२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचाररक्सी सेवनले पाचन प्रणालीमा हुन सक्ने असर

रक्सी सेवनले पाचन प्रणालीमा हुन सक्ने असर


रक्सी सेवन स्वास्थ्यका दृष्टिकोण सकारात्मक होइन् । थोरै वा धेरै कति रक्सी सेवनले शरीरलाई असर गर्छ भन्ने कुरा पनि एकिन गर्न सकिदैन् । कतिपयलाई थोरै रक्सी सेवन गर्दा पनि असर गरिरहेको हुन्छ भने कतिलाई धेरै सेवनले प्रभाव पारिरहेको हुन्छ । प्रायजसो लामो समयसम्म धेरै रक्सी सेवन गर्दा स्वास्थ्यमा असर गर्छ । कहिलेकाही एकै पटक धेरै रक्सीको सेवनले पनि शरीरलाई असर गर्छ ।

मदिरा सेवनले मस्तिष्कलगायतका शरीरका सबै अंगहरुमा असर गर्छ । कलेजो तथा ग्यास्ट्रो सर्जनको नाताले यसले पाचन प्रणालीमा पार्ने प्रभावहरुका बारेमा केही कुरा गर्न चाहन्छु । रक्सी सेवनपछि रगतको माध्यमबाट अल्कोहल कलेजोमा जान्छ । त्यसलाई कलेजोले मेटाबोलाइज गर्छ । मेटाबोलाइजेसनको माध्यमबाट शरीरबाट अल्कोहललाई फाल्ने काम कलेजोले गर्छ । त्यही प्रक्रियामा त्यसबाट मेटाबोलाइज हुने प्रक्रियामा विभिन्न तरिकाका केमिकलहरु बस्छन् । ती केमिकलहरुले कलेजोलाई असर पु¥याउँछन् । लामो समयसम्म पटक—पटक असर हुने हुँदा त्यसले कलेजोको स्वास्थ्यमा नराम्रो प्रभाव पार्छन् ।

जसमध्ये सिरोसिस एक प्रमुख समस्या हो । जुन लिभर बिग्रिसकेको स्टेज हो । सिरोसिस हुँदा कलेजो बिग्रने, साह्रो भएर बस्ने र गर्नुपर्ने कामहरु गर्न नसक्ने अवस्था हो । नेपालमा कलेजो प्रत्यारोपण गर्न आउने बिरामीहरुमा सिरोसिस कमन कारण हो । सिरोसिस हुने कारणहरु पनि धेरै हुन्छन् । ती धेरै कारणहरुमध्ये रक्सी सेवन प्रमुख कारण हो । सिरोसिस सबैलाई थाहा भएको कलेजोको कमन समस्या हो ।

धेरैलाई थाहा नभएको अर्को कुरा रक्सी सेवनले कलेजोमा सुरुको अवस्थामा बोसोपन बढाइदिने गर्छ । रक्सी सेवनले विस्तारै—विस्तारै ‘फ्याटी लिभर’को समस्या पनि सिर्जना गर्छ । ‘फ्याटी लिभर’को समस्या मोटोपनलगायतका अन्य कारणले पनि हुन्छ तर रक्सी सेवन पनि बोसोपन बढाउँदैं जान्छ । लामो समयपछि त्यही बोसोपनले कलेजो बिगार्दै गएर सिरोसिसको स्टेजमा पु¥याउँछ ।

कहिलेकाही रक्सी सेवनले तत्कालै पनि समस्याहरु सिर्जना गर्न सक्छ । भाइरल हेपाटाइटिस, जण्डिस भएर खान मन नलाग्नेजस्ता समस्या पनि कहिलेकाही भइदिन सक्छन् । यो समस्या लिएर पनि बिरामीहरु आइरहेका हुन्छन् । बारम्बार हेपाटाइटिसको समस्या हुँदै गएपछि कालान्तरमा सिरोसिस हुने खतरा पनि रहन्छ ।

सिरोसिसको अवस्थामा गइसकेपछि देखिने अर्को डरलाग्दो समस्या भनेको कलेजोको क्यान्सर हो । ९० प्रतिशत कलेजोको क्यान्सर सिरोसिस भएका बिरामीमै देखिन्छ । कलेजोको क्यान्सरको प्रमुख कारण पनि लामो समयको रक्सी सेवन हो ।

रक्सी सेवनले प्यानक्रियाजमा पनि असर गर्छ । प्यानक्रियाजले पाँचन प्रणालीलाई सहयोग पु¥याउने साथै ब्लड सुगर नियन्त्रण गर्ने इन्सुलीन पनि उत्पादन गर्छ । प्यानक्रियाज पेटको पछाडिपट्टी बसेको हुन्छ, जुन हाम्रो सानो आन्द्रासँग जोडिएको हुन्छ । प्यानक्रियाजबाट निस्कने डाइजिष्टिक इन्जायमहरु खानामा मिसिएर पाचन प्रणालीमा सहयोग गर्छ । इन्डोक्राइनजस्तो शरीरको महत्वपूर्ण काम पनि यसले गर्छ । रक्सीमा रहेको अल्कोहलले प्रत्यक्षरुपमै प्यानक्रियाजलाई हानी पु¥याउँछ । यसले मुख्यतयाः दुईथरि असर गर्छ । एउटा एक्युट प्यानक्रिटाइटिस जसले एक्कासी पेट दुख्ने, वान्ता हुने र अस्पताल नै आउनुपर्ने अवस्था सिर्जना गर्छ । यति बेस्सरी पेट दुख्छ कि जसलाई नसाबाट औषधि दिएर नियन्त्रण गर्नुपर्छ । यसलाई प्यानक्रियाजको ‘आगलागी’ भनेपनि हुन्छ । हामी कहाँ आउने आधाभन्दा बढी प्यानक्रियाटाइटिसका बिरामीहरुमा रक्सी सेवनका कारण देखिन्छ । कतिलाई एकै पटकमा धेरै रक्सी खाँदा एक्युट प्याक्रियाटाइटिस हुन्छ ।

कुन प्रकारको रक्सी र कति मात्रामा खादा हुन्छ भन्न एकदमै गाह्रो छ । कसैलाई वाइन खाएर हुन्छ, कसैलाई वियर खाएर पनि हुन्छ त कसैलाई कडा रक्सी खाएर पनि हुन्छ । कसैलाई थोरै आएर पनि हुन्छ त कसैलाई धेरै खाएर पनि हुन्छ । ठ्याक्कै यसरी हुन्छ भन्ने गाह्रो छ । प्यानक्रियाटाइटिस भइसकेपछि ८० प्रतिशत जना बिरामीलाई ४—५ दिन अस्पतालमा राखेर उपचार गर्दा ठीक हुन्छ । तर, १५ देखि २० प्रतिशतमा रक्सी सेवन वा अन्य कारणले भएको प्याक्रियाटाइटिस गम्भीर खालको हुन्छ । जसमध्ये केहीको अस्पताल बनाइ लामो हुने, शल्यक्रिया गर्नुपर्ने हुन सक्छ । केही मान्छेहरुको यसबाट मृत्यु पनि हुन सक्छ । त्यसकारण एक्युट प्यानक्रियाटाइटिस पनि रक्सी सेवनका कारण हुने स्वास्थ्य समस्या हो ।

अर्को, क्रोनिक प्यानक्रियाटाइटिस हुन हुन सक्छ । लामो समयको रक्सी सेवनपछि हुने क्रोनिक प्यानक्रियाटाइटिसमा प्यानक्रियाज सानो हुने, खुम्चिने, साह्रोपन हुँदै जाने, इन्जायम प्रडक्सन र ब्लड सुगर नियन्त्रणका लागि गर्ने काम कम हुँदै जान्छ । क्रोनिक प्यानक्रियाटाइटिस हुँदा बिरामीलाई दुख्छ । लामो समयसम्म पेट दुखिरहने, पाचन प्रणालीमा असर पर्ने, कहिलेकाही डाइबटिज देखिन सक्नेजस्ता समस्या हुन्छन् । ९० प्रतिशतमा दुखाइको समस्या हुन्छ । जीआई सर्जनहरुले गर्ने शल्यक्रियाहरुमध्येमा क्रोनिक प्यानक्रियाटाइटिसको शल्यक्रिया पनि मुख्य हो ।

लामो समयको रक्सी सेवनले जसरी कलेजोमा सेरोसिस गराएर क्यान्सर हुने सम्भावना हुन्छ, त्यसरी नै प्यानक्रियाजमा पनि क्रोनिक प्यानक्रियाटाइटिस गराएर प्यानक्रियाजको क्यान्सर हुन सक्ने सम्भावना पनि बढी रहन्छ । लामो समय रक्सी सेवन गरिरहेका व्यक्ति जसमा क्रोनिक प्यानक्रियाटाइटिस देखियो, उनीहरुमा प्यानक्रियाजको क्यान्सर हुने सम्भावना पनि उत्तिकै हुन्छ । प्यानक्रियाजको क्यान्सर हामीले देखिरहेका क्यान्सरहरुमध्ये सबैभन्दा खतरानाक क्यान्सर हो । जसमध्ये धेरैजसो हामी कहाँ आइपुग्दा शल्यक्रिया गर्न नसकिने चरणमा आइपुगेका हुन्छन् ।

यसबाहेक पाचननली र आमाशयका तहहरुलाई पनि रक्सीले ड्यामेज गर्छ । जसका कारण ग्यास्ट्रिक, इसोफिजाइटिस, कहिलेकाही खाना मुखतिर उक्लेकोजस्तो हुने, पेट पोलिरहने, ढुस्स हुने, रिफलक्स डिजिज (नली र आमाशयबीचको स्प्रीङटरजस्तो भाग)लाई खुकुलो बनाइदिने हुनाले खानामाथि आउने, वान्ता हुने, वाकवाक लाग्ने हुनेजस्ता समस्याहरु देखिन्छन् । लामो वा छोटो समय जस्तोसुकै रक्सी सेवनले पनि यी समस्या सिर्जना गर्छ ।

रक्सी सेवनले सानो आन्द्रा र ठूलो आन्द्रामा पनि असर गर्न सक्छ । पेट र आन्द्राको म्युकोसा लेयर ड्यामेज गर्छ । आन्द्राका अरु भागलाई पनि ड्यामेज गर्न सक्छ । पाचन प्रणालीमा पनि यसले समस्या गर्न सक्छ । यो समस्या धेरैमा देखिदैन् । तर, लामो समय रक्सी सेवन गर्नेहरुमा यो समस्या पनि देखिन सक्छ । अर्को महत्वपूर्ण कुरा लामो समयको रक्सी सेवनले कलेजोको क्यान्सर र प्यानक्रियाजको क्यान्सर हुन सक्ने सम्भावना हुन सक्छ । इसोफ्यागस, स्टोमक, ठूलो आन्द्राको क्यान्सरहरु लामो समयमा गएर हुन्छ, त्यसमा एउटा सम्भावित कारण यो पनि हो । यस्ता क्यान्सरहरु हुने विविध कारणमध्ये लामो समय अल्कोहल सेवन पनि एउटा कारण हो । क्यान्सर हुने सम्भावना रहेको व्यक्तिले निरन्तर अल्कोहल सेवन गर्दा त्यो रिस्कलाई अझ बढाइदिन्छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार
ट्याग : #कलेजो, #कलेजोको क्यान्सर, #जण्डिस, #पाँचन प्रणाली, #प्यानक्रियाज, #फ्याटी लिभर, #भाइरल हेपाटाइटिस, #रक्सी सेवन, #सिरोसिस


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ