२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारक्यान्सरका हुन्छन् यस्ता सङ्केत

क्यान्सरका हुन्छन् यस्ता सङ्केत


आवश्यकभन्दा बढी कोषिकाको वृद्धि हुनु, फैलनु र शरीरलाई हानी गर्ने र मृत्युसम्म पुर्याउन सक्ने खतरा हुने खण्डमा त्यसलाई क्यान्सर भनिन्छ । ट्युमरको नराम्रो रूप नै क्यान्सर हो ।

हिजोको दिनमा क्यान्सरको उपचार थिएन । अहिले लगभग धेरैजसो क्यान्सर मान्छेको उपचार प्रविधिले काबुमा आइसकेको मान्न सकिन्छ । तर, अझै पनि जनचेतनाको कमी र रोग पत्ता लगाउन ढिला हुँदा केही क्यान्सरहरुले धेरैको ज्यान लिइरहेको छ । विश्वभर मृत्यु गराउने रोगमा क्यान्सर दोस्रो नम्बरमा पर्दछ । नेपालमा पनि यो १० प्रतिशत मृत्युको कारक बनेको छ । विश्वभरीमा सबैभन्दा धेरै हुने क्यान्सरमा पुरुष वर्गलाई फोक्सो को हो भने महिलामा स्तनको हो । तर, नेपाल र भारतजस्ता देशमा भने महिलामा हुने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा देखिन्छ ।

के हुन सक्छन् क्यान्सरका संकेत ?

क्यान्सर सबै अंगमा हुन सक्छ र अंगअनुसार क्यान्सरले फरक संकेत देखाउन सक्छ र सोही अंगमा हुने फरक किसिमका क्यान्सरको पनि केहि फरक संकेत हुन सक्छन् । हाम्रो समुदायमा बढी रहेका क्यान्सरका संकेत हेरौः

प्राय सबै क्यान्सरमा हुन सक्ने संकेतहरु
शरीरका विभिन्न भागमा गाठा देखिन सक्ने । जस्तै घाटी, काखी, खुट्टाको कापमा, पेटमा । गाठा प्राय नदुख्ने हुने र बढ्दै जाने
तौल घटदै जानु
खाना नरुच्नु
शरीर धेरै गल्नु
ज्वरो आइरहनु
शरीर फुल्नु र सुन्निनु
कुनै चोटपटक बिना हड्डी, ढाड धेरै दुख्नु
थुक, खकार, दिसा, पिसाब या छालामा रगत देखा पर्नु ।

क्यान्सरका प्रकार अनुसारका प्रमुख संकेतहरु

फोक्सो र छातीको क्यान्सर
-खोकी लागिरहने
-खोक्दा रगत देखा पर्ने
-श्वास बढ्ने र श्वास फेर्न गाह्रो महसुस हुँदै जाने

पाठेघरको मुखको क्यान्सर
-गन्हाउने पानी बग्ने
-महिनावारी हुँदा असाधारण तरिकाले रगत बग्नु र सुरुमा प्रायजसो गरिने उपचारले निको हुन गाह्रो हुने
-सहवास गर्दा रगत देखिने
-महिनावारी रोकिइसकेपछि पनि रगत देखिनु

स्तनको क्यान्सर
-स्तनमा गाठागुठी देखिनु र बढ्दै जानु
-स्तनको टुप्पाबाट पीप या रगत जानु
-स्तनको टुप्पाको वरीपरी सुन्निनु, रङ रातो हुँदै जानु र छाला दबिएजस्तो हुनु
-काखीमा गाठा बढ्दै जानु
-स्तनमा दुख्नु

पेटको क्यान्सर
-ग्यास्ट्रीक बढ्यो भनेर औषधी खाइरहदा पनि कम नहुनु
-पेट दुखिरहनु र फुलिरहनु
-अरु खास कारण बिना वाकवाक लागिरहनु
-अरु खास कारण बिना उल्टी हुनु, वोमिटमा रगत देखा पर्नु
-पेटमा सुम्ला देखा पर्नु
-कालो दिसा जानु
-खान मन नलाग्नु, खाना घट्दै जानु

आन्द्राको क्यान्सर
-दिसामा रगत देखा पर्नु वा कालो दिसा जानु
-पेट फुलिरहनु
-दिसा राम्रो सङ नहुनु
-कब्जियत भैरहनु, तान्द्रो जस्तो दिसा जानु

पिसाब थैली या पिसाब नलीको क्यान्सर
-पिसाब राम्रोसँग नखुल्नु, छिटो लाग्नु
-पिसाबमा रगत देखा पर्नु
-पिसाब फेर्दा तल्लो पेट धेरै दुख्ने
-ढाड दुख्नु

त्यस्तै अरु पनि केहि संकेतबारे बुझौः

  • पुरानो घाउ वा पोलेको ठाउँमा बल्झिएको जस्तो गरी बढ्दै जाने छालाको क्यान्सर हुन सक्छ ।
  • पुरानो कोठी धेरै छिटो बढ्नु, रङ फुस्रो हुँदै जानु, अरु ठाउँमा पनि देखिनु, दुख्न थाल्नु कोठीको क्यान्सर (मेलानोमा) हुन सक्छ ।
  • गुट्का पान सुर्ती, चुरोट खानेको मुखमा सन्चो नहुने घाउ देखा पर्नु मुखको क्यान्सर हुन सक्छ ।
  • स्वरमा अचानक परिवर्तन, धोद्रो र स्वर नै नखुल्ने घाटी या श्वास नलीको क्यान्सर हुन सक्छ ।
  • बच्चाको आँखामा सेतो दाग जस्तो देखा पर्नु रेटिनोब्लास्टोमा भन्ने क्यान्सर हुन सक्छ ।
  • जन्डिस सन्चो नहुनु, झन् बिग्रदै जानु रगतको क्यान्सर या पित्तथैली, कलेजोलगायत पित्तसँग सम्वन्धित अंगको क्यान्सर हुन सक्छ ।

माथि देखिएको समस्या हामीसँग हुने बित्तिकै क्यान्सर नै हुन्छ भन्ने होइन, त्यो त धेरै जाँच गरेर मात्र प्रमाणित हुने गर्छ । यदि त्यस्तो समस्या देखियो भने तपाईं डाक्टरकोमा अवस्य एक पटक पुग्नुहोला, सल्लाह लिनु होला ।

आज माघ २१ गते, शनिबार (फेब्रुवरी ४)मा ‘सबैमा क्यान्सरको उपचार सेवाको पहुँच हुनुपर्छ’ भन्ने नारासहित विश्वभर ‘विश्व क्यान्सर दिवस’ मनाइएको छ । नेपालमा पनि हामी सबैले आ(आफ्नो क्षेत्रबाट लेख(रचना, छलफल, अन्तरक्रिया, सडक नाटक, र्यालीजस्ता विभिन्न कार्यक्रम गरी जनचेतना बढाउन सहयोग गर्नु पर्ने देखिन्छ ।

(डा काफ्ले, एमबिबिएस, एमडि प्याथोलोजी, असिस्टेन्ट प्रोफेसर, टियु टिचिङ अस्पताल साथै Asrik Diagnostic एकान्तकुनामा कार्यरत हुनुहुन्छ ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ