२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारनारा र भेलामा मात्रै सिमित नहोस् यसपटकको ट्रेड युनियनको अधिवेशन

नारा र भेलामा मात्रै सिमित नहोस् यसपटकको ट्रेड युनियनको अधिवेशन


लामो समयको अन्तराल पश्चात म पून: ट्रेड युनियन महासंघसँग जोडिन आइपुगेको छु। यात्रा सहज नहोला तर, पनि जोखिम उठाउन कुनै कसर बाँकी नराखी अघि बढेको छु । जसको प्रमुख कारण नर्सिङ पेशाकर्मी बहुआयामबाट चरम रुपमा विविध प्रकारको शोषणमा पर्नु नै हो।

नेपाल नर्सिङ संघको एक अवधि केन्द्रीय सदस्य हुँदै अहिलेको मेरो लागि दोश्रो अवधिको वरिष्ठ उपाध्यक्षको अन्तिम अन्तिम कार्य अवधि(पौष मसान्त)सम्म कार्यरत रहनेछु । पहिलो केन्द्रीय सदस्य हुँदा धेरै नै सामूहिक रुपमा कार्य गर्न सफल भएता पनि त्यसमा निरन्तरता र थप न्याय दिलाउन सकिएन। लगभग शत प्रतिशत महिला त्यो पनि अति व्यस्त पेशा, कार्य सम्पादनको हिसाबले अब्बल, अपरिहार्य यो पेशा भएता पनि अन्य विविध कारणले राज्यले नै अति पछि पारिनुको साथै, स्वास्थ्य सेवा सामूहिक रुपमा पूर्णता आधारमा प्रवाह गर्ने हुँदा हुँदै पनि त्यही समूहमा समकक्षी वर्गले नै अवमूल्यन गरिने भएको आदि प्रमुख कारणले यस ट्रेड युनियनको एउटा घटक स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको सामाजिक सुरक्षा तथा शिक्षा हेर्ने सचिवको रुपमा सर्व सहमतिबाट गत जेठ २१ गतेदेखि चौथो अधिवेशनले थपिएको कार्यभार सम्हालिरहेको  छु।

अधिवेशन नारा र भेला मात्रामा सीमित नहोस्

ट्रेड युनियन महासंघ आठौं महाधिवेशनको नारा र भेला मात्रामा सीमित नहोस् । समाजिक न्याय पूर्ण रुपमा दिलाउन दृढताका साथ एक भई अगाडि बढ्न सफल होऊन्। नारा अति सान्दर्भिक समय सुहाउँदो छ ‘श्रमजिवी वर्गको सम्मान र समृद्धिको लागि सुदृढ एवम परिपूर्ण लोकतन्त्र।’

श्रमजीवी दुई प्रकारका छन् । एउटा आफ्नो कार्यमा पुरै शारीरिक श्रम खर्च गर्ने अर्को पुरै मानसिक यानिकी बौद्धिक खर्च गर्ने। केही हदमा यस ट्रेड युनियन महासंघले पहिलो खेमाका वर्गलाई सम्वोधन गरिएको छ। तर, दोश्रो खेमालाई समेट्न सकिएको छैन। दोश्रो खेमा विविध रुपमा विभाजित भएको छ। साथै, त्यसैको केही विकराल असर पहिलो खेमामा पर्न गएको छ। त्यसैले, यस ट्रेड युनियन महासंघले यो अधिवेशनमा आफुलाई सच्याउँदै दोश्रो खेमालाई पनि समेट्ने प्रयास गरुन भन्ने मेरो चाहाना छ।

कारण, नीति निर्माण र त्यसलाई कार्यान्वयन गर्ने तहमा पहिलो खेमा हुँदै दोश्रो खेमामा रहेकाहरुलाई समेट्नसके मात्र यस ट्रेड युनियन महासंघले लिएको उद्देश्य प्राप्त गर्न सकिने छ। मैले अध्यक्ष जस्तो पदमा आसिन व्यक्ति दूर दृष्टि भएको, स्पष्ट नीति नियम निर्माण गर्न सक्ने, लोकतान्त्रिक पद्धतिमा लागू गराउने सक्ने खुबी भएको हुनु पर्दछ भन्न खोजेको हुँ। अध्यक्षको पदमा आसिन भए पछि कसैलाई मान्छे नगन्ने, माथिका मान्छे त्यो पनि जसले त्यो पद दिलायो उनीहरुको कुरा मात्र सुन्ने, त्यही लाद्न चाहने व्यक्तिबाट महासंघले अबको दिनमा उपलब्धिमूलक, सामाजिक न्यायमा निरन्तरता दिन सकिंदैन।

अझ अहिलेको विषम परिवेश, राजनीति पार्टी र नेता प्रति व्यापक वितृष्णा सुझबुझ साथ फैलाइरहेको बेला छ । विवादित नागरिक विधेयक पास गराइएको, परमादेशबाट अन्य राज्यको हितको लागि सहज( Comfortable government) स्वघोषित सरकार सत्तामा रहेको बेला ठूलो चुनौती र साहसका साथ यस ट्रेड युनियन महासंघका नेतृत्व तहले सामना गर्दै यो महाअधिवेशन हुँदैछ । त्यसैले, म व्यक्तिगत साथै वरिष्ठ उपाध्यक्ष हैसियत लगायत सम्पूर्ण नेपाल नर्सिङ संघसमूहतर्फबाट यस अधिवेशनको पूर्ण सफलताको कामना गर्दछु।

संघ/संस्था बढी राजनीतिकरण भएर सुचारु रुपमा सञ्चालन गर्न नसकेको र धेरै धरासायी भए भन्ने आक्षेप साथ पुरै शारीरिक श्रम गर्ने श्रम जिवीवर्गमा अति नीच र दुष्टता आधारित आरोप लाग्नुको साथै गलत सोच नेतृत्व तहमा बढी हावी हुँदै गएको पनि अवगत गराउन चाहन्छु।
यी दुवै वर्गलाई न्यायोचित सम्बोधन हुने नीति नियम यो अधिवेशनले विकास गरुन र यी दुवै वर्गमा बढ्दै गएको दूरीलाई कम गरी समान रूपले अगी बढ्ने नीति निर्माण गर्ने पहल गरुन भन्ने मलाई लाग्छ ।

हिजोआज कुनै पनि सङ्घ संस्थामा कार्यालय सहयोगी, सुरक्षाकर्मी त्यस संस्था अन्तर्गत नराखी आउट सोरसिङ मार्फत राख्ने गरिएको छ। यसलाई शून्यमा झार्नु नै प्रमुख चुनौती हुँदै आएको छ। त्यस्तै, निजी स्कूलका शिक्षक र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु विशेषतः नर्सहरु अति कम वेतनमा कार्यरत हुनु परेको छ। यसबारे कुनै जनवर्गीय संगठनले कार्य गरिएको पाइएको छैन।

यसबारे माननिय गोकर्ण विष्ट श्रम, रोजगार तथा सामाजिक सुरक्षाको मन्त्री हुँदा १८ औं कार्यसमितिका निवर्तमान नर्सिङ सङ्घको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक, राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार, वर्तमान नर्सिङ परिषदका अध्यक्ष लगायत म आफै एउटा टोली गएर कुरो राखेका थियौं। त्यसपछि पून: मलाई त्यस टोलीमा निरन्तरता दिएको पाइएन।

नर्सिङ संघ जस्तै यो ट्रेड युनियन महासंघ श्रम जिविको हकमा निष्पक्ष लड्नेछ भन्ने विश्वास छ। त्यसैले, राष्ट्रिय नर्सिङ सङ्घ, नानको वरिष्ठ उपाध्यक्ष भएर पनि यसको एउटा घटक नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनमा सचिव पद लिएर समन्वयकारी भूमिका खेल्न सक्नेछु भन्ने अठोटको साथ अगि बढ्ने जमर्को गरेको छु। साथै, नेपाल भरी फैलिएर नर्सिङ लगायत अन्य स्वास्थ्य सेवा पेशा अपनाउनु भएको सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई यस संस्थामा आबद्ध हुन आह्वान पनि गर्दछु।

नेपाल नर्सिङ संघ राजनैतिक भातृ संगठनजस्तै भएको आक्षेप

नेपाल नर्सिङ संघले देशव्यापी आन्दोलन हाँक्दा तत्कालीन एमालेको सरकार थियो। कतिले एमालेको भातृ संगठन जस्तै  नेपाल नर्सिङ संघ हो भन्ने आक्षेप लगाउने गर्दथे । त्यसलाई चिर्न काम गर्यौ, नर्सिङ पेशा कर्मीको सामाजिक सुरक्षा र मर्यादित रोजगारको लागि डटेर लाग्यौं।

त्यस्तै, भेरी अस्पतालमा कोभिड-१९ महामारीको बेला स्वास्थ्यकर्मी माथि गरिएको पाशविक हिंशा विरुद्द आन्दोलन हाँक्दा पनि एमालेको कम्युनिस्ट नै सरकार थियो। त्यसको लागि पनि डटेर भिडेको नै हो। यसरी नै श्रमिकहरुको सामाजिक सुरक्षा र मर्यादित रोजगारको लागि कुनै एक पार्टीको अन्धो भक्ति नभएर, सबै पक्षको लागि डटेर लाग्न सक्ने शक्तिको स्रोत जुटाउन यो महाअधिवेशन सफल होस् भन्ने मेरो कामना छ ।

साथै, यो लेख्दा लेख्दै केही कमी कमजोरी पनि केलाउन आवश्यक देखिन्छ जसरी सामाजिक सुरक्षा र शिक्षा हेर्ने निकायलाई यस संगठनले समेट्न नसक्नु एक जंगली, पाखण्डीपनको नमूना हो भन्ने आत्मालोचना गर्न पछि नपरुन साथै आगामी दिनमा यस्तो गल्ती नदोह-याउन।

एक समय बिहान चिया गफमा एक विद्वानले केसम्म भन्न भ्याए भने कार्ल मार्क्सको अचेतन मनमा आर्थिक अभावले हमेसा चिमोटी रह्यो त्यसैले, श्रमिक वर्गको लागि पुँजीवादको बिरुद्द अग्नि वर्षा हुने गरी लेख लेखे। अब पुँजीवादको जीत भयो, कम्युनिस्ट ढले। जतापनि पुँजीवादको हालीमुहाली छ। यो उहाँ आफ्नो व्यक्तिगत कुरो बोलेका होइन, नेपालका कम्युनिष्टहरू कमाउनिस्ट भएका प्रत्यक्ष देखेको र अनुभूति गर्न पाइएको हुनाले बोल्नु भएको हो। कतै यो श्रमजीवीको नाममा संगठित महासंघ आफु र आफ्नो सन्तानका लागि मात्र प्रयोजन त हुने होइन??

जसरी एक पार्टीमा आफ्नो र आफ्नो हनुमाने, हुक्केहरुको कुरो लागू नभएको अनुभूति हुनाले घोर अपमान भो भन्दै विपक्षीको टाङमुनि छिरी आफ्नो १५-१५ वर्षको नेतृत्व, कैयौ योद्धाहरूको खुन पसिना क्षिन्नभिन्न पार्ने दुस्प्रयास गरे त्यस्तो अन्यले पनि गर्ने त होइन समयमा नै सचेत अपनाउँदै त्यस्तो विकृति परास्त गर्ने प्रणाली पनि यस महाअधिवेशनले विकास गरुन।

संगठनमा लाग्नु, त्यसमा नेतृत्व सम्हाल्नु अहिले बजारमा फैलाइएको झोले प्रविर्ती बिल्कुलै होइन। तर, हिजो आज संगठन हाक्ने शैली गलत ट्रेन्डतर्फ गएको जरूर हो त्यो बारे पून: छलफल यस अधिवेशनले चलाउन भन्ने अपेक्षा पनि राख्दछु।

 


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ