२०७८ असोज ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारके हो सर्जिकल जण्डिस, कसरी उपचार गर्ने ?

के हो सर्जिकल जण्डिस, कसरी उपचार गर्ने ?


साधारणतयाः कुनै पनि कारणले आँखा पहेलो हुनुलाई जन्डिस भनिन्छ । जण्डिस भन्नाले बिलुरुबिनको लेभल रगतमा बढ्नु हो । बिलुरुबिन धेरै बनेर, कलेजोले काम गर्न नसकेर, लिभरबाट नली हुँदै आन्द्रा गएर निष्कासन गर्ने प्रक्रियामा ब्लकेज हुनुजस्ता विविध कारणले बिलुरुबिन बढ्छ । आँखा सेतो हुने भएकाले सुरुमा बिलुरुबिन बढेको आँखामा देखिन्छ । विस्तारै यसको लेभल बढ्दैं गएमा शरीरका अन्य भागहरुमा पहेलो देखिन्छ । गोरो मानिसमा अलि धेरै पहेलो देखिन्छ भने कडा रंग भएका मानिसहरु त्यो बढी नदेखिन सक्छ । जेसुकै कारणले भएपनि आँखा पहेलो भएमा हामीले त्यसलाई जन्डिस भन्दछौं ।

जण्डिस विभिन्न प्रकारका हुन्छन् । जसमध्ये साधारणतयाः एउटा मेडिकल जण्डिस र अर्को सर्जिकल (अप्रेशन गर्नुपर्ने) जण्डिस हो । मेडिकल जण्डिस प्रायजसो बिना शल्यक्रिया उपचार गर्न सकिने हुन्छन् । यसका विभिन्न कारणहरु हुन्छन् । सर्जिकल जण्डिस भनेको त्यस्तो जण्डिस हो, जुन लिभरमा बनेको बिलुरुबिन कलेजोले राम्रै काम गरिरहेको भएपनि नली हुँदैं बाहिर नगएर कहीँ न कहीँ ब्लकेज हुन्छ । लिभरमै ब्लक हुन सक्छ्, लिभरबाट आउने सानो नलीमा ब्लक हुन सक्छ अथवा ठूलो नलीमा ब्लक हुन सक्छ । आन्द्रासम्म पुग्ने प्रक्रियामा कतै न कतै ब्लक भएर जुन बिलुरुबिन लेभल बढ्न जान्छ, त्यसलाई सर्जिकल जण्डिस भनिन्छ । सर्जिकल जण्डिसलाई मेडिकल टर्ममा ‘अब्स्ट्रक्टीभ जण्डिस’ भनिन्छ ।

जण्डिसलाई यसरी किन छुट्याउन जरुरी हुन्छ त ? यसको जाँच पड्ताल र उपचार नै फरक हुन्छ । धेरैजसो मेडिकल जण्डिस हेपाटोलोजिष्ट, ग्यास्ट्रो फिजिसियनले हेरेर ठीक बनाउँछन् । तर, सर्जिकल जण्डिसमा प्रायजसोः ग्यास्ट्रो सर्जन, कलेजो सर्जन र जनरल सर्जनले शल्यक्रिया गरेर उपचार गर्नुपर्ने हुन्छ । सर्जनहरुले त्यसमा जाँच पड्ताल गरेर कुनै न कुनै किसिमको शल्यक्रिया, इन्डोकोपी, ल्याप्रोस्कोपी जस्ता विधीबाट ठीक बनाउने गरिन्छ । त्यो समूहको जण्डिसलाई सर्जिकल जण्डिस भनिन्छ ।

के कारणले हुन्छ सर्जिकल जण्डिस ?

कलेजोदेखि आन्द्रासम्म पुग्ने ‘बायल’ जसमा बिलुरुबिन रहेको हुन्छ । त्यसको प्रक्रियामा अवरोध आयो भने सर्जिकल जण्डिस हुने गर्छ । वयस्क व्यक्ति र बालबालिकामा कारणहरु केही फरक हुन सक्छन् । तर, ठूला मानिसमा देखिने केही कारण बालबालिकामा पनि देखिन्छ । वयस्कमा पित्तनलीको स्टोन प्रमुख कारण मानिन्छ । स्टोन पित्तथैलीमा पनि बन्न सक्छ, जुन स्टोन खसेर नलीमा जान सक्छ । त्यसलाई ‘बाइडक्ट स्टोन’ भनिन्छ । त्यो एकदमै कमन कारण हो । यस्तो केसमा नलीमा गएर स्टोनले ब्लक गरेपछि बिलुरुबिन ब्लक भएर रगतमा जम्मा हुन्छ र आँखा पहेलो हुन्छ ।

अर्को कारण भनेको क्यान्सर हो । क्यान्सरका कारणले नली ब्लक भएपछि सर्जिकल जण्डिसको समस्या देखिन्छ । नलीकै क्यान्सर वा पित्तथैलीको क्यान्सरका कारण नली ब्लक हुन सक्छ । अथवा त्यसको छेउछाउमा भएका अन्य कुराहरु प्यानक्रियाज, वरिपरीको आन्द्रा (डयुडेनम)को कारणले पनि हुन सक्छ । त्यसका क्यान्सरहरु बढेर त्यो नलीलाई ब्लक गरिदिन्छन् । यो पनि ठूला मान्छेमा देखिने सर्जिकल जण्डिसको कमन कारण हो । कहिलेकाहीँ अन्यतिरका क्यान्सरहरु आएर पनि त्यो ठाउँमा फैलिएको क्यान्सर हुन्छ, त्यसले पनि कुनै न कुनै कारणले त्यो नलीलाई ब्लक गरिदिन्छ ।

स्टोन र क्यान्सरबाहेक अन्य रोगहरुले पनि ‘क्रोनिक प्यानक्रियाटाइटिस’ जुन प्यानक्रियाजको लामो समय हुने इन्फलामेसन कारणले पनि नलीमा असर पर्छ र त्यसले नलीलाई खुम्चाइदिन्छ । त्यसबाहेक ‘कोलिडोकोल सिष्ट’ (जन्मजात नली फूल्ने) अथवा बाइइल्डकको डाइलटेसन सिष्टले पनि पित्त जम्मा हुन्छ र पछि इन्फेक्सन भएर नली ब्लक गरिदिन्छ । एकदमै रियर केसमा जुकाका कारण नली ब्लक भएर सर्जिकल जण्डिस हुने गर्छ । यी ठूला मानिसहरुमा देखिने कारणहरु हुन् । यसबाहेक अन्य पनि विविध कारणहरु छन्, तर ती कमन कारणहरु होइनन् ।

बालबालिकामा पनि स्टोनका कारण यो समस्या देखिन सक्छ । क्यान्सर बालबालिकाको सर्जिकल जण्डिसको कमन कारण होइन् । तर, जन्मजात नै देखिने केही समस्याले उनीहरुमा सर्जिकल जण्डिस देखिन सक्छ । नलीकै राम्रो विकास नहुँदा पनि यस्तो समस्या हुन्छ । बालबालिकामा जन्मजातै हुने विविध स्वास्थ्य समस्याले सर्जिकल जण्डिस बढी देखिन्छ ।

कसरी छुट्याउने सर्जिकल र मेडिकल जण्डिस ?

जण्डिस देखिएपछि कसरी सर्जिकल र मेडिकल जण्डिस छुटयाउन सकिन्छ त ? ठ्याक्कै सर्जिकल हो कि मेडिकल जण्डिस हो भनेर छुट्याउन बिरामीमा देखिने लक्षण र जाँचको आधारमा मात्रै भन्न सकिन्न । त्यसका लागि विस्तृत जाँचहरु आवश्यक पर्छ ।

तरपनि केही यस्ता लक्षणहरु हुन्छन्, त्यसबाट सामान्य अनुमान लगाउन भने सकिन्छ । धेरैजसो सर्जिकल जण्डिस भएर आउने बिरामीहरुमा निम्न लक्षणहरु देखिन थाल्छन् ।

  • आँखा पहेलो हुन्छ र विस्तारै गाढा—गाढा हुन थाल्छ
  • जिउ एकदमै चिलाउने हुन्छ । जुन मेडिकल जण्डिसमा नदेखिन सक्छ ।
  • पिसाब एकदमै गाढा पहेलो हुन्छ ।
  • दिशाको बिलुरुबिनले गर्दा हुने पहेलो रंग हुन्छ । तर, त्यो नै आन्द्रामा जान नपाउँदा हाम्रो दिशाको रंग सेतो हुन्छ ।

सर्जिकल जण्डिस भएका बिरामीहरुमा देखिने यी महत्वपूर्ण लक्षणहरु हुन् । तर, शतप्रतिशत हुन्छ भन्ने कहिल्यै हुँदैन् । स्टोन, क्यान्सर, सिष्टलगायतका कारणले कहिलेकाही बिरामीमा दुखाइ पनि हुन सक्छ । क्यान्सरका कारण सर्जिकल जण्डिस भएको छ भने क्यान्सरका लक्षणहरु पनि देखिन्छन् । जस्तैः खान मन नलाग्ने, दुब्लाउँदैं जाने, वजन घट्दैं जाने समस्याहरु हुन थाल्छन् । माथिका लक्षणहरु र पछिल्ला लक्षणहरु मिसाएर हामी सर्जिकल जण्डिस भन्न सक्छौं ।

धेरैजसो मेडिकल जण्डिसमा जण्डिस देखिनुपूर्व नै बिरामीलाई खान मन नलाग्ने, खानाप्रति अरुचि हुने, कमजोरी हुने हुन्छ । त्यसपछि मात्रै जण्डिस देखिन थाल्छ । तर, गाढा पहेलो आँखा, जिउ चिलाउने, दिशा सेतो हुने, पिसाब एकदमै पहेलो हुने, दुख्न थाल्ने भएमा सर्जिकल जण्डिस रहेछ भने बुझ्न सकिन्छ ।

त्यसबाहेक बिरामीको पहिलाको हिस्ट्रीले पनि केही कुरा संकेत गर्छ । पित्तथैलीको स्टोनको शल्यक्रिया गरिएको रहेछ भने पित्तथैलीमा स्टोनको शंका गर्न सकिन्छ । पहिले क्यान्सर भएको थियो भने क्यान्सरले पनि हुन सक्छ भनेर अनुमान लगाउन सकिन्छ । यी सबै सपोर्टिभ प्वाइन्टहरु हुन् । तर, मुख्यतयाः बिरामीका लक्षण र जाँचेर मात्रै थाहा हुँदैन् । बिरामीको परीक्षण गर्दा कहिलेकाही पहेलो आँखा देखिन्छ, जिउ चिलाएको हुन्छ, पेट छाम्दा डल्लाडल्ली, सुन्निएको अनुभव गरेर पनि अन्दाज गर्न सकिन्छ । तर, यी सबै कुराहरुबाट हामीले अन्दाज मात्रै गर्न सक्छौं ।

सर्जिकल जण्डिस हो कि होइन भनेर कसरी निष्कर्षमा पुग्न सकिन्छ त ? त्यसका लागि जाँचहरु आवश्यक हुन्छ । सबैभन्दा पहिले रगतको जाँच गरिन्छ । रगतमा बिलुरुबिनको लेभल, रगतका अन्य लिभरका इन्जायमहरु सबै हेरेर सर्जिकल जण्डिस हो वा मेडिकल जण्डिस हो भन्ने पत्ता लगाउन सकिन्छ । धेरै हदसम्म रगतको जाँचबाटै सर्जिकल जण्डिस भन्ने निश्चित गर्न सकिन्छ । रगतबाट मेडिकल जण्डिस हो भन्ने लाग्यो भने ग्यास्ट्रो फिजिसियन कहाँ पठाइन्छ ।

रगतको जाँचबाट सर्जिकल जण्डिस हो भन्ने आइडिया भएपनि कारण पत्ता लगाउनका लागि थप जाँच पड्तालहरु आवश्यक पर्छन् । सर्जिकल जण्डिस बनाउने कारण के हुन् ? क्यान्सरले हो भने कुन स्टेजको हो ? कस्तो किसिमको उपचार चाहिन्छ ? भन्ने कुराहरु निश्चित गर्न थप जाँचहरु गर्नुपर्छ । पेटको भिडियो एक्स—रे (अल्ट्रासाउण्ड) गरिन्छ । जसले क्यान्सर छ कि, स्टोन छ कि, सिष्ट छ कि वा अरु नै कुनै कारणले गर्दा त्यहाँ ब्लक भएको छ छि भन्ने अलि आइडिया आउँछ । भिडियो एक्स—रेमा पनि एकदमै धेरै थाहा हुँदैन् । भिडियो एक्स—रेकै क्रममा बढी मेडिकल जण्डिसजस्तो लाग्यो भने त्यसलाई ग्यास्ट्रो फिजिसियन कहाँ पठाइन्छ । तर, भिडियो एक्स—रेमा स्टोन, क्यान्सरको शंका लागेमा वा नली फूलेको देखिएमा सिटी स्क्यान, एमआरआई, एमआरसीपीलगायतका जाँचहरु गरिन्छ, जुन ठूलो किसिमका एडभान्स इमेजिङ हुन् ।

सिटी स्क्यान, एमआरआई, एमआरसीपी गरेपछि प्रायः धेरै कुराहरु थाहा हुन्छ । सर्जिकल जण्डिस हो कि होइन्, ब्लक हो कि होइन्, हो भने के ले गर्दा हो ? यदि क्यान्सरले गर्दा हो भने कुन स्टेजको क्यान्सर हो होइन्, स्टोन हो भने कहाँनेर स्टोन छ ? कति वटा स्टोन छ ? त्यो सबै आइडिया आउँछ । त्यसबाहेक पनि रोग थाहा भएर पनि कस्तो उपचार आवश्यक पर्छ भन्ने निश्चित गर्छ सकिन्छ । जस्तोः शल्यक्रिया नै गर्नुपर्ने, इण्डोस्कोपीमार्फत गर्न सकिन्छ कि अथवा पहिले क्यान्सरका किमोहरु लगाएर शल्यक्रिया गर्नुपर्छ कि वा शल्यक्रिया गरेर किमो लगाउनुपर्छ यो सबै कुराहरु इमेजिङ गरेपछि थाहा हुन्छ । त्यो सबै कुरा गरिसकेपछि बिरामी उपचार सुरु गरिन्छ ।

पित्तथलीको स्टोन भएमा इआरसीप गरेर निकाल्न सकिन्छ, धेरैजसो शल्यक्रिया गरिरहनु पर्दैन् । जुन ग्यास्ट्रो फिजिसियन, ग्यास्ट्रो इन्ट्रोलोजिष्टले पनि गर्छन्, कतै सर्जनहरुले पनि गर्छन् । एकदमै ठूलो छ, अडकेको र अप्ठ्यारो स्टोन छ भने त्यस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ । स्टोन कारणबाहेक अन्य कारणले हो भने प्रायजसोमा शल्यक्रिया गर्नुपर्ने हुन्छ । शल्यक्रिया गरेर पित्तनलीलाई आन्द्रासँग जोडेर बाटो बनाइदिनुपर्ने हुन्छ ।

विविध क्यान्सरहरुले पनि नलीमा अवरोध हुने हुन्छ । पित्तथैली, पित्तनली, प्यानक्रियाजलगायतको क्यान्सरले सर्जिकल जण्डिस भएको रहेछ भने सिटीमा त्यसको स्टेज हेरिन्छ । त्यसपछि सिधैं शल्यक्रिया गर्न मिल्छ वा एडभान्स छ किमो दिएर सुकाएर मात्र गर्न सकिन्छ छुट्याइन्छ । क्यान्सरका कारण सर्जिकल जण्डिस भएका बिरामीलाई शल्यक्रिया घटाएर मात्रै गर्न सकिने रहेछ भने अंकोलोजिष्टहरु कहाँ पठाइन्छ । किमो दिइएको डेढ दुई महिनापछि फेरि इभ्यालुएट गरेर शल्यक्रिया गर्न मिल्ने रहेछ भने ठूलो शल्यक्रिया गरिन्छ । पित्तथैली निकाल्नेलगायतका ठूल—ठूला शल्यक्रिया हुने गर्छन् । क्यान्सरको प्रकृतिअनुसार बिरामीको शल्यक्रिया गरिन्छ ।

आकस्मिक देखिने ‘कोल्यानजाइटिस’

कहिलेकाहीँ आकस्मिक रुपमा पनि बिरामीहरु इमर्जेन्सीमा आउने गर्छन् । कतिपय बिरामीलाई आफू पहेलो भएको थाहा नै नभएर बस्न सक्छन् । त्यस्ता बिरामीहरुमा कहिलेकाहीँ अकस्मात बिलुरुबिन आन्द्रामा पु¥याउने नली ब्लक भइदिएको हुन सक्छ । त्यो भएमा त्यो नलीमा इन्फेक्सन हुन्छ, त्यो सिभियर खालको हुन्छ । यस्तो हुँदा रगतमा पनि बिलुरुबिन जान सक्छ । यस्तो हुँदा आँखा एकदमै पहेलो हुने, ज्वरो आउने, सिकिस्त हुने हुन्छ । यसलाई कोल्यानजाइटिस भनिन्छ ।

यस्तो हुँदा बिरामी जतिसक्यो चाडो अस्पताल पुग्नुपर्ने हुन्छ । अस्पताल पुगेपछि इन्फेक्सन कन्ट्रोल गर्न एन्टीबायोटिकहरु चलाउनुपर्छ । यसले शरीरका किड्नीलगायतका अंगमा असर पु¥याउन सक्छ । यस्तो अवस्थामा जतिसक्यो छिटो जण्डिसलाई कम गर्ने प्रयासमा चिकित्सकहरु लाग्छन् ।

इमर्जेन्सीमा जतिसक्दो चाडो जण्डिसलाई कम गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने हुन्छ । रोगको अन्य उपचार आफ्नो ठाउँमा छदैछ तर जण्डिसलाई कम गर्न कहिलेकाही कलेजो छेडेर पाइप हालिन्छ । ब्लकेज भएको माथिबाट त्यो पाइपबाट जण्डिस बाहिर निकालिन्छ । कहिलेकाही ईआरसीपी गरेर नली राखेर ब्लकेजबाट फैलिइरहेका जण्डिस रिफिल गरिन्छ । र, त्यसमाथि अन्य उपचार प्रक्रिया अगाडि बढाइन्छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार
ट्याग : #जन्डिस, #मेडिकल जण्डिस, #सर्जिकल जण्डिस


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)