाटाहरुमा कोभिड—१९ ले दूरगामी असर पारिरहेको छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय आवागमन असहज छ । मानिसको चहल—पहल कम भएको छ । लकडाउनका कारण आर्थिक सूचांकहरुको अवस्था दयनीय छ । मानिसहरुको रोगसँगै भोकसँग जुध्नु परिरहेको छ । संसारभर तीब्र रोजगारीहरुको कटौतीले बेरोजगारहरुको संख्या बढेको छ । पर्यटन व्यवसाय धरापमा छ ।

सबैभन्दा बढी दिनभर पसिना बगाएर शान्त मुस्कानका साथ बेलुकी एक छाक टार्नुपर्ने मानिसहरुको लागि यो संक्रमणकाल त्यति सजिलो छैन, जति देखिन्छ । घरमै बस्नुको कुनै अर्थ रहँदैन, त्यस्ता व्यक्तिको लागि जसको आँखा वर्षौदेखि टाउँको लुकाउने छानोबाट बन्चित छन् । ती मानिसहरुका लागि ताराहरू र चन्द्रमाले भरिएको आकाशमा कुनै जादू र लालित्य छैन । भोकले जीवन कति खराब हुनसक्छ भन्ने घटनाहरुले देखाइरहेका छन् ।

‘जिउँदाको जन्ती र मर्दाको मलामी’को सामाजिक परम्परामा बाँधिएको छ—हाम्रो समाज । तर, अवस्था यति भयंकर र पीडादायी रुपमा खडा भयो कि यही सामाजिक परम्परा जीवित राख्न पनि मुश्किल छ । ‘जिउँदाको जन्ती र मर्दाको मलामी’ त अलि परको कुरा भयो । अवस्था यतिसम्म निर्दयी छ कि यो महामारीले हाम्रा प्रियजनलाई अन्तिम ‘गुड वाई’ पनि भन्न नदिएरै हामीबाट लगिरहेको छ । प्रियजनको मृत्युपछि हामी अन्तिम पटक अनुहारसमेत हेर्न पाउँदैनौं ।

हरेक रातपछि दिन । दिनपछि रात । यो प्रकृतिको एक अकाट्य यथार्थता नै हो । मानव सभ्यतामाथि नै कोभिड—१९ ले सिर्जना गरेका यी सबै समस्याका बाबजुद पनि संसारका केही नवीन कुराहरु पनि भैरहेका छन् । दर्जनौ खोपहरु कोभिड विरुद्धको लडाइ जित्नका लागि तयार गरिदैंछन् । केही खोपहरुको कामयावी ९५ प्रतिशत भएका सकारात्मक रैबारहरु पनि आइरहेका छन् । जसले भविष्यमा संसारमा मानिसको जीवन केही सहज हुने अपेक्षा गर्न सकिन्छ । आशा गरौं, केही समयमै हामी पुनः मास्क खोलेर मुस्कुराउन सक्नेछौं । हामी जमघट गर्न सक्नेछौं, रमाउन सक्नेछौं ।

महामारीद्वारा सिर्जना गरिएको भैतिक दूरीले पनि वास्तवमा जोडिएको हृदयहरूलाई छुट्याउन सक्दैन । मास्कले सुन्दर मुस्कान छोप्न सक्छ तर सुन्दर आत्मालाई कहिल्यै लुकाउन सक्दैन् । आउनुहोस्, यो कठिन बेलामा पनि सहृदयी बनौं । आपतमा परेकालाई सहयोग गरौं र कठिन समयमा अग्रमोर्चामा खटिरहेका हाम्रा सिपाही स्वास्थ्यकर्मीहरुको मनोबल बढाऔं । कोभिड—१९ सँग लडिरहेका हाम्रा आफन्तहरुलाई बलियो भावनात्मक टेको दियौं ताकि उनीहरुलाई कोभिड जित्न सहज होस् ।

कोभिड—१९ को विभिन्न दूरगामी असर र प्रभावका बाबजुद संसारमा केही चीज पनि राम्रो भएको छैन भन्ने होइन् । अहिले कोभिड—१९ का कारण रोकिएका आर्थिक र मानवीय गतिविधीले वातावरणमा काफी परिवर्तन देखिएका छन् । हाम्रो लिने श्वास प्रदूषणको मात्रा थोरै भएपनि घटेको छ । सधैं प्रदूषणको भुमरीले ढाकिने डाँडाकाँडाहरु हरियाली देखिन्छन्, झुल्कै नपाइने गगन निलो छ । प्रकृति शान्तिपूर्वक मुस्कुराइरहेका छन् ।

(भट्टराई सेती प्रादेशिक अस्पतालकी स्टाफ नर्स हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ