२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारबाबाममी भन्नुहुन्छ, ‘राम्रो स्याहार गर बिरामीको आर्शिवाद पाउँछौं’

बाबाममी भन्नुहुन्छ, ‘राम्रो स्याहार गर बिरामीको आर्शिवाद पाउँछौं’


म नर्स भएर काम गर्न थालेको ६ वर्ष भयो । यो ६ वर्षको समयमध्ये पछिल्लो डेढ वर्ष जति डर, तनाव कहिल्यै व्यहोर्नु परेको छैन । हुन त म अपरेसन थ्रिएटरमा काम गर्ने नर्स । ठूला–ठूला घण्टौं लगाएर गरीने शल्यक्रिया सहभागी भएकी छु । कति शल्यक्रियाहरु सफल हुन्छन्, कति हुँदैनन् । आधुनिक र उन्नत समाजमा मान्छेको जन्म र मृत्यु अस्पतालमा नै हुनुपर्छ । त्यसो भन्दैमा अस्पताल आएका सबै मानिसको मृत्यु हुनैपर्छ भन्ने होइन् । चिकित्सक, नर्स, पारामेडिक्सहरुले सक्दो गर्ने हो । र, अस्पताल आएका धेरै बिरामी निको भएर नै फर्कन्छन् ।

नियमित यही गतिमा गइरहेको मेरो डिउटी पछिल्लो समय फेरिएको छ । लगातार कडा सुरक्षा कवचमा भोक तिर्खालाई थाँती रखेर उपचारमा तल्लीन हुनुपरेको छ । हुन त मैले नर्सिङ पेशाको लागि धेरै संघर्ष गर्नु परेको छ । मैले स्वयंसेवकका रुपमा नर्सको रुपमा काम गरे भने कहिले एनजिओमा सामाजिक परिचालिकाको रुपमा काम गरे । कहिले मानसिक समस्या परेकाहरुलाई काउन्सिलिङ गर्ने काम गरे ।
यो ६ वर्षको समयमा २ वर्ष निकै उतार–चढाव भएपछि पछिल्ला ४ वर्षदेखि काठमाडौं मेडिकल कलेजमा छु । ४ वर्षमा पछिल्ल डेढ वर्षको भोगाइजस्तो कष्टकर भोगाइको अनुभव कहिल्यै पनि भएको थिएन ।

त्यसो त विश्वले नै योभन्दा कठिन भोगाइ विरलै भोगेको हुनुपर्छ । त्यसमा पनि अहिलेको कठिन परिस्थिती ल्याउने कोभिड–१९ विरुद्धका प्रमुख सिपाही नर्स नै हुन् । भलै कमाण्डर चिकित्सक होलान् । तर, युद्ध लड्ने वास्तविक सिपाही नर्स नै हुन् । जो २४ सैं घण्टा बिरामीको साथमा हुन्छन् । उनीहरुलाई साथ र हौसला दिइरहेका हुन्छन् । एक सिपाही भएर डेढ वर्षदेखि कोभिड–१९ विरुद्धको फ्रन्टलाइनमा रहँदा मैले धेरै फरक र नयाँ–नयाँ अनुभव गर्ने मौका पाएँ ।

कोभिड–१९ को महामारीको त्रास त छदैंछ । तापनि एउटा नर्सका लागि यो महामारीमा बिरामीको सेवामा खटिनु बाध्यता मात्र नभएर धर्म पनि हो । यही अप्ठ्यारो अवस्थामा खटिनलाई नै मैले यो विषय रोजेर पढेकी हुँ । हुन त म अप्रेशन थ्रिएटरमा कार्यरत छु । तर, रोटेसनअनुसार १ साता कोभिडमा र १ साता अप्रेशन थ्रिएटरमा ड्युटी हुन्छ ।

हामीले ओटीमा पनि पीपीई लगाएर काम गरिरहेका हुन्छौं । कोभिड स्वास्थ्यकर्मीलाई लाग्दैन त भनेको छैन । तर, पनि युद्ध लडेको जस्तै ८ घण्टा पीपीईमा भोक, तिर्खादेखि शौचालय जान समेत बिर्सिएर श्वास फेर्न ग्राहो भएका बिरामीको सेवा गर्दै हिडिरहेको छु । आफ्नो डरलाई लुकाएर ढाडस दिदै बिरामीलाई कहिले धाप मार्न पुग्छौं, कहिले सान्त्वना दिदै आएका हुन्छौ ।

साथीहरुसँग स्मृति

बिरामीकोे सेवा त गरिरहेको छु । तर, अक्सिजन नपुगेर बिरामीहरु छट्पटिएर आफ्नो आँखा अगाडि मरेको देख्दा साह्रै नराम्रो लाग्छ । सरकारलाई राजनीति गर्दै ठिक छ । तर, यहाँ बिरामीहरु अक्सिजन नपाएर छटपटिरहेका छन् । यी त बिरामीको सेवामा खट्दाका कुरा हुन् । अर्को पक्ष समाजले स्वास्थ्यकर्मीलाई हेर्ने दृष्टिकोण राम्रो छैन । गाउँमा कोभिड–१९ स्वास्थ्यकर्मीले सार्छन् भन्ने मानसिकता अझै गएको छैन ।

जब पीपीईमा ८ घण्टा बिरामीको सेवामा पसिनाले लुपुक्क भिजेर हिडेको हुन्छु, मलाई देख्नासाथ छिमेकी आफन्त कोभिड सार्ली भनेर लुक्ने गर्छन् । हिजो तिनै छिमेकी, आफन्तहरु ज्वरो आयो सिटामोल देउ नानी, प्रेसर हेर्न आइदेउन भन्ने गर्थे । यो देख्दा मलाई साह्रै दुःख लाग्छ । केही छैन भोलि तिनीहरुलाई केही कथम कोभिड भयो भने यिनै मेरा हातले फेरि औषधी खुवाउनुपर्छ । यो मलाई राम्ररी थाहा छ । मेरो पेशाले मलाई इख राख्न दिदैन्, मेरो कर्तव्य नै त्यही हो । समाजले पनि यो बुझनुपर्छ त्यो बेलामा तिमीलाई मैले घृणा गरे भने उपचार कसले गर्छ ? त्यो घृणा पलाउन नदिने काम कसको ? समाजकै हो ।

समाजपछि घरको कुरा गरौं । भोलिको दिनमा आफैलाई कोभिड पोजेटिभ नआउला भन्न सकिन्न । घरमा मलाई लिएर एकदमै तनाव हुन्छ । तर, म सुरक्षित छु, मेरो चिन्ता नगर्नु भन्दै सम्झाउने गर्छु । बाबाममीले चाहिँ यो समयमा देशको सेवा गर्नुपर्छ, अस्पतालका बिरामीहरुको आर्शिवाद पाउँछौं । आफ्नो सुरक्षालार्ई ध्यानमा राखेर काम गर भन्ने गर्नुहुन्छ । त्यही भएर त मलाई कोभिड–१९ विरुद्धको यो लडाइमा फ्रन्टलाइनमा सिपाही हुने आँट पलाएको छ ।

मलाई बिरामीलाई वाइप्याप लगाइदिएको बेला भोक लाग्यो, तिर्खा लाग्यो खाना दिनुहोस् न सिस्टर भनेर मागेको बेला दिन नपाउँदा साह्रै दुःख लाग्छ । वाइप्याप राखेको बेला केही खान दिन मिल्दैन् । भोक, तिर्खा लागेको मानिसलाई आँखै अगाडि खान नदिनु कस्तो होला ?

कहिलेकाही त्यस्तो अवस्थामा बिरामीले सिस्टर प्लिज मलाई भोक लाग्यो पानी, खाना दिनुहोस् भन्दा दाइ, आमाबुबा अहिले अक्सिजन मेन्टेन छैन्, एकछिन भोक खप्नुहोस् यो बेला खाना दिंदा तपाईलाई सर्किन्छ जसले गाह्रो बनाउँछ अक्सिजन पुग्दैन भनिरहेको हुन्छु । तर, केही क्षणमा त्यही बिरामी श्वास फेर्न गाह्रो भएर मेकानिकल भेन्टिलेटरमा राखेर आइसीयु पठाइन्छ । अनि त्यो बिरामीको मृत्युको खबर सुनिन्छ । अनि मलाई बिरामीले पानी माग्दा पनि दिन सकिन भन्ने अनुभूति हुन्छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ