२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारगैर जिम्मेवार चिकित्सा शिक्षा आयोग र निरिह विद्यार्थी

गैर जिम्मेवार चिकित्सा शिक्षा आयोग र निरिह विद्यार्थी


वि.सं. २०७८ चैत महिनाको १८, २० र २१ गते हुने भनिएको परीक्षामा नक्कली परिक्षार्थीहरुले घुसपैठ गर्ने सूचना चिकित्सा शिक्षा आयोगलाई गोप्य सुत्रबाट चैत १६ गते पुग्यो । आयोगले सूचना विज्ञप्ति जारी गरेर गलत र भ्रामक प्रचार—प्रसार नगर्न अनुरोध ग¥यो । मानौं, आयोगकै मिलोमतोमा सो काम भइरहेको थियो जस्तो भान भयो ।

सूचना दिने सुत्र र उच्च अधिकारीहरुबाट यसको सत्यतामा पुष्टि हुने गरी दबाब सिर्जना भएपछि गृह मन्त्रालयले पनि सुरक्षा संवेदनशीलतामा चासो देखायो । त्यसको अर्को दिन चैत १७ गते, परीक्षार्थीहरुको सहिछाप सहितको हाजिरी गर्ने र सत्यापन गर्ने भनी विज्ञप्ति जारी ग¥यो । सो परीक्षामा प्रहरीले केही नक्कली परिक्षार्थीहरुलाई परीक्षा हलबाट समात्न सफल भयो ।

तर, कति संख्यामा नक्कली परिक्षार्थी थिए र कति समातिए भन्ने विषयको एकिन जानकारी अहिलेसम्म आएको छैन । यो समस्या सो परीक्षाको लागि टरेको भएपनि भविष्यमा यो क्रियाकलाप कसरी दोहोरिँदैन भन्ने केही ग्यारेन्टी छैन ।

सो लगत्तै विद्यार्थीहरुको र सरोकारवालाहरुको व्यापक दबाबपछि चिकित्सा शिक्षा आयोगले वि.सं. २०७९ साल जेठ ११ गते आयोगबाट लिइने आगामी सम्पूर्ण प्रवेश परीक्षाहरुमा राष्ट्रिय परिचय पत्र नम्बर उल्लेख गरेर मात्र फारम भर्न पाइने व्यवस्था गरेको छ । र, त्यसमा भएको बायोमेट्रिक्सलाई परीक्षार्थीहरुसँग भिडाउने निर्णय भएको आशयको विज्ञप्ति जानकारी पनि दिइएको छ ।

आफ्नै निर्णयलाई लत्याएर चिकित्सा शिक्षा आयोगले यहि पुष २, ३ र ४ गते परिक्षा लियो । तर, यसमा राष्ट्रिय परिचय पत्र नम्बर प्रयोग भएन । के परिक्षा मर्यादित भयो होला त? आयोगले आँखा अगाडि भएको घट्नालाई नजरअन्दाज गरेर परीक्षा मर्यादित भएको भन्दै विज्ञप्ति निकाल्यो । आयोग कति निर्लज्ज आफैले जारी गरेको जेठ ११ गतेको विज्ञप्ति आफैले लागु गर्नु नपर्ने? अनि विद्यार्थी र परिक्षार्थीहरु निरिह, केही गर्न नसक्ने?

यस्तै, चिकित्सा शिक्षा आयोगले वि.सं. २०७९ साउन १० गते वार्षिक कार्यतालिका सार्वजनिक गरेको थियो । सो कार्यतालिकाअनुसार चिकित्सा शिक्षाका स्नातक तहका सबै परीक्षाका लागि सूचना प्रकाशन कार्तिक तेस्रो हप्ता, आवेदन फारम भर्ने अन्तिम मिति पुषको पहिलो हप्ता र प्रवेश परिक्षा माघको दोस्रो र तेस्रो हप्ता भनिएको थियो । अहिले पुसको दोस्रो हप्ता हुँदा पनि कार्तिकको तेस्रो हप्ता आउनु पर्ने परीक्षाको सूचना आएको छैन ।

परीक्षा कहिले हुने भन्नेमा ३० हजारभन्दा धेरै विद्यार्थीहरु अन्योलमा छन् । जेठ महिनामा कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरु ८ महिना हुँदा पनि चिकित्सा शिक्षाको प्रवेश परिक्षा कहिले हुने र कहिले भर्ना हुने भन्नेमा अन्योलको माझमा बसिरहेका छन् । यसरी आयोगको निर्लज्जता र गैरजिम्मेवारीपनका कारण ३० हजार विद्यार्थी अन्योलमा त छन् नै, अव्यवस्थाकै कारणले कक्षा १२ पछि १ वर्ष गुमाउने भएका छन् । यसको जिम्मेवारी जिम्मेवार अधिकारीहरुले कहिले लिने ? कि जिम्मेवारीबोध गर्न फेरि प्रवेश परीक्षामा नै सामेल हुन पर्ने हो?


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ