२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘उपचारात्मक सेवाको मात्र भर पर्‍यौं भने महामारी थेग्न गाह्रो हुन्छ’

‘उपचारात्मक सेवाको मात्र भर पर्‍यौं भने महामारी थेग्न गाह्रो हुन्छ’


कृष्ण पौडेल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का प्रमुख हुन् । अहिले नेपालमा कोभिड-१९ को दोस्रो लहर तीब्र रुपमा फैलिरहेको छ । रोग नियन्त्रणका लागि काम गर्ने प्रमुख निकाय मानिने इडिसिडीले समग्र कोभिड-१९ को अवस्था र यसको रोकथाममा भूमिका खेल्दै आएको छ । नेपालमा कोभिड-१९, यसको रोकथाम र अहिले देखिरहेका विभिन्न भेरियन्ट र यसको प्रभावमा विषयमा केन्द्रीत रहेर पौडेलसँग गरिएको कुराकानीः

अहिले बढिरहेको कोरोना संक्रमितको संख्यालाई कसरी लिन सकिन्छ ?
अहिले हामी संक्रमणको उच्च जोखिममा रहेका छौं । हामी दक्षिणपूर्व एसियाकै बंगलादेश, भारत र नेपाललाई तुलना गर्ने हो भने बंगलादेशमा यसको जोखिम घट्दो अवस्थामा छ । तर, नेपाल र भारतमा भने तीव्र रुपमा नै बढिरहेको छ । नेपालमा प्रति १० लाखमा हिसाब गर्ने हो भने भारतकै दाँजोमा सँगसँगै जसरी हामी बढिरहेको छौं । हामी अझ भारतभन्दा अघि छौं । एउटा संक्रमितबाट अर्को व्यक्तिमा सर्न सक्ने ‘बेसिक रिप्रोडक्सन नम्बर’ भन्छौं । त्यसको स्तरमा नेपाल भारतभन्दा अझ अगाडि छ । हाम्रोमा अलि छिटो संक्रमण बढेको अवस्था छ । हामी अहिले दोस्रो निशेषधाज्ञामा प्रवेश गरेका छौं । हामी तथ्यांकको हिसाबले त्यसको लाभ लिन नसकेको अवस्थामा छौं ।

दोस्रो लहरको उच्चतम विन्दु कति हुन सक्छ ?
धेरै फ्याक्टरहरुले यसलाई निर्धारण गर्छ । कहिलेसम्म पुग्छ भन्ने कुरा हामीले विगतमा गरेको प्रोजेक्सनहरु हेर्दा र यो महिनाको अन्त्यमा देखिएको खराब सिनारियो हेर्दा नयाँ भेरियन्टहरुको हकमा मानिसहरु मास्क नै लगाउने, सबैकुरा खुल्ला रहने हो भने दैनिक ११ हजार केस पुग्छ भने प्राक्षेपण थियो । तर, अहिलेको दरअनुसार त्यो भनिएको भन्दा पनि ३–४ गुणा बढी हुन सक्छ ।

तर, मेजरहरु जस्तै यातायात, विद्यालय, कार्यालय, भेलाहरु बन्द गराउने फ्लाइट बन्द हुने एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण हुने जोखिम कम गर्ने उपायहरु हुन् । यसले गर्दा त्यो कम होला भन्ने अपेक्षा हो । १०–१५ दिन त यसको लागि कुर्नैपर्छ भन्ने छ किनकी जो यहाँबाट छाडेर आफ्नो घर पुगेका छन् । उनीहरुमा संक्रमण भएपनि त्यो भाइरसले लक्षण देखाउने वा निष्क्रिय हुन पनि १० देखि १५ दिन लाग्छ । त्यो अवधि कटेपछि मात्रै भन्न सकिन्छ ।

पहिलाको भन्दा अहिलेको मोडालिटी फरक छ । अहिले देशभर नै निषेधाज्ञा छैन, कोरोना प्रभावित क्षेत्रमा मात्रै निषेधाज्ञा छ । र, अन्य जिल्लामा पनि जनस्वास्थ्यको मापदण्ड पालना भयो भने संक्रमणको दर घट्ने सम्भावना छ । २०० केस नपुगेका जिल्लामा पनि उच्च जोखिमबाट पुगेका मानिसहरु १० दिन जति क्वारेन्टाइन बस्ने गरेमा संक्रमण दरमा कमी आउन सक्छ । नयाँ भाइरस थपिएको, नयाँ–नयाँ भेरियन्ट थपिएको र विज्ञानले नै नयाँ–नयाँ औषधीहरु पत्ता लगाइरहेको अवस्थामा भन्न अलि छिटो हुन्छ होला ।

किन संक्रमण उच्च हुँदै गएको हो ?
दुई कारणले यो वढ्दै गएको छ । एउटा छिमेकी देश जहाँ धेरै संक्रमित बढीरहेका छन्, त्यहाँबाट आउनेलाई नाकामा व्यवस्थित गरेर सही तरिकाले व्यवस्थापन गर्न नसक्ने पहिलो कारण हो । दोस्रो काठमाडौंलगायत स्थानहरुमा जनस्वास्थ्यका मापदण्ड पालनामा कमजोरी, भेला, हुल, जात्रा, विवाह ब्रतबन्ध, भिडभाड र विशेष गरी नयाँ भेरियण्ट (युके भेरियन्ट) जुन धेरैमा एकैपटक देखिन्छ । क्लस्टरमा सर्दो रहेछ । एउटै परिवारमा धेरै संक्रमित पाइएको छ । त्यसैगरी बैंकहरु, विद्यालय जाने विद्यार्थीहरु बढी संक्रमित देखिएका छन् । अहिले काठमाडौंको संक्रमितहरुको तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी संक्रमित विद्यार्थीहरु, जसमा २० देखि ३० वर्षका बढी छन् । त्यसपछि स्वास्थ्यकर्मी, बैकमा काम गर्ने कमर्चचारीहरु र सुरक्षागार्डहरु रहेको देखिन्छ । खोप लगाएका पनि संक्रमित देखिएका छन् । किनकी कुनै पनि खोप सतप्रतिशत सुरक्षित नहुन सक्छ । यी सबै कारण संक्रमण उच्च हुँदै गएको छ ।

बढ्दो संक्रमणमा विभिन्न नयाँ भेरियन्टहरु देखिएका छन् ? कस्ता भेरियन्टले कस्तो प्रभाव पार्छन् ?
भाइरसहरुले समयअनुसार आफ्नो रुप फेरिरहन्छन्, जसलाई म्युटेसन पनि भन्छन् । जुन सामान्य प्रक्रिया हो । यो कोभिड–१९ गराउने कोरोना भाइरसका पनि धेरै प्रजातिहरु छन् । जुन भाइरसले जनस्वास्थ्यमा धेरै असर पु¥याउँछ, त्यसलाई ‘भेरियस अफ कन्सर्न’ भनिन्छ । विश्व स्वास्थ्य संगठनले ‘भेरियस अफ कन्सर्न’ भनेर मानेको चाहिँ बेलायतमा देखिएको नयाँ भेरियन्ट र अहिले नेपालसहित १ सय ४० देशमा फैलिएको छ । साउथ अफ्रिका, जापान, ब्राजिलजस्ता देशमा देखिएका नयाँ प्रजातिलाई ‘भेरियस अफ कन्सर्न’ मानिएको छ । यस्तै अहिलेसम्म नेपाल र भारतमा देखिएको डबल म्युटेन्ट र बेलायतमा नयाँ प्रजाति देखिएको छ । हाम्रोमा सम्भावित कन्सर्न हुने प्रजातिमात्रै पाइएको छ ।

नेपालमा एकै परिवारका धेरै सदस्य संक्रमित हुने, सानै उमेर वर्गलाई पनि अक्सिजन लगाउनुपर्ने, अस्पताल जानुपरेको, एकै कार्यालयको धेरै जना संक्रमित भएको हिसाबले नेपालमा ¥यान्डम टेस्टमा चाहिं यस जिल टार्गेट फेलियरको मात्रा बढी रहेको, बेलायतकै प्रजातिको मात्रा बढ्दै गएको देखाउँछ । दोस्रो लहरमा आक्रामक रुपले संक्रमण बढ्दै जानुमा नयाँ प्रजातिको नै भूमिका छ ।

दैनिक २५ हजार परीक्षण हुँदा करिब आधा मात्रै देखाइरहेको छ ? हाम्रो परीक्षण क्षमता के हो ? के समस्या छन् ?
अहिले सरकारी र निजी गरेर ८६ प्रयोगशालामा परीक्षण हुन्छ । सबै ल्याबहरुले भेरियन्ट हेर्न सक्ने क्षमता छैन । केही ल्याबहरुलाई २४ घण्टा नै चलाएमा पनि २० बाट केही हजार थप्न सकिएला । तर, परीक्षणको हिसाबले केही सिमितता छ । भारतमा ४ लाख देखिनुको कारण भारतमा एन्टीजेन परीक्षणले पनि हो । यसको परीक्ष्ण प्रभावकारी रहेको अध्ययनहरुले देखाएका छन् । अब हामीले समुदायमा पत्ता लगाउन एन्टीजेन परीक्षण बढाउनुपर्नेछ ।

सिक्वानेसिङ अलि महंगो पनि छ । यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अगुवाईमा देशभित्रै उपलब्ध विज्ञ र विभिन्न उपकरणहरु लिएर कन्सोटियमको तयार गरिएको छ । विभिन्न देशमा यस्तै व्यवस्था छ । भारतमा पनि छ । देशभित्रै उपलब्ध सरकारी र निजी प्रयोगशालाहरुको विज्ञहरु राखेर सिमितता र एक्सपर्टीज छन्, त्यसले तयार गरेका छौं । तर, नयाँ प्रजातिको कन्फर्म गर्नलाई डब्लुएचओको मान्यता प्राप्त ल्याबमा नै पठाउनुपर्ने हुन्छ । त्रिभुवन विश्वविद्यालय र खुमलटारको राष्ट्रिय विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानले त्यो गरिरहेको छ ।

किनभने हाम्रो ल्याबमा भर्खरै सुरु भएको हामीले र्यान्डमली गरिरहेका छौं । के बुझ्न जरुरी छ भने यससँगै जनस्वास्थ्यका मापदण्ड र उपचार पद्धतिमा भने अहिलेको प्रजातिमा पनि धेरै फरक छैन । तर, यो भन्दा बढी महत्व भनेको नागरिक बचाउनु छ, कोरोनामुक्त गराउनुछ । र, यो नगर्ने भनेको होइन्, यसलाई पनि सँगसँगै लग्छौं ।

नेपालमा न्यून संख्यामा मात्रै एन्टीजेन परीक्षण भएको छ? यसको बाधा चाहिं के त ?
हामीसँग गत वर्ष एन्टीबडी टेस्ट गर्ने आरडीटीको व्यवस्था थियो, जुन विवादित बन्यो । विमाहरुले पिसिआर नै सजिलो भएर यही खोज्ने गर्थे । एन्टीजेनप्रति विश्वास कम रहेको छ । तर, अहिले एन्टीजेन चाहिं प्रभावकारी छ भने विभिन्न अध्ययनले देखाएको छ । तर, सिमितताको हिसाबले हामीले पिसिआर परीक्षणको पहुँच नभएको ठाउँमा एन्टीजेन परीक्षण गर्ने व्यवस्था छिट्टै पुर्याउँन आवश्यक छ । यसले छिटो नतिजा निकाल्न पनि मद्दत गर्छ । यसको थप किट छिट्टै आउँदै पनि छ । स्वास्थ्य सेवा विभागले यसलाई प्रवेशविन्दु र पालिकाहरुमा पठाउने काम भैरहेको छ ।

विभिन्न अध्ययन र तथ्यांकहरुले संक्रमणबाट जोगिन जनमानसमा कसरी फाइदा हुन्छ ?
जुन प्रजाति भएपनि यसको मुख्य उपचार भनेको जनस्वास्थ्यको मापदण्ड पालना गर्नु नै हो । हामी जिम्मेवार भएर यसको पालना गर्रौं । अहिलेको हामो मुख्य अस्त्र भनेको एउटा खोप र अर्को जनस्वास्थ्यको मापदण्ड नै हो । खोपको पहुँच अहिले त्यति सजिलो छैन । सबैको पहुँचमा छैन्, जसकारण स्वास्थ्यको मापदण्ड अपनाउनु नै महत्वपूर्ण हुन जान्छ । अर्को भनेको यसबारे धेरै तथ्यांक र समाचारले त्रसित हुनु हुँदैन । संक्रमण दर बढ्दा मृत्यु दर पनि बढ्छ ।

समुदायमा कसैलाई सहयोग चाहिएमा सहयोग गर्ने, संक्रमितहरु आइसोलेट हुने, हामीले समुदायलाई बचाउन संक्रमितको सम्पर्कमा आएकालाई परीक्षण गर्न लगाउने र कुनै स्थानमा संक्रमित उच्च छ भने त्यसमा जाने आगमन कम गर्ने, पालिका सदस्यहरु मिलेर आइसोलेसन सेन्टर बनाइदिने, एम्बुलेन्सको सेवा सहज गराउनेजस्ता कुरामा योगदान पुर्याउने । नजिक अस्पताल बनाउने, संक्रमितहरु पहिले नै आईसीयु छैन भनेर आतंकित नहुने, सकेसम्म स्वास्थ्यकर्मीसँगै समपर्क गर्न, लक्षण देखिएमा तुरुन्तै परीक्षण गरौं आफू मात्र बच्न होइन्, आफ्नो समुदायलाई नै बचाउन पर्ने भएकोले सबै जिम्मेवार भएर लागौं ।

अहिले खोपमा भएका अनेक चलखेलहरु पनि बाहिर आए । सन् २०२१ सम्म कति प्रतिशत नागरिकलाई खोप लगाउन सक्छौं होला ?
सबैभन्दा छिटो उपलब्ध भएको खोप हो । पहिला अग्रपंक्तिमा रहेका र दोस्रोमा अन्य पेशागत समूह र अन्य कर्मचारी र त्यसपछि सबै उमेर समूहका लागि खोप लगाउने कार्य हुँदै गर्दा यसको उपलब्धतामा समस्या आयो । र, अभियान रोकियो । भारतमा कोभिशिल्ड बनाउने सेरम कम्पनीमा आगलागी हुँदा र त्यही प्रान्तमा संक्रमितको दर उच्च हुँदा खोप ल्याउन समस्या भयो । खोप नेपालमा भित्रिएपछि खोपलाई स्वीकार्ने समस्या पनि देखियो । तर, पछि गएर धेरैले खोपमा विश्वास पनि देखाए ।

सरकारले कुटनीतिक पहलबाट खोप ल्याउने प्रयास भैरहेको छ । खोप लगाएकाहरुमा पनि संक्रमणको जोखिम छ । र, खोप लगाउन जाँदा पनि संक्रमण फैलिन केही हदसम्म मद्दत भयो । खोप आउँदै गर्छ । तर, हामीले अहिले गर्न सक्ने भनेको स्वास्थ्यका मापदण्ड पालना नै हो । संक्रमित भएमा आइसोलेट हौँ, भिडभाडमा नबसौं । खोप कहिले कतिसम्म लगाइन्छ भन्ने कुरा उपलब्धतामा नै भर पर्छ, त्यसैले तोकेर अहिले भन्न कठिन छ ।

चेनब्रेक गर्नका लागि निषेधाज्ञा लागु भएको छ । तर, यस्तो प्रकारको निषेधाज्ञा लागु हुँदा कतिको प्रभावकारी ?
सबैले आफ्नो लागि नै हो भन्ने बोध नहुँदा निषेधाज्ञा सफल नहुने रहेछ । प्रहरीलाई ठगेर बाइक चलाउने, विभिन्न ज्याकेटहरु प्रयोग गरिएको देखिएको छ । यस्ता कार्य नगर्न अनुरोध गर्दछु । यो सबै हाम्रै परिवार, समुदायलाई बचाउनको लागि हो भन्ने बुझ्न जरुरी छ । जब हामीले यो गलत हो भन्ने महसुस गर्छौ, त्यो बेला धेरै ढिला हुनसक्छ ।

संक्रमणलाई न्यूनीकरण गर्ने अबको बाटो के हो त ?
यस्तो महामारीमा उपचारात्मक प्रक्रियाबाट मात्र महामारी कही पनि नियन्त्रण भएको छैन । हाम्रोमा पनि त्यो सम्भव हँुदैन । किनकी कही असिमित वेडहरु, असिमित आईसीयुहरु असिमित भेन्टिलेटरहरु हुँदैन । हामीले पूर्व तयारीअनुसार केही तयारी गरेका थियौ । बीचको समयमा धेरै एचडियु बनेका छन् । वेसिक अस्पताल थपिएका हुन् । तर, बीचमा केही संक्रमण घटेका बेला जनशक्ति थप्ने नयाँ ओएनएम गर्ने विषयमा सबै पक्षको सुस्तता भएको हो । वीर, कान्तिको नयाँ ओएनएम बीचैमा अड्कियो । संक्रमितको संख्या घट्दै जाँदा जनस्वास्थ्यमा रिल्याक्स भयो, नीति निर्माण तहमा पनि त्यही नीति लागु भयो । अस्पताल विस्तार गर्ने भएन । बीचमा सबै क्षेत्रले आफ्नो धर्म विर्सिएको हो जस्तो लाग्छ । यो महामारीको बेला सबैको सहयोग गर्नुपर्छ ।

यसो भन्दै गर्दा के भुल्न हुँदैन भने उपचारात्मक सेवाले मात्र महामारी थेग्न सकिदैन् । इटाली हेरौं, बेलायत, अमेरिका, छिमेकी देश भारत हेरौं, उपचारात्मक सेवाले मात्रै थेग्न गाह्रो भएको अवस्था हो । यो काम सँगसँगै गर्नुपर्ने रहेछ । अहिले मानिसहरुले अक्सिजन खाना पकाउने ग्याँस लुकाए जसरी लुकाउने गरेको सुनिन आएको छ । त्यस्तो प्रवृतिलाई अन्त्य गर्नुपर्छ । समाजका सवै अंग मिल्नुपर्छ । संक्रमणलाई नियन्त्रण गर्नका लागि व्यक्ति, परिवार, समाज, तीनै तहका सरकार र सबै संयन्त्र मिलेर जनस्वास्थ्यका मापदण्डहरुलाई पालना गर्न लाग्नु नै उत्तम विकल्प हो ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ