२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारदन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’

दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’


दन्त चिकित्सा अध्ययन गर्दा वा दन्त चिकित्सक भइसकेपछि दन्त परीक्षण गर्दैगर्दा दन्त किरा (दन्त सडन)को समस्या नभएका बिरामी थोरै मात्र भेटिनुहुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को पछिल्लो तथ्यांकअनुसार पनि करिब ३.५ अर्ब मानिसहरु मुख सम्बन्धि समस्याले ग्रसित छन् ।

त्यसमध्ये २.३ अर्ब मानिसहरुमा दाँतमा किरा लाग्ने समस्या रहेको पाइन्छ । यसको प्रमुख कारण भनेकै अस्वास्थ्य खानेकुरा, परिवर्तित जीवनशैली, दन्त हेरचाह, दन्त उपचारको अभाव र सबैभन्दा बढी मौखिक स्वास्थ्य रोकथाम सम्बन्धि प्रविधी र जनचेतनाको अभावजस्तो लाग्छ ।

आम जनमानसमा दाँतमा किरा लाग्ने समस्या भनेर यो रोग प्रख्यात भएतापनि विस्तृत रुपमा बुझ्दा मुखमा रहेका किटाणुहरुले दाँतमा टाँसिएका खानेकुराहरुसँग रसायनिक पद्धतिद्वारा एसिड उत्पादन गरी दाँतको बाहिरी भागलाई सडाइदिने हो । यस प्रक्रियाले क्रमसः दाँत सडाउने, दाँतमा प्वाल पार्ने, दाँत सिरिङ—सिरिङ गराउने, दाँत दुख्ने र अन्तमा दाँत वरिपरीको गिजामा पिप जम्मा गराउने गर्दछ ।

दाँतमा किरा लागिसकेपछि वा माथि उल्लेखित लक्षणहरु आइसकेपछिका उपचार प्रविधीहरुका बारेमा धेरैलाई ज्ञान भएतापति दन्त सडन/दाँतमा किरा लाग्नै नदिने उपचार प्रविधिका बारेमा भने थोरैलाई मात्र अवगत रहेको पाइन्छ । उक्त प्रविधिहरुमध्ये फ्लोराइड एक उत्तम निवारण प्रविधिका रुपमा लिइन्छ ।

फ्लोराइड एक रसायनिक तत्व हो । जुन हामीले बाहिरी वातावरण, समुन्द्री खानेकुरा, पिउने पानीबाट पाइने गर्दछ । दन्त क्षेत्रमा वरदानका रुपमा सावित फ्लोराइडबारे सयौं वर्ष अगाडि नै अनुसन्धान सुरु भइसकेको थियो । ती अनुसन्धानहरु प्रमाणित भई विभिन्न देशहरुमा कार्यन्वयन पनि भइसकेको तथ्यहरु सार्वजनिक छन् । त्यसैले दन्त सडन रोकथामको लागि विदेशी मुलुकहरुमा पिउने पानी, नुन, दूधहरुमा मिश्रण गरेको पाइन्छ । यो समिश्रण प्रभावकारी मात्रामा मात्र हुनुपर्दछ । यदि नभएमा विभिन्न रोगहरु निम्त्याउन सक्दछ । त्यसैले फ्लोराइडलाई दुई धारे तरबार (two way sword) भन्ने गरिन्छ । नेपालमा यस्तो किसिमको कुनै पनि समिश्रण नभएको हुनाले पनि अरु किसिमबाट फ्लोराइडको लाभ लिन उचित हुनेछ ।

अमेरिकन दन्त एशोसिएसनद्वारा जारी विज्ञप्तिअनुसार पानीमा फ्लोराइडको मात्रा कम भएको स्थानमा दाँत पलाएको ६ महिनाभित्र फ्लोराइड दिनुपर्दछ । त्यसैले बालबालिका तथा किशोर अवस्थामा दन्त चिकित्सकसँग परामर्श लिएर फ्लोराइडको प्रयोग गर्नाले दन्त सडनबाट आफ्ना बालबालिकालाई बचाउन सकिन्छ ।

दन्त उपचार विश्वमा नै महंगो हुने भएका कारणले पनि दन्त रोग निवारण गर्ने उपचार विधिमा विशेष जोड दिनुपर्ने देखिन्छ । यसो गर्नाले करिब ८० प्रतिशत दन्त रोग निवारण भएको पाइन्छ ।

हामीले दिनहुँ दुई पटक दाँत माझ्नु पर्दछ । दाँत माझ्ने मन्जन फ्लोराइडयुक्त हुनुपर्दछ । अध्ययनअनुसार दाँत माझ्ने मन्जनमा कम्तिमा पनि १००० पिपिएम (अन्य) र ५०० पिपिएम (बालबालिका) हुनुपर्दछ । बजारमा मन्जनबाहेक फ्लोराइड जेल, फ्लोराइड ट्याब्लेट, फ्लोराइड भार्निस, मुख कुल्ला गर्ने फ्लोराइड माउथवास पाइन्छ । यी पदार्थहरुको प्रयोग गर्ने तरिका फरक—फरक हुने भएकाले दन्त चिकित्सकसँग परामर्श लिएर प्रयोग गर्ने सुझाव दिन चाहन्छु । तसर्थ, यी विधिहरुको प्रयोगबाट आफ्ना बालबालिका दाँत तथा मुख स्वस्थ बनाउनुहोस् । दन्त सडनरहित बनाउनुहोस् ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ