२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकोभिड उपचारमा खटिरहेका चिकित्सक श्रीमान गुमाएकी बहिनीका नाममा…

कोभिड उपचारमा खटिरहेका चिकित्सक श्रीमान गुमाएकी बहिनीका नाममा…


प्रिय बहिनी हसिना,

केही हो जस्तो पनि केही होइन जस्तो पनि, जीवन छ जस्तो पनि छैन जस्तो पनि, खै यो कस्तो विरोधाभाष, थाहा छैन कहाँ बाट शुरू गरौं यो मनोदशा, कुन कोणबाट हेरौ जिन्दगीको भाष्य ।

लोकसेवा पास भएपछि मेरो पदस्थापना लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो र हाम्रो भेट त्यहि भयो। हामी बस्ने आवास भवनमा म माथि तिमी तल‌ । अनि म‌ बिरामी हुँदा तिमी, तिमी बिरामी हुँदा म हामी बीचको सम्बन्ध चिकित्सकभन्दा पनि दिदी बहिनीजस्तो कहिले भयो थाहा भएन। हामी आफ्नो काम‌ कर्तव्यप्रति अलि बढी नै गम्भीर ‌हुने हुँदा कामको सिलसिलामा अझ बढी मिल्ने भयौ ।

त्यो बेला न तिमी ‌न‌ मैंले कल्पना गरेका थियौं कि आज हामी यो अवस्थामा हुन्छौ र हामी ले यति सम्म भोग्नु पर्छ । कति रमाइला थिए‌ ती दिनहरु। एकदम याद आउँछ ती दिन अनि तिम्रो याद एकदम आउँछ र कहिलेकाही एकदम पीडाबोध हुन्छ।

भोग्‍नु परे पनि जस्तो सुकै पीडा, जीवन रहेसम्म जीउनु नै पर्ने, ‌आफ्नो जिम्मेवारी पनि बहन गर्नु नै पर्ने ।

२०७५ साल चैत १० गते मैले तिम्रो भिनाजु गुमाएपछि शुरु भएको मेरो एकल जीवन यात्रा कहिल्यै सहज भएन।  तिम्रो भिनाजु गुमाएपछि ७ वर्षको छोरा आरभ र २२ महिनाकी छोरी आरभी छन् काखमा, जताततै अन्धकारमय नै लाग्यो। एक वर्ष त मैले आफूलाई सम्हाल्न नै सकिन‌ । अहिले पनि बेला‌बेलामा‌ विथोलिन्छु, छचल्कन्छु । छोरी मान्छेलाई माइतीको साथ नभए हाम्रो ‌जस्तो पुरुष प्रधान समाजमा सार्है नै गाह्रो हुँदो‌ रहेछ। सायद यस्तै गाह्रो भएर होला आमा र बच्चासहितका आत्महत्याका‌ घटनाहरु सुनिने ।

भिनाजु गुमाएपछि तिमी अनि तिम्रो श्रीमान डा. पशुपति रिजोरियाले दिएको साथ ‌सहयोग म जीवनमा‌ कहिल्यै बिर्सिने छैन। म जीवनभर तिमीहरुप्रति कृतज्ञ रहिरहने छु। यो पुरुष प्रधान समाजमा हामी काम गर्ने महिलालाई हेर्न दृष्टिकोण र व्यवहार यसै त भिन्‍न हुन्छ, अझ फरक छ हामी ‌जस्तो एकल महिलाले सामाजिक र व्यवहारिक रुपमा‌ सहनु पर्ने अनेकन प्रताडनाहरु ।

तिमीले भनेको कुरा जति बेला नि कानमा घुमिरहन्छ ‘दिदी डा. पशुपति हुँदा तिनै मानिसहरूले गर्ने व्यवहार र अहिले गर्ने व्यवहारमा कति फरक हुँदो रहेछ ।’

एउटा मान्छे नहुँदैमा‌ यतिसम्म भोग्‍नुपर्दो रहेछ। मलाई पनि कोभिड भयो उहाँलाई पनि। म बाँचे उहाँ जानुभयो। उहाँको ठाउँमा म‌ जानुपर्ने वा हामी दुवै सँगै गएको भए हुने भन्दा म तिमीलाई ‌ सम्झाउनै सक्दिन । तिमीलाई भौतिक रुपमा यो एक वर्षमा‌ एक पटक मात्र भेट्न पाए।

फोनमा हामी धेरै रोएका छौ र पटक पटक हामी गार्हो हुँदा एक अर्काको पिडा साटेर धेरै पटक रोएका छौं पनि ।

कोभिडबाट ज्यान गुमाएका डा. पशुपति रिजोरिया

२०७८ जेठ २० गते गोरखा अस्पतालमामा मेडिकल सुपरिटेन्डेन्ट रुपमा‌ कार्यरत थिएँ ।

गोरखा, नेपाल हुँदै सिङ्गो विश्‍व नै कोभिडको दोस्रो लहरले आक्रान्त भएको अवस्था थियो। गोरखाका बारपाक, लाप्राकलगायत विभिन्न ठाउँमा कोभिडको आउटब्रेक भएकोले हामी ‌गोरखाको जिल्ला प्रशासन कार्यालयमा सुरक्षा टोलीसहितको‌ बैठकमा सहभागी भइरहेका थियौं । एक जना वीर अस्पतालमा कार्यरत डाक्टर साबको फोन आयो।

तिमी र म सधैँ फोन सम्पर्कमा‌ नै थियौं। तिमीसँग कुरा नभएको दुई दिन भएको थियो। सुधारका लक्षणहरु देखिएको थियो। लामो समयदेखि भेन्टिलेटर मेसिनमा भएकोले tracheostomy गरिसकिएको थियो।अरु समयजस्तो भएको भए म निश्चय नै तिमीलाई भेट्न आउने थिए। अस्पतालमा बेड अभाव र देशैभरि अक्सिजन व्यवस्थापनमा चुनौती भएको बेला थियो।

त्यो बहिनीको‌ फोनले म स्तब्ध भए। दिदी डा. पशुपति रहनु भएन। मैंले तिमीलाई र डाक्टर पशुपतिलाई हरदम साथ दिइरहनुभएको डा. तारालाई फोन गरे तर उठेन । सामाजिक सञ्‍जाल खोल्न हिम्मत आएन। एकछिन पछि डा. तारासँग कुरा भयो। मलाई त्यही बैठकमै मै सहन गार्हो भयो। सिडिओ सरलाई म एकछिन उता साइडमा मा बस्छु भनेँ । उहाँ कोभिड—१९ संक्रमितको जीवन बचाउने क्रममा आफै संक्रमित भएर जीवन गुमाउनुभयो । सायद, यो भन्दा ठूलो धर्म संसारमा केही छैन ।

मलाई हरेक पटक अप्ठ्यारो पर्दा सहयोग गर्ने भिनाजु गुमाएपछि, घरमा जे नयाँ खानेकुरा पाक्दा पनि दिदीलाई मन पर्छ भन्दै ल्याइदिने। क्याम्पमा जाँदा मलाई एक्लोपन नहोस भनेर जाउँ दिदी भन्दै सँगै लैजाने मान्छे । अनि उहाँ गएपछि घर व्यवहार र उहाँको‌ व्यवसाय मिलाउन त्यति धेरै सहयोग गरेको मान्छे आज यो दुनियाँमा छैन भन्दा मलाई परेको पीडा शब्दमा कहाँ वर्णन गर्न सकिन्छ र ।

डेढ वर्ष अगाडि विवाह गरेर नयाँ जीवन भर्खरै सुरु गरेको तिमीलाई के भएको होला ? म कल्पना पनि गर्न सक्दिनँ। सम्झिएर अहिले पनि जीउ काम्छ, शरीर शिथिल हुन्छ। साँच्चिकै व्यवहारमा पनि सम्पुर्ण जिल्लाको अभिभावक को भुमिका निभाउनु भएको सिडिओ सरले मेरो अवस्था देखेर २ दिनपछि तिमीलाई‌ एक पटक गएर भेट्ने अनुमति दिनुभयो। जिल्लामा बस्दा उहाँले निभाउनुभएको अभिभावकत्व र त्यो बेला‌ अस्पताल अनि साथ दिनुभएका मुख्यमन्त्री कार्यालय, मुख्यमन्त्री, सचिव सर, मेडमहरू, सामाजिक विकास मन्त्रालय,  मन्त्री अनि सचिव सर, विभिन्न राजनीतिक दल, सुरक्षा प्रमुखलगायत अस्पतालमा संकटको बेला साथ सहयोग दिने गोरखा फाउण्डेसनलगायतका संस्थाहरूले त्यो बेला दिनु भएको साथ म जीवनभर बिर्सिने छैन ।

त्यो बेला तिमीले भनेका कुरा सम्झिदा अहिले पनि छाती चिरिन्छ । फोनमा पनि बेला बेला मा ‘दिदी हजुरसँग त भिनाजुको उपहार बाबु नानी छन्, नानी त झन् भिनाजु जस्तै भिनाजु कहाँ जानुभयो भन्न पर्दैन, म कस्का लागि र के को लागि बाँच्‍ने ! जिन्दगीमा यस्तो पनि हुँदो रहेछ’ म तिमिलाई सम्झाउनै सक्दिनँ।

तिम्रो भिनाजुले हामिलाइ छाडेर गएको नि तीन वर्ष भयो र डाक्टर पशुपतिले‌ हामीलाई छाडेर गएको एक वर्ष। बुटवल लुम्बिनी प्रादेशिक अस्पताल, भरतपुर अस्पताल , भरतपुर अस्थायी कोरोना अस्पताल, गोरखा अस्पताल हुँदै हाल रसुवा अस्पताल आउँदासम्मको यात्रामा मैले भोगेका व्यवहार अनि अनुभवले धेरै सिकायो। तिम्रो र मेरो भोगाइ र पीडा एउटै छन् बहिनी।

यो समयले देशको अवस्था बुझ्ने अवसर पनि दियो।

हामीलाई तिम्रो भिनाजुको डा.पशुपतिको कमी सधै हुन्छ। विशेष त छोरी आरभीका प्रश्नको जवाफ हुँदैन मसँग। “पापा कहिले आउनुहुन्छ, पापाले किन फोन गर्नु हुन्‍न? पापालाई भेट्न जाउँन’ जस्ता उसका अबोध प्रश्‍नहरूको जवाफ हुँदैन मसँग । उसलाई बुझाउन खोज्दा आफैं भकानिन्छु ।
सायद समय जति बलवान केही हुँदैन। समयले नै मलाई, तिमीलाई अनि छोरी आरभीलाई बुझाउने छ।

तिम्रो भिनाजु भएको भए निश्‍चय नै म आज जहाँ छु त्यहाँ र तिमी अहिले को अवस्थामा‌ हुने थिएनौ।

एक्लो जीवन जीउन सजिलो छैन । यहाँ काम मूल्याङ्कन हुँदैन । नियम‌ र कानुन पनि सिधा र नियममा बस्‍नेलाई मात्र हो । जता पनि राम्रो भन्दा हाम्रो मान्छे हावी भएको अवस्था छ। स्वास्थ्यको त कुरा नै नगरौ। एक वर्ष हुँदा पनि तिमीले आफ्नो लोग्‍नेको‌ उपचारमा लागेको पैसा तिरेर सकेकी छैनौ। न डा.पशुपति रहनुभयो न तिमी त्यो ॠणबाट मुक्त भएकी छौं। आफूलाई सम्हाल्नै पर्छ बहिनी । स्वास्थ्य र शिक्षामा जबसम्म सहज र सरल पहुँच हुँदैन र सरकारको यो मुख्य प्राथमिकतामा‌ पर्दैन तब सम्म देशले निकास पाउन गाह्रो छ।

भौतिक पूर्वाधार, जनशक्ति र उपकरणको उचित व्यवस्थापन गर्न सके मात्र सरल र सहज रुपमा सेवा जनता सम्म पुग्न सक्छ भनेर सबैलाई थाहा छ तर यहाँ भौतिक पूर्वाधार भएका ठाउँमा जनशक्ति छैन भएका औजार, उपकरण थन्किएका छन् । कतै जनशक्ति छ तर भौतिक पूर्वाधार छैन। स्वास्थ्य जस्तो संवेदनशील ठाउँमा कतै जनशक्ति अभाव, कतै पूर्वाधार अभाव, कतै उपकरण अनि जनताले अपेक्षा गरे अनुसारको सेवा प्रवाह गर्न कसरी सम्भव हुन्छ। पटक पटक सुनिने स्वास्थ्यकर्मी कुटिने अस्पताल तोडफोडका घटनाले हाम्रो समाज कता तिर गइरहेको छ छक्क लाग्छ। हामी कति अराजक, अनुशासन हराइरहेको, मानवता मर्दै गएको वर्तमानमा छौं । हामी स्वास्थ्यकर्मीहरूले न कहिल्यै विदा न त कहिल्यै परिवारसँग बस्न पाउनु छ, न हामीलाई बिरामीलाई‌ नराम्रो गर्छु भन्ने हुन्छ । हामीले उपचार गरेको बिरामीलाई ‌ कुनै भवितव्य पर्दा हामीलाई‌ पनि नरमाइलो लाग्छ ।

तर, हामीले आफूलाई सम्हाल्दै, आफ्ना भावना लुकाउँदै काम गर्नुपर्छ। यो समाज अनि यो समाजका अंग सायद हामी ‌पनि‌ हौं। यहि समाजले बाध्य बनाएर एउटा चिकित्सकले‌ आत्महत्या गरेका समाचार प्रकाशित हुँदा विरक्त लाग्छ।

घर परिवार बच्चा सब छाडेर यसरी खटिरहँदा यहाँ काम गर्ने को कुनै मूल्याङ्कन हुँदैन।

काम गर्ने मान्छे आफ्नो काम‌, कर्तव्य र दायित्वले‌ बाँधिएको ‌हुन्छ । उस्को जिम्मेवारी बहन गर्दै आएको हुन्छ। तर, बिडम्बना जो कहिल्यै कार्यालयमा‌ बस्दैन, जो सधैँ चाप्लुसी र अरुलाई बदनाम‌ गरेर राम्रो हुन खोज्छ त्यही ‌मान्छेका‌ कुरा सुनिन्छ अनि जिम्मेवार निकायमा‌ बस्‍ने मान्छेले आधिकारिकता के हो भन्ने बुझ्‍न पट्टी नलागेर हल्लाको पछाडि दगुर्ने समस्या छ ।

लेखा प्रशासनतिर चाहि हालसम्म उहाँहरूले आफ्नो अस्तित्व जोगाइरहनु भएको जस्तो हुन्छ। बिशेष त स्वास्थ्य र शिक्षाको अवस्था ‌हेर्दा दिक्क लाग्छ। औपचारिक अध्ययन र शिक्षाले‌ मात्र मान्छे शिक्षित हुँदो‌ रहेनछ। पढेलेखेको र जिम्मेवार पदमा बसेका लाई सम्झाउन झनै गाह्रो ।

काम गर्न खोज्नेले काम गर्नै नसकिने भैसक्यो। जागिर पनि निल्नु न ओकल्नु भएको छ। तलबले परिवार पाल्न त्यस्तै हो हामी जस्तो मान्छेले केही गरौँ र आर्थिक उपार्जन पनि गरौं भन्दा प्रशासनिक नियममा बसेर काम गर्न नै नसकिने भैसक्यो।

सबैभन्दा अच्चमको कुरा त बहिनी, कि आफू केहि गर्नु कि अरूलाई गर्न दिनु। गर्ने को पनि खुटा तानेर हैरान । खुल्ला नखुलाउने किन ? कि नयाँ युवाले अवसर नपाउने हो, किन स्वास्थ्यमा‌ मात्र बन्द सबै तिर बन्द हुने होला नि? सबै बुढाखाडाले मात्र बनाएका नीतिले कसरी हुन्छ देश विकास? यस्तै छ बहिनी यहाँ । हामीले आफ्नो तर्फबाट प्रयास गर्नुपर्छ।

जीवन रहे सम्म समस्या । समस्यालाई समाधान गर्दै अगाडि बढ्न सिक्नु पर्छ।

तिम्रो भिनाजु अनि डा. पशुपति सधैँ हाम्रो मन मस्तिष्कमा रहिरहनु हुनेछ। मानिसले गर्ने व्यवहारलाई‌ मतलब नगर। तिनिहरुका‌ कारण आफूलाई दुःखी बनाउने होइन्। हामी दुःखी भए‌ उहाँहरुको आत्माले शान्ति पाउँदैन्। उहाँको लागि पनि हामी खुसी हुनुपर्छ । आज परेको एक वर्षको‌ वार्षिकीमा आउन सकिन बहिनी। छिट्टै भेट्ने छु ।

धेरै माया अनि आर्शिवाद तिमीलाई ।

(वरिष्ठ एनेस्थेसियोलोजिष्ट डा. शान्ति वाणगंगा—११ कपिलवस्तुकी हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ