२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारबजेटमाथि १३ जना स्वास्थ्य विज्ञहरूका टिप्पणी, कसले के भने ?

बजेटमाथि १३ जना स्वास्थ्य विज्ञहरूका टिप्पणी, कसले के भने ?


काठमाडौं–सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन् ।

बजेटमा अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता दिइएको छ । बजेटलाई कोभिड–१९ को उपचार, रोकथाम र नियन्त्रण केन्द्रीत गरिएको छ । स्वास्थ्य क्षेत्रको बजेटबारे १३ जना विज्ञ व्यक्तित्वहरुले गरेका टिप्पणीः

कोभिडको लागि ३६ अर्बभन्दा बढी आएको छ । त्यसलाई छुट्याएर हेर्दा प्रमुख कार्यक्रम के आयो भन्ने हेर्नुपर्छ । कोभिड–१९ स्वास्थ्य क्षेत्रको बजेट, पूर्वाधार र संरचना सुधारका लागि नयाँ अवसरको रुपमा देखिएको छ । प्रदेश सरकार र स्थानीय तहको बजेट आउँदा कुल सार्वजनिक लगानी बढ्छ । यो खुसीको कुरा हो । शिक्षाअन्तर्गतको ‘एक विद्यालय, एक स्वास्थ्यकर्मी’ अवधारणाले प्राथमिक तहदेखि नै जनस्वास्थ्यको अवधारणालाई सहयोग पुग्नका साथै ठूलो संख्यामा स्वास्थ्यकर्मीले रोजगारी पनि पाउँछन् ।
-केदार अधिकारी, पूर्व स्वास्थ्य सचिव

कोभिड–१९ को महामारीको समयमा स्वास्थ्यको बजेट कोभिड केन्द्रित छ । स्वास्थ्यमा छुट्याइएको बजेट समग्रमा राम्रो छ ।
-डा. गणेश गुरुङ, पूर्व उपकुलपति, चिकित्सा विज्ञान राष्ट्रिय विज्ञान प्रतिष्ठान (न्याम्स)

प्रत्येक प्रदेश अस्पतालमा कार्डियाक फ्यासिलिटीको कुरा आएन ।
-डा. अनिल भट्टराई, एशोसियट प्रोफेसर, त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान

नसर्ने रोगको विषयलाई बजेटले समावेस गर्न सकेको देखिएन् । अलिकति समेटेकोमा पनि उपचारात्मक पक्षलाई ध्यान दिएको छ । रोकथामका विषयमा अहिले पनि ध्यान गएको देखिदैन् ।
-डा प्रकाशराज रेग्मी, मुटुरोग विशेषज्ञ

स्वास्थ्य क्षेत्रको क्षमता वृद्धिको आवश्यकता छ । बजेटको कार्यन्वयन चुनौतीपूर्ण छ । हामीले थप शक्ति लगाएर यसलाई पूर्ण क्षमतावान बनाउनुपर्छ । राम्रोसँग काम गर्यो भने अर्को वर्ष केही देखिन सक्छ ।
-डा. राजेन्द्र पन्त, पूर्व महानिर्देशक, स्वास्थ्य सेवा विभाग

प्रदेश र पालिकाले केही बजेट थपेमा ८ प्रतिशतभन्दा माथि जान्छ । अहिलेको बजेट राम्रो छ । अब स्वास्थ्य क्षेत्र सही दिशातिर जादैछ भन्ने देखिन्छ ।
-डा. जागेश्वर गौतम, प्रमुख कार्यकारी अधिकारी, वीर अस्पताल

अहिलेको मुख्य समस्या भनेको कोभिड महामारी नै हो । यसैको सेरोफेरोमा बजेट आएको छ । सम्पूर्ण राज्यशक्ति छिटोभन्दा छिटो खोप ल्याएर जनतालाई सुरक्षित बनाउने हेतुले त्यसमा बजेट छुट्याइएको पाइन्छ । यदि खोप समयमा आए हामीले चाडो कोभिडबाट मुक्त हुने विश्वास लिन सकिन्छ । अन्य स्वास्थ्यका कार्यक्रमसहित दुवाकोटमा न्याम्स वीर अस्पतालको विशेषज्ञ अस्पतालको परियोजनाबाट स्वास्थ्य क्षेत्रमा नयाँ आयाम बन्न सक्छ ।
-डा दिलिप शर्मा, निर्देशक, चिकित्सा शिक्षा आयोग

स्वास्थ्य क्षेत्रका लागि छुट्याइएको बजेट राम्रो छ । कोभिड–१९ सम्बन्धि आवश्यकता, उपकरण र भ्याक्सिनको कुरा सम्बोधन भएको छ । तर, पर्याप्त रुपमा जनशक्तिजस्तै नर्सिङ स्टाफ, मेडिकल अधिकृतहरु र विशेषज्ञहरुको दरबन्दी र लोकसेवाबाट पदपूर्ति गर्ने कुरा सम्बोधन भएको छैन ।
-डा. भुपेन्द्र बस्नेत, पूर्व निर्देशक, वीर अस्पताल

प्रत्येक दिन सरदर ७ जनाको ज्यान जाने, २५ जना अंगभंग हुने नेपालको सडक दुर्घटना र दुर्घटना पश्चात प्रतिकार्य, उपचार, पुनस्थापनाका लागि बजेटमा सम्बोधन ? राष्ट्रको कुल ग्राहस्थ उत्पादनको ३ प्रतिशत प्रत्येक वर्ष नाश गर्ने यो सडक सुरक्षा कार्यक्रममा सरकारको किन ध्यान गएन ? अरु त अरु सिंगो देशममा भएको मात्र एउटा ट्रमा सेन्टरलाई पनि कोभिड अस्पतालमा परिणत गरिएको अवस्था छ । अरु प्रदेशमा पनि बनाउने त कुरै भएन ।
-डा. अशोक बज्राचार्य, पूर्व निर्देशक, वीर अस्पताल एवं ट्रमा सेन्टर

ओरल क्यान्सर स्क्रीनिङ कार्यक्रम छुट्यो ।
-डा. डेजकुमार गौतम, निर्देशक, भरतपुर क्यान्सर अस्पताल

वार्षिक स्वास्थ्य बजेटमा निरन्तर ७–१० प्रतिशत वृद्धि हुनुपर्छ ।
-डा. विनोद शेरचन, हाडजोर्नी विशेषज्ञ

मुख स्वास्थ्य प्राथमिकतामा परेन । विगतका वर्षका ‘एक स्वास्थ्य संस्था, एक चिकित्सक’, स्वास्थ्य प्रतिष्ठानको छाता ऐनजस्ता विषयवस्तु समेटिन सक्नुपथ्र्यो । पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवा दिदा स्वास्थ्यकर्मीलाई नदिनु दुर्भाग्य । लोकसेवा खोलेर दरबन्दी पूरा गर्छु भन्नुको साटो करार रे यो त गलत भयो ।
-डा प्रेनित पोख्रेल, दन्तरोग विशेषज्ञ

सुन्दा राम्रो लाग्यो । सरकार क्षयरोगको उन्मुलन दुई वर्षभित्र गर्ने योजना बनाइरहेको छ तर कसरी ? हामी एक वर्षमा ३० हजारभन्दा बढी नयाँ केस पहिचान गर्न सकिरहेका छैनौ र प्रत्येक दिन एमडिआर र एक्सडिआरका केसहरु बढिरहेका छन् ।
-डा. मोहन प्रसाईं, छातीरोग विशेषज्ञ


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ