२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकुकुरबाट मानिसमा सरेर कलेजोमा लाग्ने ‘हाइडाटिड सिस्ट’ के हो ? कसरी बच्न सकिन्छ ?

कुकुरबाट मानिसमा सरेर कलेजोमा लाग्ने ‘हाइडाटिड सिस्ट’ के हो ? कसरी बच्न सकिन्छ ?


‘हाइडाटिड सिस्ट’ कुकुरबाट मानिसमा सर्ने एक प्रकारको रोग हो । यो रोग लागेका धेरैलाई उपचार गर्न पनि सकिन्छ । तर, कसैलाई भने गम्भीर संक्रमण भै ज्यान नै जाने हुन्छ । जुन न्यून छ । यो कुकुरबाट मानिसमा सर्छ । तर, यो रोग मान्छेबाट मान्छेमा सर्दैन् ।

कसरी सर्छ ?

यो सर्ने एउटा जीवनचक्र हुन्छ । कुकरमा यसको अडल्ट टेप वोर्म हुन्छ । त्यसले आन्द्रामा अण्डाहरु जम्मा गर्छ, जुन दिसाबाट बाहिर निस्कन्छन् । कुकुरले जथाभावी दिशा, पिसाब गर्दा सागसब्जी, पानीहरुलाई दूषित बनाउँछ । त्यो दूषित भएको चीज मानिसले खाने खानेकुरा र पानीमा भयो भने सर्न सक्छ । संक्रमण भएको कुकुरलाई खेलाउँदा पनि यो रोग सर्न सक्छ ।

त्यस्ता अण्डा हामीले खाँदा हाम्रो आन्द्राबाट रगतको माध्यम भएर कलेजोमा पुग्छ । कलेजो बाहेक शरीरका अन्य भागहरु जस्तैः फोक्सो वा अन्य जुनसुकै भागमा पनि जान सक्छ । तर, सबैभन्दा बढी कलेजोमा नै देखिन्छ । कुकुरबाट मानिसको शरीरमा सरिसकेपछि लक्षण देखिन महिनौदेखि वर्षौसम्म पनि हुन सक्छ ।

मान्छेको कलेजोमा उक्त ‘हाइडाटिड सिस्ट’ सानो पानीको थोपाजस्तो फोकाबाट बढ्दैं कहिलेकाही १० देखि १५ सेन्टीमिटरभन्दा ठूलो साइजमा पनि पुग्न सक्छ । एउटा ठूलो ‘हाइडाटिड सिस्ट’ भित्रै साना डटर सिस्टहरु पनि हुन्छन् । शरीरमा ठूलो सिष्ट फुटेको खण्डमा साना—साना डटर सिस्टहरु शरीरका विभिन्न भागमा फैलन सक्छन् । ती डटर सिष्टहरु त्यो ठाउँमा बढेर ठूलो सिष्टको आकार लिन सक्छन् ।

मान्छेले मात्र नभएर घरमा पालेका बाख्रा, भेडाजस्ता घरपालुवा जनावरले पनि त्यस्ता खानेकुरा खायो भने उनीहरुमा पनि संक्रमण हुन सक्छ । उनीहरुको मासुमा गएर त्यो सिस्ट अड्किन्छ । सो सिस्ट भएका जनावरको मासु कुकुरले खाएपछि फेरि कुकुरलाई नै सर्छ । तर, मासुबाट मानिसलाई भने यो सर्दैन् ।

मानिसको कलेजोमा संक्रमणपछि देखिने लक्षण

धेरैजसो मानिसमा यसका लक्षण नदेखिन पनि सक्छन् । तर, सिस्टको साइज बढ्दैं गएमा यसको कारणले दुख्ने समस्या हुन सक्छ । साथै यसको साइज बढ्दैं गएपछि यसले पित्तनलीलाई ब्लक गर्न सक्छ वा पित्तनलीभित्र फुट्न सक्छ । यसो भएको खण्डमा बिरामीमा जण्डिस देखा पर्न सक्छ । कहिलेकाही यो सिस्टमा नै इन्फेक्सन पनि हुन सक्छ । यस्तो अवस्थामा दुख्नुका साथसाथै बिरामीलाई ज्वरो पनि आउन सक्छ ।

यो बाहेक ठूलो सिष्ट बनेर फुल्न गई अन्य भागमा फैलन सक्ने सम्भावना सधैं रहिरहन सक्छ । एकदमै कम मानिसमा यसका कारणले एलर्जी पनि देखिन सक्छ । जुन धेरै खतरानाक हुन सक्छ ।

रोगको पहिचान कसरी गर्ने ?

भिडियो एक्स–रे र सिटी स्क्यानको आधारमा यो रोगको पहिचान गर्न सकिन्छ । सिटी स्क्यानबाट यसको कुन भागमा संक्रमण छ र आकार कत्रो छ ? भन्ने कुरा पत्ता लाग्छ । त्यसका साथै शल्यक्रिया गर्नुपर्ने वा नपर्ने पनि थाहा हुन्छ । तर, रगत परीक्षणबाट भने यो पत्ता लाग्न सक्दैन् । अन्य कुनै रोगका लागि गरिएको अल्ट्रासाउण्ड र सिटी स्क्यानबाट पनि लक्षण नभएका बिरामीमा यो रोग देखिन सक्छ ।

उपचार के त ?

सिष्ट कलेजोमा सक्रिय छ कि छैन भन्ने कुरा निश्चित गर्नुपर्छ । सक्रिय छैन भने औषधी र फ्लोअप गर्दा ठिक हुने हुन्छ । तर, सक्रिय सिस्ट छ र आकार बढिरहेको छ भने औषधीले मात्र छुदैन् । त्यसको लागि भिडियो एक्सरेमार्फत पाइप छिराएर त्यसको पानी झिकेर किरा मर्ने औषधी हाल्न सकिन्छ । अर्को पद्धती भनेको ल्याप्रोस्कोपीमार्फत प्वाँल बनाएर किरा भएको भित्ता झिक्दिने र पानी झिक्ने हो । कुनै केसमा भने चिरेर कलेजोको केही भागसमेत फाल्नुपर्ने हुन सक्छ ।

यी ३ पद्धतीबाट उपचार गर्नुअघि भिडियो एक्स–रे र सिटी स्क्यानबाट त्यसको अवस्था हेरेर उपचार गर्नुपर्ने हुन्छ । यी सबै उपचारपछि पनि फेरि यो रोग फर्किन सक्ने भएकाले शल्यक्रियापछि ३ देखि ६ महिना किरा मार्ने औषधी सेवन गर्नुपर्छ ।

यसबाट कसरी बच्ने ?

—सरसफाइमा ध्यान दिने ।
—कुनै बस्तु छोएपछि हातखुट्टा राम्ररी धुने ।
—तरकारी तथा फलफुल राम्रोसँग पखालेर मात्रै खाने ।
—कुकुरहरुलाई जथाभावी दिशापिसाब गराउनु हुँदैन ।
—कुकुरमा रोगको आशंका भएमा तुरुन्त भेटनरीमा देखाउने ।
—कुकुरसँग मुख—मुख जोडेर खेलाउनु हुँदैन् ।
—कुकुरलाई छोएपछि राम्ररी हातमुख धुने ।
—कुकुरलाई मासु काट्ने ठाउँहरुको नजिक खेल्न दिनु हुँदैन ।

यो रोग सतप्रतिशत रोक्न त सकिदैन् । तर, सतर्कता भने अपनाउनुपर्ने हुन्छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार
ट्याग : #कलेजो, #कुकुरबाट मानिसमा सर्ने एक प्रकारको रोग, #त्रिवि शिक्षण अस्पताल, #प्रा.डा. रमेश सिंह भण्डारी, #हाइडाटिड सिस्ट


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ