२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारएमडी/एमएस पढाइमा ढिलाइः विद्यार्थीको भविष्य र स्वास्थ्य सेवामा पर्ने प्रभाव

एमडी/एमएस पढाइमा ढिलाइः विद्यार्थीको भविष्य र स्वास्थ्य सेवामा पर्ने प्रभाव


चिकित्सा शिक्षा आयोगले हरेक वर्ष एमडी/एमएसको एकीकृत प्रवेश परीक्षा लिने गर्छ । शैक्षिक वर्ष २०२२/०२३ को लागि गत वर्ष २०७९ सालको पुष २ गते परीक्षा सञ्चालन गरिएको थियो । यसै परीक्षामार्फत हरेक वर्ष देशभर करिब १ हजार २०० विशेषज्ञ चिकित्सक पढाइका लागि विद्यार्थीहरुको छनोट हुन्छ ।

कुन विद्यार्थीले कुन कलेजमा कुन विषय पाउने भन्ने म्याचिङ प्रक्रियामार्फत निर्धारण हुने गर्दछ । म्याचिङ प्रक्रिया करिब एकदेखि डेढ महिना अवधि लाग्ने भएकोले माघ २२ गते कक्षा सञ्चालनको लागि मिति तोकिएको थियो । तर, वैशाखको तेस्रो हप्ता लाग्दा पनि कक्षा सञ्चालन भने हुन सकेको छैन ।

देशका सम्पूर्ण विश्वविद्यालय र मेडिकल कलेजमा पढाइ हुने विद्यार्थीको छनोट यसै म्याचिङ प्रणालीबाट हुने भएकोले यो प्रक्रिया केही झन्झटिलो भने पक्कै हुन्छ । सबै विद्यार्थीहरुलाई आफूले पढ्न मन लागेको विषय र कलेजको प्राथमिकता निर्धारण गर्ने मौका दिइन्छ र योग्यताक्रमको आधारमा कम्प्युटरले कुन विद्यार्थीले कुन विषय र कुन कलेज पाउने भन्ने निर्धारण गर्दछ । साधारण रूपमा हेर्ने हो भने यसरी म्याच भएको विषय र कलेज विद्यार्थीले भर्ना गरी पढाइमा अगाडि बढ्नुपर्ने हो ।

तर, सबै विद्यार्थीले पढ्छन् भन्ने ग्यारेन्टी भने हुँदैन् । प्राथमिकता भरेर पनि कुनै विद्यार्थीले नपढी दिदा त्यो विषय उ भन्दा तल्लो योग्यताक्रममा रहेको विद्यार्थीलाई भने त्यही विषय महत्वपूर्ण हुन सक्छ । ती छोडिएका विषयहरुमा फेरि म्याच हुनको लागि पुनः अवसर पाउने प्रावधान यस पटकको म्याचिङको सूचनामा थिएन् ।

त्यो व्यवस्था गायब पारिएपछि विद्यार्थीहरुले सम्मानित सर्वोच्च अदालतमा पुष महिनामा मुद्दा दायर गरेका थिए । र, अदालतले पहिलो भर्ना पश्चात भर्ना नभई रिक्त रहेका ती सिटहरुमा पुनः अवसर दिनु भनी आदेश दिएको थियो । तर, विद्यार्थीहरु भने रिक्त रहेका सिटहरूमा भर्ना भएका र नभएका दुईटै प्रकारका विद्यार्थीलाई अवसर दिनुपर्छ भनी सर्वोच्च अदालतमा फेरि रिट दायर गरेका छन् ।सो विषय अझै पनि अदालतमा विचाराधीन अवस्थामा छ । कागजपत्र र रकम सबै बुझाएर भर्ना भइसकेका विद्यार्थीलाई पुनः अवसर प्रदान गरी फेरि अर्को कलेज र विषयमा अध्ययन गर्न अहिलेको भर्ना खारेजी र रकम फिर्ता गर्न प्राविधिक हिसाबले कतिको सम्भव छ भन्ने विचारणीय कुरा छ ।

पछिल्लो समयमा राजनीतिकरणले गिजोलिएको यो विवादले गर्दा माघ २२ मा हुन पर्ने कक्षा सञ्चालन सम्भव नभएपछि आयोगले बैशाख १० गतेका लागि कक्षा सञ्चालनको मिति तोकेको थियो । वैशाख १० गतेबाट केही मेडिकल कलेजमा कक्षा सञ्चालन प्रारम्भ भएतापनि माथिको विवादास्पद मुद्दा चलिरहेकोले सम्मानित सर्वोच्च अदालतले वैशाख ११ गते कक्षा सञ्चालन नगर्न नगराउन आदेश दिएको छ ।

मुद्दा र विवादका कारणले हजारभन्दा बढी एमडी/एमएस तथा अन्य स्नातकोतर पढ्ने विद्यार्थीहरुको भविष्य अन्योलमा परेको छ । यसले विद्यार्थीहरुमाझ मानसिक यातना तथा आर्थिक समस्या पनि बढ्दै गएको छ । एमडी/एमएस पढाइ भनेको बिरामीको प्रत्यक्ष सेवामा संलग्न भएर गरिने तालिम भएकोले मेडिकल कलेजसँग सम्बन्धित अस्पताल र प्रतिष्ठानहरुमा बिरामीको सेवामा समेत नकारात्मक असर पर्ने देखिन्छ ।

बैशाख १९ गते पेशीको पालो रहेतापनि हेर्न नमिल्ने भनेर मुद्दालाई अर्को दिनको लागि पालोमा राखिएको छ । यसरी सुरु भइसकेको पढाइलाई स्थगित गर्नु र पेशी को दिन बारम्बार सरिरहँदा एमडी/एमएस पढ्ने विद्यार्थीको भविष्य र अस्पतालहरूले प्रदान गर्ने स्वास्थ्य सेवा दुवैमा ठूलो समस्या देखिने निश्चित छ । यो समस्या समाधानको लागि सम्मानित सर्वोच्च अदालतल र चिकित्सा शिक्षा आयोग दुवैले तत्कालै निर्णायक कदम चाल्न जरुरी छ ।

(डा. कार्कीले एमडी/एमएसको एकीकृत प्रवेश परीक्षामा २ नम्बरमा नाम निकालेका हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ