२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारनर्सिङ परिषद् र पुरुष नर्स

नर्सिङ परिषद् र पुरुष नर्स


धेरै सामाजिक सञ्जालका वाल पोस्टहरुमा पिसिएल नर्सिङको रिजल्टपछि सतप्रतिशत पास भएकोमा हार्दिक बधाई भनेर लेखेको यंत्रतत्र पाए । यो भन्दा पहिले बीएस्सी पास भएकोमा त्यस्तै बधाई लेखिएका थिए ।

एक सप्ताह अगाडि लगभग सयको हाराहारीमा आफ्नो अस्पताल नभएकोले पिसिएल नर्सिङ कलेज खारेजी हुने सूचना भाइरल भएको थियो । अझ त्यसअगाडि चिकित्सा शिक्षा आयोगको स्तर निर्धारण समितिको सिफारिसमा प्रकाशित नामको सूचीमा केही नर्सिङ कलेजहरू नभएकोले नर्सिङ वौद्धिक समाजमा ठूलो नै कोलाहलको माहौल थियो ।

तर, यो बीचमा किन हो यसप्रति नर्सिङका सरोकावालाहरू निकायको कुनै आफ्नो अवधारणा सार्वजनिक भएको पाइएन् । अन्तर्राष्ट्रिय श्रमिक अभिसन्धिको अनुमोदनको लागि हुने सम्मेलनमा नर्सिङ सम्बन्धी केही कुरा राख्न सकिन्छ कि भन्ने खोज गरिरहँदा बिरामी र नर्सको अनुपातको कुरा केलाउँदा नेपालका वर्तमान अवस्थामा नेपाल नर्सिङ परिषद्मा दर्ता भएको संख्या, विदेश गएका संख्या, केही अवकाशप्राप्तलगायत सबैको सालाखाला निकाल्दा अब धेरै सिटिइभिटीका पिसिएल नर्सहरू संख्यात्मक उत्पादन गर्न आवश्यक नरहेको देखिन्छ ।

यो कुरा आजभन्दा ३ वर्ष अगाडि सम्बन्धित सरोकारवालासँग पनि भएको थियो । त्यसका लागि आफ्नो अस्पताल नभएकालाई केही समय आफ्नो अस्पताल बनाउने मौका दिँदै नर्सिङ शिक्षा गुणात्मक बनाउने निधो गरिएको थियो ।

नर्सिङ शिक्षा

विचौलियाहरुको मुनाफा आर्जन गर्ने माध्यम खडा गर्नको लागि, यसको लागि शिक्षा प्रदान गर्नेहरु यानिकी शिक्षकहरू जिउँदो शहीद हुनुपर्ने, शिक्षा लिन आउने विद्यार्थीका अभिभावकहरु ठगिएको दयाका पात्र बन्नु पर्ने अनि विद्यार्थीहरुले पूर्ण मानवीय स्वास्थ्य, मानवीय संवेदनामा आधारित शिक्षा बिना अभ्यास, बिना अनुभूति न तिखारीकन आफूले आफैलाई नै गिज्याएको अनुभूति गर्दै पास भएको सर्टिफिकेट लिनुपर्ने !

त्यस्तै अझै भयंकर मारमा त स्वास्थ्य उपभोक्ताहरु जो सही अभ्यासमा कुनै बिमारीको सेवामा, कुनै विधि प्रविधि व्यवहारिक अभ्यासको रुपमा निपूर्ण छैनन् उनीहरुबाट नै स्वास्थ्य सेवा लिनुपर्ने, त्यो पनि नाम चलेका, ठूला–ठूला ट्याग लगाएका अस्पतालहरूबाट ! यसो हुनुका धेरै कारण छन्, त्यसैले यो चुनौती छिचोल्नु पर्दछ । अब अति भैसक्यो । योभन्दा बढी विकृति बढाउन समय दिनु हुन्न । विलम्ब गरिनु हुन्न ।

केही वर्ष अगाडि आफ्नो अस्पताल भएका त्यो पनि विविध विषयका उच्च तहका सेवा प्रदान गर्ने, उच्चतहका अध्ययन अध्यापन गराउने कलेजको सिटिइभिटीको नर्सिङ प्रोग्राम पाइएन् भन्ने गुनासो थियो । कारण भित्री सेटिङको कुरा त्यो कलेजले पूरा गरिदिने काम गरी दिएन भन्ने सुनिन्थ्यो । जब आजभन्दा दुई तीन वर्ष पहिले नै स्तरीयता, कार्यक्षमता, भौतिकस्तर नहेर्ने तर विविध बहाना बनाएर त्यो निकायमार्फत पैसा असुल्न चाहना देखेर नै प्रोग्राम लिएर चलाउने इच्छा नै त्यागी दिएको थियो ।

आफूले नै युनिभर्सिटीका प्रश्नपत्र पहिले नै आउट गराएर र आफ्नै कलेजका विद्यार्थीहरुलाई चिट चो¥याएर युनिभर्सिटी टप गराउने पनि मेडिकल कलेज नभएका होइनन् यो देशमा ! यस्ता विकृति धेरै नभएका होइनन्, त्यसैले चिकित्सा शिक्षा आयोगको कार्यलाई निरुत्साहित गरिने होइन कि अझ सहयोग गरी कार्य गर्ने वातावरण बनाउनुपर्ने समय आएको छ । यो कुरा किन उल्लेख गरिनुप¥यो कि मात्र नराम्रा काम भएका छैनन्, राम्रा काम पनि भएका छन् । तर, राम्रो काम गर्नेहरूलाई प्रोत्साहन प्रदान गर्ने र सुरक्षाको अनुभूति दिलाउन सक्नु पर्दछ ।

पढाउनेले बिरामी नहेर्ने विरोधाभाष

नर्समा पुरुष नर्स पनि हुनु पर्दछ भनेर त्रिभुवन विश्वविद्यालय, विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लागु गराउने चिकित्सक तयार छन् । तर, नर्सका सिनियर शिक्षाका विज्ञ वर्ग नर्सहरु किन तयार नहुनु? त्यसको पक्ष पोषणमा काम किन गर्न नसक्नु?

अमेरिकामा नर्सको बहुआयामिक भूमिका अभ्यासमा लागू हुन सक्ने, त्यही नर्स स्पेसमा नर्स भएर एक हप्ता विमानमा काम गर्ने, त्यसको अर्को एक हप्ता अस्पतालको क्लिनिकल नर्स म्यानेजर भएर काम गर्ने र अर्को हप्ता एकेडेमी नर्सिङ फ्याकल्टीको रुपमा अध्यापन गराउन सक्ने । तर, हाम्रो देशमा एकेडेमीका नर्स प्राध्यापक, सह–प्राध्यापक, लेकचररहरुलाई क्लिनिकल नर्स म्यानेजर भएर काम गर्नुहोस् भन्दा नर्सका प्रिन्सिपल, नर्सका मेट्रोन आफैले अनेक जालसाजी गरी उल्टो वातावरण धमिलो बनाउने काम गर्ने गर्दछन् । यो प्रत्यक्ष देखियो, भोगियो ।

चिकित्सकहरु जति ठूलो ओहदामा पुगे पनि क्लिनिकल अभ्यास छुट्याउने गर्दैनन् । तर, हाम्रो नै नाम चलेको विपी प्रतिष्ठान धरान, महाराजगंज नर्सिङ कलेज काठमाडौंका नर्सहरुमा त्यो कुरा किन लागू हुन नसकेको हो? बाधक को हो ? यसको पनि चिकित्सा शिक्षा आयोग साथै आधिकारिक नर्सिङका सरोकारवालाहरुको खोजीको विषय बनाइनु पर्दछ ।

जबसम्म स्वास्थ्य उपभोक्ता भनौं वा बिमारीलाई केन्द्रमा राखिकन सतप्रतिशत सुरक्षा अनुभूति दिलाउँदै बहु–आयामिक तवरबाट शिक्षा दिने अभ्यास गरिंदैन तब यो नर्सिङ क्षेत्र जहिले पनि पछि नै हुन्छ ताकि पीएचडी नर्सिङमा गर्ने जति पनि किन नहोस् ?

यो कुराको पूर्ण जानकारी विपी धरानका प्राध्यापकहरुलाई छ भन्ने मलाई विश्वास छ साथै त्यहाँबाट उत्पादित पहिलो, दोस्रो ब्याचका बिएस्सी नर्सिङका सबै पास आउट विद्यार्थीहरुलाई पनि पूर्ण ज्ञात छ । वि.सं. २०५० देखि २०५७ मैले त्यही स्टाफ नर्सको रुपमा काम गरेको हुँ ।हामीहरूले त्यो अवधिमा बिरामीको केस नोट बनाउने, प्रत्येक हप्ता प्रस्तुती गर्दै छलफल चलाउने गर्दथ्यौ । त्यसमा स्तरीय नर्सिङ अभ्यास कायम भएको थियो । यो कुरा विपीका अति सिनियर प्राध्यापक चिकित्सक र नर्स सबैलाई जानकारी छ । तर, त्यहीबाट उत्पादित विद्यार्थीहरु हिजो आज गफ लगाउने भएका छन् । म प्राध्यापक भएकोले बिरामी हेर्नु पर्दैन, पढाउने, रिसर्च हेर्ने काम गर्दछु, अरु नर्सजस्तो थोरै म हो र? त्यस्तै, विपीका प्राध्यापकजस्तै त्रिविका नर्सिङ प्राध्यापकहरुको गफ नै यस्तै छ ।

तर, नेशनल मेडिकल कलेज वीरगन्ज, बनेपा स्कूल अफ नर्सिङ, काठमाडौं मेडिकल कलेज धुलिखेल, पुरानो मेडिकल कलेज भरतपुर, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको कुरो अर्कै छ । बिरामी अस्पतालमा हेर्दछन् पनि कलेजमा पढाउने काम पनि गर्दछन् । जसको आफ्नो अस्पताल हुँदैन्, आफ्नो व्यवस्थापनको पहुँच दुवै स्थानमा हुँदैन तब यो लागु गराउन ब्यवहारिक रुपमा गाह्रो हुन सक्दछ । त्यसैले आफ्नो अस्पताल हुनेले मात्र नर्सिङ कलेज चलाउन पाउने एक मात्र व्यवस्था नराखी दुवै भूमिका निभाउन सक्ने, अस्पतालमा र कलेज दुवैमा काम गर्न सक्ने शिक्षकहरु भएको हुनुपर्ने व्यवस्था लागू गराउन अति जरुरी पनि छ । यसका लागि चिकित्सकहरुले बोली दिनुपर्ने, चिकित्सकहरुले सोची दिनुपर्ने ! कस्तो बिडम्बना !

खै सशक्त भूमिका नर्सिङ परिषदको? पूरा समय २४ घण्टा नै दिन सक्ने काठमाडौं उपत्यका भित्रका नर्सिङ विज्ञ अध्यक्ष नर्सिङ परिषदका भएका थिएनन् र? अनि बहुसंख्याको प्रतिनिधि गर्ने महिला नै अध्यक्ष भएका थिएनन् र? त्यस्तै नर्सिङ परिषदका अध्यक्ष वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, ठूला संस्था क्यान्सर अस्पताल भरतपुरका प्रतिनिधि पात्र भएका थिएनन र?

त्यसैले भावि दृष्टि, कार्य योजना र रणनीति बुन्न सक्ने, त्यसलाई अक्षरसः पालना गराउन सक्ने नर्सिङ विज्ञको आवश्यकता छ नर्सिङ परिषदमा । न कि आजसम्म अभ्यासमा उत्रिसकेका उही पहिलाका व्यक्तिहरू दोहो¥याएर ल्याउन आवश्यक छ भन्ने लाग्दैन् । त्यस्तै, सरकारी ठूला संस्था, पहिले नर्सिङ परिषद्का कार्य समितिका सदस्य भएर काम गरिसकेकालाई दोहो¥याएर ल्याउन जरुरी छ भन्ने मुनासिव लाग्दैन् ।

परिषद्मा पुरुष नर्स किन आवश्यक ?

महिलाहरुको मर्म पुरुषले बुझ्दैनन् र बुझ्ने प्रयास पनि गर्दैनन् भन्ने कुरा लागु गराउने हो भने कुनै पनि पुरुष चिकित्सकहरु वा पारामेंडिक्सहरु आदि कसैले पनि महिलाहरुको स्वास्थ्य समस्या हेरिनु भएन् । अझ पुरुष वर्ग त स्त्री रोग विशेषज्ञ त हुनु नै भएन् । यतिमात्र होइन् स्कुलमा पुरुष शिक्षकहरुले छात्रा जतिलाई पढाउनु नै भएन् । पुरुष वकिलहरुले महिला जतिको मुद्दा मामिला हेर्न दिनु नै भएन । कृपया नेपाल सरकारले यो नवीन कुरा लागु गरियोस् भनी हाम्रा दिदी–बैनी गुरु आमाहरु, हाम्रा विद्यार्थीहरुले सशक्त आवाज बुलन्द गरी दिनुहोस् भन्ने कुरा नआउला पनि भन्न सकिंदैन् । कारण पुरुष बन्देज गरिनु छ नेतृत्व तहमा ।

किन नर्सिङको नियामंक निकाय नर्सिङ परिषदमा पुरुषलाई बन्देज !

एउटा लेख पुरुष नर्सिङ पेशामा अभिशाप की वरदान भन्ने कुराको रेस्पोन्स पुरुष व्यक्तिबाट नै आयो । जसमध्ये दुई जनाले अभिशाप भनेका थिए । जसमध्ये एक नर्सका श्रीमान थिए । जसले पुरुष नर्सहरुलाई सुरुदेखि पिसिएल र बिएस्सीका विद्यार्थी हुँदाको अवस्थादेखि आजको मितिसम्म नजिकबाट नियालेका, अति अनुभवी, सरकारी जागिरे, त्यो पनि आर्थिक फाँटको अडिट गर्ने अति विज्ञ व्यक्ति हुन् । अर्को पुरुष नर्स नै थिए, जो पुरुष भएको नाताले नै व्यवस्थापनले अव्यवहारिक रुपमा विभेद गरिएको भन्ने तीतो आभासको कारणले गहिरो चोट अनुभूति गरेका पीडित सिनियर नर्स । त्यो उहाँहरुको विशुद्ध आफ्नो अनुभूति हुन् त्यो कति सत्य छ आफ्नो ठाउँमा छ ।

तर, यस्ता कुरा आफू माथिल्लो खुड्किलो चढेपछि अरूलाई आउन नसकून भन्ने जाल बुन्ने परम्पराको उपज नै हुन सक्दछ । ठूलो संसार अट्न सक्ने स्थानमा पुरुष नर्सलाई अटाउन सकिएन् ? तर, अहिले सरकारी अस्पतालमा पुरुष नर्सिङ प्रमुख प्रशासक पदमा कार्यरत हुनुहुन्छ । पुरुष नर्स दोहोरो–तेहोरो रुपमा शोषित पीडित छन् कारण के होला?

बहुमतको निर्णय के अल्पमतले उल्टाउन सक्दछ ? त्यहाँ पुरुष नर्सको भूमिका सही तवरबाट व्याख्या गरिएको छैन । आज पुरुष नर्सको दह्रो अडान र उपस्थितिको कारणले उच्च अध्ययन गर्ने अवसर धेरैले पाए । आज त्यही पुरुष नर्सकै कारणले रजिष्ट्रार र डिनजस्तो गरिमामय पदमा नर्स आसिन हुन पाए । अझ कतिले त नर्सहरूलाई नजरअन्दाज गर्दै लेख नै लेखे । नर्सले अब चिकित्सकको नियुक्ति, बढुवा गर्ने भनेर ।

त्यसमा साहसी पुरुष नर्सको नै ठूलो देन थियो भनी लेख्दा अत्युक्ति नहोला ! पुरुष नर्स पेशाका लागि अभिशाप हो भनी अरूहरुले होइन्, हाम्रा केहि सिनियर नर्सिङ आधिकारिक पद सम्हालिसकेका समूहले नै अभिव्यक्त गर्ने गर्दछन् ।

हाम्रा सहकर्मी चिकित्सक, पारामेडिक्स, प्रशासक, स्वास्थ्य उपभोक्ता आदिले पुरुष नर्स वरदान नै हो भन्ने अनुभूति गर्ने गर्दछन् । यो किन लेखिनुप¥यो भने ठूला–ठूला प्रतिक्रिया र झर्कोफर्को गर्ने आधिकारिक महिला नर्सहरु नै भेटेको अनुभूति छ मलाई । कारण पुरुष नर्स भएकोले ।

केही सिनियर गुरुआमाहरु आफै किन हो कुन्नी पुरुष नर्सलाई स्वीकार्न तयार छैनन्?

त्यसैले नयाँपन ल्याउन, नर्सिङ सशक्त बनाउन, सबैले देखिने परिणाममुखी कार्य सम्पादन गर्न, सबैको मन मस्तिष्कले आभास गरिने परिवर्तन चाहिएको छ नर्सिङ पेशामा । त्यसका लागि विपी धरानमा सबैले अनुभूति गरिएको, त्यस्तै ओसिम गुरुङको हत्याको लागि न्याय दिलाउन सशक्त खटिने, त्यस्तै वि.सं. २०७४ सालमा देशव्यापी नर्सिङ आन्दोलनको अग्रपंक्तिमा मोर्चा सम्हाल्ने, नेपालमा प्रथम पटक अन्तर्राष्ट्रियस्तर ट्रेनिङ चलाउन अहम् भूमिका निभाउन सकेको साथै यो कोभिड–१९ महामारीमा आम नर्सहरुको लागि सशक्त आवाज बुलन्द गर्ने, देशभरी जुममार्फत नर्सहरुलाई अन्तर्राष्ट्रियस्तरमा अन्तक्रिया गराउँदै एक सूत्रमा जुटाउन सक्ने पुरुष नर्सलाई किन नर्सिङ परिषदमा सिफारिस नगर्ने त?

कारण किन काठमाडौं उपत्यका भित्रका हुनुपर्ने, महिला वर्ग हुनुपर्ने कुराको रट लगाउने । यो कहिलेसम्म? नर्सिङ सेवामा कुनै एक लिङ्ग, क्षेत्र, जात, संस्कृति, धर्मको पक्षपोषण गरिंदैन् भनेर पढाउने, त्यस्तै नर्सिङमा न्याय, लाभ, गैर पुरुषता, उत्तरदायित्व, निष्ठा, स्वतन्त्रता र सत्यताको सिद्दान्त लागु गरिएको हुन्छ भन्ने मूल्य र मान्यता राख्ने तर त्यो व्यवहारमा किन लागु नहुने हो?

आफूले गरेको कमी कमजोरी र गलतलाई ढाकछोप गर्ने होइन कि त्यसलाई स्वीकार्न सक्नु पर्दछ । त्यो अनुरूप आफूलाई परिवर्तन गर्दै पुनः गल्ती दोहो¥याउन छैन भन्नेको सुनिश्चितता गरिनु पर्दछ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ