२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारभिडियो स्टोरी : एमबीबीएस इन्ट्रान्स टपर सुजल क्यान्सर रोग विशेषज्ञ बन्न चाहन्छन्

भिडियो स्टोरी : एमबीबीएस इन्ट्रान्स टपर सुजल क्यान्सर रोग विशेषज्ञ बन्न चाहन्छन्

जसले सरकारी स्कुलबाटै एसईईमा ४ जीपीए ल्याएका थिए


काठमाडौं— चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको इन्ट्रान्स १७ हजार बढी विद्यार्थीले दिएका थिए । जसमध्ये ८ हजार ७ सय ४७ मेधावी विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गरे । पहिलो पटक पर्सेन्टाइलमा निकालिएको रिजल्टमा तिनै मेधावी विद्यार्थीहरुमा सबैभन्दा सर्वोत्कृष्ट भए—स्याङजा आधीखोला गाउँपालिकाका १८ वर्षीय सुजल पौडेल । २ सय पूर्णांकमा १८०.७५ अंकसहित प्राप्त गरेर सर्वोत्कृष्ट भएका हुन्, उनी ।

बुधबार विहान झिसमिसेमै एमबीबीएसको इन्ट्रान्सको रिजल्ट हुँदा उनी निद्राबाट ब्युझिसकेका थिएनन् । उनको मोबाइलमा विहान ६ बजेतिर बजेको रिङटोनसँगै उनी ब्युझिए । ‘एकजना सरले विहान नै फोन गर्नुभयो,’ बुधबार मध्यान्ह हेल्थआवाजसँगको कुराकानीमा उनले भने ।
‘सुजल पौडेल हो ?,’ ती सरले भने ।
अर्धनिन्द्रामै उनले उत्तर दिए, ‘हजुर । म बोल्दैछु ।’
‘तिमीले एमबीबीएस इन्ट्रान्स टप गर्यौं ।,’ ती सरले भने ।
यतिन्जेल उनले रिजल्ट नै हेरेका थिएनन् । उनी आश्चर्यचकित हुँदै सोधे, ‘हो र सर ?’

त्यो खबरमा उनलाई पूर्णतयाः पत्यार लागेन् । हतपत उठे । आफैले रिजल्ट हेरे, त्यसपछि बल्ल पूर्ण रुपमा कन्फर्म भए । स्वभाविक रुपमा यसले उनलाई अथाह खुसी दियो । ‘त्यसपछि एकदमै खुसी लाग्यो । टप नै गर्छु भन्ने लागेको थिएन्,’ उनले भने, ‘राम्रो नम्बर ल्याएर राम्रै ¥यांकमा नाम निस्किन्छ भन्ने लागेको थियो ।’

स्याङ्जा आँधीखोला गाउँपालिको मध्यवर्गीय परिवारमा वि.सं. २०६० सालमा जन्मिएका हुन्, सुजल । उनका बुवा रामनाथ उपाध्याय शर्मा सरकारी सेवामा छन् भने आमा दिलरुपी घरायसी काममै संलग्न छन् । सर्वोच्च अदालतका अधिकृत रामनाथ र दिलरुपीका एक छोरी र एक छोरामध्ये सुजल कान्छा हुन् ।

मध्यमवर्गीय परिवारमा जन्मिएका उनको प्रारम्भिक शिक्षा स्थानीय बोर्डिङबाट अगाडि बढेको हो । उनले स्याङ्जाकै श्री ज्योति अवासीय माध्यमिक विद्यालयमा कक्षा ७ सम्म अध्ययन पूरा गरे । त्यसपछि उनी थप पढाइका लागि पोखरा आए ।

पोखराको सरकारी स्कुल अमरसिंह माविमा कक्षा ८ मा भर्ना भए । त्यहीबाट वि.सं. २०७५ सालमा सुजलले एसईई दिएका हुन् । पढाइमा सानैदेखि अब्बल र तीक्ष्ण वुद्धि भएका उनले एसएलसीमा पनि ४ जीपिए ल्याएर टप गरेको गरेका थिए । ‘मेरो एसईई सरकारी स्कुलबाट हो,’ उनले भने, ‘एसईईमा पनि मैले ४ जीपीए ल्याएर टप गरेको थिए ।’

स्कुल जीवनमा उनलाई गणित र विज्ञान विषय बढी मन पथ्र्यो । गणित र विज्ञान विषयमै मनपर्ने सुजल स्कुल जीवनदेखिनै भविष्यमा डाक्टर बन्ने सपना देख्न थालेका थिए । त्यही कारण उच्च शिक्षाका लागि उनी काठमाडौं आए । काठमाडौंको उत्कृष्ट माविहरुमा गरिने सेन्ट जेभियर्समा कक्षा ११ र १२ अध्ययनका लागि इन्ट्रान्स दिए ।

भनिन्छ, हुने विरुवाको चिल्लो पात उनले सेन्ट जेभियर्सको इन्ट्रान्समा सहजै नाम निकाले । त्यसपछि उनी सेन्ट जेभियर्समा बायोलोजी लिएर प्लस टु अध्ययन गर्न थाले । वि.सं. ०७८ मा उनले ३.७९ जीपीए ल्याएर प्लस टु उत्तीर्ण गरे । त्यसपछि उनी एमबीबीएसको इन्ट्रान्स केन्द्रीत भएर पढ्न थाले ।

‘आफ्नै सेल्फ स्टडी पनि थियो । पढ्ने त आफैले नै हो । किताब र मोडलहरु पढ्ने हो,’ उनले एमबीबीएस तयारीबारे भने, ‘मैले पनि मेहनत गरिरहेको थिए ।’ उनले इन्ट्रान्सकै लागि भनेर पुतलीसडकस्थित भाइब्रेन्टमा इन्ट्रान्स प्रिपरेसन क्लास पनि ज्वाइन गरेका थिए ।

घोक्कनते शिक्षाले मात्रै टप गर्न सकिदैन् भन्ने उदाहरण सुजल पनि हुन् । उनले एमबीबीएस इन्ट्रान्सको तयारीका लागि भनेर कुनै छुट्टै टाइम छुटाएका थिएनन् । त्यसो भए इन्ट्रान्स टप गर्ने फर्मुला के हो त ? ‘फर्मुला त्यस्तो केही पनि हुँदैन्, पढ्ने बेलामा आफूले पढ्ने त्यही हो । सबैको पढ्ने तरिका त्यही हो,’ यी एमबीबीएस इन्ट्रान्स टपर सुनाउँछन्, ‘मेहनत कति गर्नुहुन्छ ? हार्ड वर्क कति गर्नुहुन्छ ? स्मार्ट वर्क कति गर्नुहुन्छ ? टप गर्ने छुट्टै फर्मुला केही हुँदैन् ।’

यी टपर भविष्यमा क्यान्सर रोग विशेषज्ञ बन्न चाहन्छन् । ‘मलाई सर्जिकल डाक्टरभन्दा पनि क्यान्सर रोगमा विशेषज्ञता हासिल गरेर रिसर्चर बन्ने मन छ,’ सुजल भविष्यको योजना सुनाउँछन्, ‘मलाई मेडिकलको रिसर्च क्षेत्रमा जान मन छ । क्यान्सरको रिसर्चमा मलाई बढी इन्ट्रेष्ट छ ।’

एमबीबीएस पढ्ने सपना बुनेर तयारी गरिरहेका सयौं विद्यार्थीहरुलाई उनी मेहनत गर्न सुझाव दिन्छन् । ‘सबैको नाम निस्कियोस भन्ने शुभकामना भन्न चाहन्छु,’ उनले भने, ‘तपाई सोचेको पूरा होस् ।’ सफलता र असफलता एकै सिक्का दुई पाटा भएकाले नाम ननिस्कनेलाई हतास र निराश नहुन उनको सुझाव छ । ‘एमबीबीएस मात्रै करिअर अपरचुनिटी होइन्, अरु थुप्रै करिअर अपरचुनिटीजहरु छन्,’ उनको सुझाव छ, ‘एमबीबीएस नै गर्नुछ भने पनि एक वर्ष वा ६ महिनामा पुनः परीक्षा हुन्छ, राम्रो गर्नुहोस् । धेरै आत्तिनुपर्ने केही छैन् अझै मेहनत गर्नुहोस् ।’

पढाइबाहेक उनलाई नेपाली साहित्यकारका उपन्यास मनपर्छन् । कहिलेकाही उनी अंग्रेजी उपन्यास पनि पढिरहेका हुन्छन् । चेसलगायतका इन्डोर गेमहरु पनि उनको रोजाइमा पर्छन् । पढ्न मन लाग्छ। इन्डोर गेम मनपर्छ।




क्याटेगोरी : अन्तर्वार्ता / विचार
ट्याग : #एमबीबीएस इन्ट्रान्स टपर, #क्यान्सर रोग विशेषज्ञ, #चिकित्सा शिक्षा आयोगले, #सर्वोच्च अदालत, #सुजल पौडेल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ