२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकीटजन्य रोग अनुसन्धान केन्द्र सबलीकरणको आवश्यकता

कीटजन्य रोग अनुसन्धान केन्द्र सबलीकरणको आवश्यकता


नेपालमा कीटजन्य रोगको प्रकोप बढ्दैं गइरहेको छ । यसको प्रमुख कारण अव्यवस्थित शहरीकरण, स्वास्थ्य सावधानीमा कमी र मौसम परिवर्तन महत्वपूर्ण हुन् । डेंगु, औलो, कालाज्वरो, हात्तीपाइले प्रमुख कीटजन्य रोगहरु हुन् ।

रोगको उपचारभन्दा पनि प्रकोप नियन्त्रण महत्वपूर्ण कुरा हो । प्रकोप नियन्त्रणका लागि रोग सार्ने किटाणु प्रमुखतः लामखुट्टेको वासस्थान, जीवनचक्र र लामखुट्टे सार्ने किटाणुहरुको प्रकार र तिनीहरुको स्वरुप आदिको बारेमा राम्ररी अनुसन्धान हुनु पर्दछ ।

यस्तै, रोग र संक्राणुहरुको अनुसन्धान तथा आवश्यक तालिम दिने प्रयोगका लागि ‘कीटजन्य रोग अनुसन्धान केन्द्र’को परिकल्पना भएको हो । औलो नियन्त्रणमा पनि यसको उल्लेख्य भूमिका छ । हात्तीपाइले रोग निवारणमा पनि केन्द्रले विभिन्न निकायसँगको समन्वयमा अनुसन्धानात्मक कार्य गरिरहेको छ ।

विभिन्न परजीविबाट हुने र कीटजन्य (भेक्टर)का माध्यमले सर्ने रोगहरुको अनुसन्धान निरन्तर भइरहनुपर्ने हो । हाम्रोमा रोगको प्रकोप बढेपछि मात्र त्यसको निदान गर्ने र उपचार गर्ने चलन बढी छ । हुनुपर्ने चाहिँ अध्ययन—अनुसन्धानहरु नियमित भइरहनुपर्ने हो । ती अध्ययनहरुको आधारमा रोगहरुको प्रकोपका बारेमा सम्भव भएसम्म पहिले नै पूर्वानुमान गर्ने र त्यस अनुकूल उपचार पद्धतिहरु निर्माण गर्ने हो ।

कीटजन्य रोग अनुसन्धान केन्द्र केही उपेक्षित र प्रशासनिक चपेटामा परेको देखिन्छ । कम जनशक्ति, दक्ष जनशक्तिको अभाव, न्यून अध्ययन—अनुसन्धान, मन्त्रालयको कम प्राथमिकताजस्ता कारणले अहिले केन्द्र केही पछि परेको यथार्थ हो । यद्यपि, यसको स्तरोन्नती र सबलीकरण अत्यन्तै आवश्यक र निर्विकल्प विषय हो । त्यसका लागि विभिन्न कामहरु गर्नु आवश्यक छ । जसमध्ये निम्न कार्यहरु प्राथमिकतामा पर्नुपर्दछ ।

– केन्द्र सरकार, प्रदेश सरकारले केन्द्रमार्फत विभिन्न अध्ययन र अनुसन्धान गर्ने ।

– अन्तर्राष्ट्रिय संस्थाहरुसँगको सहकार्यलाई थप सबलीकरण गर्ने ।

– अन्य देशका यस्ता प्रकारका संस्थासँग भगिनी सम्बन्ध स्थापना गर्ने र सहकार्यमा अनुसन्धान गर्ने ।

– स्वास्थ्य अनुसन्धान परिषद्को कीटजन्य रोग सम्बन्धि अध्ययनहरु गर्नका लागि यस केन्द्र संग सहकार्य गर्ने ।

– सेन्टर अफ एक्सिलेन्सको रुपमा केन्द्रलाई विकास गरी सार्कस्तरकै नमुना कीटजन्य रोग अनुसन्धान पनि केन्द्र निर्माण गर्ने

यति गर्न सके नेपालमा अध्ययन र अनुसन्धान पनि प्रशस्त हुने, जनतालाई रोग लाग्नबाट बचाउन सक्ने र रोग लागे पनि आफनै देशको उपयुक्त उपचार पद्धति अवलम्वन गर्न सक्ने अवस्था सिर्जना हुने थियो । त्यसका लागि सरोकारवाला निकायहरुको जागरुकता र ध्यान केन्द्रको आधुनिकीकरण, विकास र दक्ष जनशक्ति व्यवस्थापनमा केन्द्रित हुन जरुरी छ ।

(डा. बंगाले कीटजन्य रोग अनुसन्धान केन्द्रका निर्देशक हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ