२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारसाथी वा सही परामर्शदाता ‘एमडिजीपी’

साथी वा सही परामर्शदाता ‘एमडिजीपी’



डा. पुष्पमणि खराल
एमडिजीपी

एमबीबीएस गरेपश्चात् थप ३ वर्ष एमडिजिपी जनरल प्राक्टिस एण्ड इर्मेजेन्सी मेडिसिनमा एमडी गरेका डाक्टरलाई एमडिजिपी भनिन्छ । एमडिजिपी गरेका डाक्टरहरुले इर्मेजेन्सी मेडिसिन, इन्टरनल मेडिसिन, सामान्य सर्जरी, स्त्री तथा प्रसुती रोग, बालरोग, नशा तथा मानसिक रोग, छाला तथा यौन रोगजस्ता आदि विषय सम्बन्धि विशेष तालिम प्राप्त गरेका हुन्छन् ।

एमडिजिपी गरेका डाक्टरले बच्चादेखि वृद्धावस्थासम्मका बिरामीहकरुलाई प्रायः सबै रोगको बारेमा सल्लाह तथा सुझाव दिने गर्छन् । आफूले बिरामीको उपचार गर्ने क्रममा थप उपचार वा अप्रेशनको आवश्यक पर्ने अवस्था आएमा सम्बन्धित विशेषज्ञ कहाँ पठाउँछन् । एमडिजिपी डाक्टरहरु परिवारका सबै सदस्यहरुलाई पनि हेर्ने भएकाले उनीहरु फिजिसियन मात्र नभएर ‘साथी’ वा ‘सही परामर्शदाता’ पनि हुन् । यस्ता डाक्टरहरुले सामान्य रोगको उपचारदेखि सामान्य र केही जटिल अप्रेशन समेत गर्ने दक्षता राख्छन् ।

एमडिजिपी डाक्टरले प्रायजसोः सबै किसिमको बिरामीहरु हेर्ने गर्छन् । विदेशतिर यस्ता डाक्टरलाई जनरल प्राक्टिश्नर भन्ने गरिन्छ । तर, तुलनात्मक रुपमा बाहिरको डाक्टरकोभन्दा सर्जिकल स्कीलहरु बढी हुने भएकोले यहाँको डाक्टरको तालिम थप बलियो हुन्छ । बाहिरको जनरल प्राक्टिश्नरको तालिम विशेषगरी सर्जिकल स्कीलमा आधारित नभइ नन सर्जिकल स्कीलमा मात्रै बढी फोकस गरिने भएकोले यहाँको तालिमलाई अझ अलि इफेक्टीभ मानिन्छ । हाम्रो देशको ग्रामीण तथा दुर्गम क्षेत्रमा अझै पनि विशेषज्ञहरु पुग्न नसकेकाले प्रसुती तथा यौन रोगसँग सम्बन्धित सर्जिकलहरुलाई विशेष प्राथमिकता दिई सोही किसिमको प्राक्टिश बढी प्रदान गर्ने गरिन्छ ।

हामी कहाँ सबै किसिमका बिरामीहरु आउने गर्छन् । मैले मेट्रो काठमाडौं हस्पिटलमा ओपिडी पनि हेर्ने भएकोले प्रायजसो सामान्य रुघाखोकी, रगत कमी भएका, चक्कर लाग्ने, टाउको दुख्ने, पेट दुख्नेजस्ता सबै किसिमका बिरामीहरु हेर्ने गर्छु । र, त्यसमध्ये पनि प्रायजसोः ७० देखि ८० प्रतिशत बिरामीहरु हामीबाटै उपचार गरेर फर्कन्छन् । कुनै—कुनै समस्या मात्रै हामीले रिफर गर्नुपर्ने हुन्छ । यदि कुनै इर्मेजेन्सी केशहरु मेडिकल अफिसरहरुले हेरेका छन् भने उहाँहरुलाई कुनै पनि केश जटिल लागेमा हामीलाई बोलाउनुहुन्छ । र, हामी समूहगत रुपमा एकआपसमा सल्लाह सुझावद्वारा बिरामीको उपचार गर्दछौं ।

बिरामीलाई सबैभन्दा पहिले एमडिजिपी डाक्टरले हेरेमा थप उपचार तथा अप्रेसन आवश्यक भएमा सम्बन्धित विशेषज्ञ डाक्टर कहाँ रिफर गर्ने हुँदा यसबाट बिरामीहरुलाई लाग्ने समय र खर्च बच्छ भनेर धेरै अध्ययनले देखाएको छ । स्वास्थ्य बिमा लागु भएका देशहरुमा बिरामीहरुलाई अनिवार्य रुपमा जिपी डाक्टरकोमा देखाउनैपर्ने नियम हुन्छ । जिपी डाक्टरहरुले बिरामीलाई थप आवश्यक उपचार परेमा मात्रै सम्बन्धित डाक्टरकोमा रिफर गर्ने गर्दछ । यसो गर्नाले विशेषज्ञ डाक्टर कहाँ बिरामीहरुको ठूलो भिडभाड नभई उपचारमा डाक्टर तथा बिरामी दुवै पक्षलाई सहज हुने हुन्छ ।

हामी देख्न सक्छौं, बिरामीहरु आफ्नो रोग तथा समस्याको पहिचान गर्न नसकेर विभिन्न डाक्टर कहाँ धाउने गर्दछन् । तर, एमडिजिपी डाक्टरले उनीहरुको यस्तो समस्या सहजै हल गरिदिन्छन् । त्यसैले नेपालमा एमडिजिपी डाक्टरको ठूलो महत्व छ । नेपाल सरकारले पनि अब एमडिजिपी डाक्टरहरुलाई पहिलो ‘कन्ट्याक्ट डाक्टर’ बनाउने नियम ल्याएमा यसले स्वास्थ्य बिमा मात्र नभएर समग्र स्वास्थ्य क्षेत्र सफल हुने हुन्छ ।

करिब ४० वर्षअगाडि सुरु भएको यस किसिमको पढाइ गर्नेको संख्या नेपालमा लगभग ३ सयको हाराहारीमा छ । नेपालमा यो विषय सर्वप्रथम टिचिङ अस्पतालमा पहिलो चोटी क्यालीगोरी युनिभर्सिटी अफ क्यानडासँगको प्राविधिक सहयोगमा सुरु भएको थियो । त्यसपश्चात् क्रमसः वीपी कोइराला स्वास्थ्य विज्ञान, धरान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), काठमाडौं, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन पनि सुरु भयो । अहिले यो त्रिभुवन विश्वविद्यालयबाहेक काठमाडौं विश्वविद्यालयले पनि एमडिजिपीको पढाइ सुरु गरिसकेको छ ।

(मेट्रो काठमाडौं अस्पतालमा कार्यरत एमडिजिपी डा. खरालसँग चिकित्सा क्षेत्रको २१ वर्षको अनुभव छ । उनीसँग एमडिजिपी चिकित्सकबारे  सृजना मगरले गरेको कुराकानीमा आधारित ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ