२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारखोपको समुचित प्रयोग गरी रेबिज निवारण

खोपको समुचित प्रयोग गरी रेबिज निवारण


विश्व रेबिज दिवस लुइस पाश्चरको रेबिजमुक्त विश्व समाजको परिकल्पनाको सम्झनामा सन् २००७ सेप्टेम्बर २८ देखि मनाउन थालिएको हो । जसले रेबिज विरुद्धको प्रभावकारी खोपको आविष्कार गरेका थिए । विगत बाह्र वर्षदेखि मनाइदैं आएको रेबिज दिवस यस वर्ष यस रोगले मानिसमा पार्ने प्रभावको बारेमा जनचेतना अभिवृद्धि गर्ने, जोखिममा रहेकाहरूलाई रोकथामका बारेमा सूचना, सल्लाह र सेवाहरू प्रदान गर्ने तथा रोग नियन्त्रणका लागि आवश्यक वकालत गर्दै ‘रेबिजः खोप लगाऔं, रेबिज उन्मूलन गरौं’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमहरू गरी सेप्टेम्बर २८ का दिन मनाइदैंछ । यो तेह्रौ रेबिज दिवसले रेबिज निवारणका लागि मानिस तथा जनावरमा खोपको प्रयोग नै मूख्य आधार रहेको औल्याएको छ । यस दिन रेबिजविरुद्धको संघर्ष अझै सकिएको छैन भनेर सम्झने गरिन्छ ।

रेबिज रोग जनस्वास्थ्यमा प्रभाव पार्ने एक महत्वपूर्ण रोगको रूपमा रहिआएको छ । मानिसलाई हुने संक्रामक रोगहरूमध्ये रेबिज रोगले मानव सभ्यता विकासको निकै परापूर्वकालदेखि चिकित्सा विज्ञानलाई चुनौती दिँदै आएको छ । यद्यपि आजको अत्याधुनिक समाजमा समेत यस रोगले जनस्वास्थ्यमा ठूलो हानी पु¥याइ रहेको छ र चिकित्सा विज्ञान एकपछि अर्को चरणको विकासमा लम्किरहे पनि यस रोगको उपचार सम्भव बनाउन सकिरहेको छैन तर रोकथामका उपायहरूमा एकपछि अर्को गर्दै परिवर्तन र परिस्कृत हुँदै गएका छन् ।

यस रोगले विश्वव्यापी रूपमा हरेक वर्ष उनन्साठी हजार व्यक्तिको ज्यान लिने गरेको छ । जसमा आधाजति १५ वर्षमुनिका बालवालिकाहरू रहेका छन् । बालवालिकाहरुलाई कुकुर वा अन्य जनावरले धेरै टोक्ने तथा अभिभावकहरुसँग डरले जनावरले टोकेको कुरा नभन्ने र खोप लगाउनबाट बञ्चित भई रेबिज भई मर्ने ठूलो समस्या छ । विश्वभरिमा हुने रेबिजको पन्चानब्बे प्रतिशत समस्या एसिया र अफ्रिकामामात्रै हुने गरेको छ । जहाँ विश्व गरिबीको धेरै ठूलो जनसंख्याको हिस्सा बसोबास गर्ने गरेको छ । त्यसैले यो रोगले गरिबी र जोखिममा गुज्रिरहेका ग्रामीण क्षेत्रका जनतामा हुने गर्दछ भन्दा अतियुक्ति हुँदैन् ।

नेपालमा विशेषतः तराई र पहाडमा यसको समस्या देखिने गरेको छ । नेपालको आधा जनसंख्या यो रोगको उच्च जोखिममा छन् र एक चौथाई मध्यम जोखिममा छन् । भुस्याहा कुकुरको ठूलो समस्या रहेको हामी कहाँ सडकमा नहिड्ने व्यक्तिबाहेक शतप्रतिशत व्यक्तिहरु यो रोगको जोखिममा छन् । राज्यले यस रोगका लागि वर्षेनि ठूलो धनराशि खर्च गरिरहेको छ परिणामतः यस रोगबाट हुने मृत्युमा व्यापक कमी भएको छ । तर, रेबिज रोग लागेर मृत्यु हुने मानिसको संख्यामा उल्लेख्य कमी हुँदै आएपनि रेबिज रोग लागेका जंगली जनावरहरू मानव बस्ती भित्र पसेर दुःख दिने तथा यस्तो रोग लागेको थाहा पाएपछि घर पालुवा कुकुरहरूलाई छाडा छोडिदिने गर्नाले बेला—बेलामा महामारीको रूपमा धेरै मानिसहरूको मृत्यु हुने गरेको देखिन्छ । कुकुरका माध्यमबाट हुने रेबिजका भई हुने मानव मृत्युलाई विश्वका अन्य देशहरुसँगै नेपालले पनि सन् २०३० सम्ममा शून्य बनाउनुपर्ने लक्ष्य छ । रेबिज बहु—क्षेत्रीय समन्वय र सहकार्यले मात्रै लक्ष्य प्राप्त गर्न सकिने समस्या भएकोले यसमा सम्बद्ध सबै जिम्मेवार निकायहरूको प्रयास आवश्यक छ ।

रेबिज रोगलाई निवारण गर्न जनावरहरुलाई खोप लगाएर व्यवस्थित गर्नुपर्ने तथा जनावरले टोकेमा समयमै खोप लगाउने गरेमा यस रोगलाई निवारण गर्न सकिन्छ । नेपालमा मानिसमा प्रयोग हुने रेबिज रोग विरुद्धको खोपको प्रयोगको अवस्था अत्याधिक धेरै छ । तर, जनावरमा यस रोगको रोकथामका लागि प्रयोग हुने खोप न्यून छ । जनावरमा प्रयोग गरिने रेबिजको खोप सस्तो हुनुका साथै नेपालमै उत्पादन हुने गरेको छ । तर, मानिसमा प्रयोग हुने रेबिजको खोप महँगो तथा नेपालमा उत्पादन समेत हुँदैन । नेपाल सरकारले वर्षेनी लगभग पन्ध्र करोडको हाराहारी रेबिजको खोप खरिद्मा खर्च गर्ने गरेको छ । त्यस्तै व्यक्तिहरुको आफ्नै खर्चमा किनेर लगभग त्यति नै रकम जतिको खोप लगाउने गरेको अनुमान गरिन्छ । यसरी राज्यमा रेबिजको खोपका लागि ठूलो रकम खर्च भइरहेको यथार्थ एकातिर छ तर पनि धेरै मानिसको रेबिजका कारण मृत्यु हुने गरेको छ । यसो हुनुका मुख्य कारणमा जनचेतनाको कमी, आममानिसमा रोगप्रतिको त्रास, स्वास्थ्यकर्मीहरूमा यसबारे धेरै जानकारी नहुनु आदि पाइन्छन् । त्यसैले नेपाल सरकारले यस रोगको बारेमा चेतना फैलाउने, स्वास्थ्यकर्मीहरूलाई समय—समयमा तालिम दिने र यस रोगविरुद्धको खोप प्रयोगको तरिकाहरूमा समयानुकूल परिवर्तन गर्दै सहज, सुलभ बनाउँदै लैजाने रणनीतिअनुसार कामकाज गरिरहेको छ ।

केहि अगाडिसम्म रेबिजविरुद्धको खोप नाइटो वरिपरी अत्याधिक पीडा हुने किसिमको प्रयोग गरिन्थ्यो । पछि मासुमा पाँच मात्रा दिने खोपको प्रयोगले हामीकहाँ स्थान बनाउँदै गयो । पछि छालाभित्र चार मात्रा दिने रेबिजविरुद्धको खोपको प्रयोग शुरु भयो र हाल राष्ट्रिय निर्देशिकाले छालाभित्र तीन मात्रा मात्र दिने रेबिजविरुद्धको खोपको प्रयोग अंगीकार गरिसकेको छ । यसमा लगाउने खोपको मात्रा मासुमा लगाउने खोपको मात्राभन्दा कम हुने भएकोले यो सस्तो हुन्छ । साथै धेरै दिनसम्म स्वास्थ्य संस्था धाइरहनु समेत नपर्ने भएकाले पूरा मात्रामा खोप लगाउन समेत छुट्ने सम्भावना हुँदैन । त्यसैले देशव्यापी रूपमा नै यसलाई प्रयोग गर्न विभिन्न तालिमहरू सञ्चालन भइरहेका छन् ।

यो एक किसिमको लाईसा नामक स्नायु नशामा प्रभाव पार्ने आरएनए भाइरसले गर्दा हुने रोग हो । यो भाइरस संक्रमित जनावरको ¥यालबाट घाउको बाटो हुँदै शरीरभित्र छिरेर स्नायु नसाको माध्यमले मस्तिष्कसम्म पुगेर प्रभाव देखाउने गर्दछ । यस रोगको लक्षणहरू देखिएमा अर्थात् रोग लागेमा मृत्यु अवश्यम्भावी नै छ । तर, हाम्रा समयमै गरिएका सावधानीहरूले यसलाई शतप्रतिशत रोकथाम गर्न सक्छौं ।

हामी कहाँ धेरैजसो रेबिजका भाइरस कुकुरको टोकाइबाट मानिसमा आउने गरेको छ । यद्यपि, बिरालो, चमेरो, स्याल, ब्वासो, न्याउरी मुसा जस्ता केही जंगली जनावरहरूबाट समेत यस रोगको भाइरस मानिससम्म आइपुगेर रेबिज रोगको समस्या हुने गरेको छ । रेबिजको भाइरस भएको अर्थात् बहुलाहा जनावरले टोकेमा, चिथोरेमा वा हाम्रा छालामा भएका घाउहरूमा त्यस्ता जनावरको ¥याल परेमा, त्यस्तै जनावरहरूको ¥याल हाम्रो मुख, नाक, आँखाजस्ता अंगमा पसेमा रेबिजको भाइरस हामीसम्म आइपुग्छ । तर रेबिजको भाइरस भएका गाई, भैंसीजस्ता जनावरको दूध उमालेर खाएमा मुसाको टोकाइ, पकाएर खाएको मासुबाट रेबिज रोग हुँदैन् भनिन्छ ।

रेबिज रोगको रोकथाममा हामी सबै सचेत र सजग हुनैपर्छ । आजको समयसम्म हामीसँग यो नै निर्विकल्प उपाय हो । यो रोगका भाइरस भएका जनावरले मानिसलाई टोकेको सामान्यतयाः २ देखि ३ महिनामा रोगका लक्षण देखिन्छन् । तर, कसै—कसैलाई एक वर्षमा पनि लक्षण देखिन सक्छ । मानिसलाई टोकेको स्थान, संख्या र घाउको गहिराई, शरीरमा प्रवेश गरेको भाइरसको मात्रा, मानिसको रोग प्रतिरोधात्मक क्षमता, टोक्ने जनावर आदिमा लक्षण चाँडो वा ढिलो देखापर्ने कुरा निर्धारित हुन्छ । यसको भाइरस शरीरमा प्रवेश गरेपछि सुरुमा ज्वरो आउने, घाउ भएको स्थानमा दुख्ने, झम्झमाउने, घोचे, पोलेजस्तो हुने र पछि भाइरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायु नसाहरू सुन्निने हुन्छ । त्यसपछि रेबिज रोगका लक्षणहरू दुई किसिमले प्रकट हुन्छन् । प्रभावित व्यक्तिका क्रियाकलापहरू र व्यवहारहरू अत्यधिक उत्तेजित तरिकाको हुने, पानीदेखि डराउने, हावाको चालबाट तर्सिने र केहि दिनपछि श्वासप्रश्वास र रक्तसञ्चारमा समस्याआई मुत्यु हुन्छ । अर्को बीस प्रतिशतजतिमा पक्षघात किसिमको लक्षण हुन्छ । यसमा उत्तेजित व्यवहार र क्रियाकलापहरू देखिदैंनन् र यो लामो समय रहने खालको हुन्छ र टोकेको स्थानबाट मांसपेशीको चेतना हराउँदै गएर सम्पूर्ण रूपमा पक्षाघात हुने हुन्छ । यो दोस्रो किसिमको रेबिज प्रायः गलत निदान भई यस रोगको तथ्यांकमा गणना समेत नहुने गरेको पाइन्छ ।

यसको रोकथामका लागि जनावरबाट भाइरस मानिसमा आउन नदिनु नै सर्वोत्तम उपाय हो । वैज्ञानिकहरूले कुनै समुदायका सत्तरी प्रतिशत कुकुरलाई खोप लगाएमा त्यस स्थानमा रेबिज रोग नियन्त्रण हुन्छ भनेका छन् । त्यसका लागि पाल्तु जनावरहरूलाई व्यवस्थित तरिकाले पाल्ने तथा जंगली जनावरहरूको सम्पर्कमा नआउने उपाय गर्नुपर्दछ । घरपालुवा कुकुरलाई पशु चिकित्सकको सल्लाहअनुसार समय—समयमा खोप लगाउने र यसको रेकर्ड अद्यावधिक गरी राख्ने । अन्य कुकुरहरूको समुचित खोप लगाउने तथा व्यवस्थापन गर्ने । रेबिज रोग र कुकुरको टोकाइबारे जनचेतना अभिवृद्धि गर्ने, आफ्ना घरपालुवा जनावरहरूलाई घरभित्र र प्रत्यक्ष निगरानीमा राख्ने । त्यस्तै समयमै शंकास्पद कुकुर वा अन्य जनावरहरूको टोकाइपछि टोकेको स्थानलाई कमसेकम १५ मिनेट साबुन पानी, डिटोल, पोभिडिन आयोडिन जस्ता भाइरस मार्ने चिजले राम्ररी सफा गर्ने र नजिकको स्वास्थ्य संस्थामा गएर चिकित्सकको सल्लाहअनुसार रेबिज रोगको खोप लगाउने । जुन खोप नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने गरेको छ ।

यस रोगको कारण हुने मानव मृत्युलाई शुन्य बनाउने र रेबिज रोगलाई निवारण गर्ने विश्वव्यापी लक्ष्य प्राप्त गर्न विभिन्न सामाजिक संघ संस्था, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूजस्ता बहु—निकायहरूको एकिकृत प्रयासले मात्रै सम्भव छ । हाम्रा सरकारी कार्यक्रमहरू यस रोगको खोप र उपचारको उपलब्धता सुनिश्चित गराई सन् २०३० सम्ममा यस रोगका कारणले हुने मानव मृत्युलाई शून्य गर्ने लक्ष्य हासिल गरी रेबिज रोग निवारण गर्नेमा केन्द्रित रहेका छन् । जुन लक्ष्य प्राप्तिमा सरोकारवाला बहु—निकायहरूले रेबिजबारे जनचेतना फैलाउने र अमूल्य जीवन बचाउने काम गरिरहेका छन् । यस्ता विविध क्रियाकलापहरुसँगै मुख्यतः जनावरहरुमा खोपको प्रयोग तथा जनावरले मानिसलाई टोकिहालेमा खोपको समुचित प्रयोग गरी रेबिज निवारण गर्न हामी सबैको ध्यान केन्द्रित हुनु जरुरी छ ।

(अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बहुक्षेत्रीय समन्वय शाखाका उपस्वास्थ्य प्रशासक हुन् ।)

[email protected]


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ