२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारनेपालको स्वास्थ्य सुधारको रोडम्याप

नेपालको स्वास्थ्य सुधारको रोडम्याप


स्वास्थ्य सेवा दिवसको शुभकामना व्यक्त गर्न चाहन्छु । जनताको सेवामा अझ धेरै समर्पित भएर लाग्नु हुनेछ र स्वास्थ्य क्षेत्रमा नयाँ–नयाँ उपलब्धी हासिल गर्ने गरी नयाँ इच्छाशक्ति, नयाँ उत्साह, नयाँ जोश र जाँगरका साथ हामी लाग्नेछौं । यो पनि शुभकामनाका रुपमा राख्न चाहन्छु । नेपालको स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउन ढिलो भइसकेको छ । दूरदराजमा रहेको गरिब जनताले सुलभ स्वास्थ्य सेवा प्राप्त गर्ने अवस्था आजको दिनमा पनि छैन । राजनीतिक परिवर्तनका लागि रगत पसिना बगाउँदैं ठूलो बलिदानी गर्‍यौं ।

जनताले त्यो परिवर्तनको नजिकबाट अनुभूति गर्न आजसम्म पनि सकेको छैन । शिक्षा, स्वास्थ्य र रोजगारीका विषयहरु नेपालीका लागि धेरै टाढाको विषय भएको छ । आजको दिनमा हामी सबैले आ–आफ्नो भूमिकामा रहेर यो देशको स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउँछौं भन्ने अठोट गरौँ । हामी हातेमालो गर्दै यो काम गर्छौ भनेर संकल्प गर्‍यौं भने साँचो अर्थमा स्वास्थ्य सेवा दिवस सफल भयो भनेर मान्न सकिन्छ ।

गरिब जनताले बिरामी हुँदा रोग पालेर बस्नु परेको छ । अस्पतालमा गुणस्तरीय सेवा पाइरहेको छैन । मेरो लागि राज्य छ, सरकार छ र सरकारका निकाय छन् भन्ने अनुभूति गर्न पाउँदैनन् भने तपाईं हामी यो क्षेत्रमा लागेको कुनै अर्थ छैन । आजका दिनमा केही परिवर्तन नै नभएका भने होइन् । प्रदेशमा मिर्गौला प्रत्यारोपणदेखि लिएर अन्य विभिन्न सेवा दिने काममा दक्ष जनशक्तिहरु हामीले विकास गरेका छौं । स्वास्थ्य संस्थामा त्यो ढंगले हामीले सबलीकरण गरेका छौं यी हाम्रा गौरवका कुरा हुन् । यी अनुभवलाई सँगै लिएर गुणस्तरीय सेवा दिनेतर्फ हामी लाग्नुपर्छ ।

सरुवा हैन प्रतिफलको चाहना

म मन्त्री भएर आएँ, नियुक्त भएर आएर कुर्सीमा बस्न पाएको छैन मलाई अब त यसलाई सरुवा गर्नुपर्छ यता सार्नुपर्छ, उता सार्नुपर्छ जस्ता अनेक–अनेक किसिमका आवाजहरु आउँथे । मैले सुरुकै दिनमा भनेको थिएँ, कर्मचारी सरुवा गर्ने जिम्मेवारी हेरफेर गर्ने कुरामा इन्टरटेन गर्नु छैन । यो मेरो मूख्य विषय होइन । मेरो मूख्य विषय भनेको स्वास्थ्यमा के सुधार गर्ने हो ? आजका समस्या के हुन् ? ती समस्याको समाधान कसरी गर्न सकिन्छ ? यस्ता सुझावहरु बोकेर आउनुस्, म तपाईंहरुलाई रातभर समय दिन्छु । तपाईंहरुसँग रातभर गफ गरेर बस्छु । लुकेका स्वार्थहरु बोकेर म कहाँ आएर कृपया मेरो समय नष्ट नगरिदिनुस् भनेर मैले सुरुबाटै भन्ने गरेको थिएँ ।

कोही पनि महानिर्देशक, महाशाखाका प्रमुख, शाखा प्रमुखहरु तथा अरु जिम्मेवारी लिएका सम्पूर्ण साथीहरुलाई म भन्न चाहन्छु तपाईंहरु आफूलाई अत्यन्त सुरक्षित महसुस गरेर म मेरो काम, जिम्मेवारी बिना भय, बिना तनाव र निडरताका साथ पूरा गर्छु भन्ने आत्मविश्वासका साथ काम गर्नुहोस् । म सचिवज्यूहरुलाई आजै भन्न चाहन्छु दुई दिन भित्र सबै शाखा, महाशाखा प्रमुखहरुको कार्यसम्पादन करार लिएर हामी अगाडी बढौं । एक वर्ष कसैलाई पनि बिना कारण आग्रह, पूर्वाग्रह राखेर एक ठाउँबाट अर्को ठाउँमा सार्ने काम हामीबाट हुनुहुँदैन् ।

पहिलो चार महिना तपाईंहरु यति सुरक्षित हुनुहुन्छ कि तपाईंहरुको कार्यसम्पादन करार भएको छ । त्यसको आधारमा ४ महिना तपाईंहरुको मूल्यांकन गरिन्छ । चार महिनामा तपाईंले काममा उत्कृष्टता÷सफलता हासिल गर्दै जानुभयो भने तपाईंहरुलाई अझै अगाडि बढ्न मन्त्रालयको तर्फबाट सहयोग हुनेछ । तपाईंहरु आफैले नतिजा ल्याउन नसकेर आफैले म जिम्मेवारी पूरा गर्न सकिनँ भनेर आउनुपर्ने परिस्थिती आफै निर्माण हुन्छ । त्यसकारण चेसको गोटी खेलाएजस्तो मन्त्रीले कहिले कुन महाशाखा प्रमुखलाई कहाँ चलाउने, शाखा प्रमुखलाई कहाँ चलाउने त्यति काममा समय बर्बाद गर्नु छैन । त्यही कामका लागि अहिले कार्य अघि बढाउने जानकारी गराउन चाहन्छु । ढुक्कसँग काम गर्नुहोस् । नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासमै पहिलो पटक युगान्तकारी परिवर्तन आउँछ । यो आत्मविश्वास बोकेर हामी काम गर्नेछौं ।

म केही सपना बोकेर आएको छु । म रोजेर यो मन्त्रालयमा आएको हुँ । यो मन्त्रालयमा कोही आउन चाहँदैनन् । यहाँ आउँदा स्वच्छ भएर आएपनि फर्कदा धब्बा लागेर जाने ठाउँ हो । निकै कठिन छ । गल्ती गर्नै पर्दैन् । नगर्दा–नगर्दै पनि आरोप खेप्नुपर्ने ठाउँ हो । तरपनि थोरै फोहोर सफा गर्नको लागि फोहोरभित्र पस्नुपर्छ । नपसिकन फोहोर सफा गर्न सकिदैंन् । त्यो बुझेर म यहाँ भित्र आएको हुँ । साँच्चै भन्नुपर्दा मेरो नेतृत्वले मलाई रोजाएर जिममेवारी दिएको हो । त्यसकारण म स्वास्थ्य मन्त्रालयमा आएको हुँ । म एकदमै निष्ठापूर्वक इमानदारिताका साथ कालो चिया पनि मेरो गोजीबाटै खाएर म स्वास्थ्य क्षेत्रमा केही परिवर्तन गर्छु भनेर आएको हुँ । कहीबाट मेरो नामबाट ब्ल्याकमेलिङ गरेको छ, कसैले धन्दा गरेको छ भने तपाईंहरुले मेरो कानमा सुनाइदिनुहोला । त्यस्तो धन्दा गर्नेहरुलाई मैले एक सेकेन्ड पनि विचार गर्नेवाला छैन ।

अन्तिम घन हान्ने तयारी पूरा भएन्

एक महिना बढी भयो मन्त्रीले के गर्दै हुनुहुन्छ ? केही गर्दै हुनुहुन्छ कि अलमलमै कुइरोको कागजस्तो हुनुभा’छ कि भन्ने धेरैलाई लागेको पनि हुनसक्छ । तर, एक महिना मेरो लागि स्वास्थ्य क्षेत्रको धेरै ठूलो सिकाइ अवधि रह्यो । यति धेरै विभाग, शाखा, महाशाखाहरु, पात्रहरु, प्रवृत्तिहरु यी सबै कुरा चिन्न बुझ्न म जादूगर त होइन्, सब कुरा मैले अध्ययन गर्नुपथ्र्यो । एउटा निर्णय गर्दा भोलि ब्याकफायर हुने पो हो कि ? त्यसकारण यो विषयमा अध्ययन गरें ।

एउटा भनाइ छ, ‘एउटा गाडी चलाउँदै हिड्यो, चलाउँदै जाँदा बाटोमा बिग्रियो अनि मिस्त्रीलाई बोलायो, मिस्त्रीजी आउनुन गाडी हेर्न । अनि मिस्त्री आएर गाडीको तल कार्पेट ओछ्याएर तल माथि हेर्दोरैछ, घण्टौं गाडी हेरेर बितायो अनि एउटा हम्मर माग्यो । त्यो हम्मरले हानेपछि गाडी चल्न सुरु भयो । अनि ड्राइभरले सोध्यो पैसा कति भयो गाडी बनाएको ? मिस्त्रीले २५ सय रुपैयाँ भन्यो । एकचोटी ड्याम्म हान्नुभा’छ २५ सय रुपैयाँ भयो ? यो त अत्ति भयो नि । अनि मिस्त्रीले भन्यो, यतिन्जेल घुमेर हेरेको २ हजार रुपैयाँ अनि ड्याम्म हानेको ५ सय रुपैयाँ ।’

आजसम्म हामीले दुई हजारको काम गर्र्‍याै बुझ्नुस् । अब गाडी स्टार्ट भएर गियर बदल्दै कुद्छ । मलाई यति विश्वास छ कि मसँग कुनै आग्रह छैन, कुनै पूर्वाग्रह छैन, कोही नजिक छैन, कोही टाढा छैन । सबैसँग सहकार्य गर्ने हो । राम्रो काम गर्ने इमानदार मान्छे, केही गरौं भन्ने मान्छे, तपाईंहरुको आस्था, विचार के छ त्यो मलाई मतलब छैन । तपाईंहरुसँग सहकार्य गरेर बदल्ने हो । सुधार गर्ने हो । तपाईंहरुको साथ हुन्छ भन्नेमा मलाई विश्वास छ । त्यो ढंगले हामी काममा जुट्दैछौं । हामी उपलब्धी हासिल गर्नेछौं ।

स्वास्थ्य विमा निर्विकल्प

गरिब जनतालाई स्वास्थ्य सेवामा गुणस्तरीय पहुँचका लागि मैले सुरुका दिनदेखि नै भनेको छु एउटा स्वास्थ्य बिमाको कार्यक्रम, विमा गराउने विमाकर्ताहरु घरदैलो गर्नुपर्ने अवस्था हटाउँदै, कहाँ बिमा गर्न पाइन्छ भनेर मान्छेहरु खोज्दै आउने स्थिती हामीले सिर्जना गर्नुपर्ने भएको छ । त्यसका निम्ति हामीले कहाँका नीतिहरु परिमार्जन गर्नुपर्ने हो । संसारकै उत्कृष्ट मोडल हामीले नेपालमा लागु गर्नुछ । त्यसका लागि म अनेक हिसाबमा छलफलमा छु ।

विश्वमा कस्ता अभ्यास भइरहेका छन्, छलफलका लागि म राती २–३ घण्टा जुम मिटिङमा हुन्छु । केही निष्कर्ष नजिक पुग्दैंछौं । एउटा उत्कृष्ट विमा कार्यक्रम हामी लागु गर्दैछौं । यो अहिलेको एक लाखको जुन बिमा छ, यसले कोही खराब हुनेवाला छैन । सेना, प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी सारा मान्छेहरु यो कार्यक्रमभित्र आउनुपर्छ र भोलि जस्तो दीर्घ रोग लागोस्, जस्तोसुकै घातक रोग लागोस्, निःशुल्क उपचार हुने आधार निर्माण गर्नुपर्छ ।

आगामी वर्षको बजेटसम्म बिमाका लागि कम्तिमा पाँच लाख रुपैयाँको बिमा गराउने आधारको माग गर्छौं । यो कुरामा म सम्बन्धित मन्त्रीज्यूहरुसँग छलफलमै छु । नेपालको सिको सरकारले गर्ने गरेर एउटा आकर्षक कार्यक्रम आउँछ ।

न्यूनतम सेवा मापदण्ड लागु हुनैपर्छ

अर्को, सुरुकै दिनबाट स्वास्थ्य सेवासम्बन्धी न्यूनतम मापदण्ड कार्यान्वयन गर्ने अठोटका साथ हामी आएका छौं । त्यसमा सबै कुरा आउँछ तर त्यसलाई हामीले भनाइमा मात्र नभएर व्यवहारमा उतार्नुपर्नेछ । त्यसका लागि कहाँ पूर्वाधार मिलाउनुपर्ने हो ? जनशक्ति व्यवस्थापन गर्नुपर्ने हो ? कहाँ तालिम तथा अन्य व्यवस्थापन गर्नुपर्ने हो ? साना–साना कुरामा ध्यान दिदैं अत्यन्तै मसिनो ढंगले काम गर्ने योजना बनाउँदै हामी काम गर्नेछौं । त्यसले आम जनतामा ठूलो उत्साह ल्याउँछ भन्ने मलाई विश्वास छ ।

अस्पताल सम्पूर्ण रुपमा डिजिटलाइजेसन

यहाँ भएका सम्पूर्णमा तपाईंको अस्पताल छिर्दा गन्धले नाक छोप्दै हिँड्नुपर्ने अवस्थालाई कम गर्न आग्रह गर्न चाहन्छु । अस्पताल अस्पतालजस्तो हुनुप¥यो । वीर अस्पतालमा आईसीयुको बेड खाली छ कि छैन मोबाइलको एप्सबाट हेर्न पाउने अवस्था हुनुपर्छ । बिरामीलाई ल्याएपछि अर्को अस्पताल लान नपरोस् । डाक्टर छैन भनेर अन्त लान नपरोस् । डाक्टर सेवामा छ कि छैन भन्ने कुरा मोबाइलको एप्सबाटै हेर्न पाउनुप¥यो । सबै सेवा सुविधालाई हामी लाइभ प्रणलीमा लगरे छाड्छौं ।

यो प्रक्रिया अपनाउन खोज्दा मेरो विरोध पनि आउला तर आपत्ति छैन । बरु, सेवासुविधा, कार्यभार बढाउनुपर्छ । त्यसको लागि म लविङ गर्छु । तर, अस्पताल छोडेर क्लिनिक धाउने, निजी अस्पताल धाउने, आफ्नो नाम नभएपनि श्रीमतीको नाममा अस्पताल खोल्ने यी कुराहरुको अन्त्य गर्छौं हामी । स्वास्थ्यकर्मीका समस्यालाई पनि हामीले हेर्नुपर्छ र हेर्छौं पनि । यस प्रकारले हामीले डिजिटल प्रणालीमा लानुपर्नेछ ।

अझै पनि हाम्रो देशमा कति डाक्टर, कति नर्स, कति स्वास्थ्यकर्मी कहाँ के गरिरहेका छन् भनेर हेर्नुप¥यो भने पाना पल्टाएर हेर्न कति समय लाग्छ । कही अस्पतालले डाक्टर थुपारेको थुपारेकै छन् त कही बिरामी डाक्टर नपाएर छट्पटाएको छट्पटाएकै छ । यसरी हुँदै हुँदैन् । यसमा कतैबाट विरोध आउँछ भने त्यो विरोधको स्वरहरु त्यत्ति बलशाली हुने छैनन् । हामी सुधार ल्यान चाहान्छौं ।
जनशक्ति व्यवस्थापन विना मौलिक अधिकार पूरा हुँदैन्

स्वास्थ्य सेवा ऐन छुट्टै ल्याउनुपर्छ भन्नुभएको छ ल्याऔं । कसरी ल्याउने हो त्यसको बाटो हामी खुलाइदिन्छौं । स्वास्थ्यका कर्मचारीहरुको लागि वृत्ति विकासका राजमार्गहरु खुला हुनुपर्छ । त्यो वातावरण हामीले मिलाइदिनुपर्छ । पोखराको पश्चिमाञ्चल अस्पतालमा मैले चिकित्सकहरुलाई सोधेको थिएँ । डायलाइसिस गर्नेको के छ ? कतिजना पर्खाइको सूचीमा हुनुहुन्छ ? ७७९ जना प्रतिक्षा सूचीमा हुनुहुन्छ । त्यो निकै कहालीलाग्दो अवस्था हो । डायलाइसिस सेवाको लागि प्रतिक्षामा कोही पनि बस्नु नपर्ने गरी तुरुन्तै डायलाइसिस पाउने गरी हामी त्यसको पुर्वाधार परिक्षण गर्दैछौं । यो हामी २–३ महिनामा गर्छौ ।

सातै प्रदेश र सम्भव भएका जिल्लामा यो सेवा उपलब्ध गराउने गरी काम गरिरहेका छौं । प्रदेशबाट विशिष्टीकृत सेवा दिने उद्धेश्यले हामीले केही प्रदेशमा भइसकेका छन् र केही प्रदेशमा योजनाबद्ध रुपमा काम अगाडि बढाइरहेका छौं । मलाई लाग्छ, आउने साउन भदौसम्म सबै प्रदेशबाट यी सेवाहरु हामी अगाडी बढाउनेछौं । यसबाट जनतालाई धेरै राहत मिल्ने मलाई लाग्छ ।

त्यस्तै, नयाँ ओएनएम सर्भे गराउने, त्यहीअनुसार जनशक्ति व्यवस्थापन गर्ने । यसबारे मैले प्रधानमन्त्रीज्यू र अर्थमन्त्रीज्यूसँग पनि कुरा गरिसकेको छु । हामीले त्यो गर्न सकेनौं भने गुणस्तरीय स्वास्थ्य पाउन सक्ने अवस्था छैन । एकजना नर्सले सयौं बिरामी हेर्नुपर्ने र नर्सले केही पनि गरेन भनेर नर्सले नै गाली खानुपर्ने, यस्तो हुन सक्दैन् । कि त सरकारले सकिन्न भने सक्दिनँ भनेर निजीको जिम्मा लगाउनुपर्छ कि त सम्पूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्छ । त्यो आँटका साथ हामी काम गर्नुपर्छ ।

कतिपय अस्पतालमा उपकरण लगेको एक वर्ष नबित्दै बिग्रन्छ । यसमा अनेकौं खेल हुन्छ भन्ने सुनेको छु मैले । गरिब जनताका पसिनाबाट किनिएका चीज हुन् यी अरबको खाडीमा पसिना बगाएर पठाएको रेमिट्यान्सबाट किनिएका ती साना कुरा होइनन् । यसको सही सदुपयोगमा हामी ध्यान दिऔं । बिग्रेका कुराहरुलाई यहाँ ल्याएर बनाएर भरपर्दो काम गर्ने गरी बनाएर लगौं । यो कार्यान्वयनका लागि पनि हामी काम गर्छौं ।

‘एक चिकित्सक/स्वास्थ्यकर्मी : एक स्वास्थ्य संस्था’ स्वास्थ्य क्षेत्र कायाकल्प हुने कार्यक्रम

एक डाक्टर एक स्वास्थ्य संस्था, यो डाक्टरहरुलाई निकै अप्रिय लाग्नसक्छ । तर, हामीले यो गरेनौं भने गुणस्तरीय सेवा दिन सक्दैनौं । यो आजको अनिवार्य आवश्यकता हो । त्यसका लागि थप्नुपर्ने सुविधा थपौं । भोलि हामी यो ल्याउनेवाला छौं । स्वास्थ्यकर्मी साथीहरुले साथ दिनुस् । हामी सबैले नेपाली गरिब जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्छ । कतिपय व्यक्तिगत स्वार्थ त्याग्न सक्नुपर्छ । यो हुँदैछ भन्ने कुरा बुझेर अहिलेबाट नै मानसिक रुपले तयार रहनुहोुस् ।

नर्स दिवसका दिन नर्स साथीहरुको कुरा सुनेर म निकै भावुक भएँ । ७–८ हजारमा १० हजारमा हाम्रा नर्सहरुले सेवा दिनुपर्ने । कस्तो शोषण ? यो निकै डरलाग्दो अवस्था हो । यदि कुनै पनि अस्पतालले यसरी न्यूनतम पारिश्रमिक पनि काम लगाएका छन् र प्रमाण भेटियो भने निर्मम भएर कारबाही गरिनेछ । २ महिनाभित्र हामी गियर बदलेर कुद्दैछौं । त्यसैले पनि यो कुरामा हामीले तपाईंहरुको ध्यानाकर्षण गराउन चाह्यौं ।

जति पनि विभागीय जिम्मेवारी भएका साथीहरु हुनुहुन्छ, तपाईंहरु आफ्नो जिम्मेवारी सम्झिएर आफ्नो काममा लाग्नुस्, त्यसमा मेरो सक्दो सहयोग हुनेछ । स्वास्थ्य क्षेत्रमा यस्तो अभूतपूर्ण परिवर्तन ल्याउनु छ कि अस्पतालमा सेवा लिन छिर्दाखेरि विभागीय साथीहरुदेखि स्वास्थ्यकर्मीसम्मलाई मानिसहरुले शिर निहुराउन र तपाईंहरुलाई सम्मान गरुन् । त्यसका लागि हामीले काम गरौं, हातेमालो गरौं । इमान्दारिताको साथमा कहीँ काम गर्दा कहीँ कतैबाट अप्ठ्यारोमा पर्नुभयो भने तपाईंको गर्धनमाथि स्वास्थ्यमन्त्रीको गर्धन हुन्छ । ढुक्क हुनुहोस् । अभिभावकको जिम्मेवारीबोधका साथ म तपाईंहरुको साथ हुनेछु ।

(निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री गिरीले सोमबार स्वास्थ्य सेवा दिवसको अवसरमा राखेको मन्तव्यको सम्पादित अंश)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ