२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘गेटा मेडिकल कलेज अस्पतालमा पहिलो चरणमा १०० शैय्या संचालनमा आउँछ’

‘गेटा मेडिकल कलेज अस्पतालमा पहिलो चरणमा १०० शैय्या संचालनमा आउँछ’


कैलालीको गोदावरी–५ स्थित गेटामा ६ सय शैय्याको अस्पताल र मेडिकल कलेज संचालनका लागि आवश्यक सबै भौतिक संरचना निर्माण भएका छन् । ५ अर्ब लगानीमा २६ वटा विभिन्न आधुनिक भवन छन् । तर, भौतिक संरचना पूरा भइसक्दा पनि मेडिकल कलेजमा अझै अस्पताल संचालन हुन सकेको छैन ।

वि.सं. ०६५ सालमा गेटामा सरकारी स्वामित्वको मेडिकल कलेज बनाउने पहल भएको हो । जग्गाको भोगाधिकार प्राप्तिपछि वि.सं.०६८ सालमा मन्त्रिपरिषद्को गठनादेशबाट मेडिकल कलेज पूर्वाधार निर्माण विकास समिति गठन भयो । वि.सं. ०७०/७१ सालदेखि भौतिक पूर्वाधार निर्माण सुरु भयो । अहिले पूर्वाधार निर्माणको काम ९० प्रतिशत पूरा भइसकेको छ । सरकारले गत असारमा गेटा मेडिकल कलेज अस्पतालको निर्देशकमा डा. प्रमोद जोशीलाई नियुक्त गरेको छ । गेटा मेडिकल कलेज संचालनको तयारी, जनशक्ति व्यवस्थापन, सम्भावना र चुनौतीको बारेमा निर्देशक डा. जोशीसँग हेल्थ आवाजले गरेको कुराकानीः

गेटा मेडिकल कलेजमा अस्पताल कहिले सञ्चालनमा आउछ ?
सर्वप्रथम अस्पताल संचालनको लागि उपकरण, दक्ष जनशक्ति र भवनको आवश्यकता हुन्छ । भवन मात्रै भएरभन्दा पनि त्यसमा बिजुलीबत्तीको जडान, पानीको व्यवस्थापनका साथै ढल निकास हुनुपर्ने भएकाले यो अझै पनि हुन सकेको छैन । जुन भवनलाई अस्पतालको रुपमा चलाउने भनेर हस्तान्तरण गरिएको छ, त्यसमा छिटो छरितो बिजुली, पानी र ढल निकासको व्यवस्था गरेपछि संस्था कसरी संचालन गर्ने भन्ने कुरा आउँछ । गेटा मेडिकल कलेजमा निर्माण गरिएका भवनहरुमा बिजुली, पानी र ढल निकासको ब्यवस्था नहुँदा कार्यालय संचालनमा समेत बाधा पुगेको छ । बिजुली बत्ती बिना अस्पतालको परिकल्पनासमेत गर्न नसकिने अवस्था छ ।

अस्पतालमा सुरुवाती चरणमा कुन—कुन सेवा दिने तयारी छ ?
बिजुली, पानी र ढलको व्यवस्था भइसकेपछि अस्पताल संचालनका लागि दक्ष जनशक्तिको आवश्यकता पर्दछ । जुन हामीले अहिले तयार गर्ने क्रममा छौं । त्यसका लागि अनेकौं अस्पताल र स्वास्थ्य मन्त्रालयसँग एमओयु हस्ताक्षर गरेर अगाडि बढिरहेका छौं । अहिले सुरुवाती चरणमा वीर अस्पतासँग विशेषज्ञ जनशक्ति आदान—प्रदानको समझदारी भएको छ । दक्ष जनशक्तिको सप्लाई स्वास्थ्य मन्त्रालयले नै गर्ने हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, सामाजिक विकास मन्त्रीले पनि उत्सुकताका साथ लिएर भ्रमण गरी धेरै कुरामा छलफलसमेत भएको छ । प्रदेशका अस्पतालहरुसँग समन्वय गरेर त्यहाँको दक्ष जनशक्तिलाई पनि राखेर संचालन गर्ने तयारी गरिरहेका छौं ।

कति शैय्याको अस्पताल संचालनमा ल्याउने तयारी भइरहेको छ ?
अहिले गेटा मेडिकल कलेजमा ६ सय शैय्याका अस्पताल संचालन गर्ने सक्ने क्षमता भएतापनि पहिलो चरणमा १ सय शैय्या, त्यसपछि २ सय शैय्या थप गरी ३ सय शैय्यासम्म पु¥याउने योजनामा छौं । त्यसका लागि छोटो योजना, मध्य योजना, दीर्घ योजना गरी वर्गीकरण गरेका छौं । त्यहीअनुसार दक्ष जनशक्तिका लागि संगठन संरचना तयार गरेर १ सय शैय्याको लागि चिकित्सक, नर्स, पारामेडिक्स, प्रशासनिक कर्मचारी कति चाहिन्छन् भन्ने हिसाबले अगाडि बढिरहेका छौं ।

जनशक्ति व्यवस्थापनका लागि के कस्ता प्रयासहरु भएका छन् ?
जनशक्ति व्यवस्थापन नितान्त आवश्यक कुरा हो । यो संस्थामा आजका मितिसम्म अस्पताल निर्देशक भनेर मलाई मात्र खटाइएको छ । यसमा अरु कुनै पनि जनशक्ति थपिएको छैन । अब यसमा कर्मचारी राख्ने कुरामा पहल गर्नेछु । सोही विषयमा स्वास्थ्य मन्त्रालयसँग कुरा भइरहेको छ । उहाँहरु पनि यो विषयमा सकारात्मक हुनुहुन्छ ।

अस्पतालका लागि आवश्यक उपकरणहरुको प्रबन्ध कसरी भइरहेका छ ?
उपकरणको विषयमा अहिलेसम्म केही पनि प्रक्रिया अगाडि बढेको छैन । यसमा बजेट पनि छुट्याउन बाँकी नै छ । उपकरणभन्दा पनि पहिला जनशक्तिको व्यवस्थापन र बजेटको आवश्यकता छ ।

अस्पतालका चुनौती र सम्भावनाहरु के—के छन् ?
यो अस्पताल संचालन गर्न चुनौती मात्रै देखेको छु । त्यसका बाबजुद पनि सकारात्मक सोचसहित संस्था संचालन गर्ने मान्यता बोकेको छु । चुनौतीको हिसाब नै छैन । एउटा अस्पताल संचालन गर्न दिइएको भवनमा बिजुली, पानी र ढल निकास नै छैन्, यसलाई चुनौती न भनेर के भन्ने ? त्यहाँबाट हाम्रो यात्रा सुरु हुन्छ, यो यात्रा शुन्यभन्दा पनि ऋणात्मक अवस्थाबाट सुरु गर्नुपर्ने परिस्थिती देखा परेको छ ।
चुनौती पर्याप्त छन् यसो भनिरहँदा सम्भावनाको खोजी हामीले गर्दै जाने हो । यो बिषयमा सबै सुदूरपश्चिमका जनताहरु एक हुनुहन्छ । उहाँहरुको प्रत्यक्ष/अप्रत्यक्ष सहयोग लिएर अगाडि बढ्ने सोच बनाएका छौं ।

विशेषज्ञ चिकित्ससको व्यवस्थापन कसरी हुन्छ ?
विशेषज्ञ चिकित्सकको लागि मैले आफनो व्यक्तिगत तवरबाट अनेकौं अस्पतालहरुसँग समन्वय गरिरहेको छु । त्यसका साथसाथै स्वास्थ्य मन्त्रालयले पूर्ण रुपमा सहयोग गर्छु भनेर प्रतिबद्धता जाहेर गरेको छ । यसैगरी, वीर अस्पताल सम्झौता भइसकेको छ । हामीले नेपाल प्रहरी अस्पतालसँग सम्झौता गर्ने प्रक्रियामा छौं । नजिकैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिसँग यो विषयमा लामो छलफल पनि भएको छ, उहाँले सहयोग गर्छु भन्नुभएको छ । म नेपाल चिकित्सक संघको केन्द्रीय सदस्य भएको नाताले संघबाट समेत सहयोग पाउँछौं ।

जिम्मेवारी पाएको एक महिनासम्म केही कामहरु अगाडि बढ्न सकेका छैनन् । अहिलेसम्म मैले व्यक्तिगत रुपमा गर्नुपर्ने कामहरु गरिरहेको छु । यसमा याद गर्नुपर्ने कुरा के छ भने पहिलो चरणमा अस्पताल भवन हस्तान्तरण गर्दा बिजुली, पानी र ढल निकासको व्यवस्था गर्नुपर्ने अत्यन्तै आवश्यक छ । दोस्रो कुरामा बजेटको व्यवस्थापन भएको छैन । बिना बजेट कसरी काम गर्ने ? दक्ष जनशक्तिको व्यवस्थापन नै महत्वपूर्ण कुरा हो ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ