२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकर्णालीका स्वास्थ्य समस्या र निवारणका उपाय

कर्णालीका स्वास्थ्य समस्या र निवारणका उपाय


 

डा. विज्ञान प्रजापति
एमडिजिपी

जीवनशैली जतिसुकै स्वस्थ्य भएतापनि व्यक्तिलाई कुनै पनि किसिमका रोग नलाग्ने भन्ने हुँदैन । तर, पनि हाम्रो अस्वस्थ्यकर जीवनशैलीका कारण भने त्यस्ता रोगहरु छिटो निम्त्याउन मद्धत पुगिरहेको हुन्छ । ब्यक्तिको खानपिन र जीवनशैलीका आधारमा ब्यक्तिपिच्छे फरक—फरक स्वास्थ्य समस्याहरु देखिने गर्छन् । तुलनात्मक रुपमा सहरी क्षेत्रमा भन्दा पनि दुर्गम र ग्रामीण क्षेत्रमा यस्ता समस्याहरु बढी रहेको पाइन्छ ।

विशेषगरी, कर्णाली क्षेत्रमा अझ पनि सामान्य मानिने स्वास्थ्य समस्याबाट धेरै मानिसहरु संक्रमित भएर अकालमा ज्यान गुमाइरहेका छन् । अस्वस्थ्यकर जीवनशैली, उपयुक्त स्वास्थ्य उपचार र उचित तथा आवश्यक सुविधा सम्पन्न स्वास्थ्य केन्द्रको अभावका कारण अहिले पनि कर्णालीका बासिन्दाहरु सामान्य समस्याबाट समेत ज्यान गुमाउन बाध्य छन् । कर्णालीमा देखिने रोगहरु बिरामीको उमेर समूहअनुसार फरक—फरक रहेको पाइछ ।

कर्णालीमा उमेरअनुसार देखिने रोग

तुलनात्मक रुपमा कर्णाली क्षेत्रमा पहिलेभन्दा हाल जनचेतनामा आएको वृद्धि तथा स्वास्थ्य सेवाको बढ्दो पहुँचका कारण स्वास्थ्य सम्बन्धि समस्यामा कम आएको देखिन्छ । तर, पनि यसको निर्मुलन पूर्ण रुपमा भने भइसकेको छैन । वर्तमान स्थितीमा पनि स्वास्थ्य केन्द्र तथा उचित चेतनाको बाबजुद पनि सोही किसिमको सेवा तथा सुविधाको अभावका कारण भने त्यहाँका मानिसहरु विभिन्न स्वास्थ्य समस्याबाट गुज्रिन बाध्य रहेका छन् ।

कर्णालीका ब्यक्तिहरुमा विशेषगरी दम, ग्यास्ट्रिक, क्षयरोग, फोक्सोसँग सम्बन्धित रोग तथा भीरपाखाबाट लडी चोटपटक लाग्नेजस्ता समस्याहरु साझा रहेका पाइन्छन् । यस्तै, बालबालिकामा झाडाबान्ता, संक्रमण, निमोनिया, ज्वरो, क’पोषण, महिलाहरुमा पिसाबको संक्रमण, पाठेघर तथा पाठेघरको मुखको संक्रमण, तल्लो पेट दुख्ने र वृद्धहरुमा दम तथा ग्यास्ट्रिकको समस्या बढी देखिने गरेको छ ।

कर्णालीका बासिन्दाहरुमा यस्ता समस्या देखा पर्नुका पछाडिको मुख्य कारण अस्वस्थ्यकर जीवनशैली, प्राथमिक उपचार केन्द्रको समस्या र चुनौती नै हो । बालविवाह, छिटो उमेरको प्रजनन, परिवार नियोजन साधनको प्रयोगको कमी, सरसफाइको कमी, उचित पौष्टिक आहाराको अभाव, दुषित खानेपानी, खनिजको कमी, उचित स्याहार–रेखदेख तथा तागतिलो खानाको अभाव त छदैंछ, त्यसमाथि पनि रोग लागेपछि उचित स्वास्थ्योपचार पाउन नसक्नु यहाँको अर्काे तीतो यथार्थ हो । यसबाहेक पनि हालसम्म दाउरामा खाना बनाउने र धुम्रपान पनि उत्तिकै मात्रामा सेवन गर्ने कारण दम तथा क्षयरोगहरुको समस्या धेरैमा देखिन्छ ।

कसरी गर्न सकिन्छ समस्या समाधान ?

कर्णाली क्षेत्रको यस किसिमको समस्याका कारण हालसम्म धेरैले अकालमा नै ज्यान गुमाएका छन् । जसकारण कर्णाली बासिन्दाको आयु कम हुन्छ भन्ने एक मान्यताको छाप नै जनमानसमा परिसकेको छ । तर, उचित स्वास्थ्य उपचार, विकासका पूर्वाधार र स्वस्थ्य जीवनशैली प्राप्त भएको खण्डमा भने कर्णाली क्षेत्रमा कार्यरत हामी चिकित्सकहरुले जनमानसमा भएको यस किसिमको मान्यतालाई एक भ्रममा परिवर्तन गर्न सामर्थ हुनेछौं भन्ने विश्वास मलाई छ । तसर्थ, यसका निमित्त हामीलाई सरकारको सहयोगको विशेष खाँचो रहेको छ ।

सरकारले कर्णाली क्षेत्रको विकासको निमित्त जतिसुकै योजना, परियोजना तथा कार्यक्रमहरु ल्याएतापनि यहाँ ती कार्यक्रमहरु प्रभावकारी तथा दिगो नहुनुका पछाडिको प्रमुख कारण यहाँको स्वास्थ्य स्थितीलाई मान्न सकिन्छ । यसका निमित्त सर्वप्रथम सम्बन्धित सरकारी निकायहरुले विकासको पहिलो खुड्किलो नै स्वस्थ्य ब्यक्ति तथा स्वस्थ्य समाज, हो भन्ने कुरा बुझ्नु पर्दछ । यहाँको स्वास्थ्य स्थितीमा सुधार ल्याएपछि मात्र सरकारले बाटो घाटोजस्ता अन्य विकासको पूर्वाधारको परियोजनाहरुलाई प्राथमिकता दिँदा उचित होला ।

ब्यक्ति तथा समाज स्वस्थ्य भएको खण्डमा नै त्यहाँको विकास तथा अन्य योजनाहरु स्वतः नै कार्यन्वयन र प्रभावकारी हुन पुग्दछ । तसर्थ, सरकारले कर्णाली क्षेत्रको विकासको निमित्त सर्वप्रथम यहाँको सम्पूर्ण जनस्वास्थ्यमा सुधार आउने नीति तथा कार्यक्रमहरु आयोजना गर्नुपर्दछ । अन्यथा विकासको निमित्त आधारभूत मानिने जनशक्तिको स्वस्थ्य स्वास्थ्यको अभावमा भने दिगो विकास कदापी हुन सक्दैन ।

तुलनात्मक रुपमा हाल स्वास्थ्य क्षेत्रहरुको विकास भएतापनि यहाँ अझै पनि उचित स्वास्थ्य सेवा सुविधा तथा आवश्यक उपचार प्रविधि तथा उपकरणहरुको अभाव रहेको छ । बिरामी आफ्नो स्वास्थ्य उपचारको निम्ति एक डेढ घण्टाको पैदल यात्रा पश्चात् मात्रै अस्पताल आइपुग्ने समस्या अझै पनि ताजै छ । तसर्थ, यस्ता पक्षहरुमा सरकारले आफ्नो ध्यान केन्द्रित गर्न जरुरी रहेको देखिन्छ ।

यस्तै, सरकारभन्दा पनि पहिले ब्यक्ति आफू नै आफ्नो स्वास्थ्यको प्रमुख जिम्मेवार रहेका कारण ब्यक्ति स्वयंमले आफ्नो स्वास्थ्यप्रति विशेष ध्यान दिनु अत्यावश्यक रहेको देखिन्छ । अब कर्णालीका मानिस पनि आफ्नो स्वास्थ्यप्रति चनाखो हुनु पर्दछ । अरुको मुख ताक्नु वा रोगपछि मात्रै उपचार खोज्नुभन्दा रोग नै लाग्न नदिनु उचित हुन्छ । यसका लागि पहिले कर्णालीका आम मानिसहरु आफैले आफ्नो स्वास्थ्य स्थितीमा विशेष ध्यान दिनु आवश्यक छ । हरेक ब्यक्तिले आफ्नो स्वास्थ्यको उचित ख्याल राखी सोही अनुसार सरसफाइमा विशेष ध्यान दिएको खण्डमा मात्र कर्णालीको स्वास्थ्य क्षेत्रको विकास हुन सक्छ ।

(हाल जिल्ला अस्पताल कालिकोटमा कार्यरत डा. प्रजापति कर्णाली क्षेत्रका लगभग सबै ठाउँ पुगिसकेका छन् । डा. प्रजापतिसँग सृजनाले मगरले गरेको कुराकानीमा आधारित ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ