२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘हामी वार्षिक ८० लाख सन्चो उत्पादन गर्ने लक्ष्य पूरा गर्छौं’

‘हामी वार्षिक ८० लाख सन्चो उत्पादन गर्ने लक्ष्य पूरा गर्छौं’


जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड नेपाल सरकारको स्वामित्वको कम्पनी हो । यो कम्पनीले उत्पादन गर्ने ‘सन्चो’ नेपाली बजारमा चर्चित छ । त्यसबाहेक कम्पनीले अन्य विविध उत्पादनहरु पनि गर्छ । यी उत्पादनमा स्वदेशी कच्चा पदार्थहरु प्रयोग हुन्छन् । अहिले कम्पनीले बजारमा माग बढेपछि मासिक ८ लाख पिससम्म सन्चो उत्पादन गरिरहेको छ । यसको उत्पादनका लागि झण्डै ४५ जनाभन्दा बढी कर्मचारी प्रत्यक्ष संलग्न छन् ।

तस्बिर : नवराज वाग्ले

कम्पनीले नयाँ उत्पादन थप्ने, उत्पादनलाई थप परिस्कृत गर्ने योजनाअनुसार भौतिक संरचनासमेत निर्माण गरिरहेको छ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका उत्पादन र बजारमा त्यसको अवस्थाका बारेमा कम्पनीकी चिफ म्यानेफ्र्याक्चरिङ अफिसर उषा रिजाल जोशीसँग हेल्थआवाजले गरेको संवादः

सन्चो उत्पादनको अवस्था के छ ?
सन्चो उत्पादनलाई गत वर्षभन्दा यसवर्ष बढाउने योजना बनाएको छौँ । गत वर्ष ५० लाख उत्पादन गरेका थियौं भने यो वर्ष हामीले ८० लाख पिस सन्चो उत्पादन गर्ने हाम्रो टार्गेट छ । बजारको मागअनुसार हामीले सन्चो उत्पादन गर्ने हो । वर्षको अघि नै हामीले के कति सन्चो उत्पादन गर्ने भन्ने टार्गेट निर्धारण गर्छौं । सोही टार्गेट अन्तर्गत नै हामीले उत्पादनमा वृद्धि गर्ने लक्ष्य लिएका हौं ।

यो वर्ष माग बढी भएर उत्पादन बढाउने लक्ष्य तय गरिएको हो ?
कोभिड—१९ महामारीमा रुघाखोकीको औषधीको रुपमा सन्चोको प्रयोग बढी भएकोले यो वर्ष सन्चोको माग धेरै आयो । चालु आर्थिक वर्षको माघसम्म मात्रै ४५ लाखभन्दा बढी सन्चोको पिस बिक्री भएको छ । यो वर्षको आधा वर्षमै हाम्रो ५० प्रतिशत टार्गेट पूरा भएको अवस्था छ ।

बजारमा मागअनुसार नै सन्चो उत्पादन हुने हो ?
हो, बजारको मागअनुसार नै हामीले सन्चो उत्पादन गर्ने हो । बजारको लागि हामी वितरकसँग अन्तरक्रिया गरेर नै काम गर्ने गर्छौं । ३ माहिना अगाडि स्टकमा राख्न पनि भ्याइएन । त्यति धेरै विक्री भयो ।

देशबाहिर यसको पहुँच छ ?
अहिले देश बाहिर निर्यात गर्ने आवश्यक डक्युमेन्ट हामीसँग छैन । तर, देशका सबै ठाउँमा नै पहुँच होस् भन्ने हाम्रो अपेक्षा हो । सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि अझै सन्चो पुग्न नसकेको हामीले सुन्न पाएका छौँ ।

सन्चो उत्पादनका लागि आवश्यक कच्चा पदार्थको अवस्था पर्याप्त छ ?
यो माग छ भन्दैमा दायराभन्दा माथि गएर हामी बिक्री वितरण गर्दैनौं । हामीसँग नेपालमै उत्पादन भएको कच्चा पदार्थ कहिले काही पुग्दैन्, जसले गर्दा वाह्य देशबाट पनि आयात गर्नुपर्ने हुन्छ । यही समस्याका कारण हामीले पर्याप्त सन्चो उत्पादन गर्ने सकेका छैनौँ । १ करोड सन्चो उत्पादन गर्न सक्यौं भने ठूलो उपलब्धि हुन्थ्यो ।

सन्चोबाहेक कम्पनीका अन्य उत्पादनहरु के—के छन् ?
सन्चोबाहेक हामीसँग गुणस्तरीययुक्त जडिबुटीजन्य तेल जस्तैः हिमालयन ओइल मसाज, सन्चो बाम, शिलाजित, भिक्स उत्पादन हुन्छ । शिलाजितको माग पनि धेरै छ । लकडाउनको अवधिमा हामीले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ‘सन्चो ह्याण्ड स्यानीटाइजर’ नामक स्यानिटाइजर पनि उत्पादन सुरु ग¥यौं । यसले बजारमा रहेका अन्य स्यानिटाइजरजस्तो छालामा असर देखाउँदैन । त्यसैले यसको माग अहिले विस्तारै बजारमा बढिरहेको छ ।

अन्य उत्पादनको बजारमा माग कस्तो छ ?
बजारमा प्रोडक्ट गएको छ । सन्चो नै जसरी अरु उत्पादन गएको छैन । तर पनि उत्पादनहरु विस्तारै—विस्तारै बिक्री भैरहेका छन् । हामीसँग पर्याप्त जनशक्तिको अभाव पनि छ । अझै राम्ररी बजारीकरण हुनसकेको छैन । उत्पादनको मात्रा बढाएसँगै अब मार्केटिङ्ग पनि गर्ने हिसाबले धेरै कुराहरु परिवर्तन गर्ने योजनामा छौं । हामीले कम्पनीको क्रियाकलापबारे पनि भर्खरै बुलेटिन, ब्रोसरहरु पनि निकालेका छौं ।

धेरै सरकारी कम्पनी घाटामा गैरहेका देखिन्छन् । यो आर्थिक कारोबारको अवस्था के छ ?
हामीले पनि घाटा नव्यहोरेको हैन । अहिलेको अवस्थामा भने उत्पान र प्रशोधन बढाएकोले नाफामै गएका छौं । अब शाखा पनि विस्तार गर्दैछौं । साबुन, स्याम्पु सफ्ट ड्रिंक, हर्बल ड्रिंकहरु पनि निकाल्ने सोच छ ।

सन्चो र हर्बलजस्ता उत्पादनको कारोबार कति छ ?
हाम्रो केही जिल्लामा उब्जाएको खेतीबाट वार्षिक ३० टन सुगन्धित तेल निस्कन्छ । हामी प्रायः नेपालभन्दा बाहिर तेल बेच्छौं । र, त्यसबाहेक तेलबाट धेरै प्रकारका प्रोडक्ट बनाउँछौं । खेतीबाट आएको उत्पादनलाई जम्मा गर्ने, प्रशोधन गर्ने र फिनिसिङ गर्ने हाम्रो प्रक्रिया छ । अहिले कारोबार नै यति भन्दा पनि हामी नाफामा गएका छौं ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार, वैकल्पिक चिकित्सा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ