२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारडेंगु ज्वरोको प्रकोपः सबै सतर्क हुनुपर्ने अवस्था

डेंगु ज्वरोको प्रकोपः सबै सतर्क हुनुपर्ने अवस्था


घटना १ः ललितपुर निवासी ७० वर्षीय वृद्धलाई लगातार ४ दिन ज्वरो आयो । कुनै अस्पतालमा जचाएर मौसमको कारण ज्वरो होला, सबै ठिकै छ भनेर ज्वरोको औषधी खानुभयो । तर, ज्वरो कम भएन । वाकवाक लाग्ने, शरीर पूरै गल्ने, टाउको दुख्नेजस्ता समस्या थपिदैं गए । उहाँलाई ‘डेंगु ज्वरो’ भएको रहेछ । रगतको रिपोर्ट हेर्दा अस्पतालमा नै भर्ना गरी हेरचाह गर्नुपर्ने देखियो ।

घटना २ः २८ वर्षीया महिलामा शरीर गल्ने, जोर्नीहरु दुख्ने समस्या देखियो । ज्वरो आएकोबारे ख्याल नगरेको उनी बताउँछन् । रगत जाँच गराइन् । सिबिसी जाँचमा रगतकै कमी हुने रोग हो कि भन्ने शंका गर्ने ठाउँ देखियो । डेंगुको कारण समस्या देखिएको रहेछ ।

घटना ३ः २१ वर्षीया गर्भवती महिलाको ‘डेंगु रोग’ले गर्दा बच्चा खेर गएको छ । अझै पनि उनको श्वासप्रश्वासमा समस्या छ ।
यी माथिका त प्रतिनिधी घटना मात्रै हुन् । यी घटनाले हाम्रो समुदायमा भित्रभित्रै भुसको आगो झै फैलिरहेको डेंगु ज्वरोको भयावह अवस्थाको चित्रण गर्छ । ‘डेंगु रोग’ अहिले फैलिरहेको छ । यो रोगबारे सबैमा जन–चेतना फैलाउनु आवस्यक छ ।
त्यसैले हामी ‘डेंगु रोग’बारे केही जानकारी लिऔं ।

डेंगु रोग कस्तो रोग हो?

यो लामखुट्टे (मच्छर)बाट सर्ने रोग हो । यो रोग भाइरसले गराउँछ । एक जनाको रगतमा उक्त रोग गराउने भाइरस रहेछ भने लामखुट्टेले उक्त रगत खान्छ, अनि फेरि अर्को मान्छेलाई टोक्दा भाइरस सर्दछ ।

डेंगु रोगका ३ प्रकार छन्ः
१. डेंगु ज्वरो,
२. डेंगु हेमोरेजिक ज्वरो (यसमा रगत बग्ने बढी समस्याको रूपमा हुन्छ)
३. डेंगु सक सिन्ड्रोम (यसमा बेहोस हुने बढी समस्याको रूपमा हुन्छ)

डेंगु रोगका लक्षण के-के हुन?

  • ज्वरोः धेरै बढी (१०३ डिग्री फरेनाइटसम्म)
  • टाउको दुख्ने
  • मांसपेशी, हड्डी वा जोर्नी दुख्ने
  • वाकवाकी लाग्ने÷ उल्टी हुने
  • आँखा पछाडि दुख्ने
  • ग्रन्थीहरू बढ्ने
  • रगत बग्ने या रगतका दाग देखा पर्ने
  • श्वासप्रश्वासमा समस्या
  • ब्लड प्रेसर घट्दै जाने या बेहोस हुनेहड्डीको दुखाइ हड्डी नै टुटेजस्तो सहन गाह्रो पर्ने हुन्छ । त्यसैले यसलाई ‘ब्रेक बोन फिभर’ पनि भनिन्छ । डर बढी के हुन्छ भने सबै रोगी लक्षणयुक्त नहुन सक्छन् । तर, उनीहरुबाट अर्को ब्यक्तिमा भने सर्न सक्छ ।यो डेंगु रोग दिनमा डुल्ने लामखुट्टेले टोक्दा सर्छ भन्ने सुनेको ? के हामीले यो रोग सार्ने लामखुट्टेलाई चिन्न सक्छौ?
    हो, दिनमा टोक्ने लामखुट्टेले यो रोग सर्छ । दिउँसोको समयमा हामी लामखुट्टेले टोक्छ भनेर सावधानी अपनाएको नहुन सक्छौं । कार्यालयको कामको व्यस्तता होस्, सार्वजनिक गाडीमा यात्र गर्दा या कुनै पार्क घुम्दा या किनमेल गर्दा होस्, लामखुट्टेले हामीलाई टोकेर डेंगु रोग सार्न सक्दछ ।डेंगु रोग सार्ने एडिज जातको लामखुट्टे हेर्दा कालो र सेतो छिर्के मिर्के हुन्छ । लगभग बाघकोजस्तो पाटा हुने हुनाले यसलाई ‘बाघ लामखुट्टे’ भनेर चिनिन्छ ।

    सुरुमा कसैलाई ज्वरो आयो भने कसरी डेंगु हो भन्ने ज्वरो त धेरै रोगमा आउँछ नि ?
    हो, ज्वरो धेरै रोगमा आउँछ । त्यसैले त यो शंका गर्न चिकित्सकले यो रोग फैलने वातावरण ख्याल गर्नुपर्छ । लामखुट्टे बढी हुने ठाउँमा मलेरिया, डेंगुजस्ता रोग हो कि भनेर ख्याल गरेर रगत जाँच गर्नुपर्दछ ।

डेंगु रोगको उपचार छ ?
यो रोगले धेरै जटिलता ल्याउन सक्छ । शरीरमा रगत बग्ने समस्या देखिन सक्छ । बेहोस हुनेजस्ता समस्या देखा परी मानिसको मृत्युसमेत हुन सक्छ । २ वर्षअघि यो रोग फैंलदा ६ जनाको भएको थियो भने देशका ६८ जिल्लामा यसका रोगी भेटिएका थिए ।

उपचार भनेको यसमा शरीरलाई सहयोगी भूमिका निभाउने र रोग जटिल हुनबाट रोक्नु हो । र, कुनै जटिलता आए त्यसको समयमा नै उपचार गर्नु हो ।

जाँच गर्दा डेंगु देखियो । कुन अवस्था खतरा हो? के कुरामा ख्याल गर्नु पर्दछ ?

कसैलाई सामान्य ज्वरोको प्यारासिटामोल खाएर, झोल कुरा धेरै पिएर र यथेस्ट आराम गरेर सन्चो हुने भएतापनि यसले धेरै जतिलता ल्याउन सक्ने हुँदा निम्न समस्या भए तुरुन्तै चिकित्सकको सम्पर्कमा आउनु पर्दछ ।

  • शरीर अति नै गलेको, हिड्डुल गर्न नसक्ने अवस्था
  • ब्लड प्रेसर घटदै गएको र बेहोस हुन सक्ने अवस्था
  • शरीरको कुनै माध्यमबाट रगत खेर गएको/बगेको अवस्था
  • पेट धेरै दुखेको अवस्था
  • धेरै पटक वान्ता भएको अवस्था (लगातार या दिनमा ३ पटकभन्दा बढी)
  • टाउको अति नै दुखेर चक्कर आएको अवस्था
  • यो रोगमा सेतो कोषिका र प्लेटिलेट घटन सक्छ । सिबिसी भन्ने जाँच गर्ने सुविधा छ भने यी चिजको अवस्था ख्याल गर्नुपर्दछ । सेतो कोषिका र प्लेटिलेट घट्दै गएको भए तुरुन्तै चिकित्सकीय निगरानीमा उपचार गर्नु पर्दछ ।

डेंगु रोग रोकथामको लागि के–के उपायहरु गर्न सकिन्छ ?

१. लामखुट्टेबाट सर्ने हुनाले लामखुट्टेको रोकथाम गर्न निम्न कुराहरु गर्नेः
एडिज जातको लामखुट्टे दिउसमा हामीलाई टोक्ने हुँदा हामीले दिउसमा पनि टोकाइबाट बच्ने उपाय गर्ने । जस्तैः घरको झ्याल ढोकामा जाली लगाउने । सरसफाइमा ख्याल गर्ने । फोहोर जथाभावी नथुपार्ने ।

धेरै महत्वपूर्ण कुरा : जमेर बस्ने पानीमा लामखुट्टेले बच्चा पार्ने हुँदा त्यस्तो हुन नदिन पानी जम्ने खाल्टा–खुल्टी पुरिदिने, पानी राख्ने भाडाजस्तै घरको छतको ट्यांकीका धक्कन लगाउने । पानी भइराख्ने गमलामा पानी फेरी राख्ने ।
चिसोको लागि प्रयोग गरिने एसीमा पनि लामखुट्टेले बच्चा पार्न सक्छ ।

पोखरीलगायत पुरिदिन नमिल्ने पानीका स्रोतहरु छन्, बेला—बेला सफा गर्ने र लामखुट्टेले बच्चा पारेको छ भने सानो किराजस्तो चलेको हुन सक्छ, सतर्क हुने । तेलजस्तो तैरने तरल पदार्थ पानीमा प्रयोग गर्दा लामखुट्टे वृद्धिलाई रोक्न सक्छ । तर, अरु असर गर्छ कि भनेर ख्याल गर्नुपर्दछ ।

लामखुट्टेले टोक्न नदिनको लागि बजारमा किन्न पाइने क्रीम, लोसन, स्प्रे आदिसमेत शरीरमा प्रयोग गर्न सकिन्छ ।
धुप बाल्ने र झुल भित्र सुत्ने त हामी धेरैले गरिरहेका छौं । सरकारको तर्फबाट बिषादीयुक्त झुल बेला बेला बाँडिरहेको हुन्छ ।

२. डेंगु रोगको बिमारी आफूलाई लामखुट्टेले नटोकोस् भनेर सतर्क रहने, सुत्दा झुलको प्रयोग गर्ने
३. आफ्नो टोल छिमेकमा सबै मिलेर (या सरकारको सहयोग लिएर) सरसफाइ कार्यक्रम गर्ने, लामखुट्टे मार्ने औषधी स्प्रे गर्ने । स्कुल र समूहमा जनचेतनाको कार्यक्रम गर्ने ।
४. कसैलाई डेंगु रोग हुन सक्ने सम्भावना देखेमा तुरुन्तै जाँच गर्न सहयोग गर्ने ।

डेंगु रोग फैलदा सरकारले चासो दिनुपर्ने हो?

समुदायमा रोग देखा पर्ने बित्तिकै यसको रोकथामको लागि सरकारले पहल गर्नुपर्ने हुन्छ । किनकी यो हैजाजस्तै ‘सूचनायोग्य रोग’ हो । अहिले देशको धेरै ठाउँमा डेंगु रोग फैलिरहेको अवस्था छ । यो समस्या बढ्दै गएर सरकारलाई रोकथामको लागि चुनौती नदेला भन्न सकिदैन् ।

(डा. काफ्ले हाल टिचिङ अस्पताल महाराजगन्जमा कार्यरत उप–प्राध्यापक प्याथोलोजिस्ट साथै असृक डायनोस्टिक एकान्तकुनाका प्रबन्ध निर्देशक हुन् । विगतमा उहाँ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत हुनुहुन्थ्यो ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ