२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारविषम परिवेशमा नर्सिङ शिक्षा र नर्सिङ अभ्यास

विषम परिवेशमा नर्सिङ शिक्षा र नर्सिङ अभ्यास


‘केही गरौँ, जीवनको सही सदुपयोग गरौं’ भन्ने सामूहिक जमर्को अनुरूप नर्सिङ पेशामा आवद्ध भइयो । यसमा स्वर्गीय हजुरआमा, आमा, बुबा र हाल साथमा रहेका आफ्नै दाजु, स्कुलका शिक्षकहरुको ठूलो योगदान छ ।

साथै प्रथम खुड्किलो नर्सिङ अध्ययन गरिँदा नर्सिङ शिक्षकहरुको ठूलो नै सह्रानीय भूमिका छ । तर, दुर्भाग्य उहाँहरुको अथक प्रयास, मानवीय हृदयको विशाल कदमलाई फराकिलो र गहकिलो बनाउने प्रयासहरूलाई सदुपयोग गरिनुको साटो केही स्वार्थका झुण्डहरुले असफल बनाउने ठूलो कसरत गरी रहेको आभास प्रत्यक्ष गरिरहेको छु ।

नर्सहरुलाई नै ढाल बनाएर हाम्रा सिनियर, गुरुवर नर्सहरुको अथक प्रयास र निःस्वार्थ कार्यलाई शून्यतामा झारी रहेको आभास गरिरहेको छु । अध्ययनले विद्यावारिधी, त्यस्तै स्नाकोत्तर गरिएकाहरु त्यस्तै पदीय दायित्वले विज्ञता र उपल्लो पद ओगटिएकाहरु नै यसको गलत उपयोगीका लागि ढाल बनिरहेका छन् ।

स्पष्ट उदाहरण धेरै यत्रतत्र छरिएका यथेष्ट छन् । अहिले चिकित्सा शिक्षा आयोगमा नर्सिङ शिक्षा अनुगमन गरिने सुदृढ पूर्णता जनाउने अनुगमनको लागि फाराम नहुनु, त्यस आयोगको कार्यालयको कार्य सम्पादन गर्न नर्स विज्ञविहिन हुनु, नेपाल नर्सिङ परिषदमा अध्यक्ष, उपाध्यक्ष, विज्ञ र सदस्यको कार्यसमितिको पद खाली हुनु, ठूला—ठूला संस्थाहरुमा नर्सहरू ठगिनु, कोरोनाको वा अन्य बहानाको नाममा तलबविहिन हुन पुग्नु अनि आधिकारिक संस्थाहरु जस्तै स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, गृह मन्त्रालय परिपत्र जारी गर्दै मुकदर्शक बन्नु, त्यस्तै उच्च शिक्षा मूल्यांकन तथा स्तर निर्धारण आयोग मुकदर्शक बन्नु धेरै छन्, यहाँ दीर्घ रोगको उदाहरण स्वरूप ठडिएर रूप रंग देखाउँदै बसेका संस्थाहरु !

नाम मात्रका अनुगमन धेरै गरिएको आभास भएको छ । कारण उच्च ओहदामा बसेका नर्सहरू म बोल्दिनँ, मेरो पदीय दायित्वले मलाई बाँधिएको छ, बोल्न मिल्दैन भन्ने गलत बुझाइ धेरैमा पाइएको छ । जुत्ताको तलुवा चाट्नेहरु नै ठूला—ठूला नर्सिङ अधिकार र हितका कुराहरु गरेर नाटक मञ्चन गर्ने गरेको पाइएको छ ।

एकमात्र पेशागत संगठन नेपाल नर्सिङ संघलाई सम्पूर्ण नर्सहरुबीच घृणा, द्वेष फैलाउने कलहको जड सिर्जना गरिने वाहियात संस्थाको रुपमा निजी संस्थाका घटिया सोच भएका यानिकी माफियाहरुले सक्दो मलजल दिएर विकास गरिँदैछ । नेपाल सरकारमा कार्यरत नर्सहरूमार्फत, यसको स्पष्ट उदाहरण धेरै छन्, जसको लागि नेपाल नर्सिङ संघले देशव्यापी आम हडताल गरे । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अस्पताल ठप्प पारे । अहिले त्यही संस्थाका नर्सिङ प्रमुखहरू नेपाल नर्सिङ संघसँग सहकार्य गर्न चाहँदैनन् । अझ उल्टै नेपाल नर्सिङ संघको बदनाम गराउने क्रियाकलापहरू गर्न अग्रसर भइरहेका छन् । त्यस्तै, केही सिमित व्यक्तिहरूले आफ्नो वर्चस्व देखाउन अरु कुनै नाममा नेपाल नर्सिङ संघ दर्ता गर्ने गरिरहेका पनि छन् ।

‘भाइ—भाइ फुटे गँवार लुटे’ भन्ने तराईवासीको भनाई नै छ । ‘डिभाइड एण्न्ड रुल’ भन्ने अंग्रेज शासकहरूको मूल मन्त्र नै थियो, जुन दीर्घ रोगको जडको रुपमा नर्सिङमा रोपिएको छ । यो निर्धक्क किन लेखिनु नै प¥यो । किन यसलाई आम समुदायमाझ पस्कनु प¥यो ?

खासमा स्वास्थ्य अति संवेदनशील क्षेत्र हो । यसमा लागेका स्वास्थ्यकर्मीहरु, संघसंस्थाहरु अन्यौलताको कालो बादलमा उकुस—मुकुसको साथ श्वास प्रश्वासको लागि यानिकी जीवन रक्षाको लागि निरन्तर अथक प्रयास गरिरहेका छन् । अति राम्रा कार्य गरिएका संस्थाहरु पनि केही गलत सिमित व्यक्तिहरूको कारण धरासायीतर्फ उन्मुख भएको प्रत्यक्ष आभास गरिरहेको छु । त्यस्ता संस्थालाई राज्यले जगेर्ना गर्न गरिनुपर्ने प्रयासहरू धेरै नै अपुग स्वास्थमा छ भन्ने कुरा कसैबाट छिपेको छैन ।

यो लेखिरहँदा स्वास्थ्य क्षेत्रमा भएका निजी संस्थाहरुलाई निस्तेज पार्ने नीति नियम सरकारले विकास गर्ने पनि गरिनु हुन्न भन्ने कुरो अवगत गराउन चाहन्छु । स्वास्थ्यकर्मीहरु ठूलो संख्या निजी संस्थामा कार्यरत छन् । उनीहरूको विज्ञता निजी संस्थामा खारिएर जनसेवामा समर्पित भएको पाइएको छ ।

वर्तमान परिवेशमा निजी नर्सिङ कलेजहरूको योगदान राज्यमा ठूलो नै छ । गुणस्तरीयता, विश्वसनीयता र बहुउपयोगिता सुनिश्चित गर्न राज्यले जुनसुकै कदम जुनसुकै बेलामा चाल्नु एकदमै सह्रानीय कार्य हुन आउँदछ । त्यसको हामी सबैले स्वागत गर्नु नै श्रेयकर देखिन्छ । तर, त्यसैको नाममा केही सिमितलाई हितकारी बनाउँदै अरूलाई बन्देज गराउने कार्य गरिनु हुँदैन भन्ने कुरा पनि हामी कसैले भुल्नु पनि हुँदैन् ।

यो अति आवश्यक छ सम्पूर्ण नर्सहरू एउटै भातृ संगठनभित्र समाहित हुन् । ताकि वास्तविक स्वरूप र पहिचान नर्सहरुले पाउन सफल होऊन् । तर, ठूला—ठूला पदमा आसिन नर्सहरुले त्यो विशाल हृदय देखाउन किन सकिरहेको छैन । त्यसको खोजी हुन आवश्यक छ ।

अति न्यून संख्यामा रहेका पुरुष नर्सहरू धेरै नै पीडित छन् । केही कुराको उत्तरदायित्व बहन गर्ने पदमा आसिन गरुन भन्ने कुरो गरिएमा लिङ्ग विभेदको कुरो अधि सार्ने गर्दछन् । अहिले रिक्त रहेको नर्सिङ परिषदको अध्यक्षमा एक कार्य अवधि परीक्षणको लागि पुरुष नर्सलाई नियुक्ति गरिँदा के कुरालाई असर गर्दछ र? त्यस्तै, उच्च शिक्षा गुणस्तर निर्धारण आयोग, चिकित्सा शिक्षा आयोगमा नर्सको पद सिर्जना गरी योग्य जुनसुकै नर्स राखिँदा के असहज हुन आउँदछ र?

पेशाको लागि दिन रात खटने छन् । जस्तोसुकै विषम परिवेशमा पनि अघि लागि नेतृत्व सम्हाल्ने छन् । यसमा कुनै हालतमा अन्य पेशाकर्मीको दाँजोमा नर्स पेशाकर्मी कम अब्बल छैनन् । तर, दुर्भाग्य महिला ९९ प्रतिशत भएको नर्सिङ पेशालाई राज्यबाट अपहेलित गरिएको छ । यसमा नेपाल सरकारमा ठूला ओहदामा आसिन नर्सहरु किन नर्सिङ संघसँग सहकार्य गर्न अग्रसर नहुने, छुट्टै सरकारी नर्सिङ संघको आवश्यकता किन? के जुन थालमा भात खायो त्यसैमा दुलो बनाउन सुहाउँछ?

वर्तमान अवस्थामा निजी संस्था, सरकारी संस्था, अस्पताल र कलेज गरी सबैलाई समेटेर नर्सिङ संघको चुनाव लडेको होइन र? अलग्गै सरकारी र निजी गरेर लडिएको थियो र? त्यसैले त नर्सहरू पीडित छन् धेरै ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ