२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारडा. विक्रम ज्ञवाली भन्छन्, ‘तराई क्षेत्रमा छाला रोगबाट प्रभावितहरु चरम पीडामा छन्’

डा. विक्रम ज्ञवाली भन्छन्, ‘तराई क्षेत्रमा छाला रोगबाट प्रभावितहरु चरम पीडामा छन्’


विगत लामो समयदेखि स्वास्थ्य अभियन्ताका रूपमा काम गरिरहेका यौन तथा छाला रोग विषेशज्ञ डा. विक्रम ज्ञवाली पछिल्लो समय कुष्ठ रोग प्रभावितको खोजी अभियानमा छन् । तराईका विभिन्न १८ जिल्लामा कुष्ठ रोगको अवस्था के–कस्तो छ भन्ने विषयमा उनले खोज गरिरहेका छन् । उनले छालाका बिरामीहरूलाई सामूहिक शिविर सञ्चालन गरेर उपचार गर्दै आएका छन् । देवदह मेडिकल कलेजका डाइरेक्टर समेत रहेका डा. ज्ञवालीसँग छाला, कुष्ठरोग तथा यौन रोगको अवस्था तथा समसामयिक स्वास्थ्य विषयमा हेल्थ आवाजका लागि गरिएको कुराकानीको अंश

तराईमा छाला रोगीको अवस्था कस्तो छ ?

यस क्षेत्रमा छालाका रोगीको अवस्था अत्यन्तै नाजुक छ । चिसो र गर्मी ठाउँमा फरक–फरक तरिकाले छालाका रोग देखा पर्छन । मौसमअनुसार छालाका समस्या देखिने हुनाले पनि रोगी अवस्था नाजुक छ । अझै पनि छाला रोग विशेषज्ञकोमा परीक्षण गर्न जानुपर्छ भन्ने चेतनाको कमी छ । रोग विकराल भएपछि मात्रै बिरामी छाला रोग विषेशज्ञ कहाँ आउँछन्, जसका कारण रोगीको अवस्था नाजुक भैसकेको हुन्छ । तराई क्षेत्रमा छालाको रोगबाट प्रभावितको अवस्था दर्दनाक छ । उनीहरू न खुलेर भन्न सक्छन् न उपचार गर्न आउँछन् । छाला बाहिरी अंग भएकाले पनि महत्वमा नपर्ने मनोवृत्ति छ त्यसले गर्दा पनि छाला रोगबाट प्रभावितहरु चरम पीडामा छन् ।

तराई क्षेत्रमा बढी छाला रोगबाट प्रभावित रहेको भन्नुभयो, कारणहरू के रहेछन् ?
तराईको दक्षिणी क्षेत्रमा अझै पनि शिक्षा र जनचेतनाको अभाव छ । राज्यस्तरबाट पनि ती क्षेत्रमा जनचेतनामूलक कार्यक्रम प्रभावकारी रूपमा संचालन गरेको पाइदैन् । यद्यपी छिटफुट कार्यक्रम भने नभएका होइन् । तर, ती कार्यक्रम अझ बढी पीडित केन्द्रित गर्नुपर्छ भन्ने हो । छाला रोग समयअनुसार देखा पर्ने र शारीरिक सरसफाईसँग सम्बन्धित छ । यस क्षेत्रमा सरसफाईको कमी पनि एउटा कारण हो । अर्को महत्वपूर्ण कुरा रोगलाई लुकाउने, घरेलु औषधि लगाउने र स्टोरेटयुक्त औषधिहरूको प्रयोगले पनि समस्या बढ्दै गएको छ । समाजमा अझै पनि छाला रोगबाट प्रभावितलाई हेर्ने दृष्टिकोण नकारात्मक छ । रोग लुकाउँदा समस्या झन बढ्ने हुन्छ । छालाको रोगलाई त्यति महत्व समेत नदिने प्रचलनले पनि समस्या थपेको छ ।

छाला रोगबाट प्रभावित खुलेर उपचारमा संलग्न हुँदैनन् भनिन्छ ,वास्तविक अवस्था कस्तो छ ?
समाजमा अझै पनि भेद्भाव गर्ने प्रवृत्ति छ । हामी आफै विचार गरौं, कोही कसैलाई घाउ खटिरा आएको रहेछ भने छुन समेत घिन मान्छौं । यसको प्रभाव बिरामीमा देखिन्छ । किशोरीहरू सामान्य डन्डीफोरका कारण डिप्रेसनमा जाने खतरा हुन्छ । देख्दा सानो लाग्ने तर परिणाम विकराल ल्याउने प्रकृतिका छाला रोगहरू हुन्छन् । यसैमा जोडौं सेतो दुबी । यो नसर्ने रोग हो । तर हाम्रो सेतो दुबी भएको ब्यक्तिलाई गर्ने व्यवहार फरक हुन्छ । यसरी समाजले हेर्ने दष्टिकोणका कारण पनि खुलेर उपचार गर्न नआउने अवस्था छ । छाला रोगलाई ‘नेग्लिजेवल डिजिज’ अर्थात उपेक्षा गरिएको रोगका रूपमा पनि लिने गरिन्छ । यसका कारण पनि रोगबाट प्रभावितले उपेक्षा नै गर्ने गरेको पाइन्छ । बिरामीहरू आफ्नो क्षेत्रमा उपचार गर्न हिचकिचाउने गर्दछन् । जस्तो म कार्यरत देवदह मेडिकल कलेजमा चितवन, कपिलवस्तु जिल्लाका कुष्टरोग प्रभावितहरू उपचारका लागि आउनुहुन्छ । यसले पनि समाजको अवस्थाको चित्रण गर्दछ ।

१८ जिल्लामा यहाँले ‘मास क्याम्प’ सञ्चालन गर्नुभयो । त्यस प्रकारका शिविरमा कस्ता–कस्ता छाला रोगबाट प्रभावितहरूको सहभागी भएको पाउनुभयो ?
म कुष्ठरोग सचेतनाको एउटा अभियानकर्ता पनि भएको हुनाले म सधै कुष्ठरोगका बिरामी नै खोजी गर्ने प्रमुख विषय हो । तर, ती बिरामीको खोजी हाम्रो उद्देश्य भएपनि हामी छालाका विभिन्न रोगहरूबाट प्रभावितलाई शिविरमा सामेल गराउथ्यौं । शिविरहरूमा धेरैको उपचार गरियो । ती शिविरहरूमा प्रायः दाद, लुतो, चायाँ, छालाको एलर्जी, कुष्ठरोग प्रभावितलगायतका बिरामीहरू आउँथे । रोगबाट प्रभावितहरू भने रोग धेरै पुरानो भएपछि मात्र विषेशज्ञसँग आउने गरेका हुन्छन् । छालाको रोगलाई हावा, पानी, घाम, धुलो आदिले असर गरिरहेको हुन्छ । कतिपय छालाका रोगहरू सरूवाको उच्च जोखिमयुक्त हुन्छन् । ती रोगहरूका बारेमा जनचेतनाको कमी, सरसफाईको समस्या, औषधिमा लगानी गर्न सक्ने अवस्थाको पनि समस्या देखियो ।

प्रदेशमा कुष्ठरोगको अवस्था कस्तो छ ? कुष्ठरोग प्रतिको परम्परागत मान्यतामा केही फरक रहेछ ?
हजुर, म लामो समयदेखि नै छाला रोग विषेशज्ञका रूपमा रोगबाट प्रभावितहरूको उपचारमा संलग्न रहेको हुनाले मलाई त्यो अवसर प्राप्त भएको हो । अभियान कै क्रममा मैले दुई सय बढी स्वास्थ्य शिविरहरू सञ्चालन गरिसकेको छु । ती शिविरहरूमा छालाका रोगबाट प्रभावितहरू सहभागी हुन्छन् र ती रोगबाट प्रभावितहरुमध्ये कसैलाई कुष्ठरोग त छैन् भन्ने विषयमा हामी खोजी गरिहेका हुन्छौं । यसरी हेर्दा अझै पनि प्रदेशमा छिटफुट मात्रामा कुष्ठरोगबाट प्रभावितहरू भेटिएका छन् । कुष्ठरोग बाट प्रभावितहरूलाई हेर्ने दृष्टिकोणमा केही न केही परिवर्तन त आएको छ । तर जति खुल्ने वातावरण बन्नु पर्ने हो त्यो भने हुन सकेको छैन् । ग्रामीण क्षेत्रमा अझै पनि रोगलाई हेर्ने दृष्टिकोण नकारात्मक छ । ती सोंचहरूलाई परिवर्तन गर्न गाउँ–गाउँमा जागरण अभियान सञ्चालन गर्नुपर्ने महसुस गरेको छु । रोग, रोगबाट र जनतालाई छाला रोगका बारेमा जागरण पैदा गर्न सके पनि ठूलो योगदान हुन्छ ।

स्वास्थ्य संंस्थाले छाला रोगबाट प्रभवितको सुविधामा कत्तिको महत्व दिएका छन् ?
अस्पतालले जुनसुकै रोगबाट प्रभावितलाई सुविधा होस् भन्ने चाहना राख्छन् । तर कतिपय अवस्थामा त्यो सम्भव नहुन सक्छ । त्यसैले अब अस्पताल पनि स्पेसिफिक हुनु अवश्यक छ । एउटा अस्पताल कुनै रोग विषेशका लागि सुविधा सम्पन्न होस् । बुटवलमा सञ्चालनमा रहेको लुम्बिनी स्कीन एन्ड लेजरको कन्सेप्ट पनि त्यतैबाट आएको हो । यसलाई पनि ठूलो अस्पतालका रूपमा विकास गर्नुपर्छ भन्ने हो । म देवदह मेडिकल कलेजमा आएको झन्डै दुई वर्ष भयो । त्यहाँ दैनिक २५/३० जना बिरामी हेर्ने गर्दछु । अस्पतालहरूले आफ्नो क्षमताअनुसारको सुविधा दिएकै छन् ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
बिरामीले के औषधि खाइरहेको छु, मलाई के भएको हो, भन्ने कुरा जान्ने अधिकार छ । कुन डाक्टरलाई देखाइरहेको छु भन्ने विषयमा सचेत हुनुपर्छ । रोगलाई पालेर नबसौं । प्रविधिको विकाससँगै सबै कुरा सम्भव जस्तै भएको छ । छालाको रोग लाग्यो भन्दैमा चिन्ता गर्नु पर्ने केही छैन् । उपचारमा संलग्न भए हुन्छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ