२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारआम रुपमा देखिने हड्डीको दुखाइका समस्या र समाधानका उपायहरू

आम रुपमा देखिने हड्डीको दुखाइका समस्या र समाधानका उपायहरू


हड्डीको समस्या लिएर अस्पतालमा आउनेमध्ये धेरैजसो ढाड दुखेका बिरामी आउँछन् । त्यसपछि हात खुट्टा दुखेका बिरामी आउने गरेका छन् । हातखुट्टा दुखेर आउनेमध्ये कामको बोझले गर्दा दुखेर आउने गर्दछन् भने ठूलो संख्यामा वाथ रोगको कारण पनि आउने गरेका छन् । वाथको रोगले मांसपेशी दुख्नुका साथै जोर्नी पनि दुख्ने गर्दछ । यसलाई चिकित्सकीय भाषमा ‘रिउम्याटिजम’ भनिन्छ । यसले हातखुट्टाको जोर्नी दुखाउँछ ।

ढाड दुख्ने समस्या लिएर आउनेहरुमा धेरैजसो हड्डीले नसा च्यापिएका, उमेर बढ्दैं गएपछि हाड खिइएर समस्या बढ्दैं गएका बढी देखिन्छ । त्यसका साथै, अथवा ढाडको सेपमा भएको फरकपनाले पनि दुखाइ उत्पन्न गराउँछ भने मोटोपनाले पनि समस्या सिर्जना गर्छ । के कारण ढाड दुखाइ भएको हो, यसलाई सर्ट आउट गरेर चिकित्सकले उपचार गर्ने गर्छन् ।

चिसोमा बढी दुख्नुको कारण रिउम्याटीजमको कारणले हुने गर्दछ । यो एक किसिमको वाथ हो । यसले शरीरलाई अपांगता भने बनाउँदैन् । तर, यसले मसल र ज्वाइन्टमा अधिकतम दुखाइ ल्याउँछ । यसको जाडो र वाथ बीचको वैज्ञानिक कारण अहिलेसम्म केही देखिएको छैन । तर, व्यवहारिक रुपमा हेर्दा वाथका बिरामीहरुले जाडोमा बढी दुखाइ भएको बताउने गरेका छन् ।

ढाडको दुखाइ कहिलेकाही साधारण तरिकाले पनि दुख्छ । कहिलेकाही बसेर उठ्दा, गह्रौ चिज उठाउँदा वा सार्दा, लामो समय एउटै स्थानमा बसेर उठ्दा पनि ढाड दुख्ने हुन्छ । यस्तो साधारण समस्या भएकाहरुमा चौबिस घण्टासम्म दुख्न सक्छ । त्यसमा पछि आफै दुखाइ कम हुँदै गएर निको हुन्छ । यदि नियमित दुखाइ छ र साधारण पेनकिलर खादा पनि ठिक भएन भने वा बारम्बार दुखाइ दोहोरियो भने विशेषज्ञ चिकित्सकलाई देखाउनुपर्छ ।

दुखाइ उमेर अनुसार दुई किसिमले हुने गर्दछ । बच्चामा समूहमा हुने दुखाइ र उमेर ढल्कदै जाँदा हुने दुखाइ ।

बच्चाको समस्या

बच्चाको शारीरिक विकाससँगै कहिलेकाहीँ हातखुट्टा दुख्ने समस्या देखिन्छ । यसलाई मेडिकल टर्ममा ग्रोइङ पेन (बढ्दो उमेरको समस्या) भनिन्छ । बच्चा बढ्दै जाँदा उनीहरुलाई आवश्यक क्याल्सियम कमीले गर्दा जोर्नीहरु तथा हड्डी दुख्ने हुन्छ । क्याल्सियम पुगेसँगै यो समस्या आफै ठिक हुँदै जान्छ । त्यसका साथै बढ्दो उमेरका बालबालिका बढी चुलबुले र खेल्न मन पराउनाले हुन्छन् ।

खेल्दा, उफ्रदा र कुद्दा विभिन्न कारणले उनीहरुको हात खुट्टा दुख्ने हुन्छ । खेल्दा र बढ्नलाई बढी क्याल्सियम चाहिने भएको हुँदा त्यसलाई कमी हुन नदिन सोहीअनुसारको खानपिनमा ध्यान दिनु राम्रो हुन्छ । साथै, साधारण मालिस गरिदिए राम्रै हुन्छ । अर्को, वच्चाहरुमा वाथ रोग पनि हुन्छ । वाथ रोग भएका कतिपय बालबालिकाको पछि आफै ठिक हुन सक्छ । कतिपय पछिसम्म औषधी सेवन गर्नुपर्ने हुन्छ ।

अर्को, बच्चाको ढाड दुख्छ भने विशेष ध्यान दिनुपर्छ । बच्चाहरुमा प्याथोलोजिकल समस्या नभई ढाडको समस्या हत्तपत्त देखिदैन् । कुनैबेला बच्चाहरुको ढाडको हाड स्लीप हुने खालको हुन्छ । कहिलेकाहीँ जन्मदैं हड्डीमा डिफेक्ट हुन सक्छ, ट्युमर हुन सक्छ, यस्तो कुरामा सिरियस हुनुपर्छ र विशेषज्ञको सल्लाह लिनुपर्ने हुन्छ ।

पाको उमेरको समस्या

उमेर ढल्कदै जाँदा हाम्रो शरीरको हड्डीहरु पातलो हुँदै जान्छ । यस समयमा हर्मनको अनव्यालेन्स हुँदै जान्छ त्यसले मंसापेशी दुखाइ बढ्दै जान्छ । उमेर ढल्कदैं गएकाहरुमा पटक–पटक दोहोरिने ढाडको समस्या भए बढी ध्यान दिनुपर्छ । ३०/३५ वर्षको उमेर भएपछि मेरुदण्डको हड्डीको बीचको डिस्क कमजोर हुने हुँदा बाहिर स्पाइनल क्यानलमा आउन सक्क्तछ । जसका कारण नसामा च्यापिएर ढाड तथा हातखुट्टामा समस्या हुन सक्ने छ ।

५० वर्ष कटेका मानिसमा हड्डी खिएर पातलो तथा कमलो हुने समस्या बढी हुन्छ । हड्डी कमलो तथा पातलो हुने हुनाले बाङ्गो तथा ढाडको हड्डी च्यापियर सानो (Compression) हुने र फुट्ने हुने हुनाले कुप्रोपना हुन्छ । मांसपेशी तथा लिगामेन्टहरु कमजोर हुने हुनाले ढाड बाङ्गो हुने, मेरुदण्डको हड्डी स्लिप हुन सक्छ।

यो समयमा दीर्घरोग क्यान्सर पनि देखिने हुन सक्छ । सबैभन्दा महत्वपूर्ण कुरा ढल्कदो उमेरमा हड्डी खिइदैं जाँदा खिएको भागमा नयाँ हड्डी पलाउने गर्छ र नसा च्यापिएको हुन सक्छ । मेरुदण्ड भित्रको स्पाइनल क्यानल लिगामेन्ट बाक्लो भएको कारण तथा नयाँ हड्डी भएको कारण साघुरो हुने हुनाले नसाहरु च्यापिइने हुन्छ । मेडिकल भाषामा स्पाइनल इस्टेनोसिस भन्दछ । यीबाहेक नयाँ हड्डीको कारण बाहिर आउने नसाको बाटो पनि सानो भै च्यापी ढाड तथा हात खुट्टामा दुख्ने वा नसा कमजोर भै हिडडुल गर्न नसकिने हुन सक्छ।

बसाइँको पोजिसन, ढाडको मांसपेशी, जोर्नीको समस्या तथा अन्य ठाउँको रोगको कारण पनि ढाड दुख्ने समस्या हुनसक्छ। यसकारण ढाडको दुखाइ साधारण मात्र नभइ गम्भीर पनि हुने हुनाले समयमा नै सम्बन्धित चिकित्सकहरुको परामर्श तथा उपचार गर्न उचित हुन्छ।

हाम्रो शरीरको हड्डी तथा मांसपेशी जति ब्यायाम तथा चलायमान भयो त्यति नै बलियो तथा मोबाइल हुने हुनाले शारीरिक तन्दुरुस्तीको निमित्त आवश्यक व्यायाम गर्नु जरुरी हुन्छ। बच्चाहरुको ढाड दुखाइमा जहिले पनि गम्भीर रुपले हेर्नुपर्ने हुन्छछ भने बयस्क तथा वृद्धाहरूको दुखाइमा बारम्बार दुखाइ, हुने र साधारण नदुख्ने औषधीले कम नहुने हो भने सम्बन्धित बिशेषज्ञको परामर्श अति जरुरी हुनेछ।

के—के गर्ने

  • नियमित व्यायाम गर्ने ।
  • हाडजोर्नीलाई चलायमान बनाइराख्ने
  • जति चलायामन भयो त्यति मान्छे र हड्डी बलियो हुन्छ ।
  • जति सुस्त भयो त्यति समस्या बढ्दै जान्छ ।

के खाने के नखाने ?

  • धुम्रपान, मद्यपान नगर्ने
  • लामो समयको दुखाइ छ भने जथाभावी पेनकिलर नखाने
  • कतिपय पेनकिलरले मिर्गौलाई ड्यामेज गराउँछ ।
  • वाथ रोग भएकाले चिसोमा जोगिनुपर्छ ।
  • तातो पदार्थ खानुपर्छ र शरीरलाई तातोपना दिलाउनु पर्छ ।
  • रक्सी र हाइ प्रोटीनयुक्त खाना खान हुँदैन् ।
  • युरिक एसिड छ भने रेड मिट खान हुँदैन् ।
  • ज्वाइन्ट वा मसल दुख्नेले नियमित शारीरिक अभ्यास गर्नुपर्छ ।
  • सधै शरीरलाई चलायामान गराउनुपर्छ ।
  • ढाडको पनि नियमित व्यायम गर्नुपर्छ ।
  • मोटोपना बढाउन हुँदैन् ।
  • खानामा प्रोटीनयुक्त खानुपर्छ तर कार्वोहाइडे«ट र बोसोयुक्त खाना खानु हुँदैन् ।

(डा. गुरुङ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पूर्व उपकुलपति हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ